२३ गते कार्तिक २०७७

आठ बजे सेवा छोरी आइपुगिन्, अत्यन्तै हतारिएका तनावमाझैँ । रात कसरी बित्यो थाहा भएन । म पनि तल झरेँ र उनलाई भान्सामा सघाउन खोजेँ । उनको योजनामा रहेछ, मैले बाधा गरिनँ, स्नानमा गएँ ।

नौ बज्दा खाना खाने बेला भयो । आमालाई अलिक राम्रो भएको जाउलो पकाएर लान्छु भनिन् । हामी बस्यौँ, उनले थोरै खाइन् मैले अलिक ज्यादा । खाना सकेर बोकिन् आमालाई गिरीश बाबुलाई । भाइ स्वाब पु-याउन अर्कै हस्पिटल पुगेछन् ।

खानापछि सेवासँगै जान खोजेँ । उनले भनिन्, ‘आज नजौँ बुबा, त्याँ भीड छ, अनेक छन् ।’ बेलुकी जाऔँला हामी हेर्दैछौँ भनिन् ।

त्यसपछि घाममा बसेँ । शरीर तातिएपछि भित्र पसेँ । कुनै काममा मन लागेन । दिन कटाउन एकछिन सुतेँ, फेरि उठेँ । दिनमा धेरै सुत्न पनि सक्तिनँ म, दशपन्ध्र मिनेट मात्र। अनि भित्र पसेँ र निकैबेर लक्ष्मण गाम्नागेको उपन्यास पढेँ । धेरै राम्रो छ कल्पना र शिल्प दुवै मिलेको यथार्थवादी सामाजिक राजनीतिक चेतना बोकेको अहिलेसम्म पूर्वको दिनमा भोक लागेन, तिर्खा पनि लागेन । तल अम्बा थिए, यहाँ चियाको सर्दाम बिस्कुट आदि थिए तर आज मलाई केहीमा मन लागेन ।

चार बज्ने बेलामा भान्सा झरेँ । अलिकति दूध तताएर चिउरा खाएँ । एकछिन ट्याङ्कीमा पानी चढाएँ । म छक्क पर्दै लुगा पट्याएँ । धुने ता नानीहरू छन् तर ती प्रत्येक लुगा उल्टाएर सुकाउनेको होला उनीहरू हुन् कि अञ्जना मैले कहिल्यै देखिनँ, सोधिनँ, सोचिनँ । प्रत्येक कपडा सुल्टा पारेँ । उनी सर्ट पट्याउँदा टाँक लगाएर पट्याउँछिन् । लाउन झिक्दा थाहा पाउँथेँ । मैले त्यो झर्कोलाग्दो काम गरिनँ । जानेको रुपमा पट्याएर तलै राखेँ । यस्तो मिहीन काम गर्दा गर्दा उनले कति गरिन् होला ।

अनि माथि चढेपछि विजय हितानलाई फोन गरेँ । उनको एक कथा करेक्शन ग-यौँ । सदाझैँ पर्यावरणीय चेतनामा । अनि जानुको एउटा सुनाएँ । एकैदिनमा झापा धरान गलेर लखतरान भयो । कति राम्रो छ त्यो पनि । अरु गर्न सकिनँ, गर्न मन लागेन । किरण भाइलाई अनिताको परिचय लेखी पठाएँ, उनको उपन्यास क्रमशः छपाउने सल्लाह भएको छ ।

दाजुले फोन गर्नु भो धेरैपल्ट चिन्ताले, राम भाइले गरे, ऋचाले गरिन् एरिजोनाबाटा । अरु सुनसानमा अरु भयंकर एकान्तमा बिमारीलाई कस्तो भयो होला भन्ने चिन्तामा बित्यो । आजको दिन मलाई एकवर्ष जस्तो भो ।

बेलुकाखेरि सेवा आइन् । आमालाई राम्रो हुँदैछ । कोभिड छैन अनि क्याबिन पाइयो, अब दुई रात राख्ने । म जान्छु भनेँ नानीलाई— भोलि जानू भनिन् । यसै प्रतीक्षामा छु ।

