साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ब्रह्माण्डको एक खराब कुनो: पृथ्वी

पृथ्वीका अधिकांश मानिसलाई चन्द्रमाको ऊर्जाले सञ्चालन गर्छ । चन्द्रमाको ऊर्जाले सञ्चालन गर्ने मानिसमा बन्धन धेरै हुन्छ । पृथ्वीको ऊर्जाले सञ्चालन गर्ने मानिसमा ४८ वटा बन्धनहरू हुन्छन् ।

Chovar Blues Mobile Size

‘ब्रम्हाण्डको एउटा खराब कुनामा जीवनको उत्पत्ति भयो,’ यो दाइले भन्नुभएको होइन । यस्तो भन्ने हिम्मत ममा हुने कुरै भएन । यो त अस्पेन्स्कीले भनेका हुन्, ‘द फोर्थ वे’ पुस्तकमा ! यही एउटा वाक्यांशले मलाई घुमाइरह्यो । पृथ्वी सोलार सिस्टमको तेस्रो ग्रह हो तर, चन्द्रमाले पृथ्वीको जीवनलाई प्रभावित पार्छ । अस्पेन्स्की भन्छन्, ‘संसारको सबैभन्दा खराब कुनो चन्द्रमा हो र पृथ्वी पनि लगभग त्यत्तिकै खराब कुनो हो ।’ अब पृथ्वीमा जीवन किन कष्टकर छ भनेर सजिलै अनुमान गर्न सकिन्छ । अस्पेन्स्की पृथ्वीको जीवनलाई उत्तरी ध्रुव नजिकैको बसोबाससँग तुलना गर्छन् । चन्द्रमा र पृथ्वीबीचको गुरुत्वाकर्षणका कारण समुद्रमा ज्वार उठ्ने कुरा त हामीलाई थाहा नै छ । त्यसो त, मानव शरीरको लगभग ६०% हिस्सा पानीले ओगटेको छ । चन्द्रमाले मानव शरीरलाई असर नगर्ने त कुरै भएन । पूर्णिमाको रातमा पागलहरुको पागलपन चरम शिखरमा पुग्ने कुराले पनि यो तथ्यलाई प्रमाणित गर्छ नै । अझ महिलाहरुको रजस्वला अवधि लुनार साइकलको अवधिसँग लगभग बराबर हुन्छ । तर, यत्तिले मात्र पुगेन मलाई र यसका बारेमा दाइलाई सोधेँ ।

‘अब हेर, मानव शरीरको संरचना ! मानव शरीरलाई सञ्चालन गर्ने अङ्ग मस्तिष्क हो । यति सानो अङ्ग सञ्चालन गर्न आवश्यक ऊर्जा उत्पादन गर्ने ट्याङ्की (पेट) यत्ति ठूलो छ । ट्याङ्की ठूलो हुनुको अर्थ, यहाँको इन्धनमा केही खराबी छ अर्थात् हामीलाई आवश्यक पनि ऊर्जा यहाँ छैन नै भन्दा पनि हुन्छ ।’

दाइको जवाफले मेरो दिमाग चकरायो । मैले त यसरी कहिल्यै सोचेको थिइनँ ।

मानव शरीरको २% हिस्सा मस्तिष्कले ओगटेको हुन्छ तर, यसले शरीरमा उत्पादित कुल ऊर्जाको २०% खपत गर्छ । यो पनि मानिसले आफ्नो मस्तिष्क केमा र कति प्रयोग गर्छ भन्ने कुरामा निर्भर रहन्छ । बाँकीका हातखुट्टा र शरीरले त यसैलाई जीवित राख्न र पोषण दिन ऊर्जा प्रयोग गर्ने त हो ! शरीरको काम मस्तिष्कलाई खुराक खोजिदिनु हो । यसको काम त नयाँ सिर्जना गर्ने हो तर मानिसहरूले ओभरथिन्किङ र कल्पना गरेरै ऊर्जा समाप्त गरिदिन्छन् ।

