सत्तहत्तर सालमा उहाँ सतहत्तर वर्षकै हुनु भो । कसैले कति वर्षको हुनु भो भनेर सोध्यो भने खिसिक्क हाँसेर एक औँला देखाएर एक सालमा जन्मेको भन्नुहुन्छ, अत्यन्तै सुधो मान्छे आँखामा राखे पनि नबिझाउने । त्यस्ता मान्छेमाथि पनि दैव लाग्यो । जुन पीडा छयहत्तर वर्षसम्म भोग्नु परेन सतहत्तर लाग्नेबित्तिकै उहाँमा आइपर्यो अनि एकान्तमा बसेर रोइरहने दिन पनि । जीवनको गति कसैले जान्दो रहेनछ ।
अत्यन्तै सोझो मान्छे जीवनमा कर्म र त्यसको ज्यालाबाहेक केही नजानेका भोलानाथको जीवनमा कहिल्यै सुख आएन । अझ भन्नु पर्दा उनले सुख र दुःखको अनुभूति नै गरेनन् तर आज सधैं आँखामा टिलपिल टिलपिल आँसुले दुखै अभिव्यक्त गरिरहन्छ । मानिस त्यति कोमल पनि छैन त्यसै रोइदेओस्, त्यति कठोर पनि छैन् दुख्दा सबै सहिदेओस् ।
मानिस बलियो हुँदा कहिल्यै सोच्दैन म कमजोर हुन्छु जब कमजोर हुन्छ त्यतिबेला बलियो हुन सक्दैन, यो ऋतुचक्र हो समयको र मान्छेकै जीवनको पनि ।
गृहस्थी जीवनमा हाम्रो वंश धान्ने छोरै चाहिन्छ । अहो ! कस्तो पुत्रमोह, आज त्यही छोराले धरधरी रुवाउँदा सहन नसकेर आँसु पुछ्नु परिरहेछ । कस्तो बिडम्बना ! आफ्नो भन्दा छोराछोरीको मायामा हातगोडा खियाउने मान्छेको मन नभाँचिए हुने तर समयले वा नियतिले घुमाएर पछार्दो रहेछ । म नजिकबाटै नियालिरहेछु ।
प्रारब्ध हो कि नियति, बुझाउने मन र ठोक्ने पुर्पुरोबाहेक केही छैन मान्छेसँग, चाहेर होस् या नचाहेरै भोग्नैपर्छ ।
बा खाना खानु भो ? हातको इशारामा मुखसम्म पुर्याएर सोधेँ मैले ।
उहाँले खिस्स हाँसेर खाएँ भन्नु भो । सानैदेखि कान अलि कम सुन्ने तर सबै कुरा इशारामै बुझ्ने अनि नहाँसी नबोल्ने ।
अनि, म सञ्चै छ बा भनेर सोध्छु ।
सञ्चै शब्दले घोचेर हो वा बिरामले गर्दा हो आँखाका आँसुले निशब्द उत्तर दिन थाल्छन् । साह्रै अन्तरमुखी मान्छे आफ्नो पीडा सकेसम्म अरुलाई भन्नै नचाहने, अरुलाई टाउकाले टेकेरै सहयोग गर्ने, दुःख लुकाउने सुख बाँड्ने भोलानाथ बा मनमौजी मान्छे तर आज पीडाको आँसुले हरेक दिन स्नान गरिरहन्छन् । मानिसका जीवनमा जान्नु पर्ने तर नजानेका धेरै कुरा हुँदा रहेछन् । उनले एक्लै हुँदा कहिले भात पकाएर खाएनन् गजबको कुरा आजको दिनसम्म भात पकाउनै जानेका छैनन्, अब जान्दैनन् पनि ।
बा नरुनोस् न म छु नि भन्छु ।
उहाँ उता फर्केर आँसु पुछ्नु हुन्छ । बुझेर हो वा नबुझेर मेरो केवल सान्त्वना न हो । आखिर आफैंले जन्माएको छोरो त आफ्नो भएन भने म छोराकै साथी न परेँ ।
उही खिसिक्क हाँसो रुन्चे हाँसोको दोहोरी एकवर्षदेखि हाम्रो दिनचर्या यसरी नै बितिरहेछ । चलिरहेछ शब्द कम मनको अमूक संवाद निरन्तर निरन्तर ।
सायद माघको घटना थियो त्यो पछिल्लो वर्षको, बा हर्षका साथ चिटिक्क परेर बाहिर निस्कनु भो ।
दिउँसो एक बजेको समय, कतै हिँडिहाल्ने मान्छे त होइन, वैंसमा त रहर नगर्ने मान्छे अचानक आज ठाँटबाँटसँग निस्केपछि जिस्काउँदै मैले सोधेँ – कता हो बा ? बेहुलाझैं ठाँटिएर, कि बुढेसकालमा अर्की आमा ल्याउने हो ?
