सविता दास सविः

सविता दास सवि

कवयित्री सविता दास सवि तेजपुर, असमकी साहित्यकार हुन्। पेशागतरूपले अध्यापिका सवि हिन्दी, असमिया, बाङ्ला अनि अङ्ग्रेजी-यी चार भाषाहरूमा कलम चलाउँछिन्। विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तथा सरकारी एवम् गैर-सरकारी पत्रिका एवम् समाचारपत्रहरू (अक्षरा, उजाला, पंजाब सौरभ, साक्षात्कार, बरोह, साहित्य-सृजन, संगिनी, प्रयास, शब्द-प्रवाह, रेशमवाणी, शीराज़ा, साहित्य सेतु, साहित्य समीर दस्तक)-इत्यादिमा उनका निरन्तर कविता, लघुकथा, कथा, आलेख, हाइकू आदि प्रकाशित छन्। उनको काव्य-सङ्ग्रह ‘किनारे पर आकर’ (सन् २०२०) प्रकाशित भइसकेको छ। विक्रमशिला हिन्दी विद्यापीठ, भागलपुर (बिहार)-बाट ‘विद्यावाचस्पति सम्मानद्वारा उनी सम्मानित छन्।

====

१. निर्जीव

न बादलले केही भन्छ

न नदी नै केही बोल्छ

न यो पहाड मुस्कुराउँछ

न फूलहरू मौसमका

सन्देशहरू सुनाउँछन्

जब प्रेममग्न थिएँ म

लाग्थ्यो-सबैले मेरा निम्ति

गीत गाइरहेछन्

आज यथार्थले हात थामेको छ मेरो

अनि यी सबै निर्जीव लाग्न थालेका छन्।

===

२. उज्यालो

कुनै घनघोर सुनसान जङ्गलमा

खुल्यो आँखा

कसले यहाँ लिएर आएको छ  जान्दिनँ

आँखामा पट्टि बाँधेर

बगैँचाको सपना देखाएर

छाडेर गएको छ यहाँ

अब न त्यो हात छ

जसले मलाई लिएर आएको थियो

अनि आँखाको पट्टि पनि

खुलिसकेको छ

बस्, यस गहन वनमा

रुखहरूका छेक नाघेर

छानिएर आइरहेछ उज्यालो

मलाई अब त्यसतर्फ जानु छ।

****

३. अक्टोपस

अवसाद, विडम्बना, व्यथा,

दुःख, निःसङ्गता, हताशा

यिनीहरू जब

अक्टोपसझैँ जक्डन्छन्

म भित्रबाट

यीहरूदेखि छुट्टिने

प्रवल अभिप्राय

देख्दैनन् कोही।

****

४. अभिव्यक्ति

मनको कोलाहल

चाहान्छ

शब्दहरूका अभिव्यक्ति,

खोज्छ

एउटा रिक्त मन जहाँ

लेख्न सकियोस्

ह्रदयका

सबै सङ्शयहरू।

प्रत्येक पल एउटै रहनु

गाह्रो हुँदछ

हाँसोपन, उदासी, तितोपन, क्षोभ

अडिँन सक्दैनन् क्षणिकताका गाग्रोमा

छचल्किन्छन् परेलीका किनारबाट,

कति राम्रो हुनेछ जब

यी आवेगमय मोतीहरूद्वारा

कुनै माला गुत्थियोस्

शब्दहरूमा सजाएर

कुनै कविता या कथा लेखियोस्,

अनि केही भेटिएन भने पनि

कसैको हात थामेर

सबैथोक व्यक्त गरियोस्,

न उल्झियोस्

भित्री दुनियाँ,

भावनाहरूका नदी

ज्वालामुखि बनोस्

अब, यिनीहरूबाट कुनै गीत लेखौँ

जसलाई गहन उदासीमा

मुस्कानका साथ गुनगुनाउन सकियोस्।

****

बिलोक शर्मा

बिलोक शर्माः

बिलोक शर्मा कवि, अनुवादक अनि सम्पादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बाङ्ला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुने गर्छन्। उनका मौलिक कविताहरू बाङ्ला, हिन्दी, अङ्ग्रेजी अनि पञ्जाबी भाषाहरूमा अनुवाद भइ प्रकाशित भएका छन्। केही साहित्यिक पत्रिकाहरूका सम्पादन कार्यमा पनि उनी सङ्लग्न रहेका छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको जालन्धर सहरमा एक बहुराष्ट्रिय संस्थामा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।