लेख कार्की

साधु थिएँ बाध्यताले नै चोर बनाइदियो
फूल जस्तो हृदयलाई कठोर बनाइदियो ।

एकजोर ढुकुर सँगै हुन्थे बस्दा उड्दा सधैँ
कुन पापीका आँखा लागे बिजोर बनाइदियो ।

गाला सफा गर्न भनी झरेकोथ्यो आँसु
दाग बनेर बस्यो झनै फोहोर बनाइदियो ।

लाग्थ्यो सबैभन्दा सुन्दर वस्तु हो यो जीवन
भोग्दा भोग्दै समयले अघोर बनाइदियो ।

जसले तिम्रा दुईटा आँखा गुलाफ गुराँस भन्थ्यो
उसैले यी आँखा अरुण तमोर बनाइदियो ।

– © लेख कार्की