![](https://sahityapost.com/wp-content/uploads/2021/03/Rameshcg-scaled-e1645523759832.jpg)
१. इन्द्रिनी दिदी – गोविन्दराज विनोदी
![](https://sahityapost.com/wp-content/uploads/2022/08/gobinda-raj.png)
गोविन्दराज विनोदी
कहाँबाट बोकी ल्यायौ यति धेरै रङ्ग ?
आऊ न दिदी इन्द्रिनी खेल्न हामीसँग
बगैँचाका रङ्गीचङ्गी फूलबाट हो कि ?
पुतलीको छिरिबिरी पङ्खबाट हो कि ?
तिम्रो रूप–रङ्ग देखी पर्यौँ हामी दङ्ग
आऊ न दिदी इन्द्रिनी खेल्न हामीसँग
धनुजस्तै नुही बस्ने कस्तो तिम्रो बानी ?
कुप्री पर्दै पिठ्युँबाट बर्साउँछ्यौ कि पानी ?
छुन मन लाग्छ किन तिम्रो अङ्ग–अङ्ग
आऊ न दिदी इन्द्रिनी खेल्न हामीसँग ।
(आँखाकी नानी बालकविता सङ्ग्रहबाट)
—–
[रूपाकोट, कास्कीमा जन्म भई हाल गैँडाकोट, नवलपरासीलाई कर्मक्षेत्र बनाएर अघि बढिरहेका कवि गोविन्दराज विनोदी (२०१०) प्रौढसाहित्यतर्फ सशक्त छन्दकविका रूपमा स्थापित छन् उनले कविता, गीत, गजल, खण्डकाव्यका अतिरिक्त बालसाहित्यतर्फ बालकविता वा बालगीतका क्षेत्रमा समेत कलम चलाएका छन् । बालमनोविज्ञान र बालमनोभावनाको मर्म बुझेर लेखिएका उनका बालकविताहरू अत्यन्त कलात्मक र सुन्दर छन् । विभिन्न पुस्तक, पत्रपत्रिका, स्मारिका, स्मृतिग्रन्थ आदिको सम्पादन अनुभव बटुलेका कवि विनोदी दर्जनौँ सम्मान र पुरस्कारद्वारा सम्मानित भएका छन् । भाषा–साहित्य, सामाजिक सेवा, शिक्षण, पत्रकारिता, तालिम आदि मार्फत आफ्नो ज्ञान र कार्यक्षमता प्रदर्शन गर्ने विनोदीको बालसाहित्यिक लेखनतर्फको पाटो अझ महत्त्वपूर्ण छ । नेपाल बालसाहित्य समाजको आयोजनामा भएका विभिन्न कार्यक्रममा राष्ट्रियस्तरका बालसाहित्यसम्बन्धी कार्यपत्र पनि उनले प्रस्तुत गरिसकेका छन् । बालसाहित्यतर्फ ‘आँखाको नानी’ ‘सयपत्री रानी’ र ‘नानीका कविता’ (बालकवितासङ्ग्रह), नानीका गीत’ (बालगीतिकविता सङ्ग्रह), ‘नानीका गजल’ (बाल गजलसङ्ग्रह) र ‘वनभोज’ (बालचित्रकविता) उनका उल्लेख्य प्रकाशित कृति हुन् । उनका कतिपय बालकविताहरु आधारभूत तहका पाठ्यपुस्तकमा प्रकाशित पनि भएका छन् । म्यान्मारमा नेपाली भाषा शिक्षाका एकदेखि दस कक्षासम्मका पुस्तकमा पनि यिनका बालकविता राखिएका छन् । प्रकृतिको सुकोमल वर्णन गर्दै कल्पनाको जलप लगाएर बालहृदय छाम्ने गरी स्वयम् बालक नै बनेर बालकविताको रचना गर्न सक्ने खुबी उनमा छ । प्रकृति, सौन्दर्य र कल्पनाको त्रिवेणी उनका कवितामा पाइने हुँदा उनी स्वच्छन्दतावादी भावधारामा आधारित बालकविताका सर्जक पनि बनेका छन् । उनको इन्द्रिनी दिदी बालकविता आँखाकी नानी बालकविता सङ्ग्रहमा सङ्गृहीत छ । प्राकृतिक सौन्दर्यको जीवन्त चित्रण गर्दै प्रकृतिको मानवीकरण गरिएको यस बालकवितामा प्रकृतिमा हुने घामपानी पर्दाको रमाइलो दृश्यको कलात्मक वर्णन गरिएको छ । १४ अक्षरे सबाई लोकलयमा संरचित यस बालकवितामा बालसुलभ कल्पना, बालोचित भाषा, बालोपयोगी सन्दर्भ र बालचाहनाको प्रयोग भएको पाइन्छ । प्रस्तुत बालकवितामा कविले घामपानीको रमाइलाको दृश्यमा बालक रमाएको कल्पना गर्दै प्रकृतिको मानवीकरण र इन्द्रधनु पर्दाको रमाइलो क्षणको कलात्मक वर्णन गरेका छन् ।]
*****
२. असल बानी सिक्नुपर्छ – हरि श्रेष्ठ
![](https://sahityapost.com/wp-content/uploads/2022/08/hari-shre-e1660804284158.jpg)
हरि श्रेष्ठ
सानैदेखि असल बन्ने
बानी हामीले सिक्नुपर्छ
मनैदेखि खराब बन्ने
