साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

स्वादिला बालकविता; शृङ्खला – २६

Chovar Blues Mobile Size

१. इन्द्रेणीको जामा – लक्ष्मी उप्रेती                               

लक्ष्मी उप्रेती

झलमल घामसँगै पानी पर्‍यो झमझम

घामपानीमा रमाउँदै हामी नाच्यौँ छमछम

 

घामपानीमा रुझ्दै खेलौँ  ऊफ्री-उफ्री साथी

आकाश पनि रङ्गीन भयो हेर माथि-माथि 

 

आकाशमा देखिएको  कति राम्रो  लहर

कसरी भो आकाशमा इन्द्रेणीको सहर

 

इन्द्रेणीको लहर पनि प्रकृतिले भर्छन्

सात रङ्गको लहर हेरी सबै दङ्ग पर्छन्  

 

 कालो, कैलो, उज्यालिने समयको गीत

आफ्नै सुरले चल्छ संसार युगौँ-युगको  रीत ।

———–

[नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य लक्ष्मी प्रसाई उप्रेती (२०१५) बालसाहित्यका क्षेत्रमा सक्रिय स्रष्टा हुन् । बालकवितासङ्ग्रहतर्फ उनको मनेको म्याँ-म्याँ प्रकाशित छ भने कृष्णको पछुतो, कर्मको फल, बुद्धिमानी बाँदर, सुनको अण्डा दिने चरी, साथी साथी, जङ्गलकी परी, आशा र बाँदर, तीन छोरा लगायतका बालकथासङ्ग्रह प्रकाशित छन् । उनका बालकविता बालकथा बालउपन्यास बालचित्रकथा बालउपन्यास आदि बालसाहित्यिक विधामा १९ वटा कृति प्रकाशित छन् । बालसाहित्य बाहेक कवयित्री लक्ष्मी उप्रेतीले गीत कविता कथा लगायतका विधामा कलम चलाएकी छन् । विभिन्न पुस्तक, पत्रपत्रिका, स्मृतिग्रन्थ, स्मारिका आदिको सम्पादन अनुभव बटुलेकी स्रष्टा लक्ष्मी थुप्रै मानसम्मानबाट सम्मानित, अभिनन्दित एवम् पुरस्कृत पनि भइसकेकी छन् । बहुमुखी प्रतिभाकी धनी साहित्यिक स्रष्टा लक्ष्मी उप्रेतीबारे नेपाली विषयमा एम.ए. को उपाधिको परिपूर्तिको लागि थुप्रै शोधकार्यहरू भएका छन् । उनको ‘इन्द्रेणीको जामा’ प्रकृतिसँग सम्बन्धित विषयवस्तुमा आधारित बालकविता हो । यस बालकवितामा घामपानी पर्दाको क्षणमा आकाशमा देखिने इन्द्रेणीको रमाइलो दृश्यको कलात्मक वर्णन गरिएको छ । बालबालिकाहरू इन्द्रेणी पर्दा रमाउने र भुतुक्क हुने गर्छन् । बालबालिकामा हुने यस्तै रमाइलो अनुभूतिलाई कवयित्रीले बालसुलभ भाषाशैलीमा सुन्दर ढङ्गमा अभिव्यक्त गरेकी छन् ।]

***********

२. नानी बाबु र राष्ट्रिय गान – नरिश्वर गौतम

नरिश्वर गौतम

आहा! कति सुहायो

ढाका टोपी लाएको

छातीमा हात राखेर

राष्ट्रिय गान गाएको ।।

 

टोपी दौरा सुरुवाल्

पोसाक हो नेपाली

पहाडी या तराई

होस चाहे हिमाली ।।

 

हामी सबै नेपाली

देश हाम्रो नेपाल

चाँदी जस्तै टल्कने

झलमल हिमाल ।।

 

रङ्गीचङ्गी फूलका

मालासरि उनेका

जाति धर्म फरक

भाषा वेश अनेक ।।

 

