
१. स, एक १७ वर्षीया किशोरी ।
दुई दिन अघि घरमा नै रहेको ‘मुसा मार्ने औषधि’ खाएर आत्महत्याको प्रयास गर्दैगर्दा परिवारले देखेर हाम्रो अस्पतालको इमर्जेन्सीमा ल्याइएकी रहिछिन् । ज्यान बचाउने अनि अन्य अत्यावश्यक उपचार प्रक्रिया पूरा गरिएपछि मनोचिकित्सकीय जाँचपडतालका लागि हाम्रो वार्डमा सारियो तिनलाई । विस्तृत मनोसामाजिक परामर्शका क्रममा ‘आत्महत्या’का लागि उद्यत गराउन सक्ने उनका जीवनका विविध पाटाहरु खुल्दै गए । ११ कक्षामा पढ्ने ती किशोरी आफ्नै टोलको ड्राइभर पेशामा रहेको एक १९ वर्षीय किशोरसँग प्रेम सम्बन्धमा रहिछिन् बिगत केही वर्षयता । प्रेम सम्बन्ध, भेटघाट बढ्दै गरेर नजिकिने क्रममा तीबीच यदाकदा शारीरिक सम्बन्ध पनि हुने गरेको रहेछ । तर केही महिनायता भने उनीहरुबीच कुनै विषयमा मतभेद बढ्न थालेको रहेछ । तीन हप्तादेखि ती दुईबीच प्रत्यक्ष भेटघाट नै पनि भएको रहेनछ । अझ गत हप्तादेखि त त्यो किशोरले तिनको फोन समेत उठाउन छोडेको रहेछ । अनि त, “आर्थिक, सामाजिक, पारिवारिक परिस्थिति, जातभात, अध्ययन आदि केही पनि विषयमा समानता नहुँदा नहुँदै पनि, अझ बाबामामुले स्वीकृति नदिने कुरा ज्ञात रहँदा रहँदै पनि, आफूले प्रेमका लागि सबै त्याग गर्न तयार रहेको तर उसले भने धोका दिएको” निष्कर्षमा पुगिन् तिनी । अन्ततः त्यही एक झोंकको क्षणिक आवेगले ‘आत्महत्या’को निणर्यमा पुर्यायो तिनलाई ।
***
२. प, एक २० वर्षीय किशोर ।

प्रा.डा. अजय रिसाल
एक्लै नै आएको छ ऊ हाम्रो ओपिडीमा । १२—१ बजेतिर दिउँसोको समयमा कलेजको पोशाकमा नै छ । १२ कक्षाका विज्ञान विषय पढ्ने ऊ कलेजको ब्रेक टाइममा आएको रहेछ । “किन एक्लै आएको ?” भनेर सोध्दा आँखाभरि आँसु छचल्किन्छ उसको । अनि अँध्यारो मुख लगाएर घोप्टिन्छ ऊ । ऊ अलि पीडामा नै रहेको जस्तो लागेर उसको मौनतालाई बिथोल्न चाहिनँ मैले, अनि उसलाई पर्खिरहें । बिस्तारै खुल्दै गयो ऊ । पश्चिम नेपालको निम्नमध्यम वर्गीय किसान परिवारको छोरा ऊ एस.एल.सी राम्रै अंकमा उतीर्ण गरेपछि चिकित्सक बन्ने उद्देश्यका साथ काठमाडौं आएको रहेछ ४ वर्षअघि । परिवारले सकीनसकी ऋणधन गरेर उसलाई विज्ञान पढ्न राम्रो कलेज अनि बस्न-खान महंगो होस्टल नै व्यवस्था गरिदिएका रहेछन् । होस्टलमा रहँदा-बस्दा अनि कलेजका साथीहरुको संगत अनि लहैलहैमा उसले चुरोट खान थालेछ । पहिले त्यस्तो लागूपदार्थ आदिबाट टाढै रहने उसले बिस्तारै रक्सी, गाँजा आदि