१. रमाइलो दसैँ – गोविन्दबहादुर कुँवर

गोविन्दबहादुर कुँवर

पाखा पखेरा पहेँला घाम लाग्यो
धूलो, हिलो मैल‍ो सबै कता भाग्यो

वनमा देखिन्छ हरियाली राम्रो
आकाशजस्तै खुल्यो नि मन हाम्रो

सयपत्री फूलले दसैँ बोलाए
लालीले हिमालमा आँखै लोलाए

पर्देशिएका मुग्लानी घर आए
उजाड गाउँबस्ती पनि रमाए

दसैँको टीकामा कति रमाइलो
मामाघर जाँदा मनै घमाइलो

——————————-

[साहित्यकार गोविन्दबहादुर कुँवर (२००८) लमजुङका पुराना स्रष्टा हुन् । दूधपोखरी प्रतिभा परिवार, लमजुङका संस्थापक अध्यक्ष कुँवरले साहित्यका कविता, निबन्ध, हास्यव्यङ्ग्य, कथा, बालकविता लगायतका थुप्रै विधामा कलम चलाएका छन् र कतिपय विधामा सङ्ग्रह पनि प्रकाशन गरिसकेका छन् । कवि कुँवरको बालसाहित्यतर्फ ‘तातेताते’ नामक बालगीतिसङ्ग्रह प्रकाशित छ भने अन्य बालसाहित्यका कृतिहरू पनि प्रकाशनको तयारीमा छन् । विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित एवम् पुरस्कृत कवि कुँवरका बालकवितामा ग्रामीण संस्कृतिप्रतिको मोह, अतीततर्फको चासो, लोकजीवनसँगको सामीप्यता, आञ्चलिकता, मानव र प्रकृतिबिचको घनिष्ठ सम्बन्ध, नेपाली भू-प्रकृतिको कलात्मक र जीवन्त चित्रण, बालसुलभ कोमलता, अग्रजप्रतिको श्रद्धा, लोकभाषाको प्रयोग जस्ता वैशिष्ट्य पाइन्छन् । उनको प्रस्तुत ‘ रमाइलो दसैँ’ बालकवितामा दसैँ पर्वमा हुने प्राकृतिक रमणीय दृश्यवालीको चित्रण गर्दै परदेश गएका नेपालीहरू स्वदेश फर्कँदा उजाड गाउँबस्ती नै रमाइलो हुने भाव अभिव्यक्त भएको छ भने बालबालिकाहरू मामाघर जान पाउँदा बालमन पनि घमाइलो हुन्छ भनिएको छ।]

*******************************

२. स्याङ्जा र दसैं – गङ्गा कर्माचार्य पौडेल

गङ्गा कर्माचार्य पौडेल

आहा फेरि आयो दसैं रमाइलो गर्ने हो
टिका लाउन मामाघर वालिङ् बजार जाने हो

हजुरबाले रातो टीका लगाइदिनु हुन्छ
हजुरमाले कुराउनी खान दिनुहुन्छ
मामा पनि अमेरिकाबाट आउनु हुन्छ रे
मेरो लागि नाना चाचा किनिदिनु भाछ रे

चचहै चचहै पिङ मच्चाई खेल्ने हो
काली गण्डकीमा गई स्टीमर चढ्ने हो
रामु गीता सीता सँग गोठालो नि जान्छु
छङ्छङ् गर्ने छाङ्छाङ्दीको झरनामा नुहाउँछु

हेर्नुपर्छ सिरुवारीबाट हिमाल झलल
तल बगिरहने सङ्लो आँधिओला सलल
सिद्धार्थ त्यो राजमार्ग नागबेली परेको
आकाशदेखि सेतो सेतो भुइँ कुहिरो झरेको

हरियाली बनपाखा स्वच्छ हावा सररर
स्वर्ग जस्तो लाग्छ मलाई मेरो मामा घर
आहा फेरि आयो दसैं रमाइलो गर्ने हो
टिका लाउन मामाघर वालिङ बजार जाने हो ।

—————————-

[स्याङ्जामा जन्म भई हाल बूढानीलकण्ठ, काठमाडौँमा स्थायी बसोबास गर्दै आएकी साहित्यकार गङ्गा कर्माचार्य पौडेल (२०११) नेपाली बालसाहित्यका क्षेत्रमा सशक्त नारी हस्ताक्षरको नाम हो कवयित्री पौडेलले बालसाहित्यका विविध विधामध्ये प्रायः बालकथा, बालचित्रकथा र बालउपन्यासका कृतिहरू लेखेकी छन् भने बालकविता वा बालकाव्यका क्षेत्रमा पनि उनका केही कृतिहरू प्रकाशित छन् । ‘ओजु र डाँफे’, ‘धौली आमा’ उनका बालकाव्यका कृतिहरू हुन् । लेखन र सम्पादनका साथै खोज अनुसन्धानका क्षेत्रमा समेत उनको सक्रियता राम्रो छ । उनको प्रस्तुत स्याङ्जा र दसैँ बालकवितामा कवयित्रीले आफ्नो जन्मथलो स्याङ्जाको स्मरण गर्दै हजुरबाको हातबाट टीका लगाउने, हजुरआमाले पकाउनुभएको मिठो कुराउनी खाने, अमेरिकाबाट आउनुभएका मामासँग भेटेर उपहार लिने, पिङमा मच्चिँदै खेल्ने आदि रमाइलो कल्पना गरेकी छन् ।]

