आरजु गिरी


न त फल्छ अन्न अनाज न त बल्छ दियो
कुरा खेती मात्र हुँदा खुराफाती मियो ।

विकृति र विसंगति थिए हिजो उस्तै
छापी आउछ खबर आज हिजो दबाइयो ।

कति छिटो विस्मृतिमा जान्छ समाज यो
नमिता र सुनिताको कसले ज्यान लियो ।

उत्तेजना फैलाउन जति सजिलो छ
बनी देखाऊ फाटेका मन सिलाउने सियो ।

बोकी पहाड पाखण्डको झोला अहमको
अहंकारले आरजु यो आफै सक्कियो ।


नकमाउनु हात फेरि भ्रस्ट फाल्ने बेला
के सोचेर बसेकाछौ भोट हाल्ने बेला ।

जानु हुन्न खेर अब भयो जे जे हिजो
नलोभिनु कहीं कतै पापी ढाल्ने बेला ।

ननिको छ आज पनि समस्याको फलाम
ज्ञान बुद्धि विवेक मिली हो यो गाल्ने बेला ।

के का लागि छिनाझप्टि किन रीसराग
मिलिजुली स्वर्णिम युगको कदम चाल्ने बेला ।

यो वाद र त्यो वादको विवाद बेकार हो
ननिदाऊ चेतनाको दियो बाल्ने बेला ।


गिद्धलेनै परेवाको रुप धारण गरी
अपहरण गरेका छन शुभ सन्देश छरी ।

प्रजातन्त्र भन्न पनि अहो लाग्छ लाज
सिन्डिकेट गठबन्धनको चल्दा हावासरी ।

नजरअन्दाज़ सकिदैन गर्न तिम्रो त्यागको
लोभलालच केका लागी आफै भित्र मरी ।

के नै रह्यो औचित्य संसद सांसदको
बिडम्बना अध्यादेश आउछ सधैभरी ।

पार्टी मात्र साधन हो साध्य लोककल्याण
मिलिजुली जुटौ सबै ज्ञान अमृत वरी ।

यता हत्या उता हत्या वाद विवादमा
कैले होला मानवता यहाँ सर्वोपरी ।


भ्रमको खेतीमा जस्तो श्रमको खेतीमा फल्दैन पैसा
आगोको लप्का हो जलाउँछ तर जल्दैन पैसा ।

लाग्छौ किन पछि यसको छोडेर इमान आफ्नो
मात्रा बढ्यो कि ढाल्छ अरूलाई तर ढल्दैन पैसा ।

हर कोही प्राप्तिमा उस्कै दौडिएको भीड देख्दा
गलाउँछ अरूलाई तर आफै गल्दैन पैसा ।

बढाऊ ज्ञानको खानी हट्दछ अहंकारी रात
छर्दै उज्जालो प्रकाश कहिलै बल्दैन पैसा ।

धनको बजारमा हरचिज बिकाउ होला सायद
मनको आरजुलाई थाहा छ यहाँ चल्दैन पैसा ।