३ डिसेम्बर २०२०, बिहीबार:

जिम्बावे हाइटमा गएर सूर्योदय हेर्ने उत्सुकता र हुटहुटीले बिहान साढे चार बजे नै ब्यूँझायो । नित्य कर्मपछि कालो चिया पिएर प्रस्थान गर्दा ५:२० भएको थियो । झिसमिसेमा राफल्स होटेलको स्टाफ आवासीय प्रवेशद्वार नेपाली सेक्युरिटीले रिमोट कन्ट्रोलबाट खोलिदिएपछि हाम्रो कारले जङ्गली बाटो समातेर बतासियो । पन्तजी लगायत मनोज, निरोज, पुरुषोत्तम र म पाँचजना अगाडी नै पुग्यौं । आज पनि कार सारथी त पुरुषोत्तमजी नै । घरि जङ्गली बाटो त घरि समुद्र तटीय लम्पट छिचोलेपछि जब कार उकालोतर्फ मोडियो, अब मैले सेसेल्स बिर्सें, नेपाल सम्झें । लाग्दैछ- नेपालकै कुनै विकट उकालो चढ्दैछु । अझ गाडीको बाटो छोडेर उकालो मात्र सम्झिने हो भने भोजपुर सदरमुकामबाट मुलाबारीको उकालो हुँदै श्यामशिलाको नागी चढ्दैछौं हामी । रातो माटो उस्तै, भिरालो बाटो दुरुस्तै । धन्न यहाँ यस्तो विकट बाटोमा पनि अलकत्रे पिच गरिएकोछ ।

करिब पन्ध्र मिनेटको बाटो बाँकी थियो, सडक टुङ्गियो । कारलाई साइडमा विश्राम दिलाएर यताउति बाटो खोज्यौं । एउटा सानो गेट थियो, तर ताल्चा लगाएको । फलामे तारको बार नाघेर थप उकालो चढ्यौं । सायद त्यो क्षेत्र खुल्ने समय भएकै थिएन । तर हामीले बलपूर्वक सिमा पार गर्यौं, नेपाली न पर्यौं ! पन्ध्र मिनेटको नाक ठोक्किने उकालो पैदल चढेपछि जब जिम्बावे हाइटको थाप्लोमा पाइला राख्यौं, स्वर्ग यहि हो कि जस्तो अनुभूत गर्यौं । मनमा एकाएक स्फूर्ति उर्लेर आयो । बिहानको भुकभुके अँध्यारो रहलपहल बाँकी नै थियो । अँध्यारोको साम्राज्य सकिएर उज्यालो खस्दै गर्दा समुद्रको दृश्य पानी होइन, कुनै विशाल हरियो फाँटजस्तो मनोरम देखिँदो रहेछ ।

भालेको डाक अगावै घर छोडेर धनकुटा क्याम्पस पढ्न झोला बोकेर पैदल जाँदा अरुण नदी देखिने सिरसिरे डाँडाको फिरफिरे बतास बिर्साएर एक भुल्को चिसो हावा कानैछेउबाट गयो । नोस्टाल्जिक बन्दै रमाएर गीत उराल्यौं, निरोजले बाँसुरी बजाए । स्थानिक रैथाने चराहरुले पनि भाका मिलाए हामीसँग । सूर्योदयको प्रतीक्षा गर्दै पूर्वी क्षितिज नियाल्न थाल्यौं । सेसेल्स मौसम विज्ञान प्राधिकरणको सूचना ६:२० मा सूर्योदय हुने थियो । अब हाम्रो ध्यान रातो हुँदैगरेको सुदूर सगरमै थियो । हाम्रा आँखाहरु परेला नझिम्काई घाम झुल्किने दिशातर्फउन्मुख थिए । स्निग्ध बादलले बनाएको सुकुमारी मानव स्त्री आकृतिले बोकेको स्वर्णिम सुनको कोक्रोबाट नवजात शिशु खेलेझैं फुत्त देखियो । त्यो अद्भुत घामको डल्लो देखेर हामी चकित भयौं । बिहानको सुनौलो किरणमा सागर र सगरको सम्मिलन यति आकर्षक देखिन्थ्यो कि, बयान गरीसाध्य छैन । सूर्योदय यहि थियो, हामी यहि हेर्न आएका थियौं र त्यो देख्यौं । मन प्रफुल्ल भयो त्यो अलौकिक दृश्यानुभवले । अरु साथीहरुले त यो अनुभव पहिला पनि गरिसकेका रहेछन्, म नयाँ थिएँ ।