पनि सेवन गर्न थालेछ । बिस्तारै उसले सेवन गर्ने पदार्थहरुको सूचीमा ब्राउन सुगर, निद्राका ट्याब्लेटहरु अनि सुई लगाएर लिइने वस्तुहरु पनि थपिंदै गएछन् । ऊ ती वस्तुहरु बिना रहनै नसक्ने भयो । ११ कक्षामा दुईपटक नराम्ररी नै अनुत्तीर्ण भएपछि कलेजले निकालिदिएछ उसलाई । साथीसंगत, लागूपदार्थ सेवन आदिका कारण घरबाट पठाइने पैसा अपुग हुँदै गयो उसलाई । अनि ऊ होस्टल छोडेर चार-पाँचजना साथीसहित एउटा सस्तो कोठामा बस्न थाल्यो । घरपरिवारको लाजगालबाट बच्न एउटा कलेजमा भर्ना पनि भयो । तर उसको पढाइ नियमित भने थिएन । ११ कक्षा बल्ल बल्ल पास गरे तापनि १२ कक्षाबाट पार पाउने छाँटकाँट भने थिएन उसको । उसको खानपान, रहनसहन, साथीसंगत, दुव्र्यसन आदिलाई घरबाट पठाइने खर्च अपुग हुन थाल्यो । अनि त चोरीचकारी, पाकेटमारी, घुर्काउने-थर्काउने जस्ता आपराधिक कर्महरुमा समेत उद्यत हुनपुग्यो ऊ । यी सबका कारण प्रहरीको हटलिस्टमा समेत परिसकेको रहेछ ऊ । कलेजको एक जना शिक्षकले उसको हालत देखेर माया गरेर मनोचिकित्सकलाई भेट्ने सल्लाह दिएकाले आज हामीकहाँ आएको रहेछ ऊ ।
***
३. म, एक १९ वर्षीय किशोर ।
अलिअलि डराएजस्तो, कता कता हराएजस्तो भाव, अनि आँखाभरि आँशु । मेडिकल शिक्षामा पहिलो खुड्किलो हाल्दै गरेको विद्यार्थीको यस्तो हालत देख्दा भित्रैदेखि मेरो मन कुँडिएर आयो । कुराकानीको क्रममा अभिव्यक्त भएका ऊभित्रका घोर निराशा, स्वःत्वविहीन अनि किंकर्तविमूढपनले झनै उद्वेलित गरायो मेरो मन । जेहेन्दार विद्यार्थीहरुले मात्र प्रवेश पाउने मेडिकल शिक्षा, अनि त्यसको पूर्ण अध्ययनपश्चात उसले सँगाल्ने अति सम्मानित चिकित्सा पेशा ! तर त्यसको सबैभन्दा पहिलो द्वार पनि पूरै छिरिनसकेको एउटा किशोरको त्यस्तो मानसिक अवस्था ? म हतप्रभ भएँ । उसले आफ्नो मन खोल्न निक्कै नै समय लगायो ।
मैले आफ्ना सबै ज्ञान, शीप, दक्षताको प्रयोग गरेपछि भने ऊ बिस्तारै खुल्दै गयो । पूर्वी नेपालको मध्यमवर्गीय परिवारको केटो ऊ । सानैदेखि तीक्ष्ण, पढाइमा अब्बल । विद्यालय तहदेखि नै राम्रो अंकका साथ शिक्षकवर्ग अनि साथीसँगीहरुको हाइहाइमा अघि बढ्दै गएको रहेछ । एस.एस.