३.

“डाक्टरसाब ! म त अचेल विद्यार्थीसामु बोल्नै नसक्ने भएको छु । उनीहरुले केही प्रश्न गरे भने पनि जवाफै नआएको’ जस्तो हुन्छ । उनीहरु कक्षामा हाँसे भने पनि मैले राम्ररी बुझाउन नसकेर’ या मैले बोलेको ठीक नभएर हो कि?’ भने झैं लाग्छ । चक-डस्टर लिएर अगाडि आउनासाथ हात लगलगी काँप्छ, चिटचिट पसिना आउँछ अनि मुटु ढुकढुक गर्न थाल्छ, डर लाग्छ, मुख सुक्छ …”

र.पाण्डे, ३५ वर्ष, काभ्रेस्थित एक उच्च माध्यामिक विद्यालयका विज्ञान शिक्षक ! तर उनको शिक्षण व्यवसाय भने त्यत्ति उत्साहप्रद हुन सकेको छैन । बी.एस्सी. उतीर्ण गर्नासाथ पढाउने पेशामा लागेका उनले अहिलेसम्म चार वटा जति स्कूलमा काम गरिसकेका छन् । हरेकमा आफ्नै (यस्तै यस्तै) कारणले नै छोड्न विवश भएको बताउँछन् उनी । यो पाँचौ स्कूलमा पनि त्यही नै समस्या भइरहेकोले जागीरै धरापमा पर्ने भो भनी विचलित छन् अचेल उनी । “चार जना मानिसको अगाडि पनि बोल्न नसक्ने” भएको हुँदा अरु कुनै पनि पेशा आफूलाई हुँदै नहुने भन्दै दिक्क पनि मान्दछन् । पेशागत दैनिक तनाव अनि हीनताबोधका कारण जीवन नै व्यर्थ भएको ठान्दै कहिलेकाहीं त “आत्महत्या नै गरौं कि?” भन्ने हदसम्म पुगेको बताउँछन् उनी ।

अनि कहिलेकाहीं कुनै छलफलमा भाग लिनैपर्ने अवस्था आयो भने गयल भइदिने अथवा सामाजिक जमघटमा बोल्ने साहस जुटाउन मद्यपानको सहारा समेत लिने गरेको बताउँछन् उनी ।

यी पाण्डे सरको मनको कथाले“एङ्गजाइटी” नामक मानसिक रोगका लक्षणहरुलाई अभिव्यक्त गरेको छ । यो रोग संसारभरिका वयस्क व्यक्तिहरुमा पाइने सबैभन्दा प्रमुख मानसिक समस्या हो । यसले ल्याउने असक्षमता विश्वभरिका रोगहरुमध्ये दशौं स्थानभित्रमा नै पर्ने विश्वव्यापी अन्वेषणहरुले दर्शाएका छन् । यी “एङ्गजाइटी”हरु विभिन्न प्रकारका हुन्छन्, पाण्डे सरमा भएको “एङ्गजाइटी” भने “सोसियल एङ्गजाइटी डिस्अर्डर” हो । “समाजको अगाडि देखा पर्न डर मान्ने अनि सामाजिक गतिविधिबाट टाढा रहन चाहने” लक्षण हुने भएकोले यसलाई “सोसियल फोबिया” पनि भनिन्छ ।

