पहिले यो गजल पढ्नुहोस्:

आज विक्री हुँदै हाटमा प्रेम छ

दिनमा होइन है रातमा प्रेम छ

 

छैन खल्ती गह्रुङ्गो भने के हुनु

होस् टका बल्ल पो साथमा प्रेम छ

मित्र त्यागी बन्यौ प्रेमखातिर तिमी

भो, नठान्नू सधैँ त्यागमा प्रेम छ

 

प्रेम व्यापारको वस्तुझैँ भैदियो

खर्चिलो प्रेम भो, मातमा प्रेम छ

 

बेसरी चर्किएछन् महल प्रेमका

भन्नु बेकार हो रागमा प्रेम छ

डा. घनश्याम परिश्रमी (जूनको चुम्बन गजल ७३)

च) तङ्ग ए काफिया (काफियाको पुनरावृत्ति)

गजलका सेरहरूमा एउटै काफिया दोहोरिनुलाई कतिपयले दोष ठान्दछन् । यसरी दोहोरिएको काफियालाई उर्दूमा तङ्ग ए काफिया भनिन्छ । मैले यसलाई शब्दको गरिबी भन्ने गरेको छु । काफिया नदोहोरिनु अवश्य पनि राम्रो पक्ष हो । तर काफिया दोहोरिँदा पनि राम्रो सेर उत्पादन हुन्छ भने त्यसलाई स्वीकार गर्नु नै बेस हुन्छ । तर मतलामा भने काफिया दोहोरिनुलाई स्वीकार गरिँदैन । गजलको अभ्यास गर्ने क्रममा सिकारुहरूले भरसक नदोहोर्‍याउने प्रयास गर्नु नै राम्रो हुन्छ ।

तङ्ए काफिया प्रयोग भएको यो गजल हेरौँ :

कसैको साथ पाएको छु मैले

र यो जीवन चलाएको छु मैले

 

छ धागो जीर्ण लट्टाई परानै

नयाँ चङ्गा उडाएको छु मैले

 

अरुका लागि केही गर्न खोज्दा

झन् आफ्नै दिल जलाएको छु मैले

तपाईंले माथि पढिसकेको गजलका यी सेरहरूमा हेर्नुहोस् त, आएको काफिया बन्धन छ । पहिलो सेरको सानी मिसराको काफिया लाएको तेस्रो सेरमा पनि दोहोरिएको छ । यसरी पुनरावृत्त भएको काफिया नै तङ्ग ए काफिया हो ।

यसरी नै आजको अभ्यासमा राखिएको गजलमा पनि दुईवटा सेरमा गमा काफिया दोहोरिएको छ ।

छ) योजित काफिया

संरचनाका आधारमा शब्द दुई प्रकारका हुन्छन्– १. मूलशब्द, २. व्युत्पन्न शब्द । खासगरी मूल शब्दमा प्रत्यय जोडिएर वा समास भएर बनेका काफियालाई योजित काफिया भनिन्छ । जस्तै : इमानदार, सानदार/

माथिका काफियामा आन काफिया बन्धनपछि दार प्रत्यय जोडिएको छ । यसर्थ यीसँग दार प्रत्यय लागेका तर आन काफिया बन्धनमा नपर्ने बफादार, खरिदार, हकदार जस्ता शब्द हमकाफिया हुन सक्दैनन् ।

रमिता र कविता यी शब्द हमकाफिया हुन सक्छन् । यिनको काफिया बन्धन इता हो । दुवै योजित काफिया हुन्, तर रमिता रम्+इता मिलेर बनेको छ । यो तद्भव शब्द हो भने कविता कवि+ता मिलेर बनेको छ । यो तत्सम शब्द हो । दुवै भिन्नभिन्न प्रत्यय लागेर बनेका योजित शब्द हुन् तापनि यिनमा काफिया बन्धन मिलेको हुनाले हमकाफिया बनेका छन् ।

यसरी नै आजको अभ्यासमा राखिएको गजलमा प्रयोग भएका सबै काफिया अघिल्लो शब्दका अन्तिम ध्वनि अकारमा सप्तमी विभक्तिको मा योग भई अमा काफिया बन्धन भएको छ । यसर्थ सबै सेरमा योजित काफिया प्रयोग भएका छन् ।

