
स्नेह सायमि
‘खौ’ भन्ने शब्द बुझ्नु भयो तपाईंले ? मलाई लाग्छ, धेरै नेपाली भाषी पाठकहरुले बुझ्नु भएन । बुझ्नु पनि कसरी? यो खस नेपालीभाषाको शब्द नै होइन । यो एक अक्षरको एक शब्द बुझिएन भने सम्पूर्ण बुझाइ नै अपुरो हुन्छ । नेपालमा हामीले व्यापक रुपमा प्रयोगमा ल्याइरहेको यो भाषा भन्दा नेपालकै अन्य अपहेलित भाषाहरु शाब्दिक रुपमा धनी छन् । उदारणका लागि नेपालभाषा । काठमाडौंमा सम्पर्क भाषा र मातृभाषा सरकारी भाषा सबै नेपालभाषा नै थियो । एक राणा शासकले यो भाषामाथि प्रतिबन्ध लगायो र करिब एक शताब्दी नै यो भाषा प्रतिबन्धित रह्यो । नेपालका सबै भाषा हाम्रा सांस्कृतिक धरोहर हुन् तर यसो हुन दिएन, भन्न पनि दिएन । काठमाडौं लगायत कति गाउँहरुमा खस नेपाली भाषा नबुझ्ने धेरै हुनुहुन्छ । उहाँहरुले उहाँहरुकै भाषामा लेख्न पढ्न पाए हामी नेपालीलाई गौरवकै कुरा हुन्थ्यो । फेरि नयाँ भाषा बनाउन सकिंदैन, बनिसकेको भाषालाई संरक्षण र संवर्ध्दन गर्न सके अन्तर्राष्ट्रिय रुपमा हाम्रो देशको छवि नै बेग्लै हुन्थ्यो । अन्य कतिपय विषयझैं भाषिक समानताका कुरा संविधानमा लेखिए पनि त्यो अहिले पनि लागु भएको छैन । हामी भाषामा लागेकाहरु नै नेपालका भाषाहरुलाई एक अर्काको परिपुरक भन्दा पनि प्रतिद्वन्द्विको रुपमा हेरेसम्म यो भाषिक समानताका कुरा कानुनी विषय मात्र भइरहनेछ ।
म कुरा गरिरहेको थिएँ, खौ भनेको के हो । खौ भनेको नेपालभाषामा दुई अर्थ लाग्छ र भाषा र परिवेशअनुसार बुझ्नुपर्ने हुन्छ । एक अर्थमा तोरी वा भटमास वा यस्तै कुनै तेलयुक्त वस्तुलाई तेल निकालिसकेपछि बाँकी रहेको छोक्रालाई खौ भनिन्छ। अब बुझ्नु भो होला नि, खौ भनेको पीना हो तर अहिले प्रयोग गर्न खोजेको यो अर्थको खौ होइन । खौ भनेको हातका सबै औंलाहरु बाँधेर मुट्ठी बनाएर टुटुल्को आउने गरी टाउको हान्नु खौको अर्को अर्थ हो । हो, अहिले मैले सम्झना गरेको खौ यही हो ।
अब भन्नुस त, तपाईंहरुले विशेषतः आफ्ना बाल्यकालमा आफूभन्दा अग्रज र बलिया साथीहरुबाट यस्तो खौ खानु भयो कि भएन ?
हाम्रो विद्यार्थी जीवनमा कडा अनुशासनमा बस्नु पर्थ्यो र सजाय पनि कडा हुन्थ्यो । कि बलियो लट्ठी कि सिस्नुको चुटाई । लट्ठीको चुटाईले जहाँ लाग्यो, त्यहीँ डाम उठ्थ्यो, सिस्नुको चुटाई जहाँ पर्यो, त्यहाँ घण्टौं सम्म चहर्याउँथ्यो । अलि नरम सजाय भनेको उठबस थियो । सयपटक, पचास पटक सुइँसुइँ उठबस गरिन्थ्यो । अलि युवक गुरुहरुले खौ हान्थे । विद्यार्थीहरुले मन लगाएर पढ्ने होइन कि पढिएन भने सजाय पाइन्छ भनेर पढ्ने गर्थे । जसले मन लगाएर पढ्थे, उनीहरु त उत्कृष्ट भइहाले। जो नपढ्दा पाइने सजायको डरले पढ्थे, उनीहरू पनि नराम्रा विद्यार्थी थिएनन्। नराम्रा विद्यार्थी भनेका जति सजायै दिए पनि नपढ्ने र नलेख्नेहरु थिए । त्यतिखेर गुरुहरु सिकाउनमा भन्दा सजाय दिनमा विश्वास गर्थे ।
मेरो स्कूले जीवन शुरु भएपछि मेरो काका मेरो गुरु तथा अभिभावक हुनुभयो। उहाँले मलाई मिहिनेत गरेर लेख्न-पढ्न सिकाउनु भयो । उहाँको अंग्रेजी भाषा राम्रो । ग्रामर कण्ठस्थ । अक्षर छापा जस्ता । अनि उहाँले जस्तै लेखपढ गरोस् भन्ने चाहनु हुन्थ्यो । लेखेन पढेन भने खौ हानिहाल्नु हुन्थ्यो । घरकै अभिभावक गुरु भएपछि कति समस्या हुन्छ, पर्नेलाई मात्र थाहा हुन्छ! बाल मनोविज्ञान भन्ने कुरा त भाँडमा जावोस्, तर्साएर राख्नुपर्छ भन्ने मानसिकता थियो । मेरा लेखपढको तरिका मलाई चित्त नबुझेर के गर्नु? उहाँले मेरा बारेमा जे निर्णय लिनुहुन्थ्यो त्यही अन्तिम फैसला थियो । न बा, न आमा, कोही कसैले मेरा कुरा सुन्नु हुँदैनथ्यो । बरु मेरा हजुरबाले मेरो पक्ष लिएर कहिलेकाहीं काकालाई गाली गर्नुहुन्थ्यो । तर पनि मप्रति काकाले गर्ने रवैया त यथावत् नै थियो । काकाको कारणले मैले अघिल्लो कक्षामा पढ्ने अंग्रजी पहिल्यै सिकिसकेको हुन्थेँ र मैलै ९० देखि १०० को बीचमा सजिलै नम्बर पाउँथेँ।
मलाई सानो कक्षामा काकाको मद्दतले गर्दा एसएलसी र उपल्ला कक्षाहरुमा पनि अंग्रेजीमा सिक्न गारो भएन।
अझ मैले एसएलसी पछिको प्रमाणपत्र तहमा पढ्दा सिनियर क्याम्ब्रिज गरेकाहरु भटटट अंग्रेजीमा कुरा गर्थे, म सक्दिनथेँ । अनि मैले सोचेँ, अंग्रेजी विषयमा म यिनीहरुलाई जितेरै छाड्छु। अन्ततः सिनियर क्याम्ब्रिज पढेर आएकाका भन्दा बढी अंक ल्याएर म उत्तीर्ण भएँ।
अहिले पनि अंग्रेजी व्याकरण काकालाई कण्ठै छ । नातिहरूसँग अंग्रेजीमै सम्वाद गर्न रुचाउनु हुन्छ । ह्याण्ड राइटिङमा त यसरी जोत्नु भयो कि सारा परिवार उहाँकै हस्तलेखनबाट प्रभावित छौँ । काकाको ‘खौ’ले अहिलेसम्म अंग्रेजीमा लेखपढ गर्न सजिलो बनाइदिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