यसमा माथि उल्लेखित लक्षणहरु नै देखिने हो । “कसैले आफ्नो कमजोरी पत्ता लगाउँछ कि या दुई-चार जनासँग कुराकानी गर्दा, सभा-सम्मेलनमा भाषण गर्दा अथवा स्टेज-प्रस्तुति दिंदा या पार्टी भोजभतेरमा सहभागी भइँदा केही गल्ती भइहाल्ला कि, बोल्दाखेरि उट्पट्याङ्ग कुरा गरी आफै लज्जित भइएला कि” भन्ने डर हमेशा रहिरहन्छ अनि त्यस्तोमा सहभागीता नगर्ने, भाग्ने प्रवृत्ति रहन्छ । कोही कोही त यति सम्म तनावमा रहन्छन् कि सार्वजनिक यातायातमा यात्रा नै गर्न डराउने, सार्वजनिक शौचालय प्रयोग गर्नै नसक्ने, व्यापार व्यवसाय गर्नै नसक्ने अनि घरैमा बसिरहन मन गर्ने । यस्तोमा शिक्षण जस्तो पेशामा टिकेर रहन सक्ने त कुरै भएन । स्टेज-प्रस्तुति गर्दा या पार्टीहरुमा जमघट हुँदा आफ्नो “एङ्गजाइटी” मा न्यूनीकरण गर्न मद्यपानको सहारा लिनुपर्ने हुँदा यस्ता व्यक्तिहरुमा मद्यपानजन्य समस्या पनि देखा पर्न सक्दछ । हरदम तनावमा रहनु पर्दा यिनलाई ‘डिप्रेसन’ पनि हुने प्रबल सम्भावना हुन्छ, अझ ‘आत्महत्या’ पनि यस्ता व्यक्तिहरुमा धेरै नै हुने गरेको हामी पाउँदछौं ।

त्यसो भए समाधान के त ?

मुख्य समाधान त “समाजबाट नभाग्नु” नै हो । जुन समाजसँग डर लाग्छ, त्यही समाजमा नै अडिरहने प्रयासबाट मात्र नै “सोसियल एङ्गजाइटी” को उपचार हुन सक्दछ, यसैलाई “एक्स्पोजर थेरापी” भनिएको छ । उदाहरणका लागि, माथि उल्लेखित पाण्डे सरको रोगको सन्दर्भमा, उनको उपचार स्कूलबाट, विद्यार्थीहरुबाट, अनि शिक्षक-अभिभावक समाजबाट भागेर सम्भव छैन, बरु यसले “एङ्गजाइटी” झनै बढाउँछ, मद्यपानमा लाग्ने प्रवृत्ति अझै व्यापक गर्दछ, उनी बेरोजगार अनि उदास जीवन बिताउन विवश रहन्छन्, अन्ततः आत्महत्यातिरै उनी नलाग्लान् भन्न सकिन्न ।

“एक्स्पोजर थेरापी” त्यत्ति सजिलो अनि शीघ्र नै “एङ्गजाइटी” निवारण गर्ने प्रक्रिया भने अवश्य पनि होइन । यसका लागि “एक्स्पोजर” को मात्रा बिस्तारै बढाउँदै जानुपर्दछ । उदाहरणका लागि, पाण्डे सरलाई शुरुमा घरमा नै कक्षाकोठाको ढाँचामा दुई-चार जना घरका सदस्यहरुको अगाडि बोल्न लगाउने गर्न सकिन्छ । त्यस समयमा उत्पन्न हुने “एङ्गजाइटी” का माथि उल्लेखित लक्षणहरु अनुभव गर्दै जाने गर्दा समयको अन्तरालमा ती लक्षणहरु शिथिल हुँदै जाने भएको हुँदा त्यसमा विचलित नहुने उनको अभ्यास क्रमशः बढ्दै जाने गर्दछ ।

त्यसपछि क्रमशः घरमै या विद्यालयमै विद्यार्थीहरुको सानो-सानो समूह बनाएर कक्षा लिने, अनि अरु शिक्षकहरुसँग समूहगत छलफलमा भाग लिने, सभा-गोष्ठीहरुमा सहभागिता जनाउने अभ्यास बढाउँदै लाने गर्न सकिन्छ । यी कुनै पनि जमघटमा मद्यपान या अन्य असामान्य व्यवहारहरुको प्रयोगलाई निस्तेज भने गर्नुपर्दछ । बिस्तारै बिस्तारै पाण्डे सरको “एङ्गजाइटी” हराउँदै जान्छ, पछि उनी पूरा कक्षालाई नै पूरै समय नै कक्षा लिन सक्षम बन्दछन् । आवश्यक भएमा अन्य शारीरिक लक्षणहरु अनि निद्राको गडबडीका लागि छोटो समयका लागि खाने औषधि पनि दिन सकिन्छ ।

तर मनोविज्ञसँगको परामर्शमा अनि प्रत्यक्ष निगरानीमा गरिने “एक्स्पोजर थेरापी” नै “सोसियल एङ्गजाइटी” का लागि महत्वपूर्ण एवं अत्यावश्यक उपचारपद्धति हो ।अतः “सोसियल एङ्गजाइटी” समाजबाट भागेर नभई समाजसँग डटेर मात्र निवारण गर्न सकिन्छ । यो चेतना सबैलाई विशेषगरी शिक्षकवर्गलाई दिनु नै आजको आवश्यकता हो ।

===

४.