ली राम्रो अंकमा उतीर्ण गरेपछि सदरमुकाम आएर त्यहाँको राम्रो कलेजमा ११-१२ कक्षामा विज्ञान विषय पढी राम्रै अंकमा पास गरेछ । अनि काठमाडौं आएर छात्रवृत्तिको तयारी गरेको रहेछ । दुई वर्षको असफलताले अलिअलि गलाए पनि अन्ततः छात्रवृत्ति नै पाएर ऊ एक महिना अघि मात्र भर्ना भएको रहेछ । भर्ना भएर होस्टलमा बस्न थालेपछि नै उसले जुनियर विद्यार्थी हुनुको पीडा महसुस गर्न थालेछ । होस्टल कोठामा सिनियर विद्यार्थीहरु आएर जिस्काउने, अनावश्यक अनि लाजमर्दो कार्यहरु गर्न लगाउने, यातना दिने आदि गर्न थालेपछि उसलाई जीवनभर नपाएको पीडा अहिले पाउन थालेको झैं अनुभव हुन थालेछ । रातभर राम्ररी सुत्न नपाउँदा भोलिपल्ट कक्षामा पनि राम्रो ध्यान नजाने अनि नयाँ विषयहरु राम्ररी नबुझिने कारणले गर्दा आफ्नो पढ्ने उत्साह अनि जाँगरमा नै कमी आउन थालेको जस्तो लागेछ ।
आफ्ना नजिकका साथीहरु पनि कोही नभएको अनि टाढा गाउँका अभिभावकहरुलाई पनि आफ्ना यी नितान्त नौला पीडा अभिव्यक्त गर्न पनि अप्ठेरो लागेछ । अति नै भएपछि आफ्नो एक शिक्षकलाई यो समस्या बताएछ । ती शिक्षकले पनि “प्राविधिक विषयहरुमा यस्तो र्यागिङ्ग गर्ने प्रथा सामान्य नै विषय भएको, पछि विस्तारै ठीक हुने” किसिमले सम्झाएछन् । ती शिक्षकका कुराहरुमा त्यत्ति चित्त नबुझेकाले अनि आफ्नो मानसिक स्थिति नै अलि असहज बन्दै गएको मानेर ऊ हामीकहाँ परामर्शका लागि आएको रहेछ ।
माथि अभिव्यक्त तीन घटनाहरु आम किशोर अनि नवयुवावर्गका मनका प्रतिनिधि कथाहरु हुन् । ‘काउन्सेलिङ्ग’का लागि भन्दै अन्य थुप्रै किसिमका पीडा अनि व्यथा लिएर थुप्रै किशोर-किशोरी एवं युवाहरु हाम्रो ओपिडीमा आउने गर्दछन् । तिनका विविध समस्या एवं लक्षणहरुको मनोसामाजिक विश्लेषण गर्नुपर्दा प्रायः तीन वर्गमा वर्गीकृत गर्न सकिने देखिन्छ: लागूपदार्थ दुर्व्यवसनजन्य रोगहरु, एङ्गजाइटी एवं उदासीनताका कारण आत्महत्याको प्रयास गर्नसमेत पछि नपर्ने प्रवृत्ति अनि अपराधीकरणतर्फ उन्मुख किशोर/युवाजमात ।
१५-२४ वर्षको उमेर : किशोर एवं युवावस्था ! शारीरिक परिवर्तन, रासायनिक (हर्मोनहरुको) उतारचढाव, मनोवैज्ञानिक अस्तव्यस्तता, सबैका लागि संक्रमणकालीन अवस्था !
नेपाली परिप्रेक्ष्यमा हेर्दा उच्च माध्यमिक स्तरमा पुग्ने समय ! स्कूल परिवर्तन, विषय छनोट, घरको दायित्व, पेशागत चुनौती, साथीसंगतीमा बढोत्तरी एवं समूह-निर्माण अनि बिपरीत लिंगीप्रतिको आकर्षण-प्रेम सम्बन्ध आदि शुरुवात हुने समय !
पश्चिमी मुलुकहरुको सन्दर्भमा भने बाबुआमाको घर छोडेर आफ्नो स्वतन्त्र जीवन शुरु गर्ने समय ! तनाव, अत्यास, किंकर्तव्यविमूढता, जिम्मेवारीबोध, कर्तव्याकर्तव्य व्याकुलता, सबैको सम्मीश्रण हुने समय !
