साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फन्टुस फिक्सन

धारावाहिक उपन्यास १

Chovar Blues Mobile Size

उद्घाटन

सुरुमै कथा भन्दिनँ ।
सुरुमा कविता पनि भन्दिनँ ।
सुरुमा गजल पनि सुनाउँदिनँ ।
जबसम्म कथाले माग्दैन, तबसम्म यी काम गर्नुको कुनै मजा छैन । सुरुमै सबैथोक भनिहालेँ भने, निश्चित रूपमा उप्रान्त बाँकी म जे भन्न खोज्दैछु, त्यो सुनाउनु र नसुनाउनुको कुनै अर्थ रहँदैन । त्यसो त सुरुमै म केमा सहमत छु भने, पछि तपाईं पनि सहमत हुनुहोला, एउटा लामो कथावाचकले कम से कम त्यति धैर्य चाहिँ देखाउनै पर्छ । श्रोता पनि त्यहीस्तरको र त्यति नै समयवाला भेटिनु पर्छ । नत्र त लेख्नेले लेख्ने हो, नपढ्नेले नपढिदिइसकेपछि सक्किगो नि ! हेर्ने कोही नभएको ठाउँमा एक्लै सेल्फी खिचेर रमाउनु के रमाउनु ? मजा त तब आउँछ कि देख्नेले किकर लेखोस्, सेल्फीको बिन्दास दिवाना/दिवानी !
तर, यो सबै मैले भन्दै आएको कुरा हो । यसमा नयाँ, नवीन, नूतन केही छैन । त्यति हो कतिले सुन्नु भएको होला, कतिले सुन्न पाउनुभएको छैन होला । यदि आजसम्मको जिन्दगीमा तपाईंले मलाई कुनै दिन कहीं–कतै कुनै मोडमा तपाईंको जिन्दगीको आधा घन्टाभन्दा बढी समय दिनुभएको रहेछ भने तपाईंलाई फन्टुस फिक्सनका बारेमा पक्कै पनि केही न केही थाहा छ । किनकि इमानदारीपूर्वक जतिबेला तपाईंसँग मैले यसको चर्चा गरेको छु, यसको एउटा पात्र तपाईं पनि हो भनेर पक्कै भनेको हुँला ।
यति भनिसकेपछि यसभन्दा उताका बाँकी कुराहरू पढ्नुस् म भन्दिनँ । मेरो साथी स्वागत नेपालले भने जस्तो प्लिज नपढ्नुस् ! पनि भन्दिनँ । किनकि सुरुमा त्यो आलेखको शीर्षक नपढ्नुस् मात्रै थियो । अगाडि प्लिज थपेर सम्पादन गर्ने र छाप्न लगाउने मान्छे मै हुँ । विचरालाई हजार रुपैयाँ पारिश्रमिक दिउँला भनेर त्यो लेख्न लगाएको थिएँ । पछि पाँच सय रुपैयाँमा आउनुपर्‍यो । तैपनि आफ्नो खल्तीबाट हाल्नुपर्ने भो । दिएको छुइनँ । दिन्छु कुनै दिन ।
फन्टुस फिक्सनको उद्घाटन यसरी गरुँला वा होला भन्ने लागेको थिएन । केदार दाइलाई, महेन्द्र विष्टलाई, अकिञ्चन खतिवडा, साम्ब ढकाल, स्वागत नेपाल, कृष्ण सर्वहारी, धीरज भट्टराई र तपाईंलाई सुनाउँदा अनि मनमनै कल्पना गर्दा अर्कै कुरा भनेको थिएँ मैले । सम्झना छ ? छैन भने पनि केही छैन । तपाईंको सजिलोका लागि अलिकति रिक्याप गरुँ म ।
खासमा त्यसको स्टार्टिङमा के थियो भने, यो कथानकको मूल नायक म आफैँ हुन्छु । मजस्ता अरू पनि होलान् धेरै । तर, यहाँ चाहिँ मै मात्र हुँ । प्रारम्भकी नायिका हुन्छिन्, सुवानी । वास्तविक जिन्दगीमा म सुवानीलाई तपाईं नै भन्छु । तपाईं मात्र किन, अझ दिदी नै भन्छु । आवश्यक पर्‍यो र तपाईंलाई सुन्न इच्छा भयो भने पछि उनको वास्तविक नाम पनि भनुलाँ । तर, यो सिनमा चाहिँ मैले तिमी नै भन्नुपर्छ । अब उपन्यासकै नायिका सोचिसकेपछि त्यसमा अलिअलि फिक्सन त हुनै पर्‍यो नि ! नत्र न भन्नेलाई मजा आउँछ, न सुन्नेलाई मजा आउँछ, न जसका बारेमा भनिएको हो उसलाई नै मजा आउँछ ।
हामी एउटै गाडीमा बसेर चतरा जाँदै हुन्छौं । उनकै गाडीमा । ड्राइभर छ एउटा, त्यसको नाम अहिले बिर्सिएँ । कोही मत्थु थियो जस्तो लाग्छ । तर, त्यतिखेर उसले खाएको थिएन । हामीतिर ध्यान दिएको पनि थिएन । कि दिएको थियो, थाहा छैन ।
हामी पछाडिको सिटमा बसेका थियौं । अब एउटै सिटमा बसेपछि बेलाबेलामा गाडी हल्लिँदा यसो हल्काफुल्का टच त भइहाल्छ । म बिहे गरेको केटा उनी अहिलेसम्म बिहे नगरेकी केटी । म बिहे गरेको केटा मात्र होइन, खाइखेली गरेको पत्रकार भन्दा पनि हुन्छ तर त्यस्तो केही भल्गर होइन ।
ड्राइभर आफ्नै सुरमा खड्याङ–खुडुङमा धूलो उडाउँदै गाडी हाँक्दै थियो । गाडीको नम्बर र ब्रान्ड चाहिँ भन्दिनँ । फ्याट्ट तपाईंले उनलाई चिन्नुभयो भने सिचुएसन अर्कै हुन सक्छ ।

