मुक्तक –१

आमालाई आकाश धर्ती र बालाई धर्ती मान्नेहरू धेरै भेटिए ।
रोगलाई मलहम र सल्लाहलाई अर्ती मान्नेहरू धेरै भेटिए ।
बाँचुञ्जेल रुवाउनेले मरेपछि काजक्रियाको के अर्थ राख्ला ?
आवाद नहुँदा के फल्ला वार्धक्यलाई पर्ती मान्नेहरू धेरै भेटिए ।।

मुक्तक –२

बाँचुञ्जेलको सुखको झिनो आश न हो जीवन ।
हाँसुञ्जेलको तनको अलिकति सास न हो जीवन ।
जति घोचे पनि दुख्ने पीडामा झर्ने उही आँसुको थोपा,
सन्तान अधर्मी भए पनि उही विश्वास न हो जीवन ।।

मुक्तक –३

खुसी त मनले अनुभूत गर्छ पीडा बगाउँछ आँखा ।
सुख त जीवनले भोग्छ बयान गर्छ मधुर भाका ।
सकिन्न लुकाउन जे देखिन्छ छरप्रष्ट मुहारमा,
सहरमा होईन रम्य छ अझै छन् आफ्नै गाउँ पाखा ।।

मुक्तक – ४

मान्छेबाट मानवता निख्रिइसकेपछि रहने पशुवृत्ति न हो ।
चेतनाबाट चेत पोख्खिइसकेपछि रहने पशुवृत्ति न हो ।
मर्यादा र दायित्वबाट चुकिसकेपछि निर्लज्जको के अर्थ ?
कर्तव्यबाट ज्ञान झुकिसकेपछि रहने पशुवृत्ति न हो ।।