मानसिक स्वास्थ्यको चश्माबाट हेर्दा, करीब आधाजसो मानसिक रोगहरु जीवनको दोश्रो दशक, त्यसमा पनि १४-१५ वर्ष उमेरको हाराहारीमा नै शुरु हुने गरेको पाइन्छ । “डिप्रेसन”लाई युवाहरुमा रोगहरुको कारणले हुनसक्ने असमर्थताको तेश्रो ठूलो कारकतत्व मानिएको छ । त्यस्तै १५-२९ वर्ष उमेर समूहमा हुने मृत्युको दोश्रो प्रमुख कारणका रुपमा “आत्महत्या”लाई औंल्याइएको छ । अनि अझ महत्वपूर्ण कुरा, साथीसंगीको लहैलहैमा मद्यपान एवं लागू पदार्थ दुर्व्यवसनकाे शुरुवात हुने समय पनि यही नै हो । अहिलेको विश्वमा हुने/भइरहेका यौनजन्य हिंसा, बलात्कार आदिका समाचारमा करीब ५०-६०% युवा एवं किशोरकिशोरीहरु “पीडित” या “पीडक”का रुपमा रहिरहेको नै हामी पाउँदछौं । “एसिड आतंक” त अचेल हाम्रै मुलुकमा पनि प्रमुख हेडलाइन बन्नपुगेको तथ्य सर्वविदितै छ ।
विश्व स्वास्थ्य संगठनको सन् २०११ को तथ्यांकमा जनाइएअनुसार विश्वभरिमा ५ मा १ (अर्थात् २० %) युवा कुनै न कुनै मानसिक रोगबाट पीडित छन् तर ४ % हाराहारीमैे पनि स्वास्थ्य बजेट त्यस्ता समस्याहरुका लागि खर्च भइरहेका छैनन् । त्यस्तै लैंगिक पहिचानका समस्या अनि समर्थहरुले असमर्थहरुलाई गर्ने हेपाइ (बुल्लिइङ्ग) अनि अग्रज (सिनियर) हरुले आफूभन्दा जुनियरहरुलाई गर्ने दुर्व्यवहार (र्यागिङ्ग) आदिका कारणले युवावर्गको स्वःत्व एवं स्वाभिमानमा पार्नसक्ने प्रभावका बारेमा हालसालै मात्र चर्चा चल्न थालेका छन् ।
सन् २०११मा सरकारी स्तरमा नै भएको एक सर्भेक्षणले जनाए अनुसार नेपालको जनसंख्याको ३६ प्रतिशत ओगटेको किशोर एवं युवा जमात (१०-२४ उमेर समूह) मध्ये १८ प्रतिशत मद्यपान, १३ प्रतिशत धुम्रपान अनि ६ प्रतिशत अन्य लागू पदार्थका दुर्व्यवसनी पाइएका थिए । त्यस्तै, २४ प्रतिशत घरायसी यातनाका अनि ८ प्रतिशत बाह्य दुर्व्यवहारको शिकार भएका र ३ प्रतिशत आपराधिक क्रियाकलापमा उन्मुख भेटिए । २०१० मा संयुक्त राज्य अमेरिकामा भएका अध्ययनहरुले पनि रक्सी, चुरोट, गाँजाजस्ता नशाजन्य पदार्थहरु प्रायः ८ कक्षदेखि १२ कक्षमा अध्ययनरतहरुले नै बढी प्रयोग गर्ने गरेको देखाएका थिए । मानसिक रोगहरुको आँकडालाई मध्यनजर गर्दा युवक/किशोरहरुमा ‘कण्डक्ट डिस्अर्डर’ र ‘एटेन्सन डेफिसिट डिस्अर्डर’ बढी पाइयो भने महिलाहरुमा एङ्गजाइटी र डिप्रेसन नै बढी देखियो । ‘मर्ने चाहना’ अनि ‘आत्महत्याका विचार’हरु पनि यस्ता युवाहरुमा नै बढी आउने पनि अध्ययनहरुले पुष्ट्याएका छन् ।