हामी बुढेसकालमा डेटिङमा जाँदैछौं । बुढेसकाल नै भनौं, जीवनको आधा उमेर बाँचिसकेपछिको कुरा हो यो । यहाँनेर अलिकति फिक्सन छ । तर, के फिक्सन छ, त्यो भन्दिनँ । आफैँ पत्ता लगाउनुहोला ।

हामी बुढेसकालमा डेटिङमा जाँदैछौं । बुढेसकाल नै भनौं, जीवनको आधा उमेर बाँचिसकेपछिको कुरा हो यो । यहाँनेर अलिकति फिक्सन छ । तर, के फिक्सन छ, त्यो भन्दिनँ । आफैँ पत्ता लगाउनुहोला ।
जाँदाजाँदै बयरवनदेखि अलिकति पूर्व त्यो खहरेले बगाको गेगर थुप्रेको, अलि सुनसान, अलि जङ्गल–जङ्गल परेको ठाउँ छ । त्यहाँ पुगेपछि मैले सोधेँ ।
‘सुवानी ! एउटा कुरा सोधुँ ?’
‘के कुरा ? सोध न ! सोध्नलाई पनि अनुमति लिनु पर्छ र ?’
‘होइन, तिमी रिसाउँछ्यौ कि भनेर । अप्ठेरो मान्छ्यौ कि भनेर ।’
‘किन रिसाउने ? तिमी पत्रकार मान्छे, सोध्न मिल्ने नै कुरा सोध्छौ होला नि !’
‘तिमीले अहिलेसम्म बिहे किन नगरेको ?’
‘ए, यति जाबो कुरा ! मन लागेन त्यसैले । सिम्पल छ एन्सर ।’
पत्रकारजीलाई यति उत्तरले मात्र चित्त कहाँ बुझ्थो र ! मलाई थाहा छ, उनले आफूले बिहे नगर्नुका कारणहरू केके भनिन् । तर, यतिबेला तपाईंलाई म फन्टुस फिक्सनको उद्घाटनको सिन सम्झाउँदै छु ।
अलिकति पश्चिम लागेपछि फेरि त्यस्तै अलिकति सुनसान ठाउँ आयो ।
‘ल, ठीक छ, त्यसो भा एउटा अर्को कुरा सोधुँ ?’
‘तिमीले सोध्न खोजेको कुरा, जान्न चाहेको कुरा के हो थाहा छैन । तर, तिम्रो यो प्रश्न सोध्ने स्टायल चाहिँ मन पर्‍यो है ।’
‘धन्यवाद ! सङ्गत कसको छ थाहा छैन ? खरबुजेको देखकर खरबुजा रङ बदलता है ।’
‘कोइसन भन न कोइसन, सायरी होइन ।’
‘भन्दै छु त !’
‘सुन्दै छु नि म पनि !’
‘साँच्चै सोधुँ होइन त ?’
‘सोध न बाबा !’
‘साँच्चै ?’
‘साँच्चै !’
म कलेजको जमानामै यसो केटीहरूको अनुहार हेरेर आज तिम्रो मिन्स भाको छ हो भनेर सोध्ने मान्छे । सुवानीसँग त के लजाउनु थियो र ? त्यो मिन्सको कुरा चाहिँ कसलाई सोधिस् नि भन्नुहोला फेरि । एउटा ठूलै सेलिब्रिटीकी छोरीलाई सोधेको थिएँ मैले । इनरुवामा भगवती स्कुलको फिल्डमा पिपलको छाहरीमा बसेका बेला सोधेको थिएँ उनलाई । उनको नाम तपाईंलाई थाहा पाउने इच्छा छ भने पछि त्यो पनि भनुँला । अहिले चाहिँ त्यही दिनको प्रश्नमा फर्किऊँ ।
‘ल, नरिसाऊ है त !’
‘हुन्छ ।’