इलामको श्रीअन्तुबाट सूर्योदय देखिन्छ भन्छन्, अहिलेसम्म त्यो अनुभव गरेको छैन । दार्जीलिङ पटकपटक गइयो, टाइगर हिल पुगेर सूर्योदय हेर्न भ्याइएन । मलेसिया पाँच वर्ष बसियो, क्यामेरोन हाइल्याण्ड जाने र सूर्योदय हेर्ने रहर अधुरै छोडेर स्वदेश फर्किईयो । आज साइत जुर्यो सूर्योदयको प्रत्यक्षदर्शी हुने । यसको सम्पूर्ण श्रेय पन्तजी र मनोजजीलाई जान्छ । यो अनुपम चाँजोपाँजो मिलाउने उनीहरुलाई धन्यवाद ज्ञापन गरें मैले । हामीले जिम्बावे हाइटलाई ‘सेसेल्सको श्रीअन्तु’ मौखिक नामाकरण गरिदियौं । त्यहाँबाट त सेसेल्सका प्रमुख आइल्याण्डहरु प्रष्टै देखिंदा रहेछन् । हामी सेसेल्सको दोश्रो ठुलो आइल्याण्ड प्रालिनको सर्वोच्च शिखर जिम्बावे हाइटमा थियौं । यहाँबाट प्रालिन आइल्याण्डका अधिकांश भाग त देखिने नै भए, वर-परका आइल्याण्ड पनि मज्जैले देखिंदा मन भुरुरु उडेर उतै पुगूँला झैं गर्दोरहेछ । दक्षिण पश्चिमतिर राजधानी भिक्टोरिया भएको पहिलो ठुलो आइल्याण्ड माहे लमतन्न देखिन्थ्यो । उत्तरपूर्वी तटमा तेश्रो ठुलो आइल्याण्ड लाडिग सँगै अन्य स-साना आइल्याण्डहरु शिल्ह्वेट, कुजिन, कजिन, क्युरियस, फेलिसिटे, राउण्ड, मारी आन् लहरै उभिएका थिए । प्रालिनका यी छिमेकी टापुहरु लाहुरे भर्ति हुन मैदानमा उभिएका नौजवान जस्तो आकर्षक देखिन्थे । पर एकलास्टमा देखिन्थ्यो फ्रिगेट आइल्याण्ड । समुद्रले सौतेनी व्यवहार गरेर त्यति टाढा छोडेछ त्यसलाई बरा…! मेरो कर्मक्षेत्र, मेरो दोश्रो घर समान ।  स्वर्गबाट खसेको एक टुक्रा झैं मेरो प्यारो फ्रिगेट आइल्याण्ड ।

त्यसो त योभन्दा टाढा-टाढा अरु आइल्याण्ड पनि छन् । विकट रुकुम, रोल्पा भन्दा दुर्गम । तर, सामुद्रिक देशमा भौगोलिक विकटता भन्ने चिज नै नहुँदोरहेछ । सबैतिर पानीजहाज-हवाईजहाज पुगिहाल्ने, सूचना–संचार भइहाल्ने ।

अन्य साथीहरु थानेश्वर तिमल्सिना,भिम बिक, चन्द्र गुरुङ, विवेक र भूमिराज लामा झोलाझ्याम्टा बोकेर हुरुरु आइपुगे । नेपाली झण्डा, मादल, बाँसुरी, खैंजडी पनि भिरेका थिए । त्यो डाँडामा बिद्धुत र टेलिकमका टावर थिए । उपकरण र जेनेरेटर राखिएका २-३ प्राविधिक घर पनि थिए । एउटा घरको बरन्डामा बसेर आजको भ्रमण समिक्षा गर्यौं । त्यहाँ पनि सानोतिनो ड्राई पिकनिक कै आयोजना रहेछ । साथीहरुले अघि ल्याएका पोका खोले । सेसेल्समा पहिलोपटक नेपाली चिउरा खाइयो । साथमा स्यान्डविच, बिस्कुट, भुजा, कोकाकोला सँगै गानाबजाना चल्यो ।