विश्व बदलिरहेछ । यसका कुनै भाग युद्धविभीषिकाले ग्रस्त छन् भने कतै भर्खरै मात्र शान्ति प्रक्रियाको थालनी भएको छ । हाम्रो मुलुक नै पनि लामो द्वन्द्वको समाप्ति अनि व्यवस्था परिवर्तनको संक्रमणकालीन अवस्थामा अझै छ । त्यस्तै प्राकृतिक प्रकोप, कोरोना-डेंगूजस्ता महामारी, राजनैतिक या आपराधिक आतंककारी गतिविधि, अनि तीव्र औद्योगिकीकरणका दुष्प्रभाव आदिका कारण पनि युवावर्ग समस्याग्रस्त छन् । इन्टरनेट अनि सामाजिक सञ्जालको तीव्र विकासले गर्दा बढ्दै गइरहेको साइबर गतिविधिका सकारात्मक-नकारात्मक दुवै प्रतिक्रियाले प्रभावित पनि छन् आजका युवा । बेरोजगारी, आप्रवासन, शरणार्थी जीवन सबैले युवावर्गलाई नै परिलक्षित गर्दछन् । यी सबैका कारण तिनको मानसिकतामा पर्न सक्ने असरहरु अझ गहिरिएर जान सक्ने तथ्य प्रष्ट नै छ ।यिनै विषयहरुको महत्व अझै उजागर गर्नलाई नै होला, सन् २०१८ को विश्व मानसिक स्वास्थ्य दिवसमा “बदलिंदो विश्वमा युवावर्गको मानसिक स्वास्थ्य”लाई प्रमुख नारा बनाइएको थियो ।
यी सब समस्याहरुको केन्द्रबिन्दुमा भने हाम्रो पारिवारिक एवं सामाजिक पक्ष पनि महत्वपूर्ण तवरमा रहेको महसुस गर्न सकिन्छ । किशोरावस्थादेखि नै धुम्रपान र मद्यपान अनि गाँजा/चरेश आदि अम्मलमा डुबेका कलेजका विद्यार्थी हुन् या स्कूल ड्रेसमा नै सिनेमा हल र सपिङ्ग मलमा पंक्तिबद्ध हुन पुग्ने विद्यालयका सिनियर विद्यार्थीहरु, अनि आफ्ना नातेदार एवं नजिकका साथीहरुसँग हुने सानो ठाकठुकमा नै चित्त दुखाएर विष सेवन गर्नसमेत नपर्ने किशोरहरु नै किन नहुन् ? सबैले आ-आफ्ना निजी कुराहरुलाई नै गम्भीर एवं असामान्य मान्ने गरेको पाइन्छ । पुस्तान्तरका कारण पुराना धारणाका बाबुआमा एवं अभिभावकजनप्रति विद्रोही मानसिकताको विकास हुनु, अभाव, गरीबी, बेरोजगारी आदिका कारण अध्ययन, जीवनवृत्ति अनि पारिवारिक/सामाजिक उत्तरदायित्व निर्वाह गर्न नसक्नु, अनि पढाइ, प्रेम र अन्य सम्बन्धहरुमा आइपरेका व्यवधानहरुलाई समयमै व्यवस्थापन गर्न नसक्नु जस्ता कारकतत्वहरुलाई आफ्ना हीनताग्रन्थिका जननी मान्दछन् यी युवाहरु हामीसँग मनोविमर्शका क्रममा ।
त्यस्तै, अभिभावकहरुले पनि आफूमा निहित उच्च महत्वाकांक्षाहरु छोराछोरीको अवस्था अनि क्षमता नबुझिकनै उनीहरुमा लाद्न खोज्दा, घर एवं विद्यालयहरुमा नैतिक शिक्षाका लागि अनुकूल वातावरण तयार हुन नसक्दा अनि “बालबालिकाहरुमा शारीरिक जस्तै मानसिक एवं मनोवैज्ञानिक स्वास्थ्य पनि महत्वपूर्ण हुन्छ” भन्ने चेतनाको विकास नभइसकेको हुँदा यी सब समस्याहरुको शिघ्र पहिचान अनि समाधान हुन नसकेको पो हो कि?
