डा. राजेन्द्र परदेशी हिन्दी साहित्य जगतका एकजना सुपरिचित साथै प्रतिष्ठित साहित्यकार हुन् । बिहारस्थित भोजपुर जिल्लानिवासी डा. परदेसीका साहित्यका विभिन्न विधाहरूमा आजसम्म अनेकौँ पुस्तकहरू प्रकाशित भइसकेका छन् । उनका प्रकाशित कृतिहरू -कविता सङ्ग्रहहरू (हताश होने से पहले, पूर्वोत्तर की काव्य यात्रा, भारत-नेपाल काव्य सेतु, हिन्दी की विश्वयात्रा), कथा सङ्ग्रहहरू (दुर होते रिश्ते, भोजपुरी लोककथाएँ, सम्पादन-प्रतिनिधि कहानियाँ), लघुकथा सङ्ग्रह (दुर होता गांव), बालकथा सङ्ग्रह (समय का चक्र), साक्षात्कार सङ्ग्रहहरू (शब्दशिल्पियों के सान्निध्य मे, प्रश्नों की प्रतिध्वनि, साक्षात्कार के साक्ष्य), हाइकु सङ्ग्रहहरू (शब्दों के संधान, सत्रह आखर), निबन्ध सङ्ग्रहहरू (सृजन के पथिक, सृजनधर्मिता के प्रतिमान, साहित्य के सहचर) आदि हुन्। देशका विभिन्न साहित्य संस्थाहरूसित आवद्ध रही उनी हिन्दी साहित्य सेवाप्रति समर्पित छन्। अनेकौँ साहित्य सम्मानद्वारा उनी सम्मानित भइसकेका छन्।
=====
१. अधुरो रह्यो सपना
चाहान्थेँ
मुट्ठीभरि
चाँदनीलाई समेट्न
तर
पराजित बन्यो चाहना
अधुरो रह्यो सपना
विलुप्त भयो
आत्मचेतना
आफैको विश्वास
सम्बन्धहरू पनि सबै
तटस्थ बन्यो
आत्मिय बन्धनहरू
टुक्रा-टुक्रा भए
निचोड-
सागर मन्थनपछि
हात पर्यो
फगत केही बालुवा।
****
२. मनको मृग
मनको मृग
जब
भट्कन थाल्छ
भौतिकताको मरुभूमितिर
तब अनुहारको छटपटाहट
स्पष्ट झल्कन्छ
आँखाहरूका सत्यता अनि वञ्चनाहरू
तीव्र घोँचाइका साथ
पीडा उत्पन्न गर्छन्
सम्बन्धका न्यानोपन
चिसिन पुग्छ
त्यसैले
इच्छाहरूका हत्या गरी
क्याक्टस्मय जीवन जिउन
अभ्यस्त भएको छु।
****
३. अश्वत्थमाको भाग्य
फेरि लाग्यो चोट
त्यही चोटमाथि
जसलाई
वर्षौँदेखि
छोपेर राखेका थिएँ
बग्न थाल्यो रगत
पीडाका साथ
सोँच्दथेँ
समयको मल्हमले
सायद बिस्तारै
निको हुनेछ घाउ
त्यसैले
चोटहरूदेखि
लुकाएर हिँड्थेँ
जोगाएर हिँड्थेँ
तैपनि किन हो
जोसँग सतर्क रहन्छु
ऊबाटै
चोटिल बन्न पुग्छु
हर क्षण हर पल
असलमा
अश्वत्थमाको भाग्य
मैले नै बोकेर हिँडिरहेछु।
****
४. आभास नै भए पनि देऊ
हुन सक्छ
भेटघाट असम्भव छ
तर आभास दिँदै
मनलाई
केही क्षणका निम्ति
शान्ति नै भए पनि देऊ
जसरी
धरती अनि आकास
टाढा
क्षितिजपारि
मिल्न असमर्थ छन्
तर भेट्ने आभास त दिने गर्छन्
यस्तो लाग्दैन कि
टाढिएर उनीहरू
अलग्गिएका छन्
यस्तै केही
तिमीले पनि गर्यौ भने
मेरो मन पनि
केही क्षणका निम्ति नै भए पनि
उदासीनताबाट अलग्गिएर
नयाँ उत्साहका साथ
जिउनका निम्ति
कुनै मार्ग खोज्नेथ्यो
मार्ग भेटिए
गन्तव्य टाढा रहे पनि
केही छैन
प्राप्तिका चाहना
मनभित्रै रहने थियो
अनि जारी राख्ने थियो
आफ्नो यात्रा।
****
बिलोक शर्माः
बिलोक शर्मा कवि, अनुवादक अनि सम्पादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बाङ्ला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुने गर्छन्। उनका मौलिक कविताहरू बाङ्ला, हिन्दी, अङ्ग्रेजी अनि पञ्जाबी भाषाहरूमा अनुबाद भइ प्रकाशित भएका छन्। केही साहित्यिक पत्रिकाहरूका सम्पादन कार्यमा पनि उनी सङ्लग्न रहेका छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको जालन्धर सहरमा एक बहुराष्ट्रिय संस्थामा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।