साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

(मिथिलाङ्ग २) : मिल्किरहेको लक्ष्मण मन्दिर र अरगज्जालाई वास्ता गर्दा… !

लक्ष्मणको दाजु-भाउजूप्रतिको भक्तिभावकै उल्लेख्य चर्चा नभइरहँदा उर्मिलाको लक्ष्मणप्रतिको यो अकाट्य प्रेमभावको चर्चा सुन्न पाइँदैन । पङ्क्तिकार कहिलेकसो निद्रा नपर्दा सोच्ने गर्दछ पनि - “मेरो भाग कोही सुत्दिराछ कि के हो ? त्यति बिघ्न प्रेमभाव देखाउने प्रेमिका भेटिए पनि त हुने नि !’

Chovar Blues Mobile Size

अग्रज पत्रकार एवम् संस्कृतिप्रेमी प्रफुल्ल घिमिरे र राजनीतिज्ञ सञ्जीव साहसँग भेट्न अङ्गराज सर किनारतिर लम्कँदै गर्दा म जानकी मन्दिरछेउको शिखर शैलीको लक्ष्मण मन्दिरसँग ठोक्किएँ । जानकी मन्दिर अगाडिको विशाल प्राङ्गणको उत्तर पूर्वमा दिशामा अवस्थित यस मन्दिर जनकपुरधामका पुराना मन्दिरहरूमध्ये एक रहेको कुरा शैलेन्द्र महतो क्रान्ति सरले होटेल वेलकममा चिया पिउने क्रममा बताइसक्नु भएको थियो । यसकारण पनि म जानकी मन्दिर प्राङ्गणमा टहलिरहँदा लक्ष्मण मन्दिरमा आँखा परिहाल्छ कि भनेर सचेत थिएँ ।

भगवान् सीताराम, लक्ष्मण र लवकुशका धातुका मूर्तिहरू राखी पूजाआजा गरिने यस मन्दिरको रामजानकी मन्दिरको जति चर्चा परिचर्चा भएको देख्न पाइँदैन । महात्मा श्री जयकृष्ण दासले १७औँ शताब्दीको अन्ततिर निर्माण गरेको यस मन्दिर वरपर व्यापारिक प्रयोजनका खातिर सटरहरू खोलिँदा मन्दिरको प्राचीनता र महत्ता छोपिएको प्रष्टै देखेँ । खोजिपस्दा थाहा भयो, मन्दिरमा रहेको ताम्रपत्रअनुसार वि.स. १८१० फाल्गुणवादी ९ मा मकवानपुरका राजा हेमकर्ण सेनले जय कृष्ण दासलाई दान दिएको कुश बिर्तामा मन्दिर बनेको रहेछ । पछि, वि.स. १८६७ सुदी ५ भाद्रका दिन गीर्वाण विक्रम शाहले महात्मा रामकृष्ण दास (लक्ष्मण मन्दिरका महन्त)लाई रजौल मौजाको कुश बिर्ता दिएका रहेछन् । ब्राह्मणलाई दान स्वरूप प्रदान गरिने जग्गालाई ‘कुश बिर्ता’ भन्ने गरिन्छ ।

लक्ष्मण मन्दिर

यस मन्दिरको बारेमा एक-दुई कुरा अझ बताउनुपर्नेछ, त्यसपछि हामी अङ्गराज सर पुग्नेछौँ र सरद्वयसँग चिया पिउनेछौँ । तपाईँलाई चियाको तलतल लागिसकेको हो भने केही दाना चियापति मुखमा राख्दै गर्नुस् !..

लक्ष्मण मन्दिरको पौराणिकता सन्दर्भमा केही कुरा:

त्रेतायुगमा मिथिलाका राजा जनक (शिरध्वज) को समयमा मिथिलामा भीषण अनिकाल परेको र जनताहरूमा सन्तान वृद्धिको क्रम रोकिएको थियो । यस अवस्थाबाट मुक्ति पाउन तत्कालीन ऋषिमुनिहरूको सल्लाहबमोजिम राजा शिरध्वज जनकले हिमालयमा गई १२ वर्ष तपस्या गरे । तपस्यापश्चात् उनलाई लक्ष्मणको मूर्ति प्राप्त भएको एवम् आकाशवाणीमार्फत ‘लक्ष्मण मूर्ति लिएर गई नित्य पूजा गरेमा अनिकाल टर्ने’ उद्घोष भयो । भनेजस्तै भयो, अनिकाल टर्‍यो । सन्तान वृद्धि बढ्यो । तर, तितो यथार्तता- समयक्रममा लक्ष्मणको मूर्ति माटोमा पुरिई विलुप्त भयो ।

