सुष्मा खड्का

१.

मेरो स्वतन्त्रता माथि प्रहार किन गर्छौ
पर्वाह छैन भने प्रेम स्वीकार किन गर्छौ

दुनियाँको अघि बेर्थै तमासा बनाएर
मेरा आँखालाई हरदम सिमसार किन गर्छौ

म सही छु अरुलाई बताउन जरुरी छँदैछैन
तिमी आफैंले आफ्नो प्रचार किन गर्छौ

भोलि यही तिम्रो लागि घाँडो हुनसक्छ
पलहरुलाई उसैगरी यादगार किन गर्छौ

जे कुरामा तिमी आफैंलाई सन्तुष्टि मिल्दैन
त्यही कुरा दोहोर्‍याएर यार किन गर्छौ

२.
सुन्नुहोला ध्यान दिएर मेरो समस्या यो छ
मलाई पर्दा सारासंसारलाई अप्ठ्यारो छ

यो सहरको पनि के कुरा गर्नुहुन्छ हजुर
यहाँ त मान्छे भएर बाँच्न पनि गाह्रो छ

मौका मिल्ला र प्रहार गर्छु भनी बस्छन्
डर पराइबाट छँदैछैन आफ्नै मान्छेको छ

छोराछोरीलाई अघाउन्जेल हेर्न नपाउँदा
समुन्द्र पारीको देशसँग आमाको गुनासो छ

पारपाचुकेले श्रीमानश्रीमती मात्रै टाँढिदैनन्
मेरो सन्तान आफ्नै बाको लागि बिरानो छ

३.

अन्यौलमै रहला जिन्दगानी कहिलेसम्म
यादहरुमा रुझाउने सिरानी कहिलेसम्म

जनताले आश लगाएको एक जुग भयो
आइपुग्ला त्यो सुनौलो बिहानी कहिलेसम्म

मलाई अबदेखि सधैंभरि खुसी हुनु छ
सकिएला यो आँखाको पानी कहिलेसम्म

गरिबका घरमा दशैं नआएको वर्षौं भयो
सोचेजस्तो होला आम्दानी कहिलेसम्म

अब त स्वविवेक प्रयोग गर्नुस् नेताज्यू
विकास गर्न पनि आनाकानी कहिलेसम्म

-सुष्मा खड्का