बदलिँदो जीवनशैली, वैदेशिक रोजगारीमा जाने क्रम बढेको र अन्य कारणले पनि हेलामा परेर बुढाबुढी अवस्थामा वृद्धाश्रममा बस्न जानुपर्ने परिस्थिति सिर्जना भएको छ । ढल्कँदो उमेरमा आफ्नो स्मृतिमा बेलाबेला झल्किने सम्झना र सुख दुःखका कुराहरू साटासाट गर्दै वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरूको दिनचर्या रमाइलोसँग त बित्छ तर सन्तानले नै बेवास्ता गर्दा उनीहरूको अधिकारका लागि काम गरिदिने स्वयंसेवक संस्थाको कमी र फितलो कानुन तथा कमजोर सरकारी नीति निर्माण र कार्यान्वयनका कारण उनीहरूको अधिकार संरक्षण आजको प्रमुख आवश्यकता बनेको छ । घरमा बस्न नसकेका, सम्पत्ति लिइसकेपछि सन्तानबाट त्यागिएका वृद्धवृद्धाहरू वृद्धाश्रमहरू खोजिरहेका छन् तर संरक्षक वा संरक्षणको कमीका कारण सडकमा मगन्ते जीवन जिउन बाध्य छन् ।

वृद्धवृद्धाहरू पनि परिवारमा हाँसिखुसी बस्न चाहन्छन् । पुस्तान्तरणका कारण उनीहरूको चाहना नयाँ पुस्तासँग नमिल्ला त्यो बेग्लै कुरा हो तर हाम्रो पारिवारिक संरचना वा निर्माण सानालाई माया र ठुलालाई आदर गर्नुपर्छ भन्ने रहेको छ । मिलिजुली एकै परिवारमा बस्ने आफूभन्दा ठुलालाई सम्मान गर्ने अनि सानोलाई माया गर्ने हामी नेपालीहरूको संस्कार हो, तर व्यस्त जीवनशैली, आफ्नो पेसागत जीवनका कारण देखाएर आफूलाई सक्षम बनाउने आफूलाई जन्मदिने आमाबुबाहरूलाई सम्मान दिन असक्षम र असमर्थ हुनु हुँदैन । आफ्ना सन्तानलाई पनि वृद्धवृद्धालाई गर्नुपर्ने असल व्यवहार सिकाउने, बाआमासँग मिठो दुई शब्द बोल्ने र खुसी बनाउन प्रयत्न गर्नुपर्दछ । कतिपयले आमाबाबुलाई बोझ मानेर त्यागेका घटना खबर पत्रिका आएको छ । बिचरा आमाबाबुहरू छोराछोरी सानो हुँदा दुःखका साथ हुर्काउने, बढाउन अनि पढाउनका लागि अनगिन्ती प्रयास गर्दछन् । अनि बुढेसकालका लागि आफ्ना सन्तानबाट बाबुआमाले ठुलो आशाभरोसा राखेका हुन्छन्, तर यो आशा निराशामा परिणत हुँदै गएको छ । बरु मानिसहरू आजका जस्तो शिक्षित नहुँदा आफनो जन्म दिने बाबुआमालाई दुख दिँदा, तिरस्कार गर्दा पाप हुन्छ भनेर धर्म र पापको ख्याल गर्दथे तर अहिले शिक्षित सन्तानको व्यवहारबाट पनि आमाबाबुले आँखाबाट आँसु खसाल्नु परिरहेको छ । कतै एकल परिवारमा हुर्केका कारणमा आफ्नै बाबुआमासमेत बोझ बन्ने गरेका त होइनन् ? जस्तो बोट रोप्यो त्यही प्रकारको फल दिन्छ त्यसैले आफ्ना केटाकेटीलाई सानै उमेरदेखि आफूभन्दा ठुला वृद्ध र अशक्तलाई आदर अनि माया गर्नुपर्छ भन्ने कुरा नै सिकाएर आफ्नो सुखद बुढेसकालको निर्माण गर्ने पो हो कि ? बेलैमा सचते हुनुपर्ने देखिन्छ ।

