गम्भीर दुवाडी

पहराको लहराको अनि त्यो छहराको
प्रकृति सधैँ खुसी हुन् देखेर त्यो हराभराको

संस्कृति कुल्चेर विकृति छलाङ मार्दै छ अघि
सत्यले असत्यको साम्राज्य जो छैन मनपराको

कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भूतलभरि
मेघ गर्जन सुनेर इन्द्रेणी अहँ छैन कत्ति डराको

आश्वासन र आदर्श शिखर माथि चढ्दै गर्दा
परजीवी पेट थाम्न नसकेर खुट्टा छ लरबराको

आँखा लोभी पापी मन होडबाजी उही बाँचुञ्जेल
लिप्त स्वार्थसिद्धिमा बाहेक कोही छैन कराको

असरल्ल छरिएका बेथिति क्यानभास विचित्र
किन मजेरी खनेर पराइको आँगन भराको ?

गजुरी – ५ , धादिङ्ग
शनिबार १४/०२/२०७९