पहिले यो गजल पढ्नुहोस् –

म नेपालको सानको गीत गाऊँ

सधैँ राष्ट्रको वन्दना गुनगुनाऊँ

मलाई कुनै स्वर्ग चाहिन्न अर्को

गरी कर्म नेपालमै मर्न पाऊँ

प्रतिज्ञा गरेको छु मालिक नबन्ने

म सेवक हुँ सेवा गरेरै रमाऊँ

सुधा तुल्य मानिन्छ आफ्नो कमाइ

म आफै गरूँ श्रम, कमाएर खाऊँ

छ तिर्खाएजस्तो धरा उर्वरा यो

बगाएर पसिना म माटो भिजाऊँ

जहाँ नाङ्गिएका पखेराहरू छन्

म पोखूँ त्यहाँ सीप हरियो गराऊँ

म सन्तान तिम्रै हु नेपाल आमा

पुजूँ शुद्ध मनले सधैँ शिर झुकाऊँ

अर्कान—१२२.१२२— १२२.१२२

साभार–निभेका शिखा

गजल अरबी साहित्यमा कसिदापछिको प्रणयगीतका रूपमा चिनिएको तस्बिबको गर्भबाट जन्मिएको काव्यको एक प्रकार हो । त्यसैले यसको पदगत अर्थले पनि प्रेमिकासँगको संवादलाई बुझाउँछ । वस्तुतः गजलको उद्भव प्रेम र शृङ्गारकै पृष्ठभूमिबाट भएको हो भन्ने कुरा यसको इतिहासको अध्ययनबाट जानकारी हुन्छ । खासगरी स्त्रीसित सम्बन्धित अर्थको संवाहक भएकाले गजललाई पहिलेपहिले प्रेमिल र शृङ्गारिक काव्य विधाका रूपमा लिइन्थ्यो र शृङ्गाररस नै यसको मुख्य रस हुनुपर्दछ भन्ने दृढ मान्यता पनि थियो । त्यसैले त आज पनि पुरानो विचार भएका मान्छेहरू गजलको मूलकथ्य प्रेमविषयक नै हुनुपर्दछ भन्ने कुरामा आग्रह गर्दछन् ।

स्त्रीको वाणी वा स्त्रीसँगको कुराकानी भन्ने अर्थको आधारमा गजललाई प्रेम र शृृङ्गारको सङ्कीर्ण घेरामा मात्र बन्दी बनाउने युगको समापन भइसकेको छ । आज विश्वव्यापी रूपमा नै गजलको कथ्य विषय प्रेममा मात्र बन्धित छैन । यसको अर्थ विस्तार भइसकेको छ । आजका गजलकारहरूले पुरातन मान्यताको पर्खाल भत्काइसकेका छन् । अब प्रणयधर्मी र शृङ्गारिकताको सङ्कुचनबाट गजल उन्मुक्त भइसकेको छ । समाजमा आफूले देखेका, भोगेका, सुनेका र अनुभूति गरेका कुनै पनि विषयलाई आजका गजलकारहरूले गजलका सेरहरूमा प्रतिविम्बित गरेको पाइन्छ । वस्तुतः व्यक्तिको जिन्दगीको चित्र र समाजिक चरित्रको प्रतिविम्ब बनिसकेको छ आजको गजल । सामाजिक, राजनीतिक र व्यावहारिक जीवनका विविध पक्षहरूले आजको गजलमा कथ्यका रूपमा स्थान ओगटिसकेका छन् । समसामयिक गजलको सेरोफेरोमा सामाजिक चेतनाको व्याप्ति देखिन्छ । प्रणयभाव मात्र गुनगुनाउने हिजोको गजल आज विद्रोहको स्वर उराल्ने, अव्यवस्था र अन्याय अत्याचार विरुद्ध कुर्लने काव्यविधाका रूपमा समेत चिनिन्छ । फैज अहमद फैजले एउटा मिसरामा और भी गम हैँ जमाने में मोहब्बत के सिवा भनेझैं अब गजलमा प्रेम मात्र मुखरित हुँदैन ।

केही प्रश्नहरू —

गजलको पदगत अर्थ के हो ?

पुरानो विचार भएका मान्छेहरू गजलको कथ्य के हुनुपर्छ भन्ने आग्रह गर्दछन् ?

आजको गजलले केकस्ता कथ्य/विषयलाई स्वीकार गर्दछ ?

(बहर र गजलबाट साभार)