१. कथाकार सन्तोष भट्टराईको रक्सी माहात्म्य

सन्तोष भट्टराई

कथाकार सन्तोष भट्टराईको बारेमा पछिल्लो पुस्ताका धेरैलाई कमै थाहा छ । उनी गोरखापत्रका अत्यन्तै विद्वान् प्रूफ रिडर थिए । प्रूफ रिडिङमा जति अब्बल थिए, त्योभन्दा बढी कथाकारिताका सबल थिए ।

तर रक्सीको मामिला असाध्यै कमजोर थिए उनी । खुट्टा खच्याङ्–खच्याङ् गर्दै उनी गोरखापत्र आउँथे । अफिसबाहेकको समय अफिसकै बाहिरपट्टि लडिरहेका भेटिन्थे । रक्सी खाएर लड्ने र लडेकै ठाउँमा पिसाबसम्म फेर्ने साहित्यकारको लिस्टै बनाउने हो भने उनको नाम पहिलो नम्बरमा आउँदो हो, सायद ।

खास कुरो के भने – कथाकार सन्तोष भट्टराईलाई एक पुरस्कार दिइने भयो – मैनाली कथा पुरस्कार । तर, पुरस्कार वितरण समारोहमा रक्सीपान छोडी उनी आउने कुरामा शङ्का थियो । नरेन्द्रबहादुर श्रेष्ठले उनलाई ल्याउने जिम्मा लिए ।

अन्तत: पुरस्कार वितरण समारोहको दिन आयो । कार्यक्रम सुरु भयो । तर कथाकार भट्टराई आएनन् । बुझ्दा, रक्सी खाएर लडिरहेका रहेछन् । नरेन्द्रले ल्याउने जिम्मा लिएका थिए । गाडी लिएर गए । पानी खनाएर ब्युँझाए । नयाँ लुगा किनेर लगाइदिए । र, लिएर कार्यक्रम स्थल (सभागृह) पुगे । र, ‘मैनाली पुरस्कार’ प्रदान गरे ।

पख्नूस् ! थारै कुरा अझै बाँकी छ ।

पुरस्कारमा नगद राशि र सम्मान पत्र थियो । भट्टराईले ‘खोई, खाम’ भनी खाम लिए, अरु केहीको वास्ता नगरी निस्किए । यो प्रशंगलाई नरेन्द्रराज श्रेष्ठले अन्नपूर्णमा समेत लेखेका छन् ।

===

२. मनु ब्राजाकीको रक्सी माहात्म्य

मनु ब्राजाकी

मनु ब्राजाकीका कथाका बारेमा भन्नै पर्दैन, त्यसैले कुरो कथाको होइन ।

मनु जनकपुरस्थित औरहीका जमिनदार थिए । पूर्वमन्त्री शरद् सिंह भण्डारी साख्खे मनुकै भतिज हुन् । उनी पाँचपटक मन्त्री भए । त्यसमा एकपटक संस्कृति मन्त्रीसमेत भए । मनुले चाहेका भए पटक–पटक प्राज्ञ बन्न सक्थे, तर उनले त्यतातिर कुनै चासो देखाएनन् । उनका पदको कुनै लोभ थिएन ।

‘मनु आर्दश’को कुरा गर्ने हो भने तपाईंले पत्याउनै पर्ने हुन्छ । तर मनु–रक्सी सम्बन्धको छोटो चर्चा गरिँदैछ । पत्याउने वा नपत्याउने अधिकार तपाईंसँगै सुरक्षित छ ।

मनु एकमात्र त्यस्ता साहित्यकार हुन जसले गोरखापत्रबाट अग्रिम पैसा लिएर कथा लेखे । र, मनु एकमात्र त्यस्ता साहित्यकार हुन् जसले भेटेका प्रत्येक व्यक्तिसँग पैसा माग्थे । कतिसम्म भने – मनुलाई देखेपछि बाटो फेर्ने तथा लुक्ने गरेका किस्सासमेत नेपाली साहित्य–जगत्मा सुन्ने गरिन्छ । र, बाहिरपट्टि निस्किएर भट्टी पसिहाल्थे । उनले रक्सी नचाखेको भट्टी असनका गल्लीहरूमा सायदै भेटिएलान् ।

मनु प्राय: लोक पिउँथें, आखिरीमा लेख्न पनि त लोकलै लेख्थे । अर्ग्यानिक क्या ! मनु बहुतै समाजवादी थिए, एउटै भट्टीमा बसेर पिइरहन सक्दैन थिए । उनलाई आफू हिँड्ने बाटोमा पर्ने प्रत्येकजस्तो भट्टी पस्नु पथ्र्यो ।

तर, जति नै रक्सी पिए पनि मनुले कसैलाई गाली गरेको कतै उल्लेख छैन । कसैले उल्लेख गरेका छैनन् । जति नै पिए पनि उनीको भद्रता र शालीनतामा भने २० को १९ परिवर्तन आउँदैन थियो ।

===

३. आख्यान पुरुषको रक्सी माहात्म्य

ध्रुवचन्द्र गौतम

एक समयको कुरो हो, त्यतिबेला हाम्रा आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव थिए । प्रज्ञाको सदस्य सचिव हुनु सानो कुरा थिएन, बेलामौका नेपालभर नै साहित्यिक कार्यक्रमहरुमा प्रमुख अतिथि भएर पुगिरहनु पर्थ्यो । तर थिए हाम्रो आख्यान पुरुष रक्सी–रसिक ।

गौतमका रक्सी किस्सा उनका समकालीन साहित्यकारहरुसँग जति पनि छन्, नगेन्द्रराज शर्मा प्रधानसम्पादक रहेको ‘अभिव्यक्ति’का विभिन्न अङ्कहरु पल्टाउँदै जाने हो भने पनि गौतम–रक्सी सम्बन्ध धेरै भेटिन्छ । पत्याउनु–नपत्याउनु तपाईंको कुरा – प्रतिनिधि रक्सी–रसिक गौतम किस्सा यस्तो छ:

प्रज्ञा सदस्य सचिव ध्रुवचन्द्र गौतम एकपटक प्रमुख अतिथिका लागि उपत्यकाबाहिर कतै निम्त्याइएका थिए । काठमाडौंबाट गाडी चढी उनी निक्लिए । तर कार्यक्रम स्थलमा नपुग्दै, मुग्लिनमा गाडी रोकियो । रोकिएको राकियै भयो । उता कार्यक्रम सुरु भयो । र, सकियो पनि । तर गाडी अघि बढेन । ध्रुवचन्द्र अघि बढेनन् । अन्तत: प्रमुख अतिथि बन्न गाडी चढेका गौतम मुग्लिनबाटै काठमाडौं फर्किए ।

यो त ठिक छ कि, मुग्लिनमा के चाहिँ भो ? भन्नु पर्दैन ? पर्छ पर्छ । सुन्नुहोस् ।

अगाडि नै भने, हाम्रा आख्यान पुरुष थिए बडो रक्सी–रसिक । मुग्लिनको माछा त झन् भन्नै परोइन । गौतमले मुग्लिनको स्वाद बिर्सिन सकेनन् सायद । गाडी रोकी माछा र रक्सी खान थाले । कार्यक्रम सुरु भयो, तर गौतमको माछा–रक्सीको स्वादपान सकिएन । कार्यक्रम सकियो, अगाडि बढ्नुको औचित्य रहेन । र, गौतम काठमाडौं नै फिर्ती भए ।