साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गजल प्रतियोगिताकाे तेह्राैँ चरणः अङ्कुर, चिरञ्जीवी, छविकिरण विजयी

पढ्नुहाेस् तेह्राैँ साताका विजय गजलहरूः

गजल मुशायराले साहित्यपोस्टसँग मिलेर सञ्चालन गरेको गजल प्रतियोगिताको तेह्राैँ चरणमा अङ्कुर चन्द, सागर पाण्डे चिरञ्जीवी, छविकिरण अधिकारी विजयी हुनुभएकाे छ । त्यस्तै, यस प्रतियोगिताकाे अघिल्लाे हप्ता बाबुराम खपाङ्गी, कृष्णराज बराल र तिलाचन बस्याल विजयी हुनुभएकाे थियाे ।

विषयवस्तु, शब्द संयाेजन, काव्य चेत, नवीनता र सामाजिक सबै किसिमले विजयी तीन गजलहरु उत्कृष्ट भएकाले करुण थापा, जितेन्द्र मल्ल, रवि प्राञ्जल र जय गौडेलको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।

प्रतियोगितालाई अस्ट्रेलियामा व्यवसाय गरेर बस्नुभएका डिला खरेल र उहाँको कम्पनी इनाभेटिभ एसोसिएट्सले प्रायोजन गरेकाे छ । पेसाले एकाउन्टेन्ट तथा वित्तीय परामर्श र बैङ्किङ सेवामा संलग्न खरेल साहित्य विशेष रुचि राख्ने भएका कारण यो प्रतियोगितासँग जोडिनुभएको हो ।

“गजल प्रतियोगिताकाे तेह्राैँ चरणमा उल्लेखिय तथा प्रतियोगी रचनाहरू प्राप्त भएका थिए । निर्णयकहरूलाई प्राप्त गजलहरूबाट उत्कृष्ट तीन छान्न निकै सकस भयाे ।” निर्णायकमध्येका करूण थापाले बताउनुभयो, “प्राप्त उत्कृष्ट गजलहरूमध्येबाट पनि हरेक किसिमले सर्वाेत्कृष्ट ठहरिनुभएका अङ्कुर चन्द, सागर पाण्डे चिरञ्जीवी, छविकिरण अधिकारीलाई यस साताका लागि विजयी घाेषणा गरिएकाे छ ।”

साथै, थापाले एकपटक विजयी भइसक्नुभएका गजलकारहरूलाई अप्रतियोगीका रूपमा मात्र प्रतियोगितामा सहभागी हुनसमेत अनुराेध गर्नुभएकाे छ ।

प्रतियोगिताका लागि जम्मा ४३ वटा गजलहरू प्राप्त भएका थिए । सहभागिता जनाएर प्रतियोगितालाई भव्य बनाइदिनुहुने सम्पूर्ण गजलकारहरूप्रति आयाेजक गजल मुशायरा र साहित्यपाेस्ट दुबैले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतियोगिता पचास सातासम्म लगातार चल्नेछ । हरेक साता पाठकले आफ्नो एउटा गजल तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट गजलहरुलाई हरेक साता पाँच सय नगद अथवा एक हजार रुपैँया बराबरको पुस्तकले सम्मान गरिने छ ।

त्यसैगरी पुरस्कृत गजलहरु रचनाकारका आवाजमा रेकर्ड गरी गजल मुुशायराको आधिकारिक च्यानलमार्फत् प्रशारण गरिने निर्णायकमध्येका एक तथा गजल मुुशायराका जितेन्द्र मल्लले जनाउनुभएको छ ।

वर्षको अन्त्यमा छानिएका १ सय ५० गजलहरूमध्येबाट पनि उत्कृष्ट तीन छानिने छन् । सर्वोत्कृष्ट तीनवटा गजल छान्दा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत भिडियोमा आएको रेस्पोन्स (लाइक, कमेन्ट र सेयरसहित, भिडियोको गुणस्तर) लाई ध्यानमा राखिने बताइएको छ । वर्षकाे अन्तिममा सर्वाेत्कृष्ट गजलहरूलाई ३० हजार, २० हजार र १० हजार नगद एवं गजलका केही महत्वपूर्ण पुस्तकहरूले सम्मान गरिनेछ ।

यसपटक छानिएका तीन गजलका सर्जकहरुलाई पाँच सय नगद अथवा एक हजार बारबरका पुस्तकले सम्मान गरिने छ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।

प्रतियोगिताकाे तेह्राैँ संस्करण भाेलि अर्थात् असार २० गते साेमबारबाट सुरू हुनेछ ।

पढ्नुहाेस् तेह्राैँ साताका विजय गजलहरूः

प्रतिक्रिया
Loading...