आज डिस्चार्ज गर्लान् कि जस्तो थियो । कानको हेर्ने भनेर गरेनछन् । सेवा बसिन् । उता गिरीश बाबु बुङ्गमती गए खाएर । मैले बिहानका रोटी खाएर एकछिन लेखापढी गरेँ । अञ्जना नभएपछि अलिकति अनुशासन भङ्ग हुन्छ । सेवाले पकाएका रोटी तीनमध्ये दुई तताएँ घ्यूमा । अञ्जनाले भए यसरी घ्यू खानु हँदैन भन्थिन् । घ्यू रोटीले तरकारी भुलेँ । त्यतिकै रहेछ बिहानको । फ्रिजमै राखिदिएको । दूधमा चोबेँ । भरे दबाइ खाँदा पनि एउटा चाहिँ दूधले निलेँ । अञ्जनाले भन्थिन्, ‘त्यसरी हुँदैन पानीले निल्नुपर्छ ।’

सधैँ कस्तो समय हुन्थ्यो टेबल । कस्तो अनुशासन साजसफाइका । झुक्किएर मफलरले हात पुछ्थेँ, उनी रिसाएर सम्झाउँथिन् । त्यस्तै हजारपल्ट भयो होला, बानी सुध्रेन । कुन थाल कहाँ राख्ने, कुन बटुका कता, डाडू पन्यौ कहाँ स्यूरने, भुटुनको भाँडो कता, डाइनिङ टेबलमा कुन कुन वर्तन राख्ने, के हटाउने त्यस्ता कुरा म पनि गर्थें तर नसिकी बूढो भएँछु । कत्रो आगोमा दूध तताउने, कुन भाँडोमा चिया, कुन रुमालले भाँडा पुछ्ने, कुनले हात, कत्रो अनुशासन, कत्रो जतन, कत्रो होसियारी, कत्रो व्यवस्थापन !

त्यसैले भन्थिन्, भरे के अचार खाने, कुन खोर्सानी लगाउने, कुन मसला, कुन चामल र पीठो अथवा दाल, फ्रीजमा सब्जी के के छ । सोच्तासोच्तै मेरो आधी समय जान्छ । लेखापढी केही गरौँ भन्छौँ कहाँ पु-याएका बेला जुरुक्क उठ्यो भङ्ग हुन्छ । मलाई जस्तो भए हुन्छ, उनलाई हरचिज पर्फेक्ट चाहिन्छ । हप्तामा एक दिन गुनासो गर्छिन् । घर ठूलो भो, जताततै धूलो, सम्हाल्न सकिएन, काम गर्ने नानीहरू मसिनो गर्न जान्दैनन्, फेरि तिनै आएनन् भने के हुन्छ ?

उनले आफ्नी माताबाट सिकेको संस्कार सबै छोराछोरी उस्तै पाँचैजना । आमा ता मैले कल्पना नगरेकी नारी हुनुहुन्छ । शरीरदेखि घर, स्थान, पूजा, ब्रत, अनुष्ठान, साफ सफाई दिनको विद्यालय पढाउनु कसरी त्यो मेन्टेन गर्नु भो, म छक्क पर्छु । दशैँ तिहार आउँदा मनको र घरको समेत स्वरुपै अर्कै । रङ–रोगन, साझ–सफाइ, पर्दा, तन्ना, वस्त्र, भाँडाकुँडा यस्तो संस्कारित आमा मेरो कल्पनामा थिइनन् । मेरी माता घाँस पराल, दाउरा खोले, खेतिपाती, माटो गोबर, लछारपछार त्यस्तो साफसफाइ सोच्न जान्नु भएन होला, भ्याउनु भएन होला । पछि बुढेसकालमा चाहिँ भाँडा टल्काउने शोख बढ्यो । बजारमा कालो सक्खरजस्ता ढिका पाइन्थ्यो । ती दलेर जुसले मस्काएर घाममा सुकाएर भित्र लानुहुन्थ्यो । पशुपतिनगर (इलाम) का होटलवालाकहाँ जस्तै । हेर्दैखेरी आँखा टिप्ने वर्तन सजाइएका हुन्छन् सधैँ ।

मैले यस्ता कुरा सम्झेँ । यो घर अर्कै छ । यो जीवन अर्कै छ । मलाई जसरी या लेखापढी बिमार भएको छ, अञ्जनालाई यो घरबार, यसको भित्री आत्मा यसको होम मेकिङले खाएको छ । यो अर्थोकै माध्यमले अरुकै सहायताले गराउन पाए उनी मुक्त भएर कति गर्थिन् होला भन्ठान्छु । तर बिमार कडा हुँदोरहेछ, कुन ठाउँमा जालो छ, कहाँ कसिङ्गर लुकेको छ, कुन भाँडो वर्तन काम नदिने भएको छ, यस्तैयस्तै कुरा, कुन तन्ना फेराउनु छ, कुन सिरानेको खोल सिलाउनु छ यस्तै यस्तै ।

