मनिराम मञ्जिल

एउटा रुख जमिन माथि उभिएको छ
हेर्दै एउटा लहरो यसै लोभिएको छ

कठै ! माथि चड्ने रहर हुँदाहुँदै पनि
हेर्नोस् त ! कसरी आफैँमा जेलिएको छ

अनायास भेट भयो दोबाटोमा तिमीसँग
दोबाटो छुट्यो तर मन दोबाटोमै अल्झिएको छ

तिम्रो जस्तै लाग्ने मुहार देखेँ आज सहरमा
र त्यसैले पुरानो घाउ फेरी बल्झिएको छ

प्रेमिकालाई सम्झदै-सम्झदै निदाएको थियो
र बिहानमा आमाको फोनले बिउँझिएको छ

तिर्खा लागेकै ठाउँमा कहाँ कुवा भेटिन्छ
बरु तिर्खाएरै हिँडिरहेको बटुवा भेटिन्छ

मन्दिर जाने बाटोमै साधु खोज्दै हिँड्दा पनि
जमाना यस्तो छ कि मात्र चकुवा भेटिन्छ

अरे मित्र ! जिन्दगी कस्तो चल्दैछ नसोध तिमी
यहाँ जाल फाल्दा माछा होइन मछुवा भेटिन्छ

नाङ्गो देख्दैमा मरुभूमिमा कहाँ उम्रन्छन् र ?
बरु रुखकै कापाहरूमा विरुवा भेटिन्छ ।