१. दसैँको पिङ – केशवराज अधिकारी
दसैँ आयो दसैँ आयो भन्छन वारिपारि
लौ न पिङ बनाई दिनु खेल्छु च है गरी
बुझ्नु भयो बाबाले मेरा कुरा मनका
भन्नुभयो साधन काटी ल्याउँछु बनका
डाँडी, खाँबा, घुर्रा र पिर्की ठेँडी काठको
बनाउनु भो बाबाले घुर्रे पिङ छाँटको
काईँकुईं चाईँचुँई पिङ खेल्दा करायो
खेल्दा खेल्दै भुलियो थकाई पनि हरायो
घुर्रे, राँटे, जाँते, लिङ्गे पिङ धेरै थरी
चिची पापा खाँदै पिङ खेल्छौँ यसै गरी
ठूलो चाड हाम्रो यो खुसी लाग्छ रमिता
यो विजया दशमी दसैँ भन्छौँ हामी ता
गाउँघर मावली घर घरै धाइन्छ
आफूभन्दा ठुलाको आशीर्वाद पाइन्छ ।
———–
[मादी गाउँपालिका-९ (साविक मिजुरेडाँडा, गोर्जे कास्की) मा जन्म भई हाल मध्यनेपाल नगरपालिका-७ करापुटार रामबजार, लमजुङमा बसोबास गर्दै आएका कवि केशवराज अधिकारी (२०२२) पेशाले व्यापार व्यवसायी हुन् र पनि साहित्यलेखनमा निरन्तर साधनारत प्रतिभा हुन् । पछिल्लो समयमा उनले निकै मिठा मिठा बालकविता पनि सिर्जना गर्दै आएका छन् र कतिपय बालकविताहरू राष्ट्रिय पत्रपत्रिकामा समेत प्रकाशित भएका छन् । प्रस्तुत ‘दसैँको पिङ’ बालकवितामा उनले शरद् ऋतुमा नेपाली घर आँगनमा भित्रिने दसैँ पर्वको रमाइलोको वर्णन गर्दै बालकको पिङ खेल्ने इच्छालाई रोचक र कलात्मक पारामा अभिव्यक्त गरेका छन् । कवितामा दसैँमा पिङ खेल्न पाउँदा हुने रमाइलो, पिङका प्रकार र पिङको बनोटको व्याख्या पनि गरिएको छ । बालकवितामा अनिवार्य रूपमा हुनुपर्ने शाब्दिक सरलता, लयात्मकता र झिनो आख्यानात्मकता जस्ता विशेषतालाई ध्यान दिँदै कविले प्रस्तुत बालकवितालाई रोचक र प्रवाहमय तुल्याएका छन् ।]
***********
२. दसैँको रमाइलो – गङ्गा खड्का
राम्रो लाउने मीठो खाने दिन आइसकेछ
जताततै दसैँको माहोल छाइसकेछ ।
बाबा अझै व्यस्त भई काम धेरै थाल्नुभो
घरका फोहोर टिपनटापन आमाले नै फाल्नुभो ।
दिदीदाइ भन्नुहुन्छ पोहोरभन्दा खुलेर
मनाउनु छ दसैँ अहिले दु:ख पीर भुलेर ।
लिङ्गे पिङ सररर खेल्नुपर्छ रमाउँदै
धर्ती छोडी उड्नलाईबलियोसँग समाउँदै ।
चङ्गा उडाई मजाले पर्दैपर्दै दङ्ग
खुसी साट्दै खेल्नु छ प्यारा साथीसँग ।
खसी काट्ने भनेर बाबासँग भन्नु छ
खुत्रुकेमा हाल्नलाई दक्षिणा नि गन्नु छ ।
खसी पनि ढालुँला चिचिमाम खानलाई
राम्रो नाना किनुँला मामाघर जानलाई
रातो टीका निधारमा जमरा नि लाउँला
मिलिजुली सत्यको महिमागान गाउँला ।
———
