पीआर आकाश

गजल–१

फोहरलाई फोहरमै छोड्यो भने गन्हाउने ढल बन्छ
माटोको संसर्गमा रह्यो भने सुन फलाउने मल बन्छ

आफ्नो धरातल बिर्सेर वेपर्वाह किन उड्छौ तिमी ?
कुन बेला आकाशको बादल सबैले कुच्ने भल बन्छ

फूललाई सर्वेसर्वा ठानी महत्व दिन्छ सारा दुनियाँ
त्यही फूललाई चिनाउने आँखाको शक्ति फल बन्छ

बेलाको बोली कुठाउँमा पर्न सक्छ मौका चिन्नुपर्छ
उही रङ्ग गालामा परे मोसो आँखामा गाजल बन्छ

ठूला मान्छेका साना कुराले पनि महत्व राख्छ यहाँ
पानीको थोपा, नदी बनेपछि मात्र गंगाजल बन्छ

गजल–२

चुनाव पिच्छे फेरिने नेताहरुको थ्योरी थियौ
बलियो छु भन्थ्यौ घमण्डको कमजोरी थियौ

माल पाएर पनि तिमीले चाल पाइनौ कि मैले
साडीमा म्याच नहुने गहनाको तिजोरी थियौ

मायाको दुरी कहिले तन्कियो किहिले खुम्चियो
म सनपाटको थिएँ, तिमी रवरको डोरी थियौ

न्यानो मायाको कमीले ओसिएछ यो जिन्दगी
म काँटीको बारुद तिमी सलाईको खोरी थियौ

तिमीलाई भुल्ने कोशिस गर्दा, आफ्नै होस् भुलेँ
याददाश्त गुमेपछि गिफ्टको मीठो मेमोरी थियौ