पृथ्वीका अधिकांश मानिसलाई चन्द्रमाको ऊर्जाले सञ्चालन गर्छ । चन्द्रमाको ऊर्जाले सञ्चालन गर्ने मानिसमा बन्धन धेरै हुन्छ । पृथ्वीको ऊर्जाले सञ्चालन गर्ने मानिसमा ४८ वटा बन्धनहरू हुन्छन् । त्यसैले सूर्यको ऊर्जाले सञ्चालित मानिसहरुमा १२ वटा बन्धनहरू हुन्छन् । अनि अर्को कुरा, पृथ्वीमा जीवनका लागि आवश्यक पर्ने सबै कुरा छन् । अग्नि, जल, वायु, जमिन सबै पृथ्वीभित्रै छन् । एउटा चीज मात्र यो ग्रहभन्दा बाहिरबाट आउछ, त्यो हो– सूर्यको प्रकाश ! त्यसैले हिन्दु धर्ममा सूर्यलाई दन्किरहेको एक अग्निको पिण्डका रूपमा लिइँदैन । बरू जीवन्त देवताका रूपमा पुजिन्छ । एक जीवनदाताको रूपमा ! यसरी जति बन्धन कम हुँदै गयो, त्यति नै मानिस ‘पूर्ण’ अर्थात ईश्वरको नजिक पुग्छ ।

sagarmani mobile size

‘यसै त हामी शारीरिक रूपले सीमित छौँ । हाम्रो आँखाले निश्चित तरङ्ग लम्बाई भएका प्रकाश मात्र देख्न सक्छ । हाम्रो कानले निश्चित आवृत्तिको ध्वनि सुन्न सक्छ । छालाले अनुभव गर्ने स्पर्श पनि सीमित छ । यहाँ हामीभन्दा धेरै देख्न र सुन्न सक्ने जनावरहरू पनि छन् । अझ सरल रूपमा भन्नुपर्दा हाम्रो आँखाले माइक्रोस्कोपबाट हेर्यो भने अत्यन्त सूक्ष्म जीवहरू देख्न सक्छ भने टेलिस्कोपबाट हेर्यो भने दूरदराजका ग्रहहरू देख्न सक्छ । हाम्रो आँखामा प्रकृतिले निश्चित कुराहरू मात्र देख्न सक्ने लेन्स जडान गरेर पठाएको छ । अब भन, तिम्रो आँखाले देखेको संसार सत्य हो भनेर तिमी कसरी भन्न सक्छौ ? संसार तिमीले देखेको जस्तै नहुन पनि सक्छ ।’

अब भने दाइको कुरा, मेरो यो दिमागमा घुस्यो । ऋषिमुनिहरूले त्यही भएर ‘ब्रह्म सत्य, जगत मिथ्या’ भनेका रहेछन् ।

अब ब्रह्माण्डको कल्पना गरौँ । ब्रह्माण्ड असीम छ भन्ने कुरा त हामीले सुनेकै छौँ । असीम ब्रह्माण्डको कल्पना कसरी गर्ने ? हाम्रो आफ्नै आँखाले देख्ने भनेको चन्द्रमा मात्र हो । अरु हामीले आँखाले देखेको भनेको तारा हो । बाँकी त हामीले किताब र भिडियोमा देखेका छौँ । हामी त्यही टुक्राटाक्री जोडेर एउटा ब्रह्माण्ड बनाउँछौँ । धारणाको ब्रह्माण्ड ! बेलाबेलामा हामीलाई नयाँ कुराको कल्पना गरेको जस्तो लाग्छ । नयाँ कल्पना भन्ने कुरै हुँदैन । त्यही हाम्रो स्मृतिमा भएका केही तस्बिर जोडजाड गरेर र फरक रूपमा आँखा अगाडि चित्रहरू चलिरहन्छन् ।