अब हामी कलियुगमा आइपुग्छौँ । कलियुगमा एक ‘महात्मा मस्तरामजी’ नाम गरेका सन्त देखिन्छन्, जसलाई हनुमानजीले दर्शन दिँदै भन्छन्- “मस्तराम, तिमी जनकपुरधाम जाऊ, त्यहाँ लक्ष्मणजीको मूर्ति छ । खोजेर पूजा गर्नु, तिम्रो कल्याण हुनेछ ।”

मस्तरामजी सोनपुर हुँदै जनकपुर आई गंगासागरको पश्चिममा बस्छन् । लक्ष्मणजीको मूर्तिको खोजीमा उनी तल्लीन भएँ, तर सफल भएनन् । फेरि हनुमानले सपनामा दर्शन दिई, मूर्ति पाइने ‘एक्युरेट लोकेसन’ बताइदिन्छन् । लोकेसन हो- ‘मणिमण्डपको पूर्व विमला भन्दा पश्चिम जानकी जीको जिरायत भन्दा उत्तर कडहराग पोखरीदेखि दक्षिणतर्फ ।” अर्थात् जहाँ हामी अहिले उभिइएर लक्ष्मण मन्दिरबारे चर्चा गरिरहेका छौँ । अलि बिहानै छ तर, घामले पोलिसकेको छ । तपाईँले आफ्नो काने टोपी फुकाल्न सक्नुहुन्छ । र, मन लागेमा मिथिलाको प्राचीन, समृद्धशाली र सुरुचीसम्पन्न संस्कृतिसँग परिचित हुन सक्नुहुन्छ ।

प्लास्टिक चपाएर उत्तानट्यासङ लागेको ह्वेल माछो जस्तो लत्र्याक्क परिबसेको तलाऊ ।

त के भयो भनेर भन्दाखेर, हनुमानजीको दोस्रो दर्शनपश्चात् लुप्त भएको मूर्ति भेटियो । लक्ष्मणजीको पूजाआजा पुनः सुरु भयो । लक्ष्मणजीको मूर्ति मात्रै पुज्नु न्यायोचित नठहर्‍याई समयक्रममा सीताराम (सीताराम भनिनु सुरकिशोरदासको सीतायनसँग सम्बन्धित छन् ) को समेत मूर्ति प्रतिस्थापन गरी पूजाआजा सुरु भयो, जो आजसम्म चलिआएकै छ । लुप्त भएको लक्ष्मण मूर्ति भेट्याइदिन सघाउने हनुमानजीको मन्दिर अगाडी दक्षिण पूर्वमा अवस्थित रहेको पनि देख्न पाइन्छ । उत्तरतर्फ भन्नै परेन, पुरातात्त्विक मर्यादालाई मचक्कै मिच्ने गरी पक्की घर विराजमान होइबक्सिन्छ । सामुन्ने एउटा तलाउ प्लास्टिक चपाएर उत्तानट्यासङ लागेको ह्वेल माछो जस्तो लत्र्याक्क परिबसेको छ, देख्दै उदेकलाग्दो ! त्यता नजाऊ, दुई चार गाली बक्न मन लागिहाल्छ । हामी बरू यतै आएर मन्दिरका महन्त वेदान्ती श्री राटहल दासभा गवतलाई भेटौँ । बिहानबिहानै मुड खराब गर्नु ‘भेरी ब्याड’ काम हो । सो (So), सो नगरौँ ।

मन्दिरका महन्त गवतले तपसिल बमोजिममा कुराहरू बताइसकेपछि यो पनि थपे, “यहाँ विवाहपञ्चमी, रामनवमी, जानकी नवमी, झुलन, कोजाग्रत पूर्णिमामा दर्शानार्थीको भीडभाड देख्न पाइन्छ ।” पङ्क्तिकार बेमौसममा पुगेकोले हुनुपर्छ सो भीड देख्न पाएन । तर, महन्तका कुरा विश्वास नगर्नुबाहेक अरू उपाय छैन। तपाईँ मौसममै आएर यी कुराहरू देख्न/नियाल्न सक्नुहुनेछ, यो अनुरोधपश्चात् यसलाई यही तुरौँ ।

उर्मिला र ‘उर्मिला निद्रा’