********************

३. प्राणी हत्या नगरौँ – सरस्वती श्रेष्ठ सरू

सरस्वती श्रेष्ठ सरू

हट्यो सारा हिलो मैलो धुलो कसिङ्गर
खुसीयाली पोतियो गाउँ, घर, शहर

आयो आयो दसैँ आयो दिन घमाइलो
लाग्छ हामी सानालाई अझ रमाइलो
घरको पूजाकोठामा रोपी जौको जमरा
गर्छौँ खुसी मनले देवताको पुकारा

हाम्रो घरको मुने पाठो उफ्री उफ्री खेल्दछ
भेट्यो भने टाउकाले मलाई पर ठेल्दछ
थाहा छैन उसलाई खेल्ने कुद्ने आजै हो
भोलि भने बिहानै मार हान्ने दाजै हो

तर मलाई लाग्दछ उस्को माया अति नै
ऊ नि प्राणी म नि प्राणी छ र अन्तर कति नै
हाम्रोजस्तो उसको पनि बाँच्ने अधिकार
हुँदैन र बाबा हो ! रोक्न हतियार ?

सुन्नुस् बाबा हजुर मेरो बिन्ती भाउ
मुने पाठो नकाटी ऐले दसैँ मनाऊँ
नखाए नि हुन्छ बाबा बरू मासु भात
प्राणी हत्या गरेर नगरौँ है घात ।

————————-

[लमजुङमा जन्मिई हाल पोखरालाई कर्मथलो बनाउँदै साहित्यसिर्जनामा निरन्तर साधनारत प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ (२०२५) पेशाले शिक्षिका हुन् । पोखरा प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसमेत रहेकी कवयित्री ‘सरू’ पोखरेली युवा सांस्कृतिक परिवार, नारी प्रतिभा वाङ्मय प्रतिष्ठानलगायतका संस्थामा पनि आबद्ध छिन् । विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेकी उनले कविताका विविध विधामध्ये गीत तथा फुटकर कविता लेखनमा निरन्तर कलम चलाई सङ्ग्रह पनि प्रकाशित गरिसकेकी छिन् । बालसाहित्यतर्फ उनको ‘किट्टी’ नामक बालकथासङ्ग्रह प्रकाशित छ भने ‍विद्यालयस्तरीय नेपाली विषयका पाठ्यपुस्तकमा उनका रचनाहरू पाठ्यसामग्रीका रूपमा समेत समावेश भएका छन् । कोपिला, नागरिक, बालप्रज्ञा, नवमाध्यम, बाल उदय लगायतका बालपत्रिकाहरूमा उनका बालकविताहरू प्रकाशित भएका छन् । बालसुलभ कोमल भावना, बालोचित सन्दर्भ, बालमनोविज्ञानको सफल र सबल प्रस्तुति, बालरुचि अनुकूलका विषयवस्तुको चयन आदि उनका बालकवितात्मक प्रवृत्ति हुन् । उनका बालकवितामा प्राकृतिक सौन्दर्यको जीवन्त चित्रणका साथै देशप्रेमी भावनाको कलात्मक, सुन्दर र लयात्मक अभिव्यक्ति पनि पाइन्छ । उनको प्रस्तुत ‘ प्राणी हत्या नगरौँ’ बालकवितामा दसैँमा गरिने रमाइलाको वर्णन गरिएको छ भने अर्कातिर खसी, बोका जस्ता निरीह प्राणीको हत्या गरेर दसैँ मनाउने स्वार्थी मानवको अमानवीय व्यवहारप्रति दुखेसो समेत पोखिएको छ ।]