जिम्बावे हाइट्स सेसेल्सको दोश्रो ठुलो टापु प्रालिनमा अवस्थित छ । यो विश्वप्रसिद्द आन्स लाजियो बीचबाट नजिकै पर्छ । यो पहाडी टुप्पो अर्थात माउन्ट जिम्बावे प्रालिन आइल्याण्डको उच्चतम बिन्दु हो, जहाँ हिन्द महासागरको गर्भबाट सूर्योदय र सूर्यास्त दृश्यहरूको दर्शन गर्न सकिन्छ । सामान्यतया कार वा चार्टर्ड कारबाट यहाँ आउन सकिन्छ तर पहाडी सडक, ठाडो ढलान, धेरै घुम्तीहरु, र साँघुरो सडक खण्डहरु भएकोले सितिमिति ड्राइभ गर्न सकस पर्छ । मोशन सिकनेस भएका व्यक्तिहरूलाई चक्कर लाग्ने, उस्तै परे वान्ता हुने हुनसक्छ । शुरु-शुरुमा गाडी चढ्दा धरान-धनकुटाको सडकमा खुब उल्टी हुन्थ्यो मलाई पनि ।

यो जिम्बावे देशको नाम होइन! यथार्थमा जिम्बावे पोइन्ट औपचारिक रूपमा ग्रान्ड फन्ड भनेर चिनिने स्थानीय नाम रहेछ । यो अधिक उच्चस्थानमा भएकोले, त्यहाँ एक दूरसञ्चार टावर बनाइएको रहेछ । पहिला टावर स्थापना गर्दाको बखतमा काम गर्ने धेरै आप्रवासी कामदारहरु जिम्बावे (देश) बाट आएका थिए र निर्माण स्थलमा बस्दै आएका थिए । त्यसैले ती कामदारहरूले परियोजना सकेर स्वदेश फर्किनु अघि उक्त ‘ग्राण्ड फन्ड’ माउन्टलाई ‘जिम्बावे माउन्ट’ उपनाम दिएर गए । त्यसपछि यो ठाउँ “जिम्बाब्वे हाइट्स” कै नामले चर्चित हुन् थालेको रहेछ ।

मध्यान्हसम्म जिम्बावे हाइटमा रमाइलो गरेपछि त्यहाँबाट हाम्रो टिम छुट्यो । अफिसबाट अत्यावश्यक कामको फोन आएकोले मनोज बिचैमा होटेल फर्के । बाँकी हामी विश्वको चर्चित बीच आन्स लाजियो गयौं । “आन्स लाजिओ बीच” प्रालिन आइल्याण्डको सर्वोत्कृष्ट, सेसेल्सको उत्कृष्ट, हिन्दमहासगरिय क्षेत्रको उत्कृष्टमध्य एक र विश्वका दश उत्कृष्टभित्र पर्ने सुन्दर सामुद्रिक तट हो । प्रालिन आइल्याण्डको पर्यटन आकर्षणको ठुलो हिस्सा नै “आन्स लाजिओ बीच” रहेछ । यहाँको सफा पानी, सुन्दर दृश्य र सुनौला बालुवाको कारण । स्मरणीय छ: म कार्यरत फ्रिगेट आइल्याण्डको “आन्स भिक्टोरिन बीच” पनि सुन्दरतामा विश्व प्रसिद्द मानिन्छ । मलाई भने सेसेल्सका हरेक सामुद्रिक तट एकसेएक लाग्छन् ।

समुद्र तट भीमकाय चट्टानले घेरिएको भए पनि सेसेल्सका अन्य समुद्र तटजस्तो ‘आन्स लाजिओ’ कोरल चट्टानद्वारा सुरक्षित भने रहेनछ । कारण: आन्स लाजिओ खाडीभित्र दुई घातक शार्क आक्रमण भएका रहेछन् । सन् १९६३ को आक्रमण त रेकर्ड नै रहेछ । सन् २०११ मा पनि मिडियामा यस्तै अर्को अपुष्ट खबर आएको रहेछ । जे होस्, हामीले भने त्यहाँ भरपुर मनोरन्जन लियौं । समुद्र तटमा क्याम्प खडा गरेर नेपाली झण्डा फहराउँदै राष्ट्रिय गीत, लोक गीत र भजन समेत गाउन भ्यायौं । ‘सगरमाथाको शिर, नेपाली झण्डा उचालेर समुद्रको तिरमा’ फोटो त कति खिच्यौं-खिच्यौं पत्तै भएन ।