मलाई लक्ष्मण पत्नी उर्मिलाबारे सोध्नु थियो, तर त्यो मेसो मिलेन । सीताकी बहिनी उर्मिलाले लक्ष्मणसित वनवास नजानुलाई लिएर जनकपुरवासी के भन्दा रहेछन् भन्ने बुझ्नु थियो, त्यो त्यसैत्यसै रहिरह्यो । यो किन पनि भन्दा- जनक निसन्तान रहेको र हलेष्ठी यज्ञमार्फत सीताको प्रादुर्भाव भएको विश्वास बलियो छ । यदि त्यसो हो भने उनको अर्की छोरी उर्मिला र सीताको भाइ लक्ष्मीनिधिको जन्मसम्बन्धी किम्वदन्ती के कस्तो होलान् ? पाण्डव-गीता पुस्तक प्रकाशन गरेका सुरेन्द्र प्रसाद सिग्देल ‘जनक दरबारमा सीताराम विवाहको उपलक्ष्यमा बैठक बस्दा बीचमा राजा जनक तथा उर्मिला र छोरा लक्ष्मीनिधि भएको मण्डप हालसम्म पनि विद्यमान रहेको’ उल्लेख गर्छन् । यसबारे खोजिनिधी हुँदै जाला, भएका पनि होलान् । सञ्जय साह मित्रले एक लेखमा उर्मिला शिरध्वज जनकका भाइ कुशध्वजकी पुत्री रहेको समेत बताएका छन् । यसप्रकार उर्मिला कसकी छोरी हो भनेर भन्न पनि कठिनाई आइपर्यो । अर्कोतर्फ डा. रामदयाल राकेशले कुशध्वज नाम सत्ययुगमा पनि देखिएको, उनी अलि राक्षसी प्रवृत्तिको बताएको पनि भेटियो (साझा प्रकाशन) । उर्मिलाको विषयमा पङ्क्तिकार काँचो हुनु अर्को दोष हो, सो यस कुराको छिनोफानो विद्वान्हरू नै गरुन् ।

पंक्तिकार उर्मिलाका बारेमा जानेका कुरा मात्रै अगाडि कहनेछ । आर्यावर्तका उत्कृष्ट तरबारधारी महिलामध्ये उर्मिला पनि एक रहेको एवम् गार्गी, याज्ञवल्क्य जस्ता विद्धानलाई बहसमा हराउने दक्षता उनी राख्दथिन् । उर्मिला-लक्ष्मणको प्रेम पहिलेदेखि रहेको र प्रेम विवाह भएको थियो, जो राम-सीता सहित अरूको हकमा थिएन ।

यसै गरी, ‘उर्मिला निन्द्रा’ बारे पङ्क्तिकारले सुनेको थियो । सुनिएअनुसार, उर्मिला राम-सीता-लक्ष्मणको १४ वर्षीय वनवासको अवधिभर सुतेकी थिइन् । छक्क पर्न पाइयो तर कथनअनुसार, ‘लक्ष्मण दाजुभाउजुको सेवासुसुरामा १४ वर्ष नसुतेकाले लक्ष्मणको भाग पनि उर्मिलाले सुतिदिएकी थिइन् । एक रात निन्द्रादेवी (देव?) ले लक्ष्मण आग्रह गरे कि ‘तँ पनि सुत्नुपर्‍यो ।” लक्ष्मणले त्यसो गर्न नसक्ने बताए । यसपछि निन्द्रादेवी (देव)ले सर्त राखिन्, “तँ नसुत्ने होस् भने तेरी स्वास्नी सुत्नुपर्छ ।” खुसीखुसी उर्मिला १४ वर्षसम्म सुत्न राजी भएकी थिइन् ।’ यो पङ्क्तिकारले सुनेको एवम् सङ्कलन गरिआएको किम्वदन्तीहरूमध्ये रोचक किंवदन्ती हो, प्रसङ्गवश सुनाउने मौका उसलाई यहाँ प्राप्त भयो ।

सांकेतिक चित्र

लक्ष्मणको दाजु-भाउजूप्रतिको भक्तिभावकै उल्लेख्य चर्चा नभइरहँदा उर्मिलाको लक्ष्मणप्रतिको यो अकाट्य प्रेमभावको चर्चा सुन्न पाइँदैन । पङ्क्तिकार कहिलेकसो निद्रा नपर्दा सोच्ने गर्दछ पनि – “मेरो भाग कोही सुत्दिराछ कि के हो ? त्यति बिघ्न प्रेमभाव देखाउने प्रेमिका भेटिए पनि त हुने नि !’ तर, सो शुभसाइत हालसम्म जुरेको छैन ।

