१.

श्रीमान् म. साह, एक ५५ वर्षीय कृषक ।

केही हप्ताअघि मसँग परामर्शका लागि ल्याइएका थिए । “मुटु ढुकढुक गर्ने, चिटचिट पसीना आउने, डर लाग्ने, कसैसँग बोल्न मन नलाग्ने, एक्लै रुन मन लाग्ने, काममा ध्यान नजाने, टाउको दुख्ने, खानामा अरुचि हुने” आदि लक्षणहरुले आक्रान्त पारेपछि उनका छोराबुहारीले हामीकहाँ ल्याइपु¥याएका थिए तिनलाई । तराईक्षेत्रमा ठूलो मात्रामा जमिन, घरगोठ लिएर कृषि व्यवसायमा लागेको रहेछ तिनको ठूलो परिवार । यसै साल असार महिनामा करीब एक हप्तासम्म चलेको अविरल वर्षका कारण बाढी आएर ठूलो डुबानमा परेछ तिनको घरखेत । आफू सुतिरहेको बेलामा बाढी पसेर तिनको घरगोठ बगाएछ अघिल्लो दिनको राती । गोठमा बाँधिएर रहेका पशुचौपाया सबैलाई गुमाउनुपरेछ तिनले एकै रातमा नै । भोलिपल्ट त झन् रोपाइँ गरेर अलिअलि हरिया हुन लागिरहेका तिनको आफ्नो पूरा खेत तिनको आफ्नै आँखाअगाडि पूरै नै बगाएछ । साथसाथै तिनीकहाँ दशकौंदेखि काम गरिरहेका तिनका आफ्ना भरपर्दा सहयोगीलाई पनि त्यही बाढीले बगाएर बेपत्ता नै पारेछ । त्यसै दिनदेखि माथिका लक्षणहरु देखा परेर “बेहोशीमा परेको जस्तो” व्यवहार देखाउन थालेपछि तिनलाई ल्याउनुपरेको व्यहोराको बेलिबिस्तार लगाए तिनका छोराबुहारीले ।

२.

सुश्री क., कक्षा १२ मा अध्ययनरत एक १७ वर्षीया किशोरी ।

प्रा.डा. अजय रिसाल

बिगत केही दिनयता “राती राती अचानक ब्यूँझने, नाइँ नाइँ भन्दै चिच्याउने, आँखाअगाडि केहीले छोप्न लागेको जसरी आँखा बन्द गर्दै रुने, डराउने, छटपट–छटपट गर्दै बस्ने, केटा मान्छे देख्यो भने आत्तिने, बाहिर निस्कन नै नमान्ने, कोठाभित्र नै ढोका लगाएरै बसिरहने, पढाइमा, खानपानमा अनि सरसफाइमा समेत केही रुचि नदेखाउने” जस्ता लक्षणहरुका कारण पीडित भइरहेकी रहिछिन् । उनका आमाबाबुले दिएको जानकारी अनुसार उनी केही वर्षअघिदेखि एकजना केटासाथीसँग नजिकिएकी रहिछिन् । सामान्य कुराकानी, सामाजिक सञ्जाल मार्फत् भिडियो कल आदिबाट बढ्दै गएको त्यो सम्बन्ध पछिपछि प्रत्यक्ष भेटघाट, साथसाथै खानपान, ठाउँठाउँको घुमाइ, सँगै रमाइलो गर्ने आदिको तहसम्म पुगेको रहेछ । केही महिना अघि त्यो केटासाथीले एकान्तमा भेटेको बेलामा शारीरिक सम्बन्धका लागि उनीसँग प्रस्ताव राखेको रहेछ । तर उनले त्यो प्रस्ताव अस्वीकार गरेकी रहिछिन् । त्यसको केही दिनपछि कतै वनभोजमा गएको अवसरमा उनलाई एक्लै हिंडिरहेको अवस्थामा फेला पारेर त्यो केटासाथी अनि अरु दुई जना उसका साथीहरु मिलेर सामूहिक बलात्कार गर्ने प्रयास गरेर उनलाई लछारपछार पारेका रहेछन् । पछि उनका साथीहरुले थाहा पाएर उनको उद्धार गरेछन् । प्रहरी बोलाएर ती केटाहरुलाई थुनाएछन् पनि । औषधि उपचार अनि सामान्य मनोपरामर्श पछि उनी ठीक पनि हुँदै गएकी रहिछिन् । कानूनी उपचारमा समेत उनले जितेर ती केटाहरुलाई जेलसजायँ पनि भएको रहेछ । उनको मानसिक अवस्थामा बिस्तारै बिस्तारै सुधार आउँदै पनि रहेछ । केही दिनअघि सम्ममा त उनको अवस्था सामान्यमा नै आइसकेको जस्तो थियो । अनि तिनले कलेज जाने, साथीहरुसँग हिमचिम बढाउने कार्य पनि गर्न थालिसकेकी रहिछिन् । तर २–३ दिन अघिदेखि भने उनको मानसिक स्थिति अनि व्यवहारहरुमा केही असामान्य परिवर्तन देखिइन थालेपछि भने हामीकहाँ ल्याइएकी थिइन् उनी ।

३.