आज अस्पतालमा भेट्ता प्रशन्न देखिइन् । जाउलो खाइन् अरे निरञ्जन भाइ बुहारीले ल्याएको । हामीसँग भनिन्— त्यसरी अस्ति उल्टी आएर हैरान हुँदा सबै फर्किन खोज्दा, पसिनाले खलखल्ती हुँदा एकपल्ट ता मेदनी केवलदाइ सम्झेँ । मेरो पनि त्यस्तै अन्त्य हुने हो कि भनी । अनि मैले मेदिनी केवल सम्झेँ— डरले मुटु थरर्र काम्यो ।

बेलुका भैँमा झरेँ । कसैको फोन आएन तर गोपी भाइको एक अंग्रेजी कविता पब्लिकनाममा पठाउन लगाएँ, मैले केही करेक्शन गरेको थिएँ । बहिनीको शोकबाट उत्रेका फलाहारीसँग एकछिन् बोलेँ । लक्ष्मी खनाल जीवनवादी छन्, उनले गरे एकछिन् । कला साहित्यको कुरा गरेँ । आत्मदम्भले गर्दा जलेका अरुलाई उठाउन नसक्ने केही विद्वान्को उनले कुरा ल्याए । मैले भनेँ— समय दुर्लभ छ, घोप्टिएर आफ्नै काममा लागौँ । जगत्का मूर्खहरू बदल्न सात जूनी लाग्दा पनि असम्भव छ । अरुको निन्दा प्रशंसादेखि टाढा आफ्नै जीवनको गतिमा । माल्दाइलाई फोन गरेँ, बिना छोरी नानी लिएर आजैको फ्लाइटमा सकुशल घर पुगिछन् । घरको छानो ठोकी सकेछन् । खगेन्द्रलाई गरेँ— हिजो घर ढलान भएछ । काइँला भाइले ग-यो, एकछिन गन्थन ग-यौँ‑ ‘ओठ सुन्निएर दुई दिनमा ठिक भए । भाउजूलाई कस्तो छ ? आज डिस्चार्ज गर्लान् ? अनि तिहारको के छ ?’

माल्दाइले भन्नुभएको, अघिल्लो दिनसम्म कसैलाई हाछ्यूँ आएनछ भने तिहार मानिन्छ । गंगालाई गरेँ— हिजो वाइफाइ जोड्यौँ दाजु, माधवाले खर्च गर्दिइ… । दाजुले हिजो दिन भरिमा चार पाँच पटक खबर लिनु भो । बिमारीको के छ ? म भन्दै गएँ । भाइ दिनभरि झटारिएर अफिस र अस्पताल गर्दै व्यवस्थापन मिलाउँदै बेलुका बुङ्मती गए । बेलुकी सुत्ने बेलामा डा. मधु बैनीको एउटा यात्रा लेख पब्किनामालाई पठाउने ठेगाना दिएँ, राम्रो छ त्यो । अरु एक दुई फोन आए । धरानका प्रा. टङ्क गुरुले गर्नु भो— प्रभु मलाई दुईप्रति पूर्वीय सभ्यता पठाइदिनोस् न । अनिल पौडेल आउलान् यो हप्ता । हुन्छ भनेँ । धरानकै डा. इन्दिरा सिक्तेलले भनिन्— सर कृष्ण भण्डारी त्यता आउँदैछन् मलाई सरको मुगलान अंग्रेजी र नेपाली एक एक प्रति पठाइदिनोस् न कहाँ पाइएला ! अनुवादमाथि एक पेपर लेख्नु छ ।

मैले सम्झेँ– इन्दिरा अंग्रेजीमा विद्यावारिधि गर्ने एक अध्यापक हुन् । नेपाली साहित्यमा प्रवेश गर्दैछन् । आजको पब्लिकनामामा र द गोर्खा टाइममा एउटा लेख पढेँ । अनि सम्झेर भनेँ, ‘हुन्छ । ओरिएन्टर प्रकाशन गृह हरि गौतमलाई ९८५११४०४६९ मा फोन गर्नू । म भन्दिराख्छु । उपत्यका बाहिरका लेखक वा पाठकले कुनै काम गर्नुप-यो भने यता संघीय राजधानीको नाम नलिई उपाय छैन । यी विशाल पुस्तक पसल, पुस्तकालय लेखक, प्रकाशक सारका सारा केन्द्रित हुने ठाउँ छ यो ।’