मैले समुद्र राम्रोसँग देखेको पनि सेसेल्समै हो । मलेसिया र सिंगापुरको सीमाक्षेत्रमा पहिल्यै देखेको समुद्र धमिलो थियो । समुद्र पनि हो कि होइन जस्तो । सानो कुइनेटो जस्तो । त्योभन्दा विशाल र भव्य त आफ्नै सप्तकोशी देखेकोछु कति-कति जस्तो लाग्थ्यो । पहिलोपटक सेसेल्स ओर्लिंदा देखेको समुद्र नै सक्कली समुद्र रहेछ । यस्तो पो हुँदोरहेछ खास समुद्र त जस्तो लाग्यो । हुन पनि मौसम सफा भएको बेला यहाँको शान्त र स्निग्ध समुद्र हेर्दा भोक-तिर्खा हराउँछ । पानीभित्र जलचरहरुका क्रियाकलाप प्रष्टै देख्न सकिने क्रिस्टल क्लिन समुद्र देख्दा यति सफा र पवित्र चिज यो पृथ्वीमा अरु केहि छैन झैं लाग्छ । तीनभागमा एक भाग जमिन र दुई भाग पानी छ यो पृथ्वीमा भनेर पढेको पुरानो कुरा यतिखेर हो लाग्छ, जब आँखा अगाडी समुद्रको निलो पानी बाहेक अरु केहि देखिन्न । ऊबेला त भूपरिवेष्ठित देशमा बसेर पढ्दा किताबका कुरा मिथ्या लाग्थ्यो । किनभने आफ्नो परिसर चारैतिर हरियाली बनजङ्गल सहितको जमिन मात्र देखिन्थ्यो ।  यो भूगोल नाप्ने सबैभन्दा तल्लो बिन्दु समुद्र सतह नै त हो । शिरमा सगरमाथाको उचाई बोकेर समुद्रको तिरैतिर डुलेको पनि दसकौं भइसक्यो । जसरी चरालाई पिंजडामा राखे नि, हातको औंलामा टेकाए नि रुखको हाँगा सम्झिन्छ । जति होचो भूभागमा उभिए पनि नेपालीको शिर भने सधैं उचो नै हुनेरहेछ । समुद्र तटमा जति अग्ला मान्छेहरु देखे पनि आफु भन्दा ठुलो कोहि छैन जस्तो लाग्दोरहेछ । झन् हातमा राष्ट्रिय झण्डा र ओठमा राष्ट्रिय गान एकसाथ भएपछि त गर्वले फुलेको छाती कुन पत्थरले फोड्न सक्ला र जस्तो साहस उर्लिंदो रहेछ । अझ संसारकै युनिक नेपाली झण्डाको स्वरूप देखेर चकित बिदेशीहरु झुम्मिंदा त, नेपाली भन्दा महान जाति अरु कुनै छैन भन्ने ठहर नै गर्दोरहेछ मनले ।

कोरोना कहर भए पनि पर्यटकहरु बाक्लै देखिन्थे आन्स लाजिओ बिचमा । कोहि पौडी खेलीरहेका, कोही अर्धनग्न फोटो खिचिरहेका, कोही बालुवामा तौलिया ओछ्याएर खानपिन गरिरहेका । नेपाल घुमिसकेको एक हुल हामी छेउ आयो र हाम्रो सांस्कृतिक कार्यक्रममा ताली बजाएर हामीलाई सघायो । आन्स लाजिओलाई सुनौलो बालुवा, क्रिस्टल क्लिन पानी, र प्रभावशाली ग्रेनाइट संरचनाहरूको सही मिश्रणको लागि संसारको सबैभन्दा सुन्दर समुद्र तटको रूपमा वर्णन गरिएको पाइयो । सेसेल्सका अन्य सामुद्रिक तटहरूभन्दा यो प्रतिष्ठित बीच अधिक व्यस्त हुँदोरहेछ । तसर्थ अन्य पर्यटकहरूबाट बच्न खोज्ने जो कोहीले भीडलाई हराउन बिहान चाँडै (नौ बजे भन्दा पहिले) आइपुग्नु उत्तम हुँदोरहेछ ।

समुद्र तटमा आगमन गर्न कार पनि पुग्ने भएकोले सजिलो छ । समुद्र तटको नजिक तीन पार्किंग क्षेत्रहरु छन् रूखको सित्तल छायाँमुनि । निकटतम बस स्टप अलि टाढा छ, यद्यपि केही होटलहरूले आन्स लाजिओलाई शटल सेवाहरू प्रस्ताव गर्दारहेछन् । यसको प्रसिद्धिले धेरै मानिसहरू पहिलोचोटी यसलाई देख्दा, क्षणमै तिनीहरूको सास टाढा लैजान्छ। सूर्य, समुद्र र बालुवाको उत्तम संयोजनले यसलाई कुनै परिभाषाले बोक्दैन । यहाँ एक तोकिएको पौडी क्षेत्र जालले घेरिएको छ जसले माछा र अन्य जीवहरूलाई गडबडी गर्ने पौडीबाजहरूबाट जोगाउँछ, र त्यहाँ प्राय: एक लाइफगार्ड अन-ड्युटी हुन्छ । आगन्तुकहरूले पानीमा हुँदा सुरक्षित महसुस गर्न सक्छन् भन्ने सुनिश्चित गर्दै।

