Chovar Blues Mobile Size

 

पहिले यो गजल पढ्नुहोस्:

मतला (पहिलो सेर)

माथि छन् धूर्त बाठाहरू — मिसरा ए उला

छन् तलै शुद्ध सोझाहरू — मिसरा ए सानी

(दोस्रो सेर )

छैन कानुन कडा दण्डको — मिसरा ए उला

पल्किँदै छन् लुटेराहरू — मिसरा ए सानी

(तेस्रो सेर)

देश पक्कै बिरामी पर्यो — मिसरा ए उला

किन्तु छन् मख्ख चम्चाहरू — मिसरा ए सानी

(चौथो सेर)

छन् मुसार्दै जुँगा ताउले —मिसरा ए उला

गर्वका साथ नाङ्गाहरू — मिसरा ए सानी

(पाँचौँ सेर)

हुन्छ के भोलि शङ्का छ यो — मिसरा ए उला

मौन छन् तथ्य ज्ञाताहरू — मिसरा ए सानी

अन्तिम (छैटौँ सेर)

पुग्छु कसरी म गन्तव्यमा— मिसरा ए उला

बन्द छन् खास बाटाहरू — मिसरा ए सानी

अर्कान—२१२.२१२. २१२

साभार–निभेका शिखा

गजलः महासागर हो, यसको फैलावट व्यापक छ भने भावको तह निकै गहिरो हुन्छ । शास्त्रीय र प्राविधिक काव्यविधा भएकाले यसको संरचनाका लागि केही बाह्य र केही आन्तरिक तत्त्वहरू आवश्यक मानिन्छन् । यहाँ यी तत्त्वहरूको सामान्य चर्चा गरिएको छ ।

मिसरा र सेर

गजल भनेको सेरहरूको समावेशी रूप हो । यसलाई सेरहरूको माला पनि भनिन्छ । एउटा सेरमा दुई पङ्क्ति हुन्छन् । यिनै पङ्क्तिहरूलाई मिसरा भनिन्छ । सेरको प्रथम वा माथिल्लो पङ्क्तिलाई ‘मिसरा ए उला’ र द्वितीय वा तल्लो पङ्क्तिलाई ‘मिसरा ए सानी’ भनिन्छ । हरेक सेरको मिसरा ए उलाले कुनै विषयको उपस्थापन गर्दछ र मिसरा ए सानीले त्यसलाई पुष्टि गर्दै एउटा अनुभूतिको समग्र कथ्यको समापन गर्दछ । एउटा गजलमा कम्तीमा पनि पाँच सेर हुनुपदर्छ भन्ने काव्यशास्त्रीय मान्यता छ तापनि कतिपय फारसी र उर्दूका गजलकारहरूले नै चार सेरका मात्र गजलहरू पनि रचेको देखिन्छ । गायनका सन्दर्भमा त तीन सेर मात्र गाइएका प्रशस्त उदाहरणहरू भेटिन्छन् । पाँच सेरभन्दा अधिकतम सेरहरूको कुनै पनि निश्चित सङ्ख्या काव्यशास्त्रमा निर्धारण गरिएको पनि पाइँदैन । गजलमा धेरै सेर हुनु राम्रो पनि मानिँदैन । औसत गजलहरू पाँच सेरदेखि तेह्र सेरसम्मका हुन्छन् । तर नेपालीमा भने प्रयोगका रूपमा गजलमा नै खण्डकाव्य र महाकाव्य समेत लेखिएका छन् । प्राचीन काव्यशास्त्रीहरूको कथन के छ भने गजलका सेरहरूको सङ्ख्या विषम हुनुपर्दछ । तर यस मान्यतालाई कडाइका साथ परिपालन गरिएको भने पाइँदैन ।

गजलका प्रत्येक सेरहरू यद्यपि एउटै बहरमा समाबद्ध हुन्छन् तथापि विषयवस्तुको दृष्टिले तिनको स्वतन्त्र अस्तित्व रहेको हुन्छ । अझ यसो भनूँ, एउटा गजलमा जतिवटा सेरहरू छन् त्यति नै पृथक् पृथक् विषयवस्तु, भाव र विचार हुन्छन् । प्रत्येक सेरका कथ्य विषयमा पार्थक्य हुनु गजलको मौलिक विशेषता एवं मान्यता पनि हो । एउटै गजलभित्रका अलगअलग सेरहरूमा प्रेम, विरह, वेदना प्रकृति चित्रण, चिन्तनमनन, सामाजिक एवं राजनैतिक व्यङ्गय विद्रोह तथा विकृतिविसङ्गति जस्ता विविध पक्षहरूको प्रतिविम्बन गर्न गजलकारले पूर्ण रूपमा छुट पाएको हुन्छ । यसर्थ गीत र कविताहरूमा जस्तै एउटै कथ्य विषयवस्तुको शृृङ्खलाबद्ध प्रस्तुति गजलमा अपरिहार्य मानिँदैन । एउटै गजलका समग्र सेरहरूमा एउटै विषयवस्तुको शृृङ्खलाबद्ध प्रस्तुति भएको गजललाई गजल मुसलसल भनिन्छ । विविध विषयवस्तुका सेरहरूबाट बनेको गजललाई गजल गैरमुसलसल भनिन्छ । बुझ्नै पर्ने कुरा के छ भने गजल मुसलसलमा विषयवस्तु एउटै भए पनि प्रत्येक सेरहरू भने स्वायत्त हुन्छन् । यसबारे विस्तृत रूपमा पछाडि चर्चा गरिनेछ ।