बाले उस्तै खिसिक्क हाँसोमा बिहेमा नि भन्नु भो । म आश्चर्यमा परेँ । चारैवटा छोरी र एक छोरा सबैको बिहे भैसकेको त्यो घरमा विवाहयोग्य र गर्नुपर्ने कोही थिएन । बाले जिस्किएर भन्नु भो सम्झेर फेरि भने मैले ।
आफ्नै हो कि के हो ?
हाहाहा……… ठुलै हाँसोमा छोराको बिहे भन्नु भो । आश्चर्यमा परेँ म ।
मैले नबुझेर हैन नातिको होला भने उहाँले प्रत्युत्तरमा फेरि छोराकै भन्नु भो ।
कहिल्यै झुट बोल्न नजान्ने बाले भनेको अब चाहिँ पत्याएँ मैले, पनि अनि दङ्दास भएँ ।
म उहाँको स्कुले छोराको साथी ? श्रवणकुमार । हाम्रो उमेरमा मात्र दुई वर्षको फरक छ, सँगै एउटै सुकुलमा बसेर एउटै कक्षामा पढेका, उसले पहिलो बिहे गरेको पच्चीस वर्ष, एक महिना र पच्चीस दिन । तीस वर्षको उमेरमा बाबु आमालाई लत्याएर मनखुसी बिहे गरेको आज पचपन्न वर्षमा दोस्रो बिहे । म पुनः स्मृतिमा हराउन पुगेँ ।
घर नजिकै स्कुल छ । पिपलको फेदैमुनि । हामीले पढेको स्कुल पनि त्यही हो । पहिले ससाना छाप्रा थिए, अहिले फेरिएर ठुला क्रङ्क्रिटका महल भएका छन् । रङ्गीन बगैचा सबै फेरिएका छन् विद्यालय निकै सफा छ । वास्तवमै स्कुले जीवनको स्मृति मात्रै पनि निकै प्यारो लाग्छ सबैलाई म पनि पुनः जीवनकै पूर्वार्धमा विलय हुन पुगेँ एकैक्षण । आजकल फेरि स्कुले जीवनका साथीसँगी खोज्ने लहर चलेको छ सामाजिक सञ्जालमा, लामो समय नदेखेका नभेटेका अनुहार सम्झनै नसकिने , सबैका आ आफ्नै घर परिवार लक्काजवान छोराछोरी नातिनातिनी भैसकेका । समयको गति निरन्तर अगि बढिरहेकै छ । कति छिटो बितेको आभाष हुने । चालीस वर्ष भएछ, विद्यालय शिक्षा सकिएपछि भेट नभएका कति साथीहरू मेरा सम्झनामा दुई चारबाहेक कोही छैनन् याद नै नआउने अनुहार । सम्झनै नसकिने पुनः परिचय लिएर कुराकानी गर्दा मजै लाग्दो रहेछ पनि । पुनः मित्रता पुनः भलाकुसारी तर त्यतिबेलाको संकोच, अबोधपन खै ? त त्यो चाहिँ कहिल्यै नहुने रहेछ ।