समुद्र तट स्नोर्केलिङ र डाइभ खेल्नेहरुको लागि पनि उत्कृष्ट छ । क्रिस्टल क्लिन पानीमा ठूलो दृश्यताको साथ, बाल-बच्चाहरूले र पारिवारिक रोमान्सका अनुपम दृश्य देख्न सकिन्छ विशाल बलौटे क्षेत्रमा । यद्यपि, समुद्रको पानी बेखबर बहुलाएर गहिरो हुने हुनाले बच्चाहरू र सिकारु पौडीवाजहरू तोकिएको क्षेत्रमा बस्न र किनारबाट धेरै टाढा नजान सूचित गरिएकोछ । सुविधाहरूको सन्दर्भमा, समुद्र तटको प्रत्येक छेउमा साना पसलहरू र केही रेस्टुरेन्टहरू छन् जहाँ इच्छानुसार लन्च वा डिनरको मजा लिन सकिन्छ । इमानदारी बार (Honesty Bar) नामक एउटा रोचक बार पनि रहेछ त्यहाँ जसले कुनै वेटर, वेट्रेस, वा बारमेनको सेवा दिंदैन । ग्राहकहरू आफ्नो इच्छानुसार आफैं सेल्फ सर्व गर्ने र तदनुरूप पैसा तिर्ने गर्दा रहेछन् ।

स्वादिष्ट खाद्य र पेय पदार्थका साथमा आरामदायी, स्फूर्तिदायी समुद्र तटीय यस्तो मस्ती खैरेहरू बाहेक कसले गर्ला र खोइ…! हामी त अघि जिम्बावे हाइटबाट उब्रिएर झोलामा आएका बाँकी खानेकुराले नै मस्ती गरिरहेकाछौं । दुई काइयाँ केरा पनि थपेका छौं त्यहाँ आएर । समग्रमा, ‘आन्स लाजिओ’ अविश्वसनीय सौन्दर्य र फराकिलो गतिविधि अनि सुविधाहरूको अनुपम मिश्रणका कारण पर्यटकहरुका लागि ठुलो आकर्षण साथै उच्च प्रतिष्ठाको नाम रहेछ । ज्ञात रहोस्: यहि समुद्र तटलाई सन् २०१५ मा Tripadvisor द्वारा विश्वको छैठौं उत्कृष्ट समुद्र तटमा स्थान दिइएको थियो । यसले विश्व-स्तरीय समुद्रीतट स्थानको रूपमा आफुलाई जिउँदो-जाग्दो राखेकै छ । अर्को मुख्य कुरा: सेसेल्सको आर्थिकस्तर उकास्न समेत यो समुद्री तटले महत्वपूर्ण भूमिका खेलिरहेकोछ ।

आफूसँग भएका प्राकृतिक श्रोत र साधनको समुचित सदुपयोगले दुनियाँ सम्वृद्धिको यात्रामा निरन्तर अघि बढिरहेका छन् । हाम्रोमा ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ को नारा उल्टोबाट घुमेर नेताहरुको खप्परमा भाग्य बनेर ठोक्किनु शिवाय अर्को तार्किक उपलब्धी हुन सकेन । देश समृद्ध र जनता सुखी भएको सन्दर्भ यो पंक्तिकारले लेख्ने र हर्क बढाईं गर्ने दिन आउलान् कि नआउलान्, दैव जानुन्! जबसम्म जग्गा दलालहरु माटो प्लाटिंङ् गरेर भूमिप्रति घोर अपराध गरिरहन्छन् अनि तिनैलाई प्रोत्साहन स्वरूप लाइसेन्स बाँडीरहन्छ सरकार । तबसम्म, हामीजस्ता हिमाल देखाएर डलर बर्षाऔं भन्नेहरुको दिल, दिमाग, दृष्टिकोण र ड्युटी अर्काकै देशका लागि मात्र ठेक्कामा परिरहन्छ । नत्र, पर्यटन क्षेत्रमा हामीले आर्जन गरेको यत्तिको अध्ययन, अनुसन्धान र अनुभव बेचेर राष्ट्रिय सम्वृद्धिको यात्रामा हातेमालो गर्न किन निम्तो दिंदैन सरकार! के हाम्रो पसिनाले भर-जनम अर्काकै माटो भिजाउनु पर्ने हो ? कि हामीले पठाएको रेमिट्यान्सको बलले सदनको रोस्टममा उभिएर बजेट भाषण मात्र गर्न चाहन्छ सरकार ? प्रश्न सङ्गीन बनेर छातीमै रोपिन्छन् । तर उत्तर हामीसँग छैन, छँदैछैन ।