यो मजाकको कुरा भयो । अब हामी अङ्गराज सरतिर लाग्नुपर्दछ । कसैलाई पर्खाएर आफू हुँदै नभएकी प्रेमिकाको प्रेमभावमा दङ्ग पर्नु लास्ट काइते पारा हो । त, यहाँ सो पारा नदेखाऊ ।

अङ्गराज सर, चर्म रोग र छठ:

घिमिरे २०३५ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेर निरन्तर नेपाली काँग्रेसमा रहेर राजनीति गरिरहेका व्यक्ति हुन् । नेपाल पत्रकार महासङ्घ धनुषाका सदस्यसमेत रहेका घिमिरेले छेउकै चिया पसलबाट चिया मगाए । सञ्जीव शाह सर कुर्सी जोडजाम गर्दै छन् । भन्नु परोइन, मिथिलाको आतिथ्य सत्कार मिथिला खाना जस्तै हुरुक्कै बनाउने छ । अन्ततः चिया आगमन सँगै हामी चार ‘अरगज्जा’ समेत भनिने अङ्गराज सर किनारमा जम्यौँ । एकाबिहानै जमेकाले यसको द्वीअर्थी नलाग्ने भयो, एकासाँझै हुन्थ्यो भने ‘कुछ बात’ भइजान्थ्यो ।

एक बिघा सत्र कठ्ठा सत्र धुर दुई कन क्षेत्रफल ओगटेको यस सरोवर जनकपुरधामको धार्मिक आस्थाको धरोहर हो । घिमिरे सरलाई प्रथमतः हामीलाई यस सरोवरको पवित्रता र प्राचीनताबारे सुनाउनुभयो । उहाँको अनुसार, “मिथिलाको परम्परा अनुसार विवाह गर्दा बेहुलीलाई बुकी (हर्दी र चन्दनको लेप) लगाएर स्नान गराइन्छ । सीताको रामसँग विवाह हुँदै गर्दै मिथिला परम्पराअनुसार बुकी (उप्टन) लगाइएको थियो । सो स्थानमा सुगन्धित जलबाट स्नान गराउँदा यो सरोवर उत्पत्ति हुन् पुगेको हो ।”

शाह सरले सुनाउनुभएको अर्को कथनअनुसार, ‘काशीका ब्राह्मण देवदत्त शिवको श्रापद्वारा कुष्ठ रोगले सताइए । रोगबाट मुक्ति पाउन यहाँ आई स्नान गरे । स्नानपश्चात् नै रोगबाट मुक्त भई दिव्य स्वरूप प्राप्त गरे ।’ सोही कथनलाई पछ्याउँदै आज पनि यहाँ चर्म रोग निको हुने विश्वासमा स्नान गरिरहेका व्यक्तिहरू देखिन्छन् ।

अरगज्जा किनारमा प्रफुल्ल घिमिरे सरसँग

रामनवमी, जानकी नवमी, झुलन, विवाह पञ्चमी, पुर्णिामाहरू (जनै पूर्णिमा सहित), सोह्र श्राद्ध, कात्तिक स्नानमा त यहाँ भीड नै हुन्छ । हामी दशैं र कार्तिकको बीचमा पुगेका थियौँ । अर्को हप्तापछि तिहार सुरु हुँदै थियो, र छठ नजिकिएको थियो । यसकारण यस सरोवर वरपर छठकेन्द्रित गतिविधिहरू १५ दिन अगावैदेखि सञ्चालित भएको देख्न पाइन्थ्यो । कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन मनाइने छठ पर्वका बेला जनकपुरधामका अधिकांश तलाउहरू दुलहीझैँ सिँगारिन्छन्, त्यसमा पनि अरगज्जाको चमक अझ बेसी हुन्छ । छठ पर्व गर्नाले पुत्रप्राप्ति, छाला तथा आँखा सम्बन्धी रोगको निवारण, धनजनको सुरक्षा, दुःखदरिद्रता आदि क्लेशबाट मुक्ति, पतिप्रेम, अटल सौभाग्य एवं मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहिआएको छ । वैदिक सूर्य उपासना गर्नुले छठीमात्रा (लोकदेवी)को महत्तालाई अपनी उजागर गर्दछ नै । छैटी आएर छैटौं दिनमा भाग्य लेख्ने विश्वास आफूतिर रहेको हुँदा पंक्तिकार सोच्दो रहेछ, ‘छैठी र षष्ठी एकै हुन् कि क्या हो ?’ तर, हाल पनि क्या हो/क्या हो कै स्थिति रहेकाले यस विषयमा बोलेर ‘मुखाले’ भइहाल्नु छैन । नजानेको विषयलाई कोट्याइदिने मात्रै हो, निष्कर्ष पस्किन थाल्ने होइन । अस्ताउँदो सूर्यलाई दिइएको अर्घ्य छठ परमेश्वरीलाई र उदाउँदो सूर्यलाई दिइएको अर्घ्य चाहिँ सूर्यदेवलाई भनेर डा.रेवतीरमण लाल अलि सजिलो वातावरण त बताइदिन्छन् तर अंगराज ताल प्रदूषित देख्दा चाहिँ वातावरण फेरि असजिलो भइदिन्छ ।