बद्रीप्रसाद ढकाल

जमाना बदलिइसकेको छ, पहिले पहिलेको जस्तो धेरै सन्तान पाउने चलन छैन तर जति सन्तान पाए पनि हुर्काउन, बढाउन आमाबाबुले बोझ मान्दैनन् तर बुढेसकालमा आमाबाबुलाई बोझ मानेर वृद्धाश्रम पुर्याउँछन् । सन्तानले प्रगति गरोस् भनेर बाबु आमाले उनीहरूको शिक्षामा आफ्नो क्षमता र औकातभन्दा बढीको लगानी गरेका हुन्छन् । पढाउनको निमित विदेश पठाएर लाखौं रुपैयाँ खर्चिन्छन् । यसले गर्दा कतिपय बाबुआमा स्वदेशमा एक्लै बस्नुपर्ने बाध्यता छ भने सँगै भएकाहरूले पनि वृद्ध अवस्थामा पुगेपछि आफ्ना जन्म दिने बाबुआमालाई बोझ ठान्ने गरेका छन् । पश्चिमी सभ्यता वा संस्कारको अनुसरणले समाजमा विकसित भएको एक्लै वा छुट्टिएर बस्ने परम्पराले गर्दा आमाबाबुप्रति सम्मान गर्ने नेपाली परम्परामा ह्रास भएको हो भन्ने धारणा व्यक्त गर्छन् । यसरी आमाबाबुले छोराछोरीका लागि गरेको त्याग तपस्या पीडा, वियोगको कुनै मूल्य नरहने परम्पराको थालनीले गर्दा आज वृद्धावृद्धाहरूको अवस्था समस्याका रूपमा जटिल बन्दै गएको छ ।

सन्तान जन्माउने भनेको आफ्नो वंशलाई निरन्तरता दिनु मात्र होइन आफ्नो संस्कार, रीतिरिवाज परम्परालाई अगाडि बढाउँदै लैजानु पनि हो । त्यसैले निसन्तान बाबु आमा पनि आजभोलि प्रशस्तै पैसा खर्च गरेर सन्तान जन्माउन प्रयासरत रहन्छन् । हाम्रो समाजको पारिवारिक बनोटको कुरा गर्ने हो भने अहिलेसम्म परनिर्भरतामा आधारित छ । सन्तानहरू बुढेसकालको सहारा हुन्छन् भनेर सन्तान जन्माउने परम्परा हाम्रो समाजमा छ । हाम्रो समाजमा पारिवारिक परिवेश परनिर्भरतामा आधारित भएकाले हामी एकअर्कामा बुझी नबुझी वा मिलेर या बेमेलमा आश्रित नै हुने संस्कारमा बाँचिरहेका छौँ । करबलले होइन सुखद् जीवनयापन नै आजको अपरिहार्य आवश्यकता हो ।

वृद्धवृद्धाबाट पाइने अथाह ज्ञान छ, वृद्धवृद्धामा अनुभव र अनुभूतिको इतिहास छ ती कुराहरूबाट धेरै कुरा सिकेर जीवनलाई सहज बनाउन सकिन्छ । बाबुआमा (ज्येष्ठ नागरिक) भनेको परिवारका सबैभन्दा जेठाबाठा हुन्छन् । उनीहरूको उमेरका कारणले शारीरिक अवस्था कमजोर हुन सक्छ तर मानसिक रूपमा व्यावहारिक हिसाबले हामीभन्दा निकै खारिएका व्यक्ति हुन्छन् । उनीहरूसित आ–आफ्नो अनुभव र सीप हुन्छ । जुन अनुभव र सीपलाई नयाँ पुस्ताले अनुसरण गर्न सके त्यो भन्दा राम्रो र असल कार्य केही हुन सक्दैन तर हाम्रो समाजमा पारिवारिक विखण्डनले समाज यसरी बिग्रिएको छ कि संयुक्त परिवारमा बस्ने प्रयास र साहस धेरै कम व्यक्तिले मात्र गर्ने गरेका छन् । त्यसले गर्दा पनि वृद्धवृद्धाहरू एक्लिने वा छोडिने र टाढिने अवस्थाको सिर्जना भएको छ ।