दुश्यन्त र म निकै घनिष्ट साथी, घर पनि दुई तीन मिनेटको फरकमा, ऊ बाहुन, म छेत्री । फरक त्यति नै हो । अरू धेरै कुरामा समानता । खाने, बस्ने, डुल्ने सबै समान जात मात्र फरक । तर उसको र मेरो घरमा दुबै समान छोराका रूपमा आवतजावत हुन्थ्यो । समयको चक्रले हामीलाई विद्यालय शिक्षापछि छुटायो र ऊ पढेलेखेको शिक्षित र म किसानको वर्गमा विभाजित भएँ ।
हाम्रो परिवार अलि सम्पन्न थिएन । चार दाजुभाइ र तीन दिदीबहिनी थिए हाम्रो परिवारमा । बाबा अलि रोगी आमालाई सधैं घरधन्दाको चटारो, दुई भैंसी, एकहल गोरु, सबैलाई स्याहार्दा झिसमिसेदेखि मध्यरातसम्म सधैं व्यस्तता । म परिवारको जेठो छोरो खुट्टा दह्रो टेकेर सबैको बोझ उचाल्न मैले उच्चशिक्षा छोड्नु पर्यो । विद्यालयबाट प्रवेशिका पास गरेपछि म कहिल्यै विद्यार्थी बनिन तर सधैं अभिभावक बनिरहेँ । त्यसैले उमेरभन्दा बुढो वृद्ध ।
दुष्यन्तको जग्गाजमिन प्रशस्तै थियो , खेतीपाती गरेर आएको अन्न खाएर, उब्रेर बँच्थ्यो र त्यसैबाट उसका अनगिन्तीआवश्यकता पुग्थे । फेरि गृहस्थीमा एक्लो छोरो हुनु भनेको पुल्पुल्याइँ खपिनसक्नुको हुन्छ नै । चार दिदीबहिनीको एक्लो दाजु , सानमान ठाँटबाँट छुट्टै । उनीहरू कहाँका हुन् को हुन् कसैलाई थाहा छैन । उनका हजुरबालाई मावलीले लेराएका रे, त्यहीं दुई पुस्ता बिते । अपुतालीको सम्पत्तिमा मोज अनि भोज पनि ।
आमाबाबु पुत्र मोहमा सबै सहन तयार, उसका सारा दुःख कष्ट टाउकामा थाप्न तयार त्यसैले ऊभित्र अरूलाई हेर्ने दृष्टिकोण सानैदेखि नै भिन्न थियो ।
उसका दिदीबहिनीले सावाँ अक्षर चिने, नामनामेसी लेख्न सक्ने पढेँ त्यसभन्दा माथिका लागि खर्च पुगेन ।
हामी पुत्रमोहमा फसेका छौँ । छोरो पाए के के न होला भनेर भाकल पूजाआजा, रामरमिता गर्छौ, छोरी जन्मेकोमा पुर्पुरोमा हात राख्छौँ, पीडा अभिव्यक्त गर्छौ । समाजको मनोविज्ञान भनौं या विचार नै दुषित छ, मनोग्रन्थिमा विकार छ अनि सानैदेखि छोरा र छोरीमा विभेद गछौँ ।
खानेकुरादेखि लगाउने कपडासम्म, सीपदेखि शिक्षासम्म भेदभाव उर्फ विभेद गर्छौ र अन्त्यमा पुल्पुलिएको छोराको कुकर्म सहन नसकी छोरीकै काखमा आँसु बगाउँछौँ, यो भ्रम यो स्थिति कहिलेसम्म चल्छ थाहा छैन ।