[शिक्षण पेशामा आबद्ध साहित्यकार गङ्गा खड्का (२०३७) नेपाली साहित्यका विविध विधामध्ये प्रायः लघुकथा विधामा कलम चलाउने स्रष्टा हुन् । अल्पाइन एकेडेमी डाँछी, काठमाडौँ मेरिडियन स्कुल जनमार्ग हुँदै लामो समयदेखि हाल बाल विकास बोर्डिङ हाइ स्कुल बूढानीलकण्ठमा अध्यापनरत उनको २३ वर्षे लामो शिक्षण अनुभव रहेको छ । बूढानीलकण्ठ-१, काठमाडौँ निवासी खड्का नमस्ते लघुकथा मञ्च तथा साहित्यपोस्ट ई-पत्रिकाद्वारा आयोजित लघुकथा प्रतियोगितामा पुरस्कृत समेत भइसकेकी छन् । साहित्यको नौलो विधा बाछिटामा समेत कलम चलाएर उनी पटक पटक पुरस्कृत भएकी छन् । पछिल्लो समय नेपाली बालकविता लेखनका क्षेत्रमा समेत निरन्तर कलम चलाउँदै र रचना प्रकाशित गर्दै आएकी कवयित्री खड्काले प्रस्तुत दसैँको रमाइलो बालकवितामा दसैँ पर्वलाई केटाकेटीले राम्रो लाउने र मिठो खाने पर्वका रूपमा हेर्ने गरेको सन्दर्भ गाँसिएको छ ।]
**********
३. दसैँ आयो – शान्ता बास्तोला
दसैँ आयो, दसैँ आयो खुसी ला´छ मलाई
मासु पोली खाने हो देऊ न आमा सलाई
नयाँ लुगा आमाले किन्ने भन्नुभा´छ
कति माया गर्नुहुन्छ मलाई मात्र था´छ
चहै- चहै पिङ खेल्न गाउँमा जाने हो
खेल्न जाँदा भाइलाई पनि सँगै लाने हो
लगाउने हो दसैँमा रातो टीका जमरा
भन्नुहुन्छ आमाले कामै नगर
थाहा छैन ठुलाबाले कति पैसा दिने हो
त्यो पैसाले कापी र कलम किन्ने हो
लाउँछु भन्छे बहिनीले फूल बुट्टे जामा
बाँकी पैसा खुत्रुकेमा राखिदिनुस् आमा !!
————-
[तनहुँ, दमौलीमा शिक्षिकाका रूपमा कार्यरत शान्ता बास्तोला (२०४०) छन्द कविता लेखनमा रुचि राख्ने प्रतिभा हुन् । सुमधुर स्वरमा लयवाचन गर्न सक्ने कला भएकी कवयित्री बास्तोला छन्दकविता लेखेर विभिन्न प्रतियोगितामा पुरस्कृत हुँदै आएकी छन् । उनले फुटकर रूपमा बालकविता पनि लेखेकी छन् । समसामयिक विषयवस्तुको प्रयोग गरेर बालकविता लेख्ने बास्तोलाका बालकवितामा जनस्वास्थ्यप्रतिको चासो र चिन्ता, शैक्षिक जागरण एवम् परम्परागत सांस्कृतिक चाडपर्वमा गरिने रमाइलोलाई सन्दर्भ बनाइएको पाइन्छ । प्रस्तुत दसैँ आयो बालकवितामा कवयित्री बास्तोलाले दसैँ चाडका बेलामा बालपात्रले खुसी व्यक्त गरेको अभिव्यक्ति दिँदै सरर्र बग्ने खालको भाषा प्रयोग गरी कवितालाई कलात्मक र लयात्मक बनाएकी छन् ।]
*********
४. गरिबको दसैँ – सेविका रानाभाट
बिहान बेलुका छाक टारी गाह्रो पर्छ खुवाउनलाई
फेरि आयो पापी दसैँ गरिबलाई रुवाउनलाई
चाड आउँदा धनीलाई कति खुसी लाउँदो हो !
गरिबलाई लाग्छ होला चाड किन आउँदो हो
मासु किन्ने पैसा छैन गरीबको मन रुँदो हो !