चिन्ताको विषय कहाँ छ भने काठमाडौं र जनकपुर दुवैतर्फ छठ मनाउन नसकिने गरी सरोवर/तलाउहरू दूषित भएका छन् । छठताकाकै कुनै दिनको एकाबिहानै चिया पिइरहँदा कसैले भनेको थियो, “छठ मनाउनेहरूले चाहिँ ताल सफा गर् भनेर आन्दोलन गरे नि हुने नि ।” हुने नि ! सबैले गरे हुने नि ! छठ मनाउनेले मात्रै किन ? गङ्गा दशहरा स्नान जानेले पनि, बालाजुमा मेला भर्नेले पनि ! गरे हुने नि । हुने नि !..तर गर्ने चाहिँ कोही नहुने । क्या बोर ! अङ्गराज सरको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको ‘मिथिला समाज सेवा’लाई भेट्न जानु र ? भयो ! हामी घिमिरे-शाह सरसँगै गफ्फिऊ ।

अंगराज ताल

प्रसङ्गबाट फुत्त-फुत्त फुत्किरहनु पङ्क्तिकारको चारित्रिक तन्नम चरित्र भएकाले यो हविगत भएको हो, जहाँ तपाईँले मलाई एक खेप गाली गर्न सक्नुहुन्छ ।

चिया सकियो । चिया सकिनु भनेको गफ सुरु हुनु हो ।

अतः हामी चार विदेहमा राजालाई ‘जनक’ भनिने कुरातर्फ लाग्यौँ । यसबाट बुझियो कि जनक पद (पदवी) थियो । विदेह (मिथिला)मा राजा र जनक भन्नु पर्यायवाची थियो । हामीले चिनिरहेको जनक चाहिँ शिरध्वज हुन्, उनी अयोध्याका राजा दशरथका एवम् वैशालीका राजा सुमतिका समकालीन हुन् । शिरध्वजको बाबु को थिए र उनीपछिका छोराको नाम के थियो भन्नेबारेमा कुरा गरिएन भने मजै आउँदैन । अझ, मिथिलाका संस्थापक राजा मिथि र उनका पिता निमिबारे नबताई हामीले कुराको चुरा नै प्राप्त गर्देनौँ । निमि शिरध्वज जनकका हजुरबाउ हुन् भन्ने त हामीलाई थाहा छ तर, शिरध्वजपछिका जनकबारे हामीलाई थाहा नहुन सक्ला । सो पोयो पनि फुकाउनु पर्नेछ । अझ, शिरध्वज अत्यधिक प्रसिद्ध हुनुका कारण पनि खोतल्नुपर्नेछ । छोरी सीताभन्दा बाबु शिरध्वज जनकको कम चर्चा हुनुले के कति कुरालाई सङ्केत गर्छ ? समकालीन राजाद्वय अयोध्याका राजा दशरथ र मिथिलाका राजा शिरध्वज जनक दुवै ‘इक्ष्वाकु वंश’का थिए कि भन्ने हल्लाको चुरो कहाँ छ ? लगायतका विषयहरू बाँकी नै छन् । जानकी मन्दिरका सुरकिशोर र राम मन्दिरका चतुर्भुज गिरीबारे त कुरै सुरु भएको छैन । तर, त्यसपहिले अर्को कप चिया मागौँ ? किनभने थप कप चिया माग्नु भनेको गफले लय समात्नु हो ।..

अतः पहिले सोही गरौँ– लय समातौँ ?

(क्रमशः..)

 

लेखक परिचय
रझप
राजु झल्लु प्रसाद
प्रतिक्रिया
Loading...