धित मरुन्जेल समुद्र तट विचरणको मज्जा लुटेर घाम ढल्किनै लाग्दा फर्कियौं हामी आन्स लाजिओबाट । अन्य साथीहरु बिच-बिचमा छुट्दै आ-आफ्नो गन्तव्यतर्फ लागे । म, पन्तजी र पुरुषोत्तमजी घर आएर अन्जु बहिनीले बनाइराखेको माक्रो माछाको झोलसँग लेट लन्च गर्यौं नेपाली स्वादमा । तुरुन्तै कार लिएर राफल्स होटेल गयौं र मनोजजीलाई पिक अप गर्यौं ।

हुन त मेरो खर्च त्यति हुने मौका साथीहरुले दिइरहेका थिएनन् तैपनि पर्समा लोकल पैसा सकिएछ । बाटामा एउटा मनि चेन्जर छिरेर सय-पचास युरोलाई सेसेल्स रुपैयाँमा साटेर गोजीमा राखें । हाम्रो कार मुख्य सडक छोडेर एउटा सुगम गाउँ छिर्यो । आज लोकल कुखुराको सुप खाने योजना थियो । पुरुषोत्तमजीले आफूसँगै काम गर्ने एउटा स्थानीय सेसेल्वा साथीको घरमा लगेर कार रोके । कुखुराको बारेमा पहिल्यै कुरा भइसकेको रहेछ । जोडी कुकुर झम्टेर हामीतर्फ आए । पुरुषोत्तमजीले नेपाली भाषामै ‘चुप लाग् पाङ्ग्रे!’ भन्दा त्रास र भयबिच पनि सामुहिक हाँसो फुत्कायौं हामी सबैले ।

नेपाली भित्री मधेसको कुनै गाउँ सम्झेर म रोमान्चित हुँदैछु भित्रभित्रै । माहे किङ्ग चुरोट तान्दै एउटा धम्मरधुस हब्सी पिल्टिक्क कालो भुँडी देखाएर बाहिर निस्क्यो र कुकुरलाई सम्हाल्यो । घरमा बस्दा कट्टु मात्रै लाउने यहाँका पुरुषहरु देख्दा फेरी नेपालकै तराईका आदिबासी पुरुष समुदाय सम्झिइन्छ । आफ्नो बडेमान भुँडी ढल्काउँदै मोटे हब्सीले टिनको छानोमुनि थुनिएका कुखुराको खोर देखाउँदै छान्न लगायो । दुइटा भाले रोज्यौं, समाइदियो । पैसा दिन खोज्दा दाम भन्न सकेन । जति मन लाग्छ त्यति दिनू भनेर पक्का गाउँले संस्कृति दर्सायो । दुई सय दिने कुरा भयो, अर्थात् सय रुपियाँ गोटा । अघि साटेर राखेका नोटहरू बीचबाट सय-सयका दुइटा नयाँ नोटहरू मैले निकालेर दिंदा खुशीले लियो र धन्यवाद ज्ञापन गर्यो । साथीहरु भन्छन्- पहिले-पहिले त लोकल कुखुराको पैसै लिंदैनथे रे यहाँ! शौखिनहरुले घर-गाउँमा छाडा छोडेर पालेका कुखुरा किन्न जाँदा समाएर लैजाओ भन्थे रे एता! आजकल त बाठा भएछन् नेपालीहरुकै कारण । ‘यहाँका मान्छे सत्य युगमै छन्, गणेश सर!’ पन्तजीले थप्नुभो । हुन पनि सेसेल्सका मान्छेहरु प्रायः सोझा र कसैको अनावश्यक चासो, चियो-चर्चो नलिने प्रकृतिका हुन्छन् । यो मान्छेले पनि बेच्न होइन, पाहुनालाई बार्बेक्यु खुवाउन पालेको रे!

