१. एकेडेमीमा मदनमणिले बिताएको जीवनको कालो खण्ड

मदनमणि दीक्षित

कुरा साहित्यकार मदनमणि दीक्षितको हो ।

कुनै समय साहित्यकार दीक्षित र समीक्षा पत्रिका एकअर्काका पर्याय थिए । त्यसपछि उपन्यास ‘माधवी’ प्रकाशनमा आयो । मदन पुरस्कार पायो । र, माधवी भन्नु मदनमणि भए । मदनमणि भन्नु नै माधवी भयो ।

तर कुरा माधवी न समीक्षाको हो । त्यसो भए केको हो त ? ल सुन्नुहोस् !

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला मदनमणि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भए । आफ्नै समीक्षा पत्रिकामार्फत् प्रज्ञा प्रतिष्ठानलाई कडै दनक दिएका उनी आफैं यो संस्थाको सर्वेसर्वा हुन पुगे ।

त्यसबेला सरकारले उपकुलपतिसहित प्रज्ञासभाका ३० जना सदस्यको नामावली निकाल्थ्यो । त्यसमध्येबाट उपकुलपतिलाई आफ्नो टिम आफैं बनाउने सहुलियत हुन्थ्यो । तर सरकार, मन्त्रीहुँदै हाम्रादेखि राम्रासम्मलाई टिममा समेट्नुपर्ने चुनौति त छँदै थियो । यस्तोमा मदनमणिलाई सदस्य सचिव छान्नमा भने ठुलो सङ्कट आइलाग्यो ।

अँ, सङ्कट । ठुलो सङ्कट । कस्तो सङ्कट ? कस्तो ठुलो सङ्कट ?

चुरो कुरो के भने, मदनमणिसँग सदस्य सचिवका लागि दुई नाम थिए – नगेन्द्रराज शर्मा र डा. ध्रुवचन्द्र गौतम । त्यसमध्ये पनि मदनमणि नगेन्द्रराजलाई सदस्य सचिव बनाउन चाहन्थे । तर छोरा विनोद दीक्षित भने डा. ध्रुवचन्द्रको पक्षमा उभिए । कारण, विनोद र ध्रुवचन्द्र निकै लामो समयदेखिका असाध्यै मिल्ने मित्र थिए । र, अन्ततः कुलपति बाबु भए पनि छोराकै जित भयो । डा. गौतम सदस्य सचिव बनाइए । तर पुत्रमोहबाट निर्देशित यही निर्णय मदनमणिका लागि ठुलो सङ्कट बनेर रह्यो ।

प्रतिष्ठानमा केही समयको अन्तरालमै मदनमणि र गौतमबीच मत–मतान्तर सुरु भयो । कतिसम्म भने, उपकुलपति दीक्षित र सदस्य सचिव गौतमबीच बोलचालै बन्द हुने स्थिति बन्यो । यी दुईको मनमुटावले यस्तो अवस्था आयो, दीक्षितले राजीनामा लेखेर प्रधानमन्त्री कार्यलयमा दर्तै गरे । धेरैको दबाब र प्रधानमन्त्रीसँगको कुराकानीपछि राजीनामा फिर्ता त भयो, तर सदस्य सचिवसँगको मनमुटावको अन्त्य भने भएन । बरु उनी नगेन्द्रराज शर्मा, रोचक घिमिरेलगायतको साथमा देशदौडाहमा लागे । एकतरिकाले, एकेडेमीमा लामो समय उपकुलपति र सदस्य सचिवको बेग्लाबेग्लै समानान्तर नेतृत्व नै चल्यो ।

त्यस्तै, प्रज्ञा प्रतिष्ठानकै कुरा गर्दा मदनमणिलाई विवादित बनाउने अर्को पनि प्रसङ्ग छ । त्यो के भने, एकपटक एक साहित्यकारको देहान्तपछि एकेडेमीको मूल ढोकाअगाडि अन्तिम दर्शनका लागि राख्ने अनुमति माग्न जाँदा उपकुलपति मदनमणिले भनेछन्, ‘एकेडेमी मसानघाट होइन, लास राख्न बन्द गर्नुपर्छ ।’ यही कुरालाई लिएर तीव्र विरोध र आलोचना भएपछि बाध्य भएर उनलाई अनुमति दिन करै लाग्यो ।

समग्रमा, मदनमणि दीक्षितले नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्व दुःखैले पार लगाए । त्यसैले त उनी एकेडेमीमा बिताएको समयलाई आफ्नो जीवनको कालो खण्ड (दुःखद वर्षहरु) भन्ने गर्थे । यो प्रसङ्गलाई गोविन्द गिरी प्रेरणाले अनलाइन खबरमा ‘मदनमणि युगको अवसान’ शीर्षकमा विस्तृतमा लेखेका छन् ।

===

२. नारायण गोपाललाई ‘स्वरसम्राट्’ कसले बनायो ?