के खुवाएर बालबच्चा खुसी पारौँ हुँदो हो
सबैका घरमा दसैँ आयो मन सारै अत्याउने
ऋण खोज्न गरिबलाई छैन कोही पत्याउने
सबले राम्रो लाउँदा खेरी मन हुँदो हो खिन्न
गरिबभन्दा धनीको चाड हुँदो रहेछ भिन्न ।
———–
[मध्यनेपाल नगरपालिका-९, बाङ्ग्रेबेसी, लमजुङ घर भएकी नवोदित प्रतिभा सेविका रानाभाट (२०६०) ईशानेश्वर क्याम्पस भोर्लेटार लमजुङमा मुख्य विषय नेपाली लिई स्नातक तहमा अध्ययनरत छात्रा हुन् । बालकविता लेखनमा सिकारु तर धेरै सम्भावना बोकेकी सेविकाका फुटकर बालकविताहरू साहित्यपोस्ट ई-पत्रिका लगायत विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियाहरूमा प्रकाशित हुँदै आएका छन् । उनी कविता, गजल तथा मुक्तक विधामा समेत कलम चलाउँछिन् । उनको प्रस्तुत ‘गरिबको दसैँ’ बालकवितामा गरिब वर्गका लागि दसैँ पीडा र दसायुक्त छ भन्दै गरिब र दुःखीलाई रुवाउन आएको चाडका रूपमा दसैँ पर्वलाई हेरिएको छ । यस बालकविताले गरिब वर्गको पक्षमा वकालत गरेको छ र सामाजिक विषमताको अन्त्य हुनुपर्छ भन्ने विचार समेत परोक्ष रूपमा अभिव्यक्त गरेको छ ।]
**********
५. दसैँ आयो – मनिराम मञ्जिल
शरद ऋतु लाग्यो आहा!, दसैँ तिहार आयो
गाउँ घर जताततै, हर्ष उल्लास छायो ।।
दसैँ आयो दसैँ पछि, आउँछ फेरि तिहार
तिहार पछि आउँछ अरे, छठपर्वको बहार।।
दसैँमा त रातो टीका, जमरा लगाउने
मान्यजनको आशीर्वाद, लिएर रमाउने।।
रातोमाटो कमेरोले, घर रङ्गिन पारिन्छ
रङ्गीचङ्गी चङ्गाहरू, आकाशमा उडाइन्छ।।
परदेशबाट काका दादा, आउनुहुन्छ दसैँमा
नयाँ नाना मीठो खाना, ल्याउनुहुन्छ दसैँमा।।
चिची पापा खाएर, नयाँ नाना लाएर।
दसैँ पर्व कति राम्रो, रातो टीका लाएर।
————–
[२०६० सालमा बाग्लुङको साविकको ताराखोला गाविसमा मनिराम मञ्जिलको जन्म भएको हो । नवलपरासीमा रहेको पशुपति साङ्गवेद आवासीय संस्कृत गुरुकुलमा पढ्दै गर्दा कविता प्रतियोगितामा भाग लिने तथा गुरुहरूको सान्निध्यतामा कविता लेख्ने गरेको थिए र अहिले पनि निरन्तर कलम चलाइरहेका छन् । हाल उनी काठमाडौं प्रदर्शनीमा रहेको वाल्मिकि विद्यापीठमा शास्त्री प्रथमबर्षमा नेपाली साहित्य तथा शुक्लयजुर्वेदको औपचारिक अध्ययन गर्दैछन् । गजल, कविता, मुक्तक तथा बालकविता विधामा कलम चलाउदै आएका उनका विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनाहरू प्रकाशित छन् । उनको प्रस्तुत ‘दसैँ आयो’ शीर्षकको बालकवितामा शरद् ऋतुको समयमा आगमन हुने दसैँ पर्वको रमाइलाको वर्णन गर्दै बालबालिकामा हुने संस्कृतिप्रेम र उनीहरूले भोग्ने आनन्दको अनुभवलाई कलात्मक र सुन्दर पारामा व्यक्त गरिएको छ ।]
**********
rcghimire47@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।