यसरी समस्याग्रस्त भएका किशोर/युवाहरुलाई तिनका समस्याहरुको गहिराइमा प्रवेश गरेर बुझ्नुको साटो तिनलाई अपराधी या ‘ट्यापे’, ‘पङ्क’ आदिको कोटिमा राख्ने गर्दा झनै प्रत्युत्पादक अवस्था आइनपुग्ला भन्न सकिन्न । अन्तर्राष्ट्रिय शोधग्रन्थहरुले दर्शाएअनुसार यसरी समाजबाट नकारात्मक दर्जा पाएर बहिष्कृत सरह हुन पुगेका किशोर/युवा आफू झैं या आफू समानकाहरुको समूह बनाउने गर्दछन्, जसका कारण लागू पदार्थ दुर्व्यवसनमात्र नभई अपराधीकरणमा समेत बढोत्तरी आउन सक्दछ । अन्ततोगत्वा, ती युवाहरु ‘एण्टिसोसियल पर्सनालिटी’ जस्तो व्यक्तित्वजन्य समस्या या कुनै गम्भीर मानसिक रोगको शिकार बन्न पुग्दछन् । यसरी मुलुकले उत्पादक समूहको पलायन या ह्रासको सामना गर्नपुग्दछ ।
र्यागिङ्गकै विषयमा अलि गहिरिएर सोच्दा, ‘एउटा समूह(जुनियर विद्यार्थीहरु)ले एकै किसिमको तनाव’ महसूस गरिरहेमा अनि त्यस्ता तनावहरुको उचित व्यवस्थापन गर्न नसकिने भनी ठम्याएमा त्यो समूह ‘सँगसँगै मर्ने’ सामूहिक निणर्यतिर समेत डोरिइन नै सक्दछ । यस्ता घटना जारी नै रहिरहे हाम्रा शिक्षालयहरु पनि ‘सामूहिक आत्महत्या’ का केन्द्र नबन्लान् या हाम्रा विद्यार्थीहरु पनि त्यसका शिकार बन्ने खतरा नरहला भनी कसरी भन्न सकिएला र ?
त्यस्तै ‘आत्महत्या’ को विचार संक्रामक नै पनि हुन सक्दछ, एउटा व्यक्तिबाट अर्कोमा सहजै सर्न सक्ने । सामाजिक सँजालकै प्रयोगमा बढोत्तरी भइरहेको आजको स्मार्टफोन जमानामा या अहिलेको मिडियामय समाजमा किशोरकिशोरीहरुमा त यस्तो संक्रामकता झनै फैलिन सक्दछ । अझ एकअर्कासँग व्यक्तिगत सम्बन्ध राम्रो भएको छात्रछात्रा समूहमा त झन् यस्तो संक्रामकता झनै भयावह हुन सक्दछ । किशोरकिशोरीहरु एकअर्काको देखासिकी सजिलै गर्न सक्दछन् । अझ प्रभावशाली व्यक्तिहरुको नक्कल गर्ने प्रवृत्ति तिनमा ज्यादा हुने गर्दछ—शिक्षक, अभिनेता, राजनैतिक नेता आदि । तिनले तनाव झेल्न नसकेर ‘आत्महत्या’ गरेको खबर मिडियामा फैंलदा या किशोरकिशोरीले आँखै अगाडि साँच्चै ‘आत्महत्या’ देख्दा-भोग्दा तिनमा पनि त्यो प्रवृत्ति प्रबल हुनसक्दछ, जसले ‘सामूहिक आत्महत्या’ कै रुप नै पनि लिन नसक्ला भन्न सकिन्न । अतः विद्यार्थीवर्ग अनि विद्यालयहरु नै पनि त्यस्तो समाचारको श्रोत बन्न नसक्लान् भन्न सकिन्नँ ।