श्रीमती स. शर्मा, ३५ वर्ष, काभ्रेस्थित एक माध्यामिक विद्यालयकी “सामाजिक शिक्षा” पढाउने शिक्षिका ।
विद्यार्थीहरुमाझ “राम्रो शिक्षक” का रुपमा दरिएकी उनी करीब एक महिनायता भने सेलाएकी झैं भएकी छिन् । “पढाउने रुचि घट्दै गएको, समयको राम्रो ख्याल राख्न नसक्ने भएको, मन एकतमासको हुँदै गइरहेको, निद्रा नलाग्ने, थकाइ लाग्ने” आदि लक्षणहरुले समस्या पार्दै गएकोले हामीकहाँ परामर्शका लागि आएकी थिइन् उनी । कुरा बुझ्दै जाँदा दुई महिना अघि गाडी दुर्घटनाका कारण उनको श्रीमान्को खुट्टा काट्नुपरेको रहेछ । त्यसै क्रममा उनीहरुले तनावमय अवस्थामा पन्ध्र दिन जति अस्पतालमै बस्नुपरेको रहेछ । खुट्टा नभएपछि ड्राइभर काम गर्ने उनका श्रीमान्को जागीर खोसिएर घरमा नै बस्नुपर्ने भएछ । जागीर गुमेर असहाय अवस्थामा रहेका श्रीमान् अनि स्कूल पढ्दै गरेका दुई सन्तानको रोजीरोटी, घरको हेरविचार सबै आफ्नै काँधमा परेको कारणहरुले गर्दा पनि “घरको आर्थिक स्थिति अब कसरी चलाउने ?” भन्ने तनावमा रहिछिन् उनी ।

माथि उल्लेखित तीन थरिका समस्याहरु तनावग्रस्त अवस्थामा रहेका मनका कथाका विविध पाटा हुन् । प्रायःजसो मानसिक रोगहरुका कुनै एक ठोस कारण भनी किटान गरेरै भन्न नसकिने परिस्थितिमा एउटा समूहको मानसिक रोगहरुका भने कारकतत्व नै किटेरै भन्न सकिन्छ । त्यो कारकतत्व हो : तनाव ।

तनावग्रस्त अवस्थामा मात्र उत्पन्न हुने ती मानसिक रोगहरुलाई “तनावसँग सम्बन्धित मानसिक रोगहरु” (स्ट्रेस रिलेटेड साइक्याट्रिक डिस्अर्डर्स ) भनी छुट्टै समूहमा नै वर्गीकृत गरिएको छ । तनाव नभएमा ती रोगहरु लाग्दै लाग्दैनन् । त्यसैले यी रोगहरुका कारकतत्व नै विभिन्न प्रकारका तनावहरु नै हुन् । तनावको परिमाण अनि तनावजन्य अवस्थाको गहनता या गाम्भीर्यता अनि तनावजन्य घटना घटेको समयका आधारमा भने तीन किसिमका मानसिक रोगहरु यस अन्तर्गत पर्दछन् ।

