कवि परिचयः

अनिल विभाकर

पटना, बिहारनिवासी अनिल विभाकर हिन्दी साहित्का नवौँ दशकका एक चर्चित कवि हुन् । पेसागतरूपले पत्रकार विभाकरका देशका लगभग सबै महत्त्वपूर्ण पत्र-पत्रिकाहरूमा कविताहरू प्रकाशित छन् । दूरदर्शन अनि आकाशवाणीका महत्त्वपूर्ण साहित्यिक कार्यक्रमहरूमा उनको भागीदारी रहेको छ। उनी हिन्दी और मगही भाषामा लेख्ने गर्छन् । हिन्दीमा ‘शिखर में आग’, ‘सच कहने के लिए’, ‘अंतरिक्षसुता’ अनि मगहीमा  ‘इंगोरा’, ‘झांझ’- यिनका पाँच चर्चित कविता-सङ्ग्रहहरू हुन् । उनी हिन्दी दैनिक ‘हिन्दुस्तान’ (पटना)-मा दुई दशकसम्म वरिष्ठ ओहोदामा कार्य सम्हालेपछि ‘जनसत्ता’ (रायपुर)-मा सात वर्षसम्म अनि ‘नवभारत’ (भुवनेश्वर)-मा चार वर्षसम्म स्थानीय सम्पादकको रूपमा कार्यरत रहे । हिन्दी साहित्य अनि पत्रकारिता क्षेत्रमा विशिष्ट योगदानका निम्ति उनलाई अनेकौँ पुरस्कारहरूद्वारा सम्मानित गरिएको छ ।

====

१. छिमेकी

बिस्तारै खोल्यो उसले आफ्नो ढोका

मलाई देखेर उसको अनुहारमा हल्का मुस्कान छायो

अनि ड्याम्म बन्ध गर्‌यो ढोका

 

यसै त हामी दुवैका ढोकाहरू

एकै साथ खोलिदैनन्

महिनामा दुई-चार दिनमात्र यो शुभमुहूर्त आउने गर्छ

जब एकै साथ खोलिने गर्छन् दुवैका ढोकाहरू

 

नजिक रहेर पनि टाढा-टाढा रहनु

विशिष्टता हो नागर सभ्यताका

मनभित्रका ढोका बन्ध राख्नु

युगधर्म हो महानगरहरूका

 

हामी दुवैका ढोकाहरू आज पनि एकैसाथ खोलिए

ऊ हाँस्यो

अनि ढोका बन्ध गर्‌यो

 

मेरो ढोका भने

धेरैबेरसम्म खुल्लै रह्यो।

*****

२. द्वारपाल

सत्युग होस्, त्रेता वा द्वापर

प्रत्येक युगमा रहने द्वारपाल

आजका समयमा पनि छन्

 

देवताहरूलाई पनि द्वारपालका आवश्यकता थियो

बर्बरीक त केवल द्वापर युगमा देखा परे

महाभारतको समयमा

 

देवतागणका प्रहरी बन्ने गर्छन् द्वारपाल

इन्द्रप्रस्थका धेरै नजिक हुने गर्छन्

 

राजाका खास हुने गर्छन् उनीहरू

तथापि कहिले पनि राजाले

आफ्नो राजदूत बनाएनन् उनीहरूलाई

 

मनको महाभारत हुने गर्छ उनीहरूसँग

स्मृतिमा गुञ्जिने गर्छ अयोध्याका छन्द

 

मधुर सङ्गीत गुञ्जिने गर्छ उनीहरूका कानमा

आँखामा फैलिएका हुन्छन् बृन्दावनका महारस

 

यति सम्पन्न भएता पनि

उनीहरूलाई मुख खोल्ने स्वतन्त्रता छैन

द्वारपालहरूका दुःख हेर्न सकिँदैन

 

