
१. रमाइलो भाइटीका – रञ्जुश्री पराजुली

रञ्जुश्री पराजुली
दिदीबैनी दाजुभाइ खुसी हुन्छन् तब
भाइटीका घर आँगनमा आउन थाल्छ जब
तेरो मेरो भाव त्यागी खेल्छन् रमाउँछन्
साटासाट गर्छन् आफ्ना सौगात समाउँछन्
दिदीबनी बटुलेर फूल ल्याई राख्छन्
सयपत्री मखमली माला राम्रो गाँस्छन्
भाइटीका आमा मामा दाइ दिदी साथमा
सानोभाइ टीका थाप्न बस्दछ दाजु काखमा
रमाउँदै निधारमा टीकी लाएपछि
खुसी हुन्छन् रोटी अर्सा खाजा खाएपछि ।
——————-
[कवयित्री रञ्जुश्री पराजुलीको जन्म वि.सं. २००५ मा काल्धारा काठमाडौँमा भएको हो । सुनकोसी साहित्य प्रतिष्ठान, नारी साहित्य केन्द्र, नियात्रा समाज लगायतका संस्थामा आजीवन सदस्य रहेकी पराजुलीको बालसाहित्यसँग सम्बन्धी संस्थामा पनि सम्बद्धता रहिआएको छ । उनी नेपाल बालसाहित्य समाज तथा केटाकेटी प्रतिष्ठानमा समेत आजीवन सदस्य छन् । नेपाली समालोचना र सिर्जनाका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी कवयित्री रञ्जुश्री पराजुलीले प्रौढ तथा बालसाहित्यका क्षेत्रमा आफ्नो सक्रियता देखाउँदै आएकी छन् । बालसाहित्यका क्षेत्रमा उनले कथा र चित्रकथा विधामा थुप्रै सङ्ग्रह प्रकाशित गरेकी छन् । उनका अनूदित बालसाहित्यिक कृतिहरू पनि प्रकाशित भएका देखिन्छन् । कवयित्री पराजुलीको यस ‘रमाइलो भाइटीका’ बालकवितामा यमपञ्चकको पाँचौँ दिनमा मनाइने तिहारको महत्त्वपूर्ण पर्व भाइटीकाका अवसरमा हुने गतिविधिको सुन्दर चित्रण गरिएको छ ।]
*******************
२. तिहारको रमाइलो – गोविन्दबहादुर कुँवर

गोविन्दबहादुर कुँवर
भाइको मुहार उज्यालो सप्तरङ्गी टीकाले
अक्षर राम्रा मिलेका सिधा डिकाले
घरबारी उज्यालो छ सयपत्री फुलेर
गैरी खेत रमाइलो धान झुलेर
काग पूजा गरियो कुकुर पूजा गरियो
तिहारको झिलिमिली बत्ती बालियो
लक्ष्मी पूजा आमाले भण्डारमा गर्नु भो
रोटी खान बोलाउँदै पानी सार्नुभो
द्यौसी भैलो खेलियो आँगनमा मिलेर
हाँसियो नाचियो कम्मर भाँचेर
——————
[साहित्यकार गोविन्दबहादुर कुँवर (२००८) लमजुङका पुराना र राष्ट्रिय स्तरमै चर्चा बटुलेका स्थापित स्रष्टा हुन् । दूधपोखरी प्रतिभा परिवार, लमजुङका संस्थापक अध्यक्ष कुँवरले साहित्यका कविता, निबन्ध, हास्यव्यङ्ग्य, कथा, बालकविता लगायतका थुप्रै विधामा कलम चलाएका छन् र कतिपय विधामा सङ्ग्रह पनि प्रकाशन गरिसकेका छन् । कवि कुँवरको बालसाहित्यतर्फ ‘तातेताते’ नामक बालगीतिसङ्ग्रह प्रकाशित छ भने अन्य बालसाहित्यका कृतिहरू पनि प्रकाशनको तयारीमा छन् । कवि कुँवरका बालकवितामा ग्रामीण संस्कृतिप्रतिको मोह, अतीततर्फको चासो, लोकजीवनसँगको सामीप्यता, आञ्चलिकता, मानव र प्रकृतिबिचको घनिष्ठ सम्बन्ध, नेपाली भू-प्रकृतिको कलात्मक र जीवन्त चित्रण, बालसुलभ कोमलता, अग्रजप्रतिको श्रद्धा, लोकभाषाको प्रयोग जस्ता वैशिष्ट्य पाइन्छन् । उनको प्रस्तुत ‘तिहारको रमाइलो’ बालकवितामा तिहारका पाँच दिनको महत्त्वलाई बालसुलभ ढङ्गमा कवितात्मक पाराले चित्रण गरिएको छ ।]
******************
३. तिहार – गङ्गा कर्माचार्य पौडेल