भनिन्छ भौतिक सम्पन्नता भए पनि मानिस सुखी नहुन सक्छ । खुसी लागे पनि मानिस सुखी नहुनसक्छ । सम्पन्न हुँदा पनि पारिवारिक एक्लोपनका कारण वा विखण्डनको परिस्थितिमा त्यो व्यक्ति तर खुसी हुन सक्दैन । त्यसैले रूपमा मानसिक सुखी, आत्मिक सुखी वा जीवनप्रतिको अधिकतम सन्तुष्टका लागि ठुलालाई सम्मान र सानालाई मायाका साथै सबैलाई असल व्यवहार गर्नुपर्दछ । सुख र सम्पन्नताभिन्न कुरा हुन् त्यो अनुसन्धानको विषय बन्नुपर्छ किनकि आजका युवा पिढीसँग त्यसको लेखाजोखा गर्ने समय अभाव देखिन्छ । सहरिया र सम्पन्न वर्गका सन्तानको पुस्तान्तरका समस्या, जीवनशैलीमा भिन्नता आदि कारणले परिवारमै रहेर पनि मानिस एक्लो अनुभूति गरिरहेको हुन्छ यी मध्ये कतिपय त किसिमले मानसिक रोगी पनि बन्न पुग्दछन् ।
भौतिक तथा मानसिक दुवै किसिमको पारिवारिक कलहले सम्बन्धमा तिक्तता एकातिर हुन्छ भने कार्यालयीय वा घरायसी कामकाजसँगै आफूलाई सभ्य र आधुनिक मान्ने सन्तानका कारण सधैं बोझ बनेका आमाबाबुहरूलाई कुन सन्तानले पाल्ला भन्ने चिन्ताले अर्को समस्या उत्पन्न हुन्छ । त्यसैले वृद्ध आमाबाबुलाई बोझका दृष्टिले हेरिँदा सन्तानको हेला, दुर्व्यवहारका कारण जीवनभरिको परिश्रमबाट निर्मित घर परित्याग गरेर अनि वृद्धाश्रममा पुग्न बाध्य भएका छन् ।

यहाँ मनन गर्ने कुरा के हो भने केही गरेर पनि बाबुआमाको गुनको भारा तिर्न नसक्ने पूर्वीय चेतनाको ज्ञान एकातिर पन्छाएर क्षणिक सुखसयलमा सन्तान लिप्त हुँदा वृद्धवृद्धाहरू पीडित छन् । मातृ ऋण, पितृ ऋणको चर्चा र त्यसअनुसारको शिक्षादीक्षा दिएर कृतध्न होइन कृतज्ञ बनाउने काम शिक्षाले गर्नु पर्दछ । आमाबाबु वा वृद्धवृद्धालाई मनैदेखि खुसी बनाउन सके मात्र साँचो रूपमा अर्थात् ऋण तिरेको महसुस गर्न सकिन्छ भन्ने चेतना पटकपटक सम्झाउनु पर्ने अवस्था आएको छ ।

वृद्धवृद्धाको उचित स्याहारसुसार वा संरक्षणमा कमी आउनुका कारण कतिपय घटनाहरू पैतृक सम्पत्तिसँग जोडिएर आएका हुन्छन् तर यो समस्याको सिर्जना हुनुमा सन्तानको चेतना, संस्कार तथा सामाजिक अवस्था नै मूल कारण मान्न सकिन्छ । लैङ्गिक भेदभाव, पुत्र मोह तथा सन्तानप्रतिको आश्रित विचारका कारण आज वृद्धवृद्धाको अवस्था झनै जटिल बन्दै गएको हो ।