*********************

४. खुसीसाथ दसैं मनाउँला – सुरज राजथला

सुरज राजथला

घरआँगन चम्किला लगाई नाना सुकिला
साथीभाइ भेलामा रमाइलो दसैं मेलामा

आकाशमा रङ्गीचङ्गी चङ्गा देखियो
माझा लगाई लट्टाईमा धागो बेरियो

चचहुई चचहुई पिङ मच्चियो
बतासिदैँ आकासिँदै भुईँ छोडियो

मान्यजनको हातबाट टीका थापौँला
यसै गरी खुसीसाथ दसैं मनाउँला

रातो टीका निधारमा कानमा जमरा
कति भयो दक्षिणा आफै गनौँला

———————–

[सूर्यविनायक नगरपालिका वडा नं ४, गाम्चा, भक्तपुर घर भएका कवि सुरज राजथला (२०२९) पूर्व प्राथमिक स्तरका बालबालिकाका लागि पुस्तक लेख्ने सर्जक हुन् । फस्ट स्टेप्स् मन्टेश्वरी विद्यालयका सञ्चालक एवम् बालसाहित्यका स्रष्टा राजथलासँग २१ वर्ष लामो शिक्षण अनुभव छ । बालबालिकाले महसुस गर्ने कल्पनाशील शब्दयुक्त किफायती र स्पष्ट भाषाको प्रयोग गरिएको बालकविता साना भाइबहिनीहरूका लागि रुचिकर हुने हुँदा सर्जकले विषयवस्तु छनोटमा बालरुचिअनुकूलतालाई ध्यान दिनुपर्दछ भन्ने विचार राख्ने कवि राजथला बालमनोविज्ञानको सफल प्रयोग गरेर बालकविता रचना गर्ने गर्दछन् । Asia Publication – Pre- school Kinder bag (Nursery to UKG) series उनका प्रकाशित पाठ्य शैक्षिक सामग्रीहरू हुन् । उनको ‘खुसीसाथ दसैं मनाउँला’ बालकवितामा नयाँ र रङ्गीचङ्गी लुगा लगाएर बालबालिकाहरू दसैँमा रमाइलो मान्छन् भन्ने कुरा अभिव्यक्त गर्दै पिङमा झुम्मिँदै, चङ्गामा रमाउँदै, मान्यजनका हातबाट टीका ग्रहण गर्दै र दक्षिणा प्राप्त गर्दै दसैँमा बालबालिकाहरू खुसी हुन्छन् भनिएको छ ।]

*******************

५. दसैँ आयो – अन्जना पौडेल “अनुश्रुति”

अन्जना पौडेल “अनुश्रुति”

दसैँ आयो हुरुरु
चङ्गा उड्यो फुरुरु

यता पनि रमाइलो उता पनि रमाइलो
चाडपर्व आएपछि मनै घमाइलो
गाउँघरमा डुल्ने हो पिङ् पनि खेल्ने हो
वन जङ्गल चहारेर कटुस खोज्ने हो

रुखैमाथि चढेर अम्बा टिप्ने हो
साथीहरूसँग मिली बाँडी खाने हो
जमरा र टीका लगाई आशिष थाप्ने हो
टीका लाको पैसाले बनभोज खाने हो

बिदा पनि सकियो विद्यालय जाने हो
मन ध्यान लगाएर धेरै पढ्ने हो ।

——————————–

[लमजुङ,दुराडाँडामा जन्म भई हाल टोखा नगरपालिका-७, काठमाडौँमा बसोबास गर्दै आएकी अन्जना पौडेल “अनुश्रुति” मानवशास्त्रमा विद्यावारिधि गर्दै गरेकी स्रष्टा हुन् । शताब्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष पौडेल त्रिचन्द्र क्याम्पस काठमाडौँमा प्राध्यापन पेसामा संलग्न छन् । बालकविता लेखनतर्फ पनि उनको कलम चलेको पाइन्छ । सानै उमेरमा भित्ते पत्रिकामा रचना प्रकाशन गरेर साहित्य लेखन आरम्भ गरेको अनुभव उनमा छ । प्रकाशित कृतितर्फ हेर्ने हो भने उनको हिउँ खस्ने पर्वत तथा आरूबारीको फूल (हाइकु सङ्ग्रह), जब वेदना फूल बन्यो(कथा सङ्ग्रह) लगायतका कृतिहरू प्रकाशित छन् । बाल्य उमेरमा नै रेडियो नेपालको साहित्य संसार कार्यक्रमबाट उनले आफ्नै स्वरमा रचना प्रसारण गरेकी थिइन् । हाल उनका बालगीत, आधुनिक गीत र दोहोरी गीत रेकर्ड समेत भइसकेका छन् । उनका उपन्यास,बालकवितासङ्ग्रह ,कथासङ्ग्रह,मुक्तकसङ्ग्रह एवम् समीक्षा सङ्ग्रह प्रकाशनको तयारी छन् । उनको प्रस्तुत ‘दसैँ आयो’ बालकवितामा दसैँमा बालपात्र बनेकी पौडेलले चङ्गा उडाउन, पिङ खेल्न र टिका लगाई जमरासँगै आशीर्वाद र दक्षिणा लिन पाउँदा हुने रमाइलोलाई कवितात्मक शैलीमा व्यक्त गरेकी छन् ।]
rcghimire47@gmail.com