अब बन्धन भनेको हातखुट्टा बाँधिनु र जेलमा बन्दी हुनु मात्र होइन । कृष्ण त जेलमै जन्मेका थिए तर, उनको उडान असीम थियो । सायदै आजसम्म त्यस्तो उडान कुनै मानिसले भर्यो होला ! बन्धन त मस्तिष्कमा छ । यही बन्धनले हामीलाई संसारको अनुभव सीमिततामा गराउँछ । अब हाम्रो कल्पनालाई नै हेरौँ । हामीले सर्वव्यापी र असीम ईश्वरको कल्पना गरे पनि कसरी गर्छौं ? ईश्वरको कल्पना गर्दा पनि हामी शरीरको रूपमा नै गर्छौं । बस्, हाम्रोभन्दा एकाध हातखुट्टा र आँखा अतिरिक्त भएका ! यदि ईश्वर सर्वव्यापी र असीम छन् भने जुनसुकै स्वरूपमा पनि हामीमाझ हुन सक्छन् । हावा, पानी, अणु, कण, जेको रूपमा पनि या हामी नै पनि आफ्नो स्वरूप बिर्सिएको ईश्वर हुन पनि सक्छौँ । तर, धारणामा जेलिएको मस्तिष्कले यस्तो सोच्न कहाँ सम्भव छ र !

स्वर्गकै कल्पना गरे पनि हाम्रा स्वर्गमा सुनचाँदी नै हुन्छन्, स्त्री नै हुन्छन् । वासनाले हाम्रो स्वर्ग निर्माण भएको हुन्छ । हाम्रा ईश्वर पनि हाम्रा नजरका बहुमूल्य धातुहरूले जकडिएका हुन्छन् । बाँदरको स्वर्ग सुनले बनेको हुँदैन, केराका रूखले घेरिएका हुन्छन् । मानिस जुन धारणाको जन्जिरमा बाँधिएको हुन्छ, उसको स्वर्ग पनि त्यस्तै हुन्छ । यहाँनेर प्यारा कवि मनु मञ्जिलको कवितांश सार्थक प्रतीत हुन्छः

‘घोडालाई कुटेर

यसरी दास बनाइएको छ कि

उसले स्वर्गसमेत लगामसहितको देख्छ ।’

‘शरीरलाई केही हदसम्म परिष्कार गर्न सकिन्छ । अत्यन्तै अभ्यास गरेमा अलिकति माथिल्लो हदसम्म जान सक्छ, ब्रुस लीजस्तै ! तर शरीरको सीमिततालाई उल्लङ्घन गर्न भने सकिँदैन । मस्तिष्कको उडानले केही हदसम्म असीमलाई छुन सक्छ तर यो पनि सीमित छ । असिममा उपलब्ध हुनको लागि सारा बन्धनहरू छोडिदिनुपर्छ । असीम नै बन्नुपर्छ,’ दाइ अझ स्पष्ट पार्नुहुन्छ ।

‘पहिलो कुरा त बन्धनबाट मुक्त हुन मानिसले आफू बन्धनमा छु भन्ने थाहा पाउनु पर्यो । अनि मात्र मानिसले बन्धनबाट मुक्त हुने तरिकाहरू खोज्न सक्छ । यो बन्धनबाट मुक्त हुने पहिलो कदम हो । अनि दोस्रो, आफूलाई के थाहा छ र के थाहा छैन भन्ने थाहा पाउनुपर्छ । गहिरिएर अध्ययन गर्ने हो भने हामीलाई केही पनि थाहा छैन । कतैबाट आर्जन गरेका जानकारीका टुक्राहरु मात्र छन् । यही टुक्राहरू जोडेर हामी समग्रताको कल्पना गर्छौं,’ दाइको सटिक जवाफ आयो ।

त्यसो त, हामीसँग दुईवटा मात्र विकल्प छन्, यस खराब कुनाबाट उम्कने ! एक त, आफू बन्धनमा छु भनेर थाहा पाएर यसबाट उम्कने प्रयास गर्ने । तर, हामीलाई यसबाट उन्मुक्ति पाउने सटीक तरिका पनि थाहा छैन । कुशल मार्गदर्शक बिना दुई दिनको बाटो हिँड्न पनि दुई हजार वर्ष लाग्न सक्छ भनेर रूमीले भनेकै छन् । हामीसँग त्यत्रो विधि समय पनि छैन । बाँकी रह्यो एउटा विकल्प, यस खराब कुनोबाट उम्किसकेकाको सहारा लिनु । उफ् विकल्प पनि छैन हामीसँग ! कति सीमित छौँ हामी !

प्रतिक्रिया
Loading...