कारकतत्वहरुमा नै केन्द्रिकृत हुने हो भने, बाल्यकालमा घटेका विभिन्न घटना/दुर्घटनाहरु अनि पारिवारिक/सामाजिक प्रभावले पनि भविष्यमा ती किशोर/युवाहरुमा यस्ता समस्या देखिने गरेको पाइन्छ, जस्तैः टाउकोको चोट, पारिवारिक बेमेल, स्कूलका समस्या आदि । तर पारिवारिक/सामाजिक कारकतत्वहरु नकारात्मक प्रभाव पार्ने मात्र हुँदैनन्, सकारात्मक दिशातिर डोर्याएर युवाहरुलाई माथि उल्लेखित समस्याहरुबाट बचाउने अवयवहरु पनि समाजमा विद्यमान नै छन्, जस्तै : व्यक्तिगत शीप र योग्यता, नैतिक शिक्षा, सामाजिक सुरक्षा आदि । अतः यी सब खतराजन्य एवं सुरक्षात्मक अवयवहरुको विश्लेषण गरेर युवाहरुमा सकारात्मक सोचको विकास हुने गरी मनोसामाजिक उपचारका विविध उपायहरुको अवलम्बन गर्नुपर्ने हुन्छ ।
युवावस्थामा नै प्रायः सबै मानसिक रोगहरुको शुरुवात हुने तथ्य माथि नै उल्लेख भइसकेको नै छ । अतः प्रारम्भिक अवस्थामा नै तिनको पहिचान हुनसके त्यसको दीर्घकालीन असरहरुबाट तिनलाई बचाउन सकिने हुन्छ । तसर्थ बाबुआमा/अभिभावकजन, अग्रज-शिक्षकवर्गहरुमा चेतना अभिमुखीकरण गर्ने कार्यक्रम ल्याउन सके मानसिक समस्याहरुको न्यूनीकरण सजिलै हुने थियो कि ?
युवावर्गमा मानसिक रोग लाग्न नदिने मात्र होइन, प्रारम्भिक अवस्थामा देखिएका लक्षणहरुको पहिचान गरी त्यसको निराकरण गर्न शुरुवात गर्ने पनि महत्वपूर्ण कदम हुनेछ परिवार, समाज र राष्ट्रको बलियो आधार बनाउनका लागि । पहिचान भएका रोग अनि मानसिक समस्यालाई मनोसामाजिक विधिद्वारा नै निराकरण गर्न हामी मनोचिकित्सक अनि मनोस्वास्थ्यकर्मीहरुका साथसाथै राजनैतिक नेतृत्व, नागरिक समाज एवं मिडियाकर्मीहरु सबैले हातेमालो गर्नुको विकल्प नै छैन ।
पुनश्चः मानसिक समस्याहरु लोकलज्जा या चेतनाको अभावका कारण लुकेका या लुकाइएका हुन सक्दछन् । त्यसैले युवावर्गको मानसिक स्वास्थ्यका बारेमा चेतना अभिवृद्धि गर्न अनि सम्बन्धित पक्षलाई “मानसिक रोगहरुलाई पनि अन्य शारीरिक रोगहरुलाई झैं यथेष्ट ध्यान दिई निदान एवं निवारणका लागि दह्रो पाइला चाल्न घच्घच्याउने” सत्संकल्प उठाउनुपर्ने तर्फ आजैदेखि नै सोच्नुपर्ने हो कि ? यसका लागि अभिभावक/शिक्षकवर्ग, राजनैतिक नेता/कार्यकर्ता, समाजसेवी अनि चिकित्सक/मनोविश्लेषक सबै मिलेर दरिलो पाइला चाल्नुपर्ने आवश्यकता भइसकेको छ ।
साँच्चै नै, अवसर र चुनौती दुवै नै यसमा छ, सबैलाई चेतना भया !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

