‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक ।इन्दिरा दीक्षितकाे ‘गतिशील जिन्दगी’देखि डा. दलिपकुमार मल्लकाे ‘रुइसे दरबार’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
===
१.गतिशील जिन्दगी— इन्दिरा दीक्षित
भ्रमणशील स्रष्टा, साहित्यकार इन्दिरा दीक्षितकृत संस्मरणसङ्ग्रह हो, “गतिशील जिन्दगी” । यसमा चौधओटा संस्मरणहरू समेटिएका छन् । यिनमा केही नितान्त नियात्रापरक संस्मरणहरू छन् भने केही जीवनी तथा घटनामूलक संस्मरणहरू रहेका छन् ।
“अस्ट्रेलियन परिवेशमा आधारित दुई नियात्राले एकातिर नियात्राकारभित्रको मनोदशा र अर्कातिर अस्ट्रेलियन नेपाली समाज तथा त्यहाँको भौगोलिक वस्तुस्थितिलाई दर्साउने काम गरेका छन् । साथै त्यहाँका प्रवासी नेपालीहरूको जनजीवन र नातिनीको स्वभावसमेतलाई प्रस्ट पारेका छन् । एकातिर मानिसभित्र विद्यमान वात्सल्यपूर्ण अनुराग, अर्कातिर बालबालिकामा रहेको आफ्नी आमाको काख सजिलै छुट्याउन सक्ने क्षमता र विदेशी भूमिमा सुत्केरी आमाहरूको हिम्मत र कर्मशीलताबारे सङ्केत गरेका छन् ।” भूमिकामा डा.लेखप्रसाद निरौला लेख्छन्, “यसरी नियात्राकार जहाँजहाँ पुगेकी छन् त्यहाँत्यहाँको भौगोलिक, प्राकृतिक, सांस्कृतिक, पौराणिक, ऐतिहासिक र वर्तमान वस्तुस्थितिसमेतको चित्रण गर्दै अगि बढेकी छन् । यसकारण उनको नियात्राकारिता एउटा सबल उच्चकोटितर्फ उन्मुख हुँदै गएको पाउन सकिन्छ ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय ३२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४०० रहेको छ ।
२. राजेन्द्र भण्डारीका प्रतिनिधि कविता— राजेन्द्र भण्डारी
आजको मितिमा भारतभूमिबाट कविता लेखिरहनु भएका शीर्षस्थ कवि राजेन्द्र भण्डारीका पाँच प्रकाशित कविता सङ्ग्रह— १.हिउँदे यी चिसा रातका पर्दाहरूमा, २.यी शब्दहरू यी हरफहरू, ३. क्षर अक्षर, ४.शब्दहरूको पुनर्वास, ५.इतिहासको बाडुली र केही असङ्कलित कविताहरूको सङ्ग्रह हो, “राजेन्द्र भण्डारीका प्रतिनिधि कविता” ।
“राजेन्द्र भण्डारीका लोकप्रिय कविता कविताहरूलाई तिनले उठाएका कथ्यहरूको आधारमा वर्गीकृत गरेर हेर्ने हो भने कवि भण्डारीको कविताकारिताको विषयगत रेञ्ज थाहा पाइन्छ ।” उत्तरपाठमा महेश पौड्याल लेख्छन्, “हाम्रो हातमा रहेको यस प्रतिनिधि कविता-सङ्ग्रहलाई उनका कथ्य र विचारको पनि प्रतिनिधि मान्ने हो भने, उनका धेरै कविता अधिचेतनाबाट अनुप्राणित छन् र तिनले विशेषतः कविताको उपादेयता र स्वभाव, साहित्यकै प्रयोजन तथा भाषा र अर्थको विनिमयमाथि उनका विचारहरू प्रस्तुत गर्दछन् । त्यसै गरी, जीवनमा व्याप्त विपर्यास र विरोधाभासहरूको सम्यक् उद्घाटन, विकृत राजनीतिप्रतिको आक्रोश, खेद र व्यङ्ग्य, जीवन दर्शन, मनोविज्ञान, उमेर र एकाङ्कीपन, अतीतमोह, प्रकृतिप्रेम तथा सभ्य समाजको निर्माणको पक्षमा कविका निजी विचारहरू उनको कविताले बोकेर उभिएका मूल विषयवस्तुहरू हुन् ।”
