पहिले यो गजल पढ्नुहोस्ः

बोल्छौ मधुर तर अदब छाडा झैँ

लाग्छौ तिमी भ्रष्टका चम्चा झैँ

जिउने रहरमा म खुब पीडित छु

पानी विनाको भएँ माछा झैँ

गाडी कुदेझैँ कहाँ कुदथ्यो यो

गुड्दै छ जीवन कुनै रिक्सा झैँ

गतिशीलता भो यही यात्राको

देख्दा खरायो, हिँड्यो कछुवा झैँ

हत्या गरेका उनैले हुन् रे

हिँड्छन् खुलरै सिधै नेता झैँ

गर्दै थियो भोकले क्रन्दन ऊ

सुन्दै छ कोही करुण गाना झैँ

अर्कान—२२१२.२—१२२२.२

ग) एकाक्षरी काफिया

काफियाको रूपमा एउटै अक्षरको स्वरान्त शब्द वा शब्दान्तमा रहेको एउटा मात्र स्वरान्त अक्षर छ भने त्यस्तो काफियालाई एकाक्षरी काफिया भनिन्छ । यसलाई अरुज शास्त्रमा हर्फे कवाफी भनिएको छ । यसलाई स्वरान्त काफिया/स्वरकाफिया पनि भन्ने गरेको पाइन्छ । यस्तो काफिया मतलामा प्रयोग गरेर लेखिएको छ भने त्यस गजलका सबै सेरमा अनिवार्य प्रयोग हुनु पर्दछ ।

यो, हो, सन्चोको चो, मिठोको ठो, चर्कोको को मेरोको रो ओकारान्त एकाक्षरी काफिया ।

यी, नदीको दी, खुसीको सी, रथीको थी, सँगीको गी, ईकारान्त एकाक्षरी काफिया ।

बा, आमाको मा, सेवाको वा, गीताको ता, राजाको जा, हाताको ता आकारान्त एकाक्षरी काफिया ।

उदाहरणका लागि हेर्नुहोस् त, भरखरै हामीले पढेको माथिको गजलमा पनि आकारान्त एकाक्षरी काफियाको प्रयोग भएको छ ।

डा. घनश्याम न्यौपाने परिश्रमी

शब्द वा शब्दान्तमा अकार मात्र छ भने एकाक्षरी वा स्वरान्त काफिया मान्य हुँदैन । जस्तै ः—छ, म, काल, भेष, रीत, राम, जून, काख, वेग । यी शब्दका अन्तमा अकार आएका छन् । यी एकाक्षरी काफियाका रूपमा प्रयोग हुन सक्दैनन् ।

घ) मिलित काफिया

कतिपय अवस्थामा काफियाको अनुप्रासीय सन्तुलन मिलाउने सन्दर्भमा दुईवटा शब्दको सहयोग लिनुपर्ने अवस्था हुन्छ । यसरी बन्ने काफियालाई मिलित काफिया भनिन्छ ।

बन्छन्, भन्छन्, गन्छन् जस्ता काफियासँग दुस्मन छन्, जीवन छन्, नूतन छन् जस्ता मिलित पदावली पनि हमकाफियाका रूपमा प्रयोग हुन सक्छन् ।

भयो, गयो, जस्ता काफियाको हम काफियाका रूपमा छ यो, प्रयोग हुन सक्छ ।

गल्छ, फल्छ, चल्छ, दल्छ, छल्छ जस्ता काफियाको हम काफियाका रूपमा बल छ, मल छ, महल छ प्रयोग हुन सक्छन् ।