बुहारी भित्र्याएको दिन टोलभरिका मानिस जम्मा भएका थिए । अब गौरी आमाको सुखका दिन आए राम्रो भयो, बुहारी उजेली रैछिन् भनेर सबै खसी भए,तर परिस्थिति ठिक विपरित बन्दै गयो बन्दै गयो र आजका दिन गौरी आमा र भोला बाका लागि पानी तताएर खानदिने कोही भएनन् ।
मन्दिरा सुशील थिई, बोलीचाली राम्रै थियो, व्यवहार पनि निकै असल तर उनीसँग सबै व्यवहार हुन सकेन । सम्बन्धमा बुहारी तर समाजले बुहारीको नाता कायम गर्न दिएन । उसैको कारणले समाजमा छिछि र दुरदुर हुनु पर्यो । आँखा पछिल्तिर सबै कुरा चल्थ्यो तर उज्यालामा समाजले कहिले असल व्यवहार गरेन र शील स्वभावका अगाडि जातको पर्खालले गर्लम्मै थिचिरह्यो अझैं थिचिरहेकै छ । श्यामन्त नाति लक्काजवान भैसक्यो हिस्सी परेको गोरो केटो घरमा आउँछ बस्छ, उसको भात पानी चल्यो तर आजसम्म कर्म चलेन, छोरो भएकैले उसलाई कसैले औंला उठाएन तर इन्दिरालाई कहिले संघार नाघ्न दिएन । बिडम्बना ।
जीवनको उत्तरार्धमा भोलानाथ झन् प्रताडित भए । गौरी आमा दिनदिनै गल्दै गइन् । जीवनमा बोझमाथि बोझ कति थेग्नु त्यसमाथि सुगरको रोगले झन् आक्रान्त बन्दै गइन् । समाजमा नाक राख्न, शिर ठाडो पार्न भित्र्याइएकी बाहुनकी छोरी मान्छे रहिनन्, होइन रहिछन्, मानवता हराएको, मानसिक विक्षिप्त भएकी एउटी अधबैंसे दुष्ट जसले आमाबालाई कहिल्यै आमाबा देखिन, कहिल्यै आफन्त आफ्ना नातागोतामा सुमधुर सम्बन्ध र मधुरता भएन । हो त्यसै दिनदेखि भोलानाथ र गौरीको मनमा, मस्तिष्कमा क्यान्सर भएको, अब बाँचुञ्जेल निको हुँदैन र दिनका दिन दुखिरहन्छ आँसु बनेर वर्षिरहन्छ ।
बा कस्तो छ ? छ तपाईँलाई म नजिकै गएर सोध्छु ।
बा, रुन्चे हाँसोमा यस्तै हो भन्ने जवाफ दिनु हुन्छ । आमा पीडाले थिल्थिलो भएको शरीर घिसार्दै नजिक आउनु हुन्छ । मेरो कुशलमंगल सोध्नुहुन्छ, विगत सम्झाउनु हुन्छ र एकतमास आकाश नियाल्नु हुन्छ । सायद दैवलाई केही गुनासो गर्नु भएको हो कि ! म भुइँतिर हेर्छु ।
एका बिहानै वसन्त भाइले परैबाट बेस्सरी चिच्याए – ए बा, कता हुनुहुन्छ ?
