होशियारपुरनिवासी डा. धर्मपाल साहिल पञ्जाबका प्रख्यात साहित्यकार हुन्। भारतका भुतपूर्व राष्ट्रपति महामहिम ए. पी. जे. अब्दुल कलामद्वारा सम्मानित, मानव संसाधन विकास मन्त्रालयद्वारा प्रदान गरिने राष्ट्रीय साहित्य पुरस्कार, ‘भारत शिक्षारत्न’ आदि जस्ता प्रतिष्ठित सम्मानहरूलगायत दर्जनौँ अन्य सम्मानहरूद्वारा विभूषित हुने डा. साहिलका आठवटा उपन्यास, चारवटा कथा/लघुकथा सङ्ग्रह, चारवटा कविता सङ्ग्रह, दुईवटा यात्रा-संस्मरण, तिनवटा खोजपरक पुस्तक, दुईवटा बालसाहित्यका पुस्तक, एउटा जीवनीका पुस्तक प्रकाशित भइसकेका छन्। उनका कृतिहरूमा १० जना शोधार्थीहरूले एम. फिल.का लघु शोधकार्य अनि तिनजना शोधकर्ताहरूले विद्यावारिधि सम्पन्न गरेका छन्। भारतको राष्ट्रिय च्यानल दुरदर्शनले उनका जीवनवृत्तका निर्माण अनि प्रसारण गरिसकेको छ भने उनका कथाहरूमा सिनेमा पनि निर्मित भएर प्रसारित भइसकेका छन्।
===
१. अनुहारहरू
आँखाबाट हृदय
हृदयबाट
आत्मासम्म पुगे
कति नचिनिने अनुहारहरू
मभित्र को-कति
निहित छन्
कसरी चिनूँ म।
===
२. फरक हुनु
त्यही
माटोले बनेको छु
त्यही
साँचोमा ढालिएको छु
करामत
प्रकृतिको हो
तिमी जस्तो
भएर पनि
तिमी भन्दा
फरक छु।
===
३. यात्रा
न मस्जिदको हो
न मन्दिर को हो
यात्रा त आफ्नो
भित्रको हो
यो शरीर त
केवल मार्ग हो
यो रमिता त
आत्माको
दृश्यको हो।
===
४. खेलौना
खेलौना जस्तै बालक
हातमा मोबाइल खेलौना लिएर
मोबाइलको हातको
खेलौना भएको छ
घरको सबैभन्दा प्यारो
खेलौना भएको छ।
====
५. तिर्खा
पानी $ $ $ $
म कराएँ
म पनि
तिर्खाएको छु
कुआभित्रबाट
आवाज गुञ्जियो।
====
६. दुरी
यसै त तिमी
यहाँ उपस्थित छौ,
मेरा जम्मै किताबहरूमा,
तर त्यहाँ पनि
अक्षर-अक्षर
शब्द-शब्द
वाक्य-वाक्य
हरफ-हरफ
अध्याय-अध्याय
यथावत् राखेका छौ
तिमीले दुरी।
===
(बिलोक शर्मा कवि अनि अनुवादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बङ्गला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुन्छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको लुधियाना सहरमा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।