मिलित काफिया प्रयोग भएको यो गजल हेरौँः

नाफामुखी उनी छन् ठूलो पसल छ उनकै

महँगो गरेर के भो व्यापार चल्छ उनकै

कस्तो अचम्म हो यो, यस्तो हुँदोरहेछ

पित्तलको खेती गर्छन् सुनचाँदी फल्छ उनकै

डेरा गरेर बस्छन् विद्वान बुद्धिजीवी

भाडा उनी असुल्छन् अग्लो महल छ उनकै

झुपडी जलेर के भो, वास्ता हुँदैन खासै

क्षतिपूर्ति दिन्छ सरकार, पर्खाल ढल्छ उनकै

होस् फाइदा यसैमा दिनरात चित्त दिन्छन्

स्वार्थी विचारका छन् यात्रा सफल छ उनकै

गुन्डाहरू उनैका आदेशमा खटिन्छन्

हरक्षेत्रमा पहुँच छ, किस्मत प्रबल छ उनकै

अर्कान—२२१.२१२२.२२१.२१२२

तपाईंले पढ्नुभयो नि यो गजल ? यसमा चल्छ, फल्छ, ढल्छ जस्ता पूर्ण शब्द काफियासँग हमकाफियाका रूपमा पसल ,सफल , प्रबल जस्ता शब्दका सल, फल, बल जस्ता हलन्त उच्चारण हुने शब्दांश छ क्रियासँग निकट भएर मिलित काफियाका रूपमा प्रयोग भएका छन् ।

द्रष्टव्य— गजलको मतलाका दुवै मिसरामा भने मिलित काफियाको प्रयोग उचित हुँदैन । एउटा मिसरामा मात्र प्रयोग गर्न सकिन्छ ।

ङ) मिश्रित काफिया

एउटा गजलका सेरहरूमा पूर्णशब्द, शब्दांश तथा मिलित काफियामध्ये तीनै प्रकारका वा दुई प्रकारका काफिया प्रयोग भएका छन् भने तिनलाई मिश्रित काफिया भनिन्छ । गजलहरूमा यस्ता उदाहरण प्रशस्त भेटिन्छन् । एकाक्षरी काफिया भने मिश्रित काफियामा समावेश हुन सक्दैन ।

मिश्रित काफिया प्रयोग भएका यी गजल हेरौँः

गजल १ः

बन्द मूलद्वार छ

मौन सरकार छ

फूलमा बारुदी

गन्धको खार छ

द्वन्द्वको त्रासमा

आज संसार छ

मूर्खका हातमा

हेर तरबार छ

चेतना वृद्धि भो

भ्रष्ट आचार छ

उर्वरा भूमिमा

फैलिँदै झार छ

द्रव्यको लोकमा

ज्ञान बेकार छ

डा. घनश्याम परिश्रमी, जूनको चुम्बन(पृष्ठ १२५)

गजल २ः

म झोला बोकेरै हिँडेको छु दलको

के मतलब मलाई गलत को असल को

हजुरमा हजुरको हजुरकै हजुर छ

पुजारी भएको छु धोका र छलको

हजुरको चरणमा शिर आफ्नो चढाऊँ

हजुरकै निमित्त किरा बन्छु ढलको

सडकमा म झन्डा र नारा उचाल्छु

सुरक्षार्थ मालिक हजुरका महलको

दीप मिलन, (सलेदो ११)

गजल १ मा आर काफिया बन्धन छ । यसको दोस्रो सेरमा खार र छैटौँ सेरमा झार पूर्णशब्द काफिया प्रयोग भएका छन् भने मतला लगायत अन्य सेरमा मूलद्वार, सरकार, संसार, तरबार, आचार, बेकार शब्दका अंशहरू काफियाका रूपमा प्रयोग भएका छन् । यसर्थ यस गजलमा काफियाहरूको मिश्रण भएको छ । यसरी नै गजल २ मा अलको(को तहलिली रदिफ पनि हुन्छ) काफिया बन्धन छ । यहाँ दलको, छलको, ढलको पूर्ण शब्द काफिया हुन् भने महलको अन्तर्गतको हलको शब्दांश काफिया हो । यसरी नै असल को अन्तर्गतको सल को मिलित काफिया हो । यसरी यस गजलका सेरहरूमा पूर्णशब्द, शब्दांश र मिलित तीनै प्रकारका काफियाको मिश्रण भएको छ ।

प्रश्नहरूः

मिलित काफिया भनेको के हो ?

एकाक्षरी काफिया भन्नाले के बुझिन्छ ?

मिश्रित काफिया प्रयोग भएको गजल भन्नाले के बुझिन्छ ?

एकाक्षरी र मिलित काफियामा के भिन्नता छ ?

मिलित काफिया प्रयोग गरेर एउटा मतला बनाउने प्रयास गर्नुहोस् ।