सेर बनाउँदा ध्यान दिनुपर्ने केही बुँदाहरू —

एउटा गजलका प्रत्येक सेरहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कर्ता हुनै पर्दछ ।

एउटा गजलका प्रत्येक सेरहरूमा समापक क्रिया अनिवार्य रूपमा हुनै पर्दछ ।

एउटा गजलका प्रत्येक सेरहरूमा कर्ता, कर्म र क्रियाका बिच लिङ्ग, वचन, पुरुष, आदर आदिको सङ्गति मिल्नुपर्दछ ।

एउटा भाव वा अनुभूतिको सम्पूर्ण अभिव्यक्ति एउटै सेरमा हुनुपर्दछ, बाँकी राखेर अर्को सेरमा भन्न पाइँदैन ।

एउटा सेरका दुवै मिसरा (उला र सानी) का बिच अन्योन्याश्रित सम्बन्ध हुनै पर्दछ, अर्थात् मिसराहरू फरकफरक विषय हुनु हुँदैन । यस्तो भएमा प्रसङ्ग मिल्नुपर्दछ ।

वैकल्पिक नियमबाहेक व्याकरणलाई अक्षरशः पालना गर्नुपर्दछ, बहर मिलाउने नाममा वर्णविन्यास(हिज्जे)लाई बिगार्न पाइँदैन ।

सेरहरू सरल तर अर्थगत दृष्टिले प्रतीकात्मक हुनुपर्दछ ।

सेरहरूलाई भावको गहिरो ताल र शब्दहरूको क्रीडास्थल बनाउन सक्नुपर्दछ ।

सेरका आशय वा भावमा उल्झन आउनु हुँदैन, ध्वन्यात्मक वा प्रतीकात्मक अर्थ जतिसुकै गहिरो भए पनि सामान्य अर्थ स्पष्ट हुनुपर्दछ ।

गजलका सेरहरूमा कविता, कथाहरूमा झैँ कुनै एउटा घटना वा स्थान, व्यक्ति आदिको सिधा वर्णन हुनु हुँदैन । अर्थात् गजल वर्णनात्मक हुन सक्दैन ।

स्वतःस्फूर्त (आमद) सेरहरू बढी प्रभावकारी हुन्छन् तापनि प्रयासजन्य (आबुर्द) सेरहरूलाई पनि कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा चिन्तन आवश्यक हुन्छ ।

गजलकारले रिवायती (अरुले प्रयोग गरिसकेका विषय) भन्दा जदीद (नवीन/आधुनिक) विषयलाई प्राथमिकता वा महत्त्व दिनुपर्दछ ।

गजलको कथ्य प्रेम र शृङ्गार मात्र हो भन्ने सोचबाट सेरहरूलाई मुक्त गर्नुपर्दछ ।

सेर गजल संरचनाको एउटा अङ्ग हो तापनि यो आफैमा एउटा पूर्ण रचना पनि हो भन्ने कुरामा विश्वस्त हुनुपर्दछ ।

सेरको मिसरा ए उलाको आरम्भ र, तर, अनि, किनभने जस्ता निरपेक्ष संयोजकबाट गर्नु हुँदैन ।

केही प्रश्नहरू—

गजलमा मतला र मकता भन्नाले के के बुझिन्छ ?

मिसरा भनेको के हो ? यसका प्रकार के के हुन् ?

सेर भनेको के हो ? यो कसरी बन्दछ ?

मुसलसल र गैरमुसलसल गजलमा के कस्तो भिन्नता हुन्छ ?

सेर बनाउँदा ध्यान दिनुपर्ने कुनै पाँच बुँदा लेख्नुहोस् ।

प्रत्येक सेरमा नभई नहुने अनिवार्य कुरा केके हुन् ?