नारायण गोपाल

पत्रकारिता, साहित्य र सङ्गीतका सगरमाथाहरुमा सङ्गीतको उचाइ सबैभन्दा अग्लो हुन्छ । पत्रकार विजयकुमारले आफ्नो पुस्तक खुशीमा कतै लेखेको कुराको भावार्थ हो यो । ठ्याक्कै कति पृष्ठ ? यति बुझ्नुहोस्, स्तम्भकार अल्छीहरुको कर्णेल हो ।

तर यति चाहिँ भनिहाल्छु – नेपाली साङ्गीतिक व्यक्तित्वहरुमा स्वरसम्राट् नारायण गोपालको उचाइमा अर्को कोही पुगेको छैन । पुग्नेवाला छैन । योचाहिँ मेरो व्यक्तिगत अनुभूति हो ।

कुरा नारायण गोपालको हो । प्रश्न छ – उनलाई ‘स्वरसम्राट्’ कसले बनायो ? उत्तर सहज छ – जनताले । स्रोताले । सङ्गीत-साधनाले ।

प्रश्नलाई अलिकति बदलौं – नारायण गोपाललाई पहिलोपटक ‘स्वरसम्राट्’ भन्ने व्यक्ति को हुन् ? अँ, कुरो अब मिल्यो । अब सुन्नुहोस् ।

सर्वप्रथम २०२८ सालमा कवि भूपी शेरचनले नारायण गोपाललाई ‘स्वरसम्राट्’को विशेषण दिएका थिए । पोखरामा भएको एक कार्यक्रममा भूपीले उनलाई ‘स्वरसम्राट्’ भनेर औपचारिक सम्बोधन गरेका थिए । पछि, गोरखा दक्षिणबाहू दिँदा राजाले पनि उनलाई ‘स्वरसम्राट्’को सम्बोधन गरे । र, नारायण गोपाल निर्विवाद ‘स्वरसम्राट्’ बन्न पुगे ।

पत्याउनु भयो ? तपाईंलाई थाहै छ, पत्याउने या नपत्याउने अधिकारी सधैंझैं तपाईंसँगै सुरक्षित छ ।

===

३. कुन साहित्यकारको रक्सी खाने शैली कस्तो ?

किशोर नेपाल

साहित्य सिर्जनासँग जोडिएर आउँछन् साहित्यकार । साहित्यकारसँगसँगै आउँछन् अनेकन किस्साहरु । ती किस्साहरुमा पनि रक्सी किस्सा विशेष किसिमका हुने गर्छन् ।

हाम्रा केही साहित्यकारहरुको रक्सी पिउले विशेष शैली छ, जस्तो लेखनमा हुन्छ । तपाईंलाई विश्वास लागेन होला, तर यस विषयमा वरिष्ठ पत्रकार तथा साहित्यकार किशोर नेपाललाई सुनेपछि तपाईंलाई पनि विश्वास गर्न करै लाग्नेछ । अँ, यो चाहिँ मेरो विश्वास हो ।

इतिहास बनिसकेको समयको कुरो हो । एक भेटमा यायावरले किशोर नेपालसामु अनुरोध टक्र्याएछन्, ‘अभिव्यक्तिका लागि दुईचार जना आधुनिक साहित्यकारहरुको लेखन शैलीको बारेमा एक तुलनात्मक लेख तयार पारिदिनुहोस् न !’

किशोर नेपालको तुलनात्मक विश्लेषणका बारेमा त तपाईंलाई थाहै छ । भो, त्यतातिर नलागौं । यायावरलाई नेपालले भनेछन्, ‘हुन त हुन्छ तर यिनीहरुको साहित्यचाहिँ त मैले उस्तो पढेको छैन । तापनि मलाई यिनीहरुको जीवनको एउटा शैली अर्थात् रक्सी खाने शैलीचाहिँ कण्ठै छ । त्यसैमा केही लेखिदिउँला । हुँदैन ?’

रक्सी खाने शैली ? हो, रक्सी खाने शैली । यायावर पनि छक्कै परेका थिए होलान् । उनका आँखामा प्रश्नवाचक र कानमा कौतुहलतामय चिह्न खडा भएका हुँदा हुन् । जेहोस्, किशोर नेपालले उदाहरणसहित यसरी प्रष्ट्याएछन् –

हो । नपत्याए अलिकति नमूना सुन्नुहोस् । जस्तैः

ध्रुवचन्द्र गौतमलाई रक्सी जे–जस्तोसुकै भए पनि बोतलमा लेविलचाहिँ राम्रो चाहिन्छ ।

भवानी घिमिरेलाई सबै भाँडा बोतल नसिध्याएसम्म सन्तोष हुँदैन ।

विनोद दीक्षितलाई नाच्ने एउटी पाएसम्म पिइरहनु पर्छ ।

वासु शशीलाई अर्काले (श्रीमतीले ?) बोतल खोसेर नमिल्क्याएसम्म थपेको थप्यै गरिरहनु पर्छ ।

प्यासीलाई आफ्ना लेख कविता सुनाउन पाएसम्म जण्डिसै भएको बेलामा भए पनि पिएको पियै गरिरहनु पर्छ ।

शैलेन्द्र साकार, मनु ब्राजाकी, मोहन घिमिरे, विनोद रिसालहरुलाई बेहोस नभएसम्म पिइरहनु पर्छ ।

अनि एउटा कवि छ, जसको नाम लिनु आवश्यक पर्दैन – ऊचाहिँ प्राणै नगएसम्म धोकिरहन चाहन्छ ।

गज्जबै छैन त रक्सी पिउने शैली ? अँ, ती एउटा कविचाहिँ को थिए भन्ने जान्नमा स्तम्भकारलाई खुब चासो लागेको छ । तपाईंलाई थाहा भए सुटुक्कै भन्नु ल !

यो प्रसङ्ग दुईमहिने सामान्य साहित्यिक पत्रिका ‘अभिव्यक्ति’को पूर्णाङ्क २०० मा पनि सङ्ग्रहित छ ।