बानी हामीले झिक्नुपर्छ
असल बानी सिक्नलाई
गुरुकुलमा जानुपर्छ
गुरुबा र गुरुमालाई
भगवान् झैँ ठान्नुपर्छ
गुरु ब्रह्मा , गुरु विष्णु
गुरु हाम्रा महेश्वर
यिनैलाई पुज्ने गरौँ
हामी पिता परमेश्वर
चरी झैँ उड्न सिकाउने
यिनै हाम्रा माता हुन्
घोडा झैँ हिँड्न सिकाउने
यिनै हाम्रा पिता हुन्
गुरुबाको अर्ती सधैं
हाम्रो माथमा परोस्
गुरुमाको अर्ती सधैं
हाम्रो साथमा रहोस् ।
—–
[भीमेश्वर नगरपालिका वडा नम्बर- २ दोलखा बजारमा जन्म भई हाल काँडाघारी,काठमाडौंमा बसोबास गर्दै आएका हरिनारायण श्रेष्ठ (२०२५) पेशाले शिक्षक हुन् । कथा,कविता,मुक्तक आदि विधामा उनले कलम चलाएका छन् । २०४५ सालमा नेपाल बाल संगठनद्वारा प्रकाशित बालक पत्रिकामा “टुहुरोको बेदना” नामक बालकथा उनको प्रथम प्रकाशित रचना हो । विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरूमा उनका मुक्तक, लघुकथा तथा बालकविताहरू प्रकाशित हुँदै आइरहेका छन् । उनको प्रस्तुत असल बानी सिक्नुपर्छ बालकवितामा बालबालिकालाई नैतिकवान्, चरित्रवान् इमानदार कर्तव्यनिष्ठ लगनशील हुनका लागि सुझाव दिइएको छ । यस बालकवितामा आमा, बुबा, गुरु, गुरुआमा हाम्रा पथप्रदर्शक भएकाले उनीहरूप्रति सच्चा श्रद्धाभाव व्यक्त गर्नुपर्ने कुरालाई अघि सारिएको छ । गुरुलाई देवता जस्तो मान्नुपर्छ भन्ने सल्लाह दिँदै बालपाठकलाई असल बन्नका लागि प्रस्तुत बालकविताले प्रेरणा दिएको पाइन्छ ।]
====
३. कोपिला र म – मनिराम मञ्जिल
![](https://sahityapost.com/wp-content/uploads/2022/08/maniram-manjil-e1660804180980.jpg)
मनिराम मञ्जिल
रङ्गीचङ्गी फूल छन्, ,फूलबारीमा फुलेका
फूलको रस चोर्नलाई, मौरी पनि डुलेका
फूलबारीको फूलजस्तै, मगमगाउदै फुल्नु छ
ज्ञानको ज्योति बालेर, अज्ञानता फाल्नु छ
बाबा आमा भन्नुहुन्छ, राम्रोसँग पढ है
ठूलो मान्छे बन्नु छ, अघिअघि बढ है
गुरुआमा भन्नुहुन्छ, ढाँट्न छल्न हुन्न है
त्यस्तो गर्ने मान्छे कहिल्यै, राम्रो मान्छे हुन्न है
ठूलाठूला सपना छन्, मेरा साना आँखामा
कति राम्रा फूल फुलेका, हाम्रै डाँडापाखामा
ठूलो मान्छे बनेर म, देशको सेवा गर्ने हो
देशकै लागि बाँचे हो, देशकै लागि मर्ने हो ।।
——–
[२०६० सालमा बाग्लुङको साविकको ताराखोला गाविसमा मनिराम मञ्जिलको जन्म भएको हो । नवलपरासीमा रहेको पशुपति साङ्गवेद आवासीय संस्कृत गुरुकुलमा पढ्दै गर्दा कविता प्रतियोगितामा भाग लिने तथा गुरुहरूको सान्निध्यतामा कविता लेख्ने गरेको थिए र अहिले पनि निरन्तर कलम चलाइरहेका छन् । हाल उनी काठमाडौं प्रदर्शनीमा रहेको वाल्मिकि विद्यापीठमा शास्त्री प्रथमबर्षमा नेपाली साहित्य तथा शुक्लयजुर्वेदको औपचारिक अध्ययन गर्दैछन् । गजल, कविता, मुक्तक तथा बालकविता विधामा कलम चलाउदै आएका उनका विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनाहरू प्रकाशित छन् । उनको प्रस्तुत ‘कोपिला र म’ शीर्षकको बालकवितामा फूलबारीमा हुने प्राकृतिक सौन्दर्यको वर्णन गरिएको छ । फूलबारीको फूललाई हेरेर बालकले आफ्नो कर्तव्यलाई ख्याल गर्नुपर्ने कुराको सङ्केत गरिएको यस बाल कवितामा गुरु, गुरुआमा बाबु र आमाले गर्ने मार्गनिर्दश र उनीहरूले दिने सल्लाह एवम् अर्तीको पालना गर्न प्रेरित गरिएको छ । कवितामा बालबालिकामा हुने राष्ट्रप्रेमी भावनाको उजागर समेत भएको छ ।]
****
rcghimire47@gmail.com
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)