कति राम्रो एकता

सबै मिली बसेका

गर्न भनी विकास

सबै कम्मर कसेका ।।

—————–

[शान्तिपुर, गुल्मीमा जन्म भई हाल काठमाडौँमा बसोबास गर्दै आएका नरिश्वर गौतम (२०३५) लामो समयदेखि शिशुकक्षादेखि माध्यमिक र स्नातकसम्मको शिक्षण अनुभवसँगै लेखक, सम्पादक र प्रशिक्षकका रुपमा कार्यरत छन् । विशेष गरी पूर्व प्राथमिक नर्सरी, केजी तहका बालबालिकाका लागि उपयोगी सामग्री लेखनका साथै माध्यमिक तहसम्मका विभिन्न विषयका पुस्तक लेखन सम्पादन गर्ने क्रममा विषयवस्तुलाई रमाइला र बालमैत्री बनाउने सिलसिलामा विविध शीर्षकमा सरल र सजिला बालगीत र बालोरी लेख्दै जाने क्रममा रचित झण्डै १०० भन्दा बढी रचनाको सङ्ग्रह `उपयोगी बालगीत´ समेत प्रकाशन गर्न उनी सफल छन् । पूर्वप्राथमिक तहका लागि ज्यादै उपयोगी बालसामग्री Fun Learning Kit (Nursery, LKG and UKG) बाल सामान्यज्ञान, English Series (class 2-5), Factual General Knowledge, English Essays and Letters, Moral Education (class 2-8), कक्षा १ देखि ३ सम्मका सेरोफेरो, सामाजिक अध्ययन ( कक्षा १-१०) सहलेखनका साथै नेपाली शब्दकोश र English Dictionary सम्पादन गरेका साथै नेपाली र अङ्ग्रेजी माध्यममा पनि धेरै बालरचना गरेका छन् । उनका नेपाली वर्णगीत र मात्रा गीतका श्रव्यदृश्य यु-ट्युबमा समेत हेर्न सुन्न पाइन्छ । देशका विभिन्न ठाउँका पूर्व-प्राथमिक तहका शिक्षक-शिक्षिका र सहजकर्ताहरूसँगको भेट, छलफलबाट प्राप्त सल्लाहसुझाव र हौसलाले नयाँनयाँ सिर्जनाको तिर्खा जगाएकोमा उनी सन्तुष्ट देखिन्छन् । उनको नानीबाबु र राष्ट्रिय गान बालकविता  राष्ट्रिय भावनाले युक्त बालकेन्द्रित कविता हो । यस बालकवितामा नेपाली राष्ट्रिय पोसाकको परिचय र महत्त्वगान गाइएको छ भने नेपाली भूगोल र संस्कृतिको चिनारी पनि गराइएको छ । नेपालीहरूमा हुने एकता, सौहार्द्रता र विकासप्रेमी भावनाको अभिव्यक्तिसमेत प्रस्तुत बालकवितामा भएको छ । कविता ७ अक्षरे बालोरी लोकछन्दमा रचित छ ।]

*******

३. साथी – तेजप्रसाद खनाल

तेजप्रसाद खनाल

आऊ साथी आऊ

मेरो हात समाऊ

तिमी हामी मिलेर

खेल खेली रमाऊँ

 

धुलेबाजे खेलौँला

माटोको डिलभित्र

सानो काठको टुक्रा

हल्केलाले छेकौँला

 

आऊ साथी आऊ

अर्को खेलमा रमाऊँ

कुर्सी दौड खेलौँला

वरिपरि कुर्सी जेलौँला

 

आऊ साथी आऊ

लुँडो खेल समाऊँ

माथि भर्‍याङ चढाऊँ

तिमी र म रमाऊँ

 

तिमी मेरो साथी

सबै भन्दा माथि

पढी लेखी रमाऊँ

नाम हामी कमाऊँ ।

————–

[लमही नगरपालिका-५ देउखुरी दाङ घर भई साहित्यसाधनामा तल्लीन तेजप्रसाद खनाल (२०४१) प्राध्यापन पेशामा संलग्न छन् । विद्यालय तथा क्याम्पस तहमा अध्ययन गर्दा देखि नै साहित्यमा रुचि राख्ने खनाल साहित्यका लघु कथा, कविता, चारु , राग , विराग, रागविराग, मुक्तक, गजल, हाइकू, झर, पञ्चाङ्ग, बाल कविता, टुक्का जस्ता विधामा कलम चलाउन रुचाउँछन् ।  उनको एउटा चारु सङ्ग्रह शीघ्र प्रकाशनको तयारीमा छ । विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा उनका फुटकर बालकविताहरू प्रकाशित हुँदै आएका छन् । उनको प्रस्तुत ‘साथी’ बालकविता एकल बालोरी लोक छन्दमा लेखिएको बालकविता हो । कवितामा साथी साथी भएर हातेमालो गरी खेल्दा हुने रमाइलोको बालबोलीमा वर्णन गरिएको छ । यस बालकविताले बालबालिकामा हुने बालखेलप्रतिको रुचिलाई बालमनोवैज्ञानिक ढङ्गबाट अभिव्यक्त गरेको छ । बालबालिकाहरू धुलोमाटोमा रमाएर खेल्न, कुर्सी खेल खेल्न र लुँडो खेल्न रमाउँछन् भन्ने कुरालाई कवितामा बाल्य अनुभव मिसाएर व्यक्त गरिएको छ ।]

***************************************

rcghimire47@gmail.com

लेखक परिचय

साहित्यपोस्टका नियमित स्तम्भकार घिमिरे ईशानेश्वर क्याम्पस, भोर्लेटार (लमजुङ) का प्रमुख हुन् ।

प्रतिक्रिया
Loading...