प्राक्कथनमा लेखिएको छ, “के के भयो यस समयावधिमा ? के के फेरियो ? भारत कहाँबाट कहाँ पुग्यो ? भारतको छिमेक ? अनि विश्व ? यसैबीच दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्डको आन्दोलनले कति फेर्यो भोटा ? स्वरुप ? नेता ? व्यवस्था ? कसरी फेरिए अखबारको डेडलाइनहरू ? … यस्ता अनेक प्रश्न आफैँलाई सोध्नुपर्छ । अनि उत्तरका लागि कवि राजेन्द्र भण्डारीका कवितासङ्ग्रहहरू पल्टाउनुपर्छ – एकपछि एक । केही स्वतन्त्र रूपमा छापिएका फुटकर कविता पनि सुमसुम्याउनुपर्छ ।”
पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । २ सय १० पृष्ठमा फैलिएको पुस्तकको मूल्य नेपालमा ५०५ रुपियाँ, भारतमा ३ सय १५ भा- रुपियाँ रहेको छ ।
३. महाभारतका चरित्रहरू— आर. एल. श्रमजीवी
विदेशमा रहेर पनि पत्रकारिता र साहित्य सिर्जनामा निरन्तर रहने आर. एल श्रमजीवीकृत पुस्तक हो— “महाभारतका चरित्रहरू” । यसमा ‘महाराज शन्तनुको स्त्री मोह’, ‘महाभारत युद्ध अन्त्यपछि राज्य गर्ने परीक्षित’ लगायत ४६ थान मा महाभारतका चरित्रहरूको चित्रण गरिएको पाइन्छ ।
“यस सङ्ग्रहलाई कुन कुन स्रोतबाट सामग्री सङ्कलन गरी तयार गरेँ भन्ने विषयमा जानकारी गराउँदै महाभारत कथाका सन्दर्भ, स्रोत र सामग्रीबारे शीर्षकमा लेखकबाट पुस्तकको समाप्ति गरिएको छ । लेखकको इमानदारीता नै यही हो । लेखकले धेरै मिहेनत गरेका छन् ।” भूमिकामा तिलप्रसाद लुइटेल लेख्छन्, “विश्वको सबै भन्दा पुरानो भनेर युनेस्कोले सम्मान गरेका ऋग्वेदको स्रोतबाट यति गहकिलो सामग्री दिन सक्ने ग्रन्थ महाभारतलाई हेर्दा त्यस बेला समाजको शिक्षा कस्तो थियो होला ? समाज सम्पन्न नभए त्यस्तो शिक्षा कहाँबाट आयो होला ? जस्ता जिज्ञासा उठ्न सक्नुपर्ने हो । समाज सम्पन्न हुनका लागि राज्यव्यवस्था पनि गतिलै हुनुपर्छ । ग्रन्थभित्र भौतिक सम्पत्तिको चर्चा छ भने त्यो समृद्धि पक्कै थियो, नभए लेख्न सकिन्नथ्याे । आज त्यो शिक्षा, शासन व्यवस्था, समृद्धि खोइ ? यसलाई खोज्ने जिम्मा कसको होला ? विदेशीको कि हाम्रा समाजको भन्ने विचारणीय छ । महाभारतका मुख्य प्राय सबै पात्रबारे लेखिएका लेखहरू राम्रा छन्, लेखभित्रका सबै कुरा राम्रा छन् । राम्रा जति उतार्न लाग्दा महाभारतको महाभारत हुन्छ र लेखलाई समय र श्रम पनि धेरै खर्चिनुपर्ने हुन्छ, पाठकलाई पढ्न पनि जाँगर चल्दैन । त्यसैले यो पुस्तक पढिसके पछि मात्र महाभारत के रहेछ भने र बुझ्न सकिन्छ ।”
पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । २ सय १४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय २५ रुपियाँ रहेको छ ।
४. रुइसे दरबार— डा. दलिपकुमार मल्ल
सामाजिक मनोविज्ञान, समाजशास्त्र सामाजिक सुरक्षा विज्ञ, डा. दलिपकुमार मल्ल(पिएच.डी)कृत उपन्यास हो— “रुइसे दरबार” । यो एक ऐतिहासिक, सामाजिक उपन्यास हो ।