फेसबुक मेसेन्जरले मागेका सबै चाहना दिनका दिन पूरा गर्न सकिन्न । केही पर सार्नुपर्छ, केही ढाँटेर टार्नुपर्छ । दमकका विष्णु भट्टराईले कविता करेक्शन गरेर पठाउन भनेका थिए, ‘दाजु, मलाई अलिकति आशीर्वादका शब्दहरु… ।’ मैले भनेँ— ‘भाउजू अस्पतालमा हुनुहुन्छ भाइ तिहारपछि है !’
उनले हवस् दाजु भने ।

बाहिरी जिल्लामा बस्ने, प्रथम कृति निकाल्ने, कुनै अनुभव नभएकालाई यसले अत्याउँछ । सबै मेरा लागि तत्पर भई गरिदेलान् । यति काम, दाजु पनि खाली होलान् । एकै दिनको काम त हो भन्ने हुन्छ । तर यहाँ कसरी समयको ससाना टुक्रालाई धरोलाई चोइटालाई पनि टिपेर सिलाएर मिलाएर काम लिनुपर्छ ! दर्जीले काटेर फ्याँकेका टुक्राको पनि इँजार अथवा बुट्टै थैली वा सिरानेको खोला बनाउँछन् ! जिन्दगी त्यस्तै छ । हामी सबै एकै परिवार भन्ने मेसेन्जर ग्रुप खोलेका छन्— भाइ बैनीहरूले । त्यसमा रमाइला र परिवार वृत्तले बुझ्ने भाषामा केही पोष्ट गर्छन् । अहिले १५ दिनदेखि एउटा ओदाने भन्ने पात्रको जन्म भएको छ, त्यसको कथा अघि बढ्दै छ । काल्पनिक र उट्पट्याङ तर नेपाली समाज छ । कमल घिमिरे, लक्ष्मण गाम्नागे मुख्य छन्, म पनि थपिन्छु बेलाबेला, अरु भाइ बहिनी थुप्रै छन् । हिजो सुत्नुअघि एक पोष्ट यस्तो लेखेँ—

आज बिहान तीन बजे नै छ्याङ्ग भएछु । बिस्तारै चालमारेर स्टडीमा चढेँ । पल्लो कोठा गिरिशबाबु सुतिरहेका, यो अविवेकी ढोका चुइँकिन्छ । ब्रश गरेँ, चिया तयार पारेर बसेँ, अब दिनदिन नुहाउन नसकिने दिन आए । आज ता ११ डिग्रीमा झरेछ ।

सर्वप्रथम राति आएका मेसेन्जर मेल थन्क्याएर मात्रै अरु कामतिर मन जान्छ । मेलमा भएकामध्ये एक मधुको भाइ जर्नी टु द युएसए एज सुसिकोलो भन्ने उनको अमेरिकी यात्राको २३०० शब्दको यात्रा विवरण पढेर पब्लिकनामा पठाउन लगाएँ । मधुजस्तै गरी मैले प्रेम फ्याक, जगदीश पौडेल लगायत पाँचसात जना विद्यार्थीलाई अंग्रेजीमा सिर्जनात्मक लेखन गरौँ भनेर प्रेरित गरेँ सकिनँ । दुदुईवटा पोर्टल छन् त सिर्जनातिर कठिन छ लगाउन पनि । मधुले मेरो ग्रीस यात्रा पढेर प्रभावित भई लेखेकी अरे यो दोस्रो निबन्ध । वसन्ती पौडेलले मेरो सम्झनाको सागरमा केही दिन पढेर प्रभावित भै लेखेको यो तेस्रो भाग । कुरा बुझ्ने यसरी अघि बढ्छन् । नहुनेहरू अन्तिम हतियार नचिनी समय गुजार्छन् । अर्को आएछ वसन्ती पौडेलको मणिपुरबाट आफ्नो बाल्यकालको संस्मरण । त्यो भरे पढौँला ।

मसेन्जर क्लियर गरेँ । त्यति महत्त्वपूर्ण थिएनन् । हाम्रा विद्वान् भाइ डा. मतिप्रसाद ढकालले दिनमा तीनचारपल्ट पोष्ट गर्छन् । मलाई अलिक असुहाउँदो लाग्छ । एक वर्षजति महाभारतका खण्ड बोल्थे (कथाहरु क्रमशः) । अहिले चाहिँ पठन संस्कृति अभियान भनेर चाणक्य नीतिका एक एक श्लोक अनुवाद गरी पठाउँछन् । एकपल्ट गर्नु नि, अनि चूप लाग्नु ! मान्छेलाई झर्को लाग्छजस्तो मान्छु । एउटा अति महत्त्वपूर्