शिसिर बाँस्कोटा

सुख र दु:ख बीच सम्बन्ध चर्की रहन्छ।
थाहा छैन किन खुसी म बाट फर्की रहन्छ।

म उसलाई जोगाउँदा घाइते भएको हुँ
ऊ भने मेरै घाउमा नुन छर्की रहन्छ।

सायद उसले मेरै कुरा काटेको हुनुपर्छ
अक्सर, पानी पिउदा मलाई सर्की रहन्छ।

उसको दु:खमा साथ मैले नै दिएको हुँ
आज ऊ खुसीमा म बाटै तर्की रहन्छ।

आधा पेट खाएर हुर्काएकी हुन आमाले
आमा खोक्दा आज छोरो झर्की रहन्छ।

पाँचथर,फिदिम (हाल काठमाडौ )