प., एउटी ३५ वर्षे शिक्षित गृहिणी महिला, एक पटक हाम्रो ओपिडीमा आइन् । मनको कथा उनको नै थियो, तर समस्या भने उनको आफ्नो थिएन, उनको श्रीमानकाे थियो । ४० वर्षे माध्यामिक विद्यालयका शिक्षक उनका श्रीमान् अचेल अलि बढी नै शंकालु हुँदै गइरहेका छन्, शंका उनको सतीत्वप्रतिको छ । घरभित्रै अनि नातागोताकै पनि कुनै पनि पुरुषसँग कुराकानी मात्र गर्दा पनि उनलाई आँखा तरेर हेर्ने गर्दछन् श्रीमान् । घरबाहिर छिमेकमा समेत एक्लै जान पाउँदिनन् उनी, कि त श्रीमान् आफै, नभए उनको १६ वर्षे छोरा उनको साथ लाग्नुपर्ने नियम झैं बनेको छ अचेल घरमा ।

मोबाइलमा कसैसँग अलि धेरै कुराकानी गरेमा उनको मोबाइलको कल हिस्ट्री चेक गर्ने, उनले पठाएका या उनको इन्बक्समा आएका मेसेज पढ्ने, नाम नखुलेको नम्बरबाट फोन आएमा कलब्याक गरेर बुझ्ने, कतै बाहिरबाट आएपछि लगाएका लुगा ओल्टाइपल्टाइ गर्ने, भित्री लुगाहरुको समेत निरीक्षण गर्ने गर्दछन् उनका श्रीमान् ।

अरुसँग एकदमै राम्रो अनि आफ्नो अध्यापन कार्य या अन्य सामाजिक कार्यमा समेत सबैको वाहवाही पाएका उनका श्रीमान् उनीप्रति भने सकारात्मक हुन सकेका छैनन् बिगत केही वर्षयता । शुरु शुरुमा त आफैले प्रेम विवाह गरेका आफ्ना श्रीमानकाे आफूप्रतिको धेरै मायाका कारणले त्यस्तो भएको होला भनेर त्यत्ति मतलब नगर्ने गरेको उनले अचेल भने घरैमा झण्डै अघोषित नजरबन्दकै अवस्थामा रहनुपर्ने परिस्थिति आएकोले होला आफ्नो ६ वर्षे छोरीको उपचारको बहानामा एक्लै अस्पताल आएर हामीसँग परामर्श गर्न खोजेकी रहिछिन् । अचेल केही महिनायता श्रीमानकाे मद्यपान समेत गर्ने बानी भएको र आफ्नो यौनजीवन समेत सुखमय रहन नसकेकोले अझै बढी पिरालिएकी थिइन् उनी ।

मथि उल्लेख गरिएको समस्याग्रस्त दाम्पत्य या पारिवारिक जीवनले पिरोलिएकी ती गृहिणीका श्रीमानमा एकप्रकारको मानसिक रोग नै छ ।

हाम्रो भाषमा “डेल्यूजनल डिस्अर्डर” भनिने यो रोगका लक्षणअनुसार अनेक प्रकारका हुन्छन् । पीडित व्यक्ति एउटा भ्रमात्मक विश्वासमा अडिग रहने लक्षण हुने यस रोगमा व्यक्तिको विचार गर्ने प्रक्रियामा नै समस्या आएको हुन्छ । “डेल्यूजन” भनिने यस्तो विश्वासमा जति नै हौइन भनेर अरुले प्रमाण उपलब्ध गराउँदा पनि व्यक्तिमा रहेको त्यो सोचाइ-भ्रम हट्न सक्दैन । माथिको उदाहरणमा तिनको श्रीमानमा एउटा विश्वास के उत्पन्न भयो भने उनकी श्रीमती उनीप्रति बफादार छैनन्, अथवा तिनको सम्बन्ध अन्य पुरुषसँग छ ।