अपर्झट्ट आइपर्ने अनि मानसिक अवस्थामा तुरुन्तै नै अनि धेरै नै प्रभाव पार्नसक्ने तनावजन्य परिस्थितिहरु, जस्तैः भुइँचालो, भूक्षय, बाढीपहिरो, आगलागी, महामारीको प्रकोप आदिले जनधनको ठूलो क्षति गरेको अवस्थाका कारण उत्पन्न हुने मानसिक समस्यालाई एक्युट स्ट्रेस रियाक्सन भनिन्छ । यसका लक्षणहरु हुन् ः छटपटी, बेहोसी, मुटुको ढुकढुकी बढ्ने, डर लाग्ने, निद्रा नलाग्ने आदि । यस्ता समस्याहरु तनावजन्य घटनाको तुरुन्त नै देखा पर्दछन् तर केही घण्टादेखि केही दिनभित्र नै हराएर जान सक्दछन् । माथि उदाहरण १.मा उल्लिखित कृषकको समस्या यस्तै प्रकारको तनावजन्य मानसिक समस्या हो । २०७२ सालको महाभूकम्पको समयमा हामीले यस्ता समस्या भएका व्यक्तिहरु धेरै नै भेटेका थियौं हाम्रो अस्पताल अनि समाजमा । सामान्य भलाकुसारी, सरसल्लाह अनि मनोवैज्ञानिक प्राथमिक उपचारबाट नै बिना औषधि यस्तो समस्याको निराकरण गर्न सकिन्छ । व्यक्तिगत अनि पारिवारिक÷सामाजिक सुरक्षाको प्रत्याभुति, संचार, प्रत्यक्ष भेटघाट या टेलिफोनको माध्यमबाट अप्रत्यक्ष नै भए पनि गरिने कुराकानी, खाना, लत्ताकपडा, अनि बासस्थान जस्ता आधारभूत आवश्यकताको शीघ्रातिशीघ्र परिपूर्ति हुने आश्वासन, सरकारी या राज्यस्तरबाट नै राहत÷सरोकारको सुविधा आदि नै मनोवैज्ञानिक प्राथमिक उपचारका अवयव हुन्् । दुई वर्ष यता विश्वभर व्यापक रुपमा फैलिएको कोभिडको महामारीको अवस्थामा पनि धेरै नै एक्युट स्ट्रेस रियाक्सनका बिरामीहरु हामीले भेटिरहने गर्दछौं । ती सब बिरामीहरुलाई मनोवैज्ञानिक प्राथमिक उपचारकै विधि प्रयोग गरी उपचार गर्ने गरेका छौं । सामाजिक सञ्जालको प्रयोग गरेर वा टेलिफोनको माध्यमबाट गरिने सामान्य कुराकानी मात्रले पनि यस्तो समयमा तनावग्रस्त मन शान्त भएको अनुभव हाम्रो छ । त्यसैले मनोचिकित्सामा टेलिमेडिसिनको समुचित प्रयोग यस्तै अवस्थामा अनि मनोवैज्ञानिक प्राथमिक उपचारका लागि नै गरिनु वाञ्छनिय देखिन्छ ।

अलि गम्भीर प्रकारका तनाव, जस्तैः बलात्कार, गम्भीर दुर्घटनामा आफै पीडित हुनु या त्यस्ता घटनाको प्रत्यक्षदर्शी हुनु, ज्यानै जाने किसिमले आक्रमणको शिकार हुन पुग्नु, युद्धग्रस्त क्षेत्रमा अग्रसर बन्नुपरेको अवस्था आदिका कारण करीब एक दुई महिना जति पछि मानसिक समस्याका लक्षणहरु देखा पर्दछन् भने त्यो समस्यालाई पोष्टट्रमाटिक स्ट्रेस डिस्अर्डर भनिन्छ । यसका प्रमुख लक्षणहरु हुन् ः नराम्रो किसिमको डर, त्यस्तो घटनाको तस्वीर या कुनै किसिमको सम्झना मानसपटलमा बारम्बार आइरहनु, त्यस्तो घटना भएको स्थानबाट तर्कन खोज्नु, छटपटाहट आदि । यो समस्याले व्यक्तिको दैनिकीमा नै धेरै नै प्रभाव पर्न पुग्दछ । माथि उदाहरण २.मा व्याख्या गरिएको किशोरीको मानसिक समस्या यसै प्रकारको हो । यस्तो समस्याका लागि अलि लामो समयसम्म नै मनोवैज्ञानिक मनोपरामर्श या उपचारका साथसाथै चिकित्सकीय औषधोपचारकै पनि आवश्यकता पर्न सक्दछ ।

माथि उदाहरण ३.मा उल्लिखित शिक्षिकाको समस्या तनावका कारण उत्पन्न हुनसक्ने तेस्रो प्रकारको मानसिक समस्या एड्जस्टमेण्ट डिस्अर्डर हो । नजिकका व्यक्तिको मृत्यु, चोटपटक, भयानक रोग लागेको थाहा हुनु, स्थानान्तरण हुनु अथवा पहिलेको अवस्थाबाट परिवर्तन भई नयाँ परिवेशमा स्थापित हुन नसक्नु आदि जस्ता परिस्थितिका कारण उत्पन्न हुने मानसिक उद्वेलन, निराशा, उदासीपन एवं हताशा अनि दैनिक क्रियाकलाप या दिनचर्यामा आउने परिवर्तन, कार्य गर्न असमर्थता जस्ता समस्याहरु देखिन्छन् यसमा । यो करीब छ महिनादेखि २ वर्षसम्म नै पनि रहन सक्दछ, अनि समाजमा अलि बढी नै देखा पर्दछ । नजिकका व्यक्तिको मृत्युबाट उत्पन्न हुने चिन्ता, नैराश्यता, अकर्मण्यता जस्ता शोक या पीडाका लक्षणहरुलाई पनि यसै अन्तर्गत राखिएको छ ।

