प्रकाश सापकोटा

थाहा छैन मान्छे ननिदाई आखिर कति रात कटाउन सक्छ ।
सानो नसोच मेरो दिल तिम्रा प्रत्येक यादहरु अटाउन सक्छ ।।

कुनै सुत्र कुनै प्रणालीले अर्थ्याउने चिज हुँदै होइन माया ।
न जोड्न खोजेर कसैले जोड्न सक्छ न त घटाउन सक्छ ।।

मन पंक्षी बनेर उड्न खोज्यो तर सकेन किन थाहा छ ।
एउटा पँखेटाले पंक्षी उड्न सक्दैन केवल फट्फटाउन सक्छ ।।

तिमीलाई पनि त कुनै दिन ‘मायालु’ भन्ने बनाउन सकूँला नि ।
मान्छेले वनको सुगालाई त ‘गोपीकृष्ण कहो’ रटाउन सक्छ ।।

कुनै समूहमा सामेल गरुन् कसैले या भीडमै देखुन् देख्नेहरुले ।
तिमी बाहेक यो निरस एक्लोपन अरु कस्ले हटाउन सक्छ ।।