ज) मलफुजी काफिया

काफियाको अचल ध्वनि(हर्फेरवी)मा नजानिँदो किसिमले भिन्नता रहेको छ भने यस्ता काफियालाई मलफुजी काफिया भनिन्छ । नयाँ–दया/ वाणी–पानी/ बाघ–दाग/ हात–साथ । यस्ता काफिया प्रयोग नगर्नु नै उचित हुन्छ ।

झ) सौती काफिया –

उर्दू लगायतका इस्लामिक जगत्का भाषामा क,ज,ग,फ जस्ता ध्वनिका परक फरक उच्चारण हुन्छन् । संस्कृतमा पनि श, ष, स का उच्चारणमा भिन्नता छ । यसरी लेख्दा वा सुन्दा उस्तै लाग्ने तर अचल ध्वनिमा उच्चारणमा केही न केही भिन्नता हुने काफियालाई सौती काफिया भनिन्छ । आशिष, विष, रिस शब्दका अन्तमा लेख्य वर्ण फरक भए पनि नेपाली उच्चार्य ध्वनिमा समानता छ । यसर्थ नेपालीमा सौती काफिया हुँदैनन् ।

ञ) काफिया अमान्य हुने अवस्था

काफियाको प्रयोग गर्दा गजलका प्रशिक्षार्थीहरू मात्रै होइन, बडे बडे गजलकारहरू पनि सचेत हुनुपर्दछ । काफिया बिग्रिनासाथ जतिसुकै राम्रा भावका सेरहरू बने पनि त्यस्ता सेरको समूहले गजल बन्ने हैसियत राख्दैनन् । काफिया अमान्य हुने केही शब्दसमूह हेरौँ —

जान्ने, सुन्ने, किन्ने, बुझ्ने, बस्ने

सही, कहीँ, दही,

जुही, उहीँ

नाउँ, पाउ, गाउँ, भाउ, बाउ, ठाउँ

शरीर, मन्दिर, नजिर, गम्भीर

पुल, चिल, फूल

पाठ, हाट, ढाड

हात, साथ, रात, माथ

गाडी, बाढी,

काँध, चाँद

दाग, बाघ, राग,

चाका पाखा (यस्तो पूर्णशब्दमा मिल्दैन तर आकारको एकाक्षरीमा भने मिल्छ)

नाति, पाती, पति, मोती

चङ्गा, ढुङ्गा, सिङ्गा, बाङ्गा

फेरि भेरी

नीति, मिति गीति

मूर्ति फुर्ती प्रीति

लेख्यसम उच्चार्य भिन्न शब्दहरू पनि हमकाफिया हुन सक्तैनन् ।

जस्तै :

किन, दिन (उच्चारण दिन्)

तर, घर (उच्चारण घर्) दूधको तर हो भने मिल्छ ।

भन, मन (उच्चारण मन्)

तल, छल (उच्चारण छल््)

मतलामा एउटै काफिया दोष हुन्छ ।

जस्तै :

सहर, नहर, असर, बदर नजर, प्रखर । (यहाँ सुरुका सहर नहर मतलाका काफिया हुन सक्दैनन्् ।)

वास, काल, राम, चार, हात, लाख

(अकारान्त एकाक्षरी काफिया अमान्य हुन्छन् )

यी र यस्तै काफिया बन्धनमा स्वरमात्राको सन्तुलन नमिलेका शब्दहरू तथा स्वरको सन्तुलन मिले तापनि शब्दान्तमा व्यञ्जनध्वनि फरक भएका शब्दका समूह हमकाफियाको रूपमा स्वीकार्य हुँदैनन् ।

केही प्रश्नहरू:

निर्माणका आधारमा काफियालाई कसरी वर्गीकरण गर्न सकिन्छ ?

तङ्गे काफिया कस्ता काफियालाई भनिन्छ ?

योजित काफिया र मिलित काफियामा के कस्ता भिन्नता पाइन्छन् ?

काफिया अमान्य हुने कुनै पाँच उदाहरण दिनुहोस् ।

कस्तो मात्रा एकाक्षरी काफिया हुन सक्दैन ?