कुखुरा कारको डिक्कीमा राखेर फर्किँदै थियौँ, बाटोछेउको बारीमा फर्सीका मुन्टा लहलह देख्यौँ । नजिकै घरको बरण्डामा एक वृद्ध जोडी सोफामा ढल्केर सेब्रु बियर पिउँदै थिए । फर्सीका मुन्टा किन्न माग्यौं । बोजु रसिक रहिछिन् या सेब्रुको रौनकताले रसिक बनाएको हो – ‘टिपेर लैजाओ’ भनेर थोते दाँत देखाउँदै पन्चर हुँदै गरेको टायरले हावा छोडेझैं सासले हाँसिन् – स्याँssss । यहाँको गाउँले भाका बुझिसकेका साथीहरु मेर्सी (धन्यवाद) भन्दै बारीमा पसेर मुन्टा टिप्न थालिहाले । एउटा हरियो टोयोटा कार खासै पुरानो पनि थिएन, बारीमै थन्काइएको रहेछ, फर्सीका लहराले जेलिएको । मनले भन्यो- उता भए डेन्टिङ्-पेंटिंङ् गरेर लाखौंमा बिक्री हुन्थ्यो । अथवा आफैं चलाउन हुन्थ्यो । मेरै भए कति मज्जाले चलाउँथे होला!

छेउमा अम्बक पनि पाकेका रहेछन्, टिपेर झोलामा हाल्यौं । एक अँगालो फर्सीका मुन्टा र एक झोला अम्बक बोकेर पुनश्च बोजुलाई बाटैदेखी धन्यवाद भनेर अघि बढ्यौं । कार जंगलभित्र पस्यो र उकालो चढेर सानो खोलाको तिरमा अवस्थित एउटा घरमा पुगेर अडियो । म त पाउना भईहालें, चुपचाप नविन अनुभव सँगाल्नमै व्यस्त छु । अरु साथीहरु पनि केहि बोल्दैनन् । निरोजको प्लान रहेछ थप कुखुरा किन्ने र मज्जाले सुप खाने । पुरुषोत्तम र निरोजले सल्लाह गरेरै त्यो कुखुरा फार्म घरमा लगेका रहेछन् हामीलाई । हामी कारभित्रै छौं, उनीहरु घरवालासँग कुरा गर्न थाले र कुखुराको खोरमा गएर एउटा ठुलो भाले समाउन लागे । तर भाले उम्कियो, निरोजले ढुङ्गा र लौरो बोकेर भाले खेदेको देख्दा पो एक्कासी अचम्मित भयौं हामी त! भाले भागीरहने, निरोज खेदिरहने । लोकल वाइनले झ्याप्प एउटा हँसिलो सेसेल्वा अधवैंशे थप्पडी बजाउँदै त्यो रमिता हेरिरहेछ । घाम रातो हुनथालेपछि प्रायजसो यहाँका मान्छेहरु पनि मदिराले रङ्गीन हुन थालिहाल्छन् । भाले भाग्दोछ, निरोज खेद्दोछ । भाले भुरुरु उडेर रुखमा चढ्यो, निरोजको एक झट्टी खाएर रन्थनिंदै त्यहाँबाट पनि भागेर खोलाको झाडीमा बिलायो । अघिदेखि उदेक मानिरहेका पन्तजी र मलाई पनि निरोजको त्यो हर्कत चित्त बुझेन । ‘दुई-दुईवटा भालेले पनि पुग्दैन? कति खाने यार!’ हामी झोंक्कीयौं । अघिको रोमान्चक माहौल सेलायो । निरोजले हातको ढुङ्गा र लौरो बिसर्जन गरे, कार फर्काएर सिधै घर आयौं ।

मनोज निवासमा यति प्रिय दृश्य देखियो कि म भावुक नै भईहालें । अन्जु र सबी बहिनीहरु सेलरोटी पकाउँदै थिए । खड्ग पुन छेउमा उनीहरुलाई के-के सघाउँदैथिए । प्रालिन आइल्याण्डको बसाई आज अन्तिम दिन । हामीलाई बिदाइको सगुन खुवाउने उनीहरुको हस्पिटालिटी बुझ्न कठिन भएन । म यति नोस्टाल्जिक भएँ कि, जहिल्यै घर छोडेर देश-विदेश जाने अघिल्लो रात घरमा आमा, बहिनी र लक्ष्मीले सेलरोटी पकाउने संस्कृतिको दिगो विकास गरेकाछन्, यो हाम्रो पुरातन सांस्कृतिक मान्यता पनि हो । भनाइ छ- घर छोड्नु अघि सेलरोटी खुवाएर बिदाई गर्यो भने परदेशी जहाँ पुगे पनि समयमै घर फर्किनेछन् । मनोज दम्पतीले पनि हाम्रो भेट पुन: होस् भन्ने सदिक्षा स्वरूप नै नेपाली परम्परा धानेको कुरामा सन्देह थिएन ।