‘तिम्रो जीउमा अहिलेसम्म कसैले हात हालेको छ कि छैन ?’
‘…. …. ….!’
‘…. …. ….!’
‘तिमी आफैँ बुझ न । यसको उत्तर मैले के भन्नु ? मिलाएर बुझ्दा भैहाल्छ नि !’
अब म के बुझ्नु ? आफ्नै मनले फिक्सन गरेर के बुझ्नु ?
त्यसपछि चतरा आयो । फुल्ठेगौंडा पनि आयो । अरू कता–कता कुरा घुमे । मेरो मास्टरी जागीर, सोलुखुम्बूका स्याउ जस्ता राता गाला, उनको क्याम्पस जमाना र कालिम्पोङका हरिया सपनाहरूका कुरा भए । तर, मैले सुवानीको मुखबाट सुन्न चाहेको जवाफ आएको थिएन ।
पुल्ठेगौंडाका बारेमा अलिकति बयान गरुँ । उहिलेको कुरा सम्झिनू । सम्झिनू कि ऊ बेला त्यहाँ जङ्गलै–जङ्गल थियो । सुम्निमा सम्झिनू, पारुहाङ सम्झिनू । बिपी कोइरालाको उपन्यासका पात्र । केटा बाहुनको छोरा थियो, केटी किराती । ऊ बेला कोसी मुखबाट बाहिर आफूखुसी फैलिएर बग्थ्यो । अनेक भङ्गाला थिए । बाँध बाँधेको थिएन । नहर बनाको थिएन । बस्ती बसेको थिएन । समय अन्तरमा नहर बन्यो, बस्ती बस्यो, जङ्गल मासियो । आवश्यकता अनुसार बाँध बनाइयो, कोसी खुम्चियो ।
बेलाबेलामा कोसीलाई त्यसरी खुम्चिनुपरेको मन पर्दो रै’नछ । सप्तकोसी न हो आखिर ! नेपालको सबैभन्दा ठूलो नदी । ऊ पनि के कम । काट्दै आउँछ, पूर्वतिर आसामको जङ्गलबाट आएको पाहुना मकुनाजस्तो ढल्किँदै । जति पूर्व ढल्किन्छ उति निद्रा हराउँछ, माझीगाउँको ।
काट्दा–काट्दैको पानीको धारलाई रोक्न भारतीय इन्जिनियरहरूले बनाको एउटा ढुङ्गे स्पोरमा बसेका थियौं हामी । तीन नम्बर स्पोरमा । पानी बटारिएर, हान्निएर आउँथ्यो चतरातिरबाट र गुन्गुनाउँदै जान्थ्यो कोसीटप्पुतिर । बीच–बीचमा हामी बसेको ढुङ्गामाथि ढुङ्गा खप्ट्याएर जालीमा भरिएको स्पोरमा ठोक्न्थ्यिो । त्यहीबेला सररर्र उडेको पानीको वाफलाई घरी एउटा हल्केलामा समातेर, घरी खुट्टा चुम्न लगाएर सुवानी रमाएको म एकोहोरो हेरिरहेको थिएँ ।
म पश्चिमतिर सुवानी पूर्वतिर लगभग टाँसिएर बसेका छौं । गाडी र ड्राइभर निकै माथि छन् डिलमा । पर एका–दुई गाउँले र जालीमा ढुङ्गा भर्न खटाइएका कामदारहरू देखिँदै थिए ।
सुवानी मलाई मनपर्ने नाम हो, उनको बाबाले राखेको । अरूतिर सानले देखाउँदै यो छोरी मेरी सुवानी छे भन्नुहुन्थ्यो रे ! सबैले सुवानी सुवानी भन्दाभन्दै उनलाई पनि प्रिय लाग्न थालेछ । तर, उनको अफिसियल नाम अर्कै छ ।
म चाहिँ सुवानी नै भन्छु ।
कुरै–कुरामा मैले त्यही कुरा कोट्याएँ ।
‘सुवानी ! तिमीले अघि मेरो प्रश्नको उत्तर दिइनौ नि !’
‘कुन प्रश्न ?’
‘त्यही हातवाला ।’
‘भने नि मिलाएर बुझ ।’
‘त्यसो भए म पनि अलिकति हात मिलाऊँ त ?’
‘ए ए ए, के गरेको यस्तो, अहिले प्याट्ट एक थप्पड हान्छु अनि !’
कसम भन्छु, मैले हात हाल्नलाई होइन, उनको देब्रे हात छुनलाई हात बढाएको थिएँ । तर, हुने दिन–दशा सुरुमै कसलाई थाहा हुन्छ र ! उनले मलाई हिर्काउन खोजेजस्तो गरेर मोबाइल बोकेको दाहिने हात मेरो गालातिर ल्याइन् । म पनि त्यही न हो । अलिकति जिस्किने मुडमा यसो अलिकति पश्चिम ढल्केको फुत्रुङ्ग पानीमा झरी त हालेँ ।
यहाँसम्मको कथानक मैले तपाईंलाई भनेको छु । त्यसपछि बाँकी के भयो भन्न बाँकी छ ।

प्रतिक्रिया
Loading...