बर्बरीक सिंहासनका नजिक हुँदैन

ऊ न त कहिले राजदुत बन्छ

न त राजाका खास

शिर काँटिदा पनि मुक्त कन्ठमा बोल्छ बर्बरीक

महाभारतमा देखेका कुराहरू

पाण्डव होस् वा कौरव

कसैको पक्ष लिएन उसले

जब-जब अन्याय भएको देख्यो कुरूक्षेत्रमा

मौन बसेन, चिच्याइ-चिच्याइ बोल्यो उ

सँधैभरि सत्यको साथ दियो बर्बरीकले

कहिल्यै दुःखी रहेन द्वारपालहरूझैँ

 

राजतन्त्र होस् वा लोकतन्त्र

देवलोक होस् वा भूलोक

द्वारपालहरूका मुख सर्वदा सिलाइएका हुन्छन्

बर्बरीकको मुख त कृष्णले पनि बन्ध राख्न सकेनन्

 

डराऊ राजा डराऊ!

द्वारपाल दुःखी बन्यो भने

बर्बरीक बन्न पुग्छन्।

(बर्बरीक महाभारतका एकजना महान योद्धा थिए। उनी घटोत्कच अनि अहिलावतीका ज्येष्ठ सन्तान थिए। उनी सर्वदा पराजित हुने पक्षबाट लड्ने गर्थे। उनका अपार शक्तिका कारण भगवान कृष्णले उनलाई कलियुगमा आफ्नो नाममा पूजिने वरदान दिएका थिए अनि खाटू श्यामका नामले उनी पूजनीय छन्।)

*****

३. बाँध

नदीहरूलाई न छेक

नत्र मर्नेछन् यिनीहरू

 

उहिले-उहिले यिनीहरूका किनारमै रचिएका हुन्

सभ्यताहरू

नदीहरू मरे भने

यिनीहरूलाई बाँच्न गाह्रो हुनेछ

 

शहनाई सम्राट उस्ताद बिस्मिल्ला खाँलाई

थाहा थियो नदीको महत्त्व

त्यसैले उनी जीवनभर काशीमै बसे

गएनन् अमेरिका

 

उनका शहनाईका धुनमा लट्टु बनेका

अमेरिकी राष्ट्रपति रोनाल्ड रीगन चाहान्थे

उनलाई लैजान

सदा-सदाका निम्ति आफ्नो देश

सँधैका निम्ति अमेरिकी बनाउन

 

तब खाँ साहबले उनी अघि

सोझोपनका साथ एउटा प्रश्न राखे

तर निरूत्तर रहे रीगन

 

रीगनलाई भने-

हुनसक्छ त्यहाँ तपाईँले मलाई सबै सुविधाहरू दिनु हुनेछ

तर गङ्गालाई त्यहाँ कहाँबाट ल्याउन हुनेछ?

 

नदीको महत्त्व थाहा थियो बिस्मिल्ला खाँलाई

गएनन् अमेरिका

गङ्गाका किनारमै बिताए सम्पूर्ण जीवन

 

नदी मर्नु भनेको सङ्गीत मर्नु हो

नदी सुक्नु भनेको

सभ्यता मासिनु

 

नदीहरूका निर्मल पानीले

मङ्गलध्वनि छरिन्छन्

प्रस्फुटित हुने गर्छन् जीवनका अनेकौँ रागहरू

 

गङ्गाका ध्वनिद्वारा बिस्मिल्लाले रचे धेरै रागहरू

अनि धन्य बन्यो शहनाई

 

नदीहरूलाई छेक्यौ भने मर्छ

जसरी बिस्तारै मरिरहिछे गङ्गा

मरिरहिछे यमुना

अनि अन्य धेरै नदीहरू

 

नदीहरू मरे भने

मौन बन्नेछ बिस्मिल्ला खाँका शहनाई

सुनिने छैन कान्हाका बाँसुरीबाट कुनै तान

 

नदीहरूलाई छेक्यौ भने

सुकेर जानेछन् जीवन-राग

अनि, केही पनि बाँच्ने छैन।

*****

अनुवाद – बिलोक शर्मा:

बिलोक शर्मा

बिलोक शर्मा कवि अनि अनुवादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बङ्गला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुन्छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको लुधियाना सहरमा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।