पश्चिमी समाजको जीवन हाम्रो जीवनशैलीभन्दा विपरीत छ । आफूले कमाएको, जोडेको धन सम्पति आफ्नो जीवनकाल रहेसम्म भोग चलन गर्ने अनि उनीहरूको मृत्युपश्चात् बल्ल स्वतः छोराछोरीहरूले पाउँछन् । पश्चिमी मुलुकीहरूमा छोराछोरीलाई पैतृक सम्पतिमा आश राख्ने प्रवृत्ति छैन कानुनले पनि वृद्धवृद्धाकै अधिकारको संरक्षण गरेको छ । उनीहरू आफ्नो जीवनको सङ्घर्ष आफैँ गर्न खोज्छन् तर हाम्रो समाजमा कानुन बनाउनेहरूको सुनाइ नगरेर बाबुआमाले जोडेको जायजेथाको अंशबण्डा पाउने अधिकार कानुनतः प्रदान गरेकाले पनि यो समस्या जन्मिएको हो । छोराछोरीहरू आफैले मेहनत नगरेर बाबुआमाले जोडेको जायजेथामा आँखा गाड्ने र कसरी हात पार्ने भन्ने प्रवृत्तिमा उद्धत रहेका हुन्छन् । यसरी बुढेसकालमा छोराछोरीले नहेर्ने क्रम बढेपछि आफू नमरुन्जेल चलअचल सम्पति आफ्नै नाममा नै राख्ने र जीवन निर्वाह तथा औषधोपचार गरेर सक्दो उपभोग गरी सहज जीवनपछि मात्र बाँकी रहेको सम्पति सन्तानले पाउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

वृद्धवृद्धा (ज्येष्ठ नागरिक) को सम्मान तथा पालनपोषण

(ज्येष्ठ नागरिक) वृद्धवृद्धालाई सम्मान गर्ने कर्तव्य पालनपोषण तथा हेरचाह गर्ने दायित्व पनि हाम्रो हो । ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तया इज्जतअनुसार पालनपोषण तथा स्याहारसुसार गर्नुपर्छ । वर्तमान पाठ्यक्रममा पनि वृद्धवृद्धाका रेखदेख, स्याहारसुसार, पालनपोषण विषय राखिएकाले यसलाई पढाउने मात्र नभई सिकाउने संस्कार बनाउनु पर्दछ । हामीले हाम्रो परिवारभित्रजस्तो संस्कार सिकाउँछौ वा देखाउँछौँ हाम्रो परिवारले पनि त्यही सिक्दछ । आफूले मातापिताप्रति गरेको व्यवहार नै कालान्तरमा सन्तानले आफूप्रति गर्ने व्यवहार पनि हो । समयले अतिकति परिवर्तन गर्ला जीवन भनेको कर्मले चल्ने हो । त्यसैले आफूले सकेसम्म भगवान् समानका मातापितालाई उचित व्यावहार, रेखदेख तथा सम्मान गरी सत्कर्म गर्दै आफ्ना सन्तानलाई ज्येष्ठ नागरिकप्रतिको सम्मान र उचित पालनपोषण तथा स्याहारसुसारका लागि प्रेरित गर्नुपर्छ ।

वृद्ध जीवन समयको एउटा उत्कृष्ट उपस्थिति हो । पाको उमेर अनुभवको भण्डार हो । यो जीवनभरको उपलब्धिलाई उत्पादनशील बनाउनु पर्छ । वृद्धावस्था ज्ञानको भण्डार हो । जीवनरूपी अनुभव सुधारिएको सुन्दर सङ्ग्रहालय हो । यो युवापुस्ताका लागि सिर्जित भविष्यको मागदर्शन हो । वृद्धावस्थालाई धर्म कर्म अनि समाजसेवामा लगाई उत्साहित गराइदिनुपर्छ । ती युवाहरूलाई जीवन के हो ? मानवता के हो ? जस्ता महत्त्वपूर्ण विषयमा सैद्धान्तिक मात्र नभएर व्यावहारिक सांसारिक ज्ञान दिनुपर्छ । यसले सही मार्गमा हिँड्न सहयोग पुग्दछ । सेवा नै धर्म हो । परोपकार नै परम कर्तव्य हो । सामाजिक सेवा धर्म हो, समाजसेवाका रूपमा विभिन्न काम गरी हामीले वृद्धवृद्धा वा जेष्ठनागरिकका जीवन सरल र सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्दछ ।