काट्ने बन्चरोलाई रुखको कराइ थाहा भएन अझै
हेर्ने आँखाहरूलाई मनको दुखाइ थाहा भएन अझै ।
हेर्ने आँखामात्र होइन मन छाम्ने मन चाहिएको छ
सतही सोचलाई मायाको गहिराइ थाहा भएन अझै ।
जन्मेपछि एकदिन मर्नुपर्छ, अमर कोही छैन यहाँ
कमाउने भोकमा जीवनको थकाइ थाहा भएन अझै ।
जूनसम्म पुगेर फर्किसक्यो विवेकशील श्रेष्ठ प्राणी
तर मान्छेसम्म नपुगेको सच्चाइ थाहा भएन अझै ।
बथाने नाराहरू भक्कु रिसाएर तछारिएन केही पनि
छेपारे नीतिलाई एकताको ढलाइ थाहा भएन अझै ।
मुखमा ईश्वर बोक्नेहरूलाई साथ त दिइस् नि ‘राजु’
तर तँलाई नै काट्ने छुराको चलाइ थाहा भएन अझै ।
राजु प्रधान “हिमांशु”, डाउहिल,खरसाङ,भारत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला