पहिले यो गजल पढ्नुहोस्ः

प्रेम हो खुसी प्रेम हो कहर
प्रेम औषधी प्रेम हो जहर

सभ्यता दुरुस्तै छ आधुनिक
देख्छु आजकल गाउँमै सहर

हिँड्न खोज्छ मन, सुत्छु भन्छ तन
रोगग्रस्तजस्तै भयो रहर

कर्मको निकै हुन्छ फल मिठो
श्रम गरूँ सधैँ भो यही ठहर

कर्मयोगको मार्गमा हिँडौँ
भेट्न मन भए भाग्यको लहर

भेद गर्नुको अर्थ छैन है
लय दुवै त हुन् छन्द या बहर

खेत प्यासले तड्पिँदै रहे
देख्नलाई मात्रै भयो नहर

मेटिए पुराना परम्परा
खै, कता लुके गाउँका डहर
अर्कान—२१२.१२—२१२.१२

काफिया अरबी शब्द हो । यसको कोशीय अर्थ हुन्छ–पछिपछि हिँड्ने । गजलका सन्दर्भमा हरेक सेरमा बदलिने समान अनुप्रासयुक्त पद वा पदांशको चल र अचल ध्वनिलाई काफिया भनिन्छ । गजलमा काफियाको सर्वाधिक महत्त्व रहन्छ । काफियाविना गजल बन्नै सक्तैन । यसलाई गजलको मूलभूत तत्त्व र केन्द्र नै मानिन्छ । त्यसैले गजलरूपी शरीरको मुटुको रूपमा काफियालाई लिइन्छ । काफियाको शुद्ध र समुचित प्रयोगले नै गजललाई जीवन्त बनाएको हुन्छ । काफियामा स्वरमात्राको समता हुनुपर्दछ । अर्को तरिकाले भन्दाखेरि रदिफभन्दा पूर्व प्रयोग हुने अनुप्रासयुक्त पद वा पदांश/ अक्षर वा अक्षर समूहलाई नै काफिया भनिन्छ । रदिफ प्रयोग नभएको गजलमा भने काफिया स्वत: अन्तमा रहेको हुन्छ ।

मूल काफियालाई पछ्याउने काफियाहरूलाई हमकाफिया भनिन्छ । हमकाफियाहरूमा अचल ध्वनि यथावत् रहनु र चल ध्वनिमा परिवर्तन हुनु यसको विशेषता हो । मतलाका दुवै मिसरा र अन्य सेरहरूका मिसरा ए सानीमा काफियाको प्रयोग हुन्छ ।

काफियाका प्रकार

क) पूर्णशब्द काफिया

काफियाको रूपमा सिङ्गो शब्द नै प्रयोग भएको छ भने त्यस्तो काफियालाई पूर्णशब्द काफिया भनिन्छ । जस्तै :

भाँड्ने, माड्ने, गाड्ने, छाड्ने,( भँ्, म््, ग््, छ्् चलध्वनि आड्ने अचलध्वनि)

हुने, रुने, धुने, छुने (ह्, र्, ध्, छ् चलध्वनि उने अचलध्वनि)

सहर, नहर, जहर, बहर (स्, न्, ज्, ब् चलध्वनि अहर अचलध्वनि)

असर, बदर, नजर, सफर यी शब्दमा अअर काफिया बन्धनजस्तो देखिन्छ । तर (अ ब्, न् स् काफिया बन्धनका ध्वनिमा पर्दैनन् । सर,दर, जर, फरले काफियाको भूमिका वहन गरेका छन् । त्यसकारण स्, द्, ज्, फ् चलध्वनि हुन् भने अर अचलध्वनि)

हात, बात, लात, खात (ह्, ब्, ल् ख् चलध्वनि आत अचलध्वनि)।

हामीले अहिले भरखरै माथि पढेको गजलमा कहर, जहर, सहर, रहर, ठहर, लहर, बहर, नहर, डहर जस्ता पूर्ण शब्द काफियाको प्रयोग भएको छ ।

ख) आंशिक शब्द/शब्दांश काफिया

कुनै पनि शब्दको पछाडिको अंश काफियाको भूमिकामा रहेका छन् भने त्यस्ता काफियालाई आंशिक शब्द वा शब्दांश काफिया भनिन्छ । केही उदाहरण हेरौँ-

जस्तै : दबाव, प्रभाव, चुनाव, लगाव, तनाव

(यी शब्दहरूमा दबाव को ‘द’ प्रभावको ‘प्र’ र चुनावको ‘चु’ , लगावको ‘ल’ र तावको त् भने काफियाको अनुप्रास ध्वनिअन्तर्गत पर्दैनन् । अत: यस्ता शब्दका अंश मात्रै काफिया मानिन्छन् । यस समूहका शब्दमा बाव, भाव, नाव, गाव, नाव मात्रै काफिया अन्तर्गत पर्दछन् ।

दिलदार, घरबार, नेवार, बेकार,

(यी शब्दहरूमा दिलदारको दिल,, घरबारको घर, नेवारको ने, बेकारको बे भने काफियाको अनुप्रास ध्वनिअन्तर्गत पर्दैनन् । अत: यस्ता शब्दका अंश मात्रै काफिया मानिन्छन् । यस समूहका शब्दमा दार, बार, वार, कार मात्रै काफिया अन्तर्गत पर्दछन् ।

भनेको, दिएको, बुझेको, चलेको,

(यी शब्दहरूमा भनेकोको भ, दिएकोको दि, बुझेकोको बु, चलेकोको च भने काफियाको अनुप्रास ध्वनिअन्तर्गत पर्दैनन् । अत: यस्ता शब्दका अंश मात्रै काफिया मानिन्छन् । यस समूहका शब्दमा नेको, एको, झेको, लेको मात्रै काफिया अन्तर्गत पर्दछन् ।

आँगन, जीवन, मञ्चन, खण्डन,

(यी शब्दहरूमा आँगनको आँ, जीवनको जी, मञ्चनको मञ्, खण्डनको खण् भने काफियाको अनुप्रास ध्वनिअन्तर्गत पर्दैनन् । अत: यस्ता शब्दका अंश मात्रै काफिया मानिन्छन् । यस समूहका शब्दमा गन, वन, चन, डन मात्रै काफिया अन्तर्गत पर्दछन् ।

एउटा गजल हेरौँ

कसैको साथ पाएको छु मैले
र यो जीवन चलाएको छु मैले

छ धागो जीर्ण लट्टाई पुरानै
नयाँ चङ्गा उडाएको छु मैले

अरुका लागि केही गर्न खोज्दा
झन् आफ्नै दिल जलाएको छु मैले

हजुरले देख्नु भो दुर्बल मलाई
गहु्रङ्गा चिज उठाएको छु मैले

हुँ मजदुर जिन्दगीमा श्रम छ प्यारो
सधैँ पसिना बगाएको छु मैले

गरेको धेर जसलाई हुँ माया
उनैको दिल दुखाएको छु मैले

बहर—हजज मुसद्दस महजुफ

यस गजलको मतलाको उलामा मात्र पूर्णशब्द काफिया छ, अरु सबै सेरमा शब्दांश काफिया छन् । यस्ता काफियालाई मोटा अक्षर (बोल्ड) मा देखाइएको छ ।

केही प्रश्नहरू

काफिया भनेको के हो ?

पूर्ण शब्द र शब्दांश काफियामा के भिन्नता छ ? पाँच पाँचवटा उदाहरण दिनुहोस् ।

काफियाको प्रयोग कहाँ गरिन्छ ?

हमकाफिया भनेको के हो ?