कुनै कारणले उत्पन्न हुनपुगेको त्यो शंका तिनको मनभित्र या विचारमा सत्य झैं भएर अडीग रहन पुग्यो अनि त्यसले मनोविकृति या रोगको नै रुप लिन पुग्यो, यसलाई “डेल्यूजन अफ इन्फिडेलिटी” भनिन्छ । अन्य “डेल्यूजन”हरुमा कसैले हानि पुर्‍याउने वा मार्ने (पर्सिक्यूसन ), कसैले आफ्नै बारेमा कुरा गरिरहेको (रिफरेन्स ), आफूलाई ठूलै बिमारी भएको या ठूलै रोग लागेको (सोमाटिक या इल हेल्थ वा हाइपोकोण्ड्रियाक ), आफू निकै गरीब भएको (पोभर्टी ), एकदमै ठूलो स्थानका व्यक्तिले आफूलाई प्रेम गर्ने (इरोटोमानियाक या लभ ) आदि हुनसक्दछन् ।

यसरी पीडित व्यक्ति अरु कुरामा भने सामान्य नै रहन्छन्, तिनको व्यक्तित्वमा कुनै परिवर्तन आउँदैन, पेशागत या सामाजिक पक्षमा केही समस्या रहँदैन । कसै कसैमा भने केही समयपछि डिप्रेसन, मद्यपानजन्य आदि मनोसामाजिक समस्याहरु देखा पर्न सक्दछन् माथि उल्लेख भएझैं ।

यो समस्या जीवनको दोस्रो या तेस्रो दशकतिर शुरु हुने गर्दछ । यसले व्यक्तिगत तनाव बढाउँछ, पारिवारिक, विशेषतः दाम्पत्य जीवनलाई तहसनहस पार्दछ । पारपाचुके, मद्यपान/लागूपदार्थजन्य आदि समस्या पनि लेराउन सक्दछ । व्यक्तिको अन्तर्निहित विचार गर्ने प्रक्रियामा नै समस्या ल्याएर अन्ततः तिनमा एकाकीपन, हीनताग्रन्थि आदिको विकास गराई आत्महत्यातर्फ नै नडोर्‍याउला भन्न सकिन्न ।

शिक्षित समाज अनि सम्पन्न व्यक्तिहरूमा नै नजानिँदो तरिकाले विकास हुने यो रोग सुरुवाती अवस्थामा रोगकै रूपमा भने नदेखिन सक्छ । शनैःशनैः यसको प्रभावको आकलन परिवार, मित्रवर्ग या नजिकका सहकर्मीहरूले गर्न थाल्दछन् । पीडित व्यक्ति आफै मनोचिकित्सककहाँ आउने सम्भावना पनि कमै रहन्छ । अरुले नै ल्याउने या अन्य चिकित्सकले रिफर गर्नुपर्ने हुन्छ ।

कहिलेकाहीं यी लक्षणहरु मस्तिष्कको ट्युमर जस्ता गम्भीर शारीरिक समस्याहरुको द्योतक पनि हुनसक्दछ, अतः सम्बन्धित विशेषज्ञसँग परामर्श अनि त्यससम्बन्धि परीक्षणहरु गराउन पनि आवश्यक पर्न सक्दछ ।

“डेल्यूजनल डिस्अर्डर” को उपचार प्रक्रिया त्यत्ति सजिलो भने हुँदैन । पीडित आफैले औषधि सेवन गर्ने अवस्थामा नरहने भएकोले कहिलेकाहीं त बिरामीले थाहा नपाउने तरिकाले या तिनलाई लुकाएर पनि औषधोपचार गर्नुपर्ने हुनसक्दछ । तर उपचार गरेमा भने यो रोग सजिलैसँग निको हुनसक्दछ । अतः पाठकवृन्द !

यस लेखको आशय “डेल्यूजनल डिस्अर्डर”का बारेमा यहाँको चेतनास्तरमा वृद्धि ल्याउनु नै हो । यसलाई बुझेर यस्तै समस्या आइपर्दा या देखापर्दा मनोचिकित्सकको सल्लाह लिन नभुलौं है !