गङ्गा कर्माचार्य पौडेल
तिहार आउँछ दसैँपछि हेमन्त ऋतुमा
पहेंलपुर धान पाक्न थाल्छ है खेतमा
आँगनका डिलभरि सयपत्री फुल्छन्
बारी कान्ला जताततै मखमली झुल्छन्
डाला भरि भरि फूल टिपी बाबा ल्याउने
गुन्द्र माथि बसी लामा छोटा माला गाँस्ने
परदेश गा’का दाजुभाइ आउँछन् सम्झी घर
पकाउनुहन्छ आमा सेल अनर्सा झर
काग, कुकुर, गाई, लक्ष्मी सबको पूजा हुन्छ
फूलै फूलको पर्व तिहार मलाई मन पर्छ
झिलिमिली बत्ती बल्छ रात नि दिन जस्तो
थरि-थरि रोटी मिठाइ कुन चाहिँ चाखूँ जस्तो
दिदीले ल्याइदिएको भाइ मसला खान्छु
देउसी, भैलो खेल्न म त साथीसँग जान्छु
खुत्रुकेको पैसा झिकी राम्रो सामान किन्छु
मायासँगै दिदीलाई उपहार दिन्छु
निधारमा सप्तरङ्गी टीका लर्काएर
दिदीभाई सेल्फी खिच्ने मोबाइल तेर्स्याएर
दाजुभाइ दिदी बहिनी माया बराबर
आहा ! कति रमाइलो हो नि यो तिहार ।
—————————-
[स्याङ्जामा जन्म भई हाल बूढानीलकण्ठ, काठमाडौँमा स्थायी बसोबास गर्दै आएकी साहित्यकार गङ्गा कर्माचार्य पौडेल (२०११) नेपाली बालसाहित्यका क्षेत्रमा सशक्त नारी हस्ताक्षरको नाम हो कवयित्री पौडेलले बालसाहित्यका विविध विधामध्ये प्रायः बालकथा, बालचित्रकथा र बालउपन्यासका कृतिहरू लेखेकी छन् भने बालकविता वा बालकाव्यका क्षेत्रमा पनि उनका केही कृतिहरू प्रकाशित छन् । ‘ओजु र डाँफे’, ‘धौली आमा’ उनका बालकाव्यका कृतिहरू हुन् । लेखन र सम्पादनका साथै खोज अनुसन्धानका क्षेत्रमा समेत उनको सक्रियता राम्रो छ । उनको प्रस्तुत ‘तिहार’ बालवितामा दसैँपछि आउने नेपालीहरूको दोस्रो महान् पर्व तिहारमा गरिने रमाइलाको कवितात्मक र कलात्मक वर्णन गरिएको छ ।]
*****************
४. रमाइलो तिहार – केशवराज अधिकारी