महिलाहरु विवाहपछि श्रीमान्को घर बस्न पुग्दा, विद्यार्थीहरु घर छोडेर छात्रावासमा बस्न थाल्दा, टाढा जिल्ला या विदेशमा नै स्थानान्तरण हुन पुग्दा, कार्यस्थलमा हाकिमहरुबाट नराम्ररी गाली खाँदा, प्रेमी–प्रेमिकाको बिछोड हुन पुग्दा, कसैबाट नराम्ररी हेपिन पुग्दा (जस्तैः होस्टेलमा नयाँ विद्यार्थीलाई अग्रजहरुले गर्ने ¥यागिङ्ग ), जस्ता अवस्थाहरुमा पनि यसका लक्षणहरु देखिन्छन् ।

तनाव विभिन्न प्रकारका हुन्छन् । जीवनकालभरमा सकारात्मक अथवा नकारात्मक अवस्थामा विविध किसिमका तनावजन्य अवस्थामा गुज्रेका हुन सक्दछन् मानिसहरू । तनावमय अवस्था सकारात्मक अनि नकारात्मक दुवै अवसरमा हुन सक्दछन् । विवाह, पदोन्नति, सन्तानको जन्म, व्यापार व्यवसायमा फाइदा आदि सकारात्मक तनावका प्रकार हुन् भने सम्बन्धबिच्छेद, पद घटुवा हुनु या बेरोजगार बन्नु, नजिकका व्यक्तिको मृत्यु, व्यापारमा हानि, प्राकृतिक प्रकोप, चोरी डँकैती, महामारी आदि नकारात्मक तनावका प्रकार हुन् । तनावमय अवस्थामा सबै जना मानसिक रोगी नै बन्ने भन्ने त होइन । तर आनुवंशीक जोखिमको अवस्थामा रहेकाहरुले भने तनावमय अवस्थालाई सजिलै पार गर्न सक्दैनन् अनि तिनीहरु नै विभिन्न प्रकारका मानसिक रोगहरुको शिकार बन्ने सम्भावना ज्यादा हुने गर्दछ । सकारात्मक नै भए पनि तनावले बाइपोलार डिस्अर्डर अनि एंङ्ग्जाइटी डिस्अर्डर जस्ता मानसिक रोगहरुको लक्षणहरुलाई बढाउने या ती रोगहरुलाई अझै क्लीष्टतामा लैजाने सम्भावना बढी गराउँदछ । नकारात्मक तनावहरुले त डिप्रेसन, साइकोसिस, डिसोसिएटिभ डिस्अर्डर जस्ता मानसिक समस्याहरु ल्याउने भई नै हाले ।

यहाँ वर्णन गरिएका मानसिक रोगहरु भने ती विविध प्रकारका मानसिक रोगहरुभन्दा भिन्न छुट्टै नै प्रकारको मानसिक रोगहरुको समूहमा पर्दछन् जो तनावको उपस्थितिमा मात्र तनावका कारणले मात्र प्रकटमा आउने गर्दछन् । तनाव नभएको अवस्थामा भने यी तीनै प्रकारका रोगहरुको परिकल्पना नै गरिंदैन ।

तनावमुक्त नै हुन सक्नु त श्रेयस्कर भई नै हाल्यो तर पनि कहिलेकाहीं त जीवनमा नजानिंदो तरिकाले अथवा आफूले केही सोची नसक्दै या अचम्मसँग तनावमय परिस्थितिको निर्माण हुनसक्दछ । उदाहरणका लागि, दैवी या प्राकृतिक प्रकोप अनि महामारी अथवा अचानक दुर्घटनामा नै पर्ने अवस्थाको त कसले पो पूर्वानुमान गर्न सक्ला र ? त्यस्तो तनावमय अवस्थामा माथि उल्ल्ेख भएका जस्ता “तनावसँग सम्बन्धित मानसिक रोगहरु” (स्ट्रेस रिलेटेड साइक्याट्रिक डिस्अर्डर्स ) लाग्न नदिनका लागि तनावको समुचित व्यवस्थापन अनि मनोवैज्ञानिक प्राथमिक उपचारका चरणहरु नै अत्यन्त महत्वपूर्ण मनोचिकित्सकीय रोकथामका पाटाहरु हुन सक्दछन् । यसका लागि योग, गहिरो श्वासप्रश्वासका आसनहरु, प्राणायाम, कसरत, ध्यान, विश्राम जस्ता विधिहरु प्नि प्रभावकारी पाइएका छन् । तर, तनावका कारण नै माथि भनिएभैंmका समस्याहरु आइपरेमा भने मनोचिकित्सक या मनोपरामर्शकर्ताको सल्लाह–सुझाव लिन हिच्किचाउनु हुँदैन ।