बा घरमा हुनुहुन्न ।
को हँ ? कहाँबाट सकिनसकि आमा पिंढीमा आउनु भो ।
उसले नमस्कार गर्यो । आमाले पिंढीमा राखेको मुढामा बस्नु न बाबु भन्नु भो ।
पानी परिरहेकै थियो । साउनको महिना भिज्दै त्यहाँ पुगेको थिएँ, म उहाँको नाति उमेरको केटो ।
मैले चिनिन नि बाबु कहाँबाट, के कामले आको भनेर सोध्नु भो ।
उसले म ज्वाइँको साथीको साथी भनेर चिनायो । आमाले चिया बनाएर दिनुभो, खायो र अड्डाको कागज निकाल्दै हजुरको स्रेस्ता मिलाउन हो आमा डराउनु पर्दैन भन्यो ।
खै बाबु के डराउनु, के नडराउनु, मर्ने बेलामा यस्तो हालत छ, अब त कति नै वर्ष बाँचिएला खै भनेर सुइय्य सुस्केरा हाल्नु भो ।
सजिलैसित मर्न पाए हुन्थ्यो, भन्दै आँखा टिल्पिल आँसु पार्नु भो । सबै सम्पत्ति बेचेर, बन्दकी राखेर खायो, म पनि सुगरको रोगी, बा सुन्निनु भा छ हामी बेघर बेपरिवार भयौँ बाबु भनेर भन्दा मेरो मन पनि एकतमास भो । काम नगरौँ जिम्मेवारी दिएर पठाका छन्, गरौँ भित्रैदेखि दुखेर आयो अन्त्यमा हामी छौ नि आमा हरेस नखानुस् भनें र उता फर्केर आँसु पुछेँ । सहृदयी मनलाई अरूले भोगेको पीडा हेर्न पनि निकै कठिन हुन्छ सहजै बिझ्छ र आँसु बनेर बगिदिन्छ । आमाबाबुलाई हेला गर्नेको बारम्बार रुवाउनेको कहिल्यै भलो नहोस् मनमनै भनेँ।
यसमा सही गरिदिनु पर्यो भनेर आग्रहँगरें । उसले भनेको विश्वासमा आमाले सहीछाप गरिदिनु भो तर छोराले गरेको व्यवहार बुढेसकालको दुःख सबै वृतान्त सुनाउँदै ऊप्रतिको आशङ्का पनि व्यक्त गर्नु भो ।
यस्ता असल बाआमा मेरा भैदिएको भए घर स्वर्ग हुन्थ्यो, भित्रैदेखि दुखेको मन बोकेर मनमनै सोच्दै अनाथ वसन्त धन्य भएर घर फर्क्यौं । हामीसित भएका अमूल्य चिज हामीले गुमाइसकेपछि मात्र अनुभूत गर्छौँ । हुँदा मूल्यहीन हुन्छ नै ।
लामो समयसम्म सङ्गत गरेको मानिसले मैले उसलाई चिनेको छु भन्छ तर, त्यो गलत हो, उसलाई चिन्नु सामाजिक वृत्ति मात्रै हो, बाहिरी पहिचान मात्र हो । उसको आत्मिक वृत्ति त अन्तरमुखी हुन्छ कुनबेला कस्तो परिवर्तन हुन्छ, के गर्छ पत्तै नपाइने रहेछ ।
मैले दुष्यन्तलाई सम्झाएँ तर उसले मेरो कुरो कहिल्यै सुनेन । पछिल्लो समय उसले मलाई साथीको दृष्टिले कहिल्यै हेरेन , सामान्य किसान गरिब अनपढ कै नजरले हेरिरह्यो । वास्तवमै म साधारण गाउँले किसान नै थिएँ र छु । ज्याला वा परिश्रममै बाँच्छु, म आफूलाई गर्वबोध गर्छु। मेरा बाआमाका लागि मैले सेवामा कुनै कसर बाँकी राखिनँ भन्ने मलाई लाग्छ । ऊ पढेलेखेको शिक्षित सरकारी कार्यालयको निजामती कर्मचारी फरक यति थियो ऊ मानिस कम, मतिहीन पशुतुल्य, छोरो कम अधबैंसे नारीको पूरै लोग्ने थियो । म किसान गाउँले गरिब, श्रमिक, बाबुआमाको छोरा, सुधी श्रीमतीको लोग्ने छोराछोरीका बा, नातिनातीनाका हजुर बा, छिमेकीका सहयोगी र एक जिम्मेवार स्वाभिमानी नागरिकका रूपमा बाँडिएर बाँचेको साधारण मान्छे ।
मानिसको मध्यस्थिति पशु र देवताको बीचको स्थितिले ऊ निकै अप्ठेरोमा पर्छ । जीवनमा कसैले देख्न सक्ने गरी हाँस्न वा रुन वर्जित छ त्यसैले मान्छे एकान्तमा मन फुकाएर रुन्छ । नियतिको चक्र के थाहा कोही जीवनभर रोइरहनु पर्ने रहेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।