मनमा कल्पनाको चाङ् उधिन्दै थिएँ, टेबलमा तात्तातो सेलरोटी किस्तीभरी आइपुग्यो । ‘दाई,खाउँ!’ अन्जुले भन्दा म झस्किएँ । मलाई भन्दा पनि अधिक मन पर्दोरहेछ पन्तजीलाई सेलरोटी । पर्खिने कुरै थिएन,’सर,लिउँ…!’ भनेर हात छोडीहाल्नुभो । मैले पनि रोटी सेलाउन दिने सवालै थिएन, झम्टीहालें । बिदेशमा सेलरोटी लाइभ पका’को र खा’को पहिलो अनुभव बटुलियो । मन थाम्न सकिन, सेल्फी हानें । घरमा भिडियो कल गरेर मौखिक क्याप्सन सहित सबै दृश्य देखाईदिएँ । परदेशमै पनि घरदेश जस्तो मौलिक माहौलमा रमेको देखेर घरमा सबैजमा खुशीले गद्गद् भए ।

सेलरोटी खाइसक्दै गर्दा फ्रिगेट आइल्याण्डबाट फोन आयो,- हाइड्रोपोनिक म्यानेजर साइमनले रहेछ । कृषि र वनस्पति विशेषज्ञ ऊ आइल्याण्डमा मेरो घनिष्ठ साथी हो । दक्षिण अफ्रिकी स्वेत नागरिक साइमन उमेरले मभन्दा धेरै पाको तर युवा मनले सङ्गत गर्छ मसँग । फोनमा बोल्दै कम्पाउण्डबिचको टेनिस कोर्टमा गएँ । उसले सुनाएको समाचारमा एउटा हर्षको पोको थियो- हाम्रो रिसोर्ट रेनोवेसन हुनेभएछ र पुराना स्टाफहरुलाई कम्पनीले दीर्घसेवा बापत केहि रकम दिने निर्णय गरेछ । लगभग नसोचेको प्राप्तिले मन फुरुङ्ग भयो । भरखर घर बनाएकोले बैंकको ऋण किस्तामा तिर्दै गरेको मान्छे घर छिट्टै उकास्न पाइने आशाले मनमा राहत प्रदान गर्यो । फेरी घरमा सम्पर्क गरेर यो गुलियो खबर सुनाएँ, स-परिवारको आँतमा घाम लाग्यो । मनको एउटा विश्वास बोल्यो- यो पटकको भ्रमण मेरा लागि फलिफापसिद्द भयो ।

राफल्स होटलमा स्टाफ आवासका भवनहरू सेसेल्सका बिभिन्न आइल्याण्डका नामबाट राखिएको रहेछ । जस्तैः फ्रिगेट, फेलिसिटे, शिल्व्हेट, नर्थ, बर्ड, डेनिस, डेरोस आइल्याण्ड… आदि । आफु कार्यरत आइल्याण्डको नाम पनि देखेर दङ्ग हुँदै ति ब्लकमा गएर पालैपालो फोटो खिचें । फ्रिगेट आइल्याण्डमा चाहिं स्टाफ अकोमोडेशनका नाम आइल्याण्डमै उपलब्ध जीवजन्तु र वनस्पतिका नामबाट नामाकरण गरिएको छ । अनि ती भवनका नामहरु अल्फाबेटका आधारमा क्रमबद्ध गरिएकोछ । जस्तैः अलामान्डा, बोडामिएर, सिट्रोनिएल, ड्रागनफ्लाई, एत्वाल, फुल्गान्सा, ग्रिनाडीएन, होराइजन, आइल्याण्डर, काजक्रेओल…आदि । यी नामहरु अँग्रेजी, क्रेओल र फ्रेन्च भाषमा मिश्रित छन् ।

डिनर तयार भएछ । मनोजजीबाट ज्युनारको लागि बोलावट भयो । फेरी भावुक बनायो गहुँको ढिंडो, लोकल कुखुराको झोल र फर्सीका मुन्टा सुसज्जित डिनर टेबलले । अघि म बाहिरै हुँदा कृष्ण श्रेष्ठ दाई पनि आइसकेछन् । जेको पनि सेल्फी खिच्ने आदतै परिसकेछ मलाई भने । पहिला सेक्फी अनि भोजन गरियो एकछिनलाई नेपाल बिर्सेर । थपी-थपी नखाने कोहि थिएनन् त्यहाँ । भोलि बिहान साढे आठ बजेको बोट टिकट भएकोले धेरै अलमल नगरी आजको भ्रमण सामान्य समिक्षा गरेर सबैजना सुत्यौं । थकाइ, कुखुराको सुप र एकप्रकारको आत्मसन्तोषले मिठो निद्रा पकाएछ आज भने ।