“मानिस जन्मदा देखिने उसमा खोजको अनुभूति हुन्छ केही न केही खोजीकै कारणबाट मानिस सृर्जनशील बन्छ । समाजको अध्ययन बृहत् रहेछ यसको अनेक कण-कणमा पुग्न र समाजमा परिचालित संरचनामा पुग्नु भनेको धेरै नै कठिन कार्य रहेछ । यही संरचनाभित्र भएका विभिन्न संरचनाहरूले झन् त्यही भित्रको खोज अनुसन्धानले मानिस कति गहिराइसम्म पुग्न सक्दछ भन्ने अनुभूति पनि हो ।” डा. दलिपकुमार मल्लले ‘श्रष्ट्राकाे कलमबाट’मा लेखेका छन्, “यो ‘रुइसे दरबार’ चोधौ शताब्दीको एक ऐतिहासिक, सामाजिक उपन्यास हो । यो क्षेत्रमा रुइसे दरबारबाट भुरे टाकुरे राजाहरूले आफ्नो क्षेत्राधिकार कायम गरी राज्य चलाएका थिए । राज्य चलाउँदा छिमेकी राज्यहरूसँगको सिमानाका समस्या र बढ्दो पर्वतराज्यको राज्यविस्तारले गर्दा राजनैतिक, कुटनैतिक, सामाजिक र धार्मिकले एक अर्काको राज्यबिच कस्तो अन्तरसम्बन्ध राख्दछ । छिमेकी राज्यसँग स्थायी सम्बन्ध राख्न के कस्ता पहल गरिएको थियो ? आफ्ना राज्य कायम राख्न हरेक राज्यका राजा र प्रजाहरूको कस्तो पारस्परिक सम्बन्ध हुनु पर्दछ । राजा र प्रजाको मेलमिलाप राम्रो भएन भने राज्य पनि गुमाउने अवस्था आउन सक्दछ । यसको मिहिन रूपमा अध्ययन गरिएको सामाजिक इतिहास पनि हो भने तात्कालिक समयमा सती प्रथालाई कसरी बढवा दिइएको थियो र त्यो समयमा सती प्रथा विरुद्ध पनि आवाज नउठेका होइनन् । यसको प्रारूप हो ।”
पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय २८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय २५ रुपियाँ रहेको छ ।
५. नपुरिएका घाउहरू— जङ्ग बोगटी ‘त्रिवेणी’
जङ्ग बोगटी ‘त्रिवेणी’कृत उपन्यास हो— “नपुरिएका घाउहरू” ।
जङ्ग बोगटी लेख्छन्, “म उपन्यास लेख्न जान्दैन तर दुःख, प्रेम र आमा म अलिअलि जान्दछु । यी सब कुराहरू यही उपन्यसभित्र छन् । थुप्रै उपन्यासहरू मनमा थिए कापीमा उतार्ने आँट थिएन । यो पटक आँट गरेँ । धेरै कुरा साहित्यले बोल्छ यो मलाई थाहा छ तर यो उपन्यासले कति कुरा बोल्छ यो त प्रिय पाठकहरूलाई थाहा होला । उपन्यास लेख्दालेख्दै कम हाँसेको छु धेरै पटक रोएको छु । छट्पटिएको छु । कराएको छु । म हाँसेको कुरामा सबै नहाँस्नुहोला अनि मलाई रुवाएको कुराले सबैलाई नरुवाउला पनि मलाई रुन मनपर्छ । रुनु मेरो खुब रमाइलो बानी हो । अरूलाई रुवाउने मेरो चाह छैन । तर पनि उपन्यास पढेर रोउन् केही दुःख पनि बुझुन् अलिअलि यो पनि चाहन्छु ।”
पुस्तकको कभर पृष्ठमा लेखिएको छ, “विकास भनेको त सकारात्मक परिवर्तनका प्रक्रिया हो । के कसलाई काटमार गर्नु विकास हो ? कसैलाई दबाउनु विकास हो ? कसैको जीवन बर्बाद पारिकन कसैको जीवन रंगीचंगी हुनु विकास हो ? गरिब नपाएर मर्ने अनि धनी नखाएर मर्ने विकास हो ? भाइले भाइलाई समाप्न पार्नु विकास हो ? श्रीमानले श्रीमतीको शरीरमा आगो लगाउनु विकास हो ? जन्मदिने आमाबुबा आफ्नै सन्तान बाट अपहेलित हुनु विकास हो ?” पुस्तकको कभर पृष्ठमा लेखिएको छ, “संघर्ष जन्मदेखि मृत्यसम्म पछ्याइरहन्छ । मान्छे एक्लै जन्मियो । एक्लै दुःख पीडासँग मुकाबिला गर्यो । अनि एक्लै मरेर गयो । आखिर सत्य कुरा नै यही रहेछ । अरु सबै मान्छेहरू आस देखाउने मात्र रहेछन् । जिन्दगी भन्नु आसै आसमा बाँच्नुपर्दोरहेछ । के गर्ने ! मनका पीडा कसलाई सुनाउने ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय ३० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९० रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