केशवराज अधिकारी
आउनु है दाजु छिट्टै जहाँ भए पनि
म त कुर्दै बसेकी छु दिन गनी गनी
सयपत्री मखमली फुले ढकमक
त्यसै ओइली गयो भने रोइदिन्छु म त
सप्तरङ्गी टीका जम्मा गरेकी छु मैले
आऊ दाजु तिहारको टीकाभन्दा पैले
माला उन्ने तरिका नि सिकेकी छु मैले
सप्तरङ्गी टीका भर्न जानेकी हुँ ऐले
सङ्घारमा ओखर दाना फोर्नु पर्छ पैला
शत्रु नास हुन्छन् अरे जान्छ फोहर मैला
आमा बाबा खुसी होलान् म त अझै खुसी
त्यै खुसीमा टीका लाउँला आँगनमा बसी
कुकुर अनि गाई, गोरु काग पूजा गर्ने
तिहारको बेला आयो खुसियाली भर्ने
देउसी भैलो खेल्नु पर्छ सङ्गै मिलिजुली
वल्लो पल्लो घर अनि छिमेकमा डुली
आऊ दाजु रमाउँला सँगै बसी ऐले
यो सालको तिहारको टीका भन्दा पैले।
————–
[मादी गाउँपालिका-९ (साविक मिजुरेडाँडा, गोर्जे कास्की) मा जन्म भई हाल मध्यनेपाल नगरपालिका-७ करापुटार रामबजार, लमजुङमा बसोबास गर्दै आएका कवि केशवराज अधिकारी (२०२२) पेशाले व्यापार व्यवसायी हुन् र पनि साहित्यलेखनमा निरन्तर साधनारत प्रतिभा हुन् । पछिल्लो समयमा उनले निकै मिठा मिठा बालकविता पनि सिर्जना गर्दै आएका छन् र कतिपय बालकविताहरू राष्ट्रिय पत्रपत्रिकामा समेत प्रकाशित भएका छन् । प्रस्तुत ‘रमाइलो तिहार’ बालकवितामा दाजुको प्रतीक्षामा रहेकी बहिनीले तिहारको बेलामा दाजुलाई निधारमा सप्तरङ्गी टीका लगाइदिएर खुसी हुने अभिलाषा प्रकट गरेको कुरा अभिव्यक्त गरिएको छ । कविले प्रस्तुत बालकवितामा तिहारका अन्य दिनमा हुने प्रसङ्गलाई समेत अघि सारेका छन् ।]
***********************
५. मेरो तिहार– हरि श्रेष्ठ

हरि श्रेष्ठ
पहिलो दिन काग तिहार
कागको पूजा गरौंला
यम दुतको संवाहकलाई
मीठो खान दिउँला
दोस्रो दिन कुकुर तिहार
कुकुरको पूजा गरौँला
घरका रक्षक कुकुरलाई
माला लागाई दिउँला
तेस्रो दिन गाई तिहार
गाईको पूजा गरौँला
मीठो दूध दिने गाईलाई
आमा समान मानौँला
चोथो दिन म्ह पूजा
बिहानै उठेर नुहाउँला
आफ्नो पूजा आफै गरी
मीठो- मीठो खाउँला
पाँचौ दिन भाइटीका
भाइ पूजा गरौँला
दिदीबहिनीको हातबाट
मीठो आशीर्वाद लिउँला ।।
—————–
[भीमेश्वर नगरपालिका वडा नम्बर-२ दोलखा बजारमा जन्म भई हाल काँडाघारी, काठमाडौंमा बसोबास गर्दै आएका हरिनारायण श्रेष्ठ (२०२५) पेशाले शिक्षक हुन् । कथा,कविता,मुक्तक आदि विधामा उनले कलम चलाएका छन् । २०४५ सालमा नेपाल बाल संगठनद्वारा प्रकाशित बालक पत्रिकामा “टुहुरोको बेदना” नामक बालकथा उनको प्रथम प्रकाशित रचना हो । विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरूमा उनका मुक्तक, लघुकथा तथा बालकविताहरू प्रकाशित हुँदै आइरहेका छन् । उनको प्रस्तुत ‘मेरो तिहार’ बालकवितामा कविले तिहारका पाँचै दिनको महत्त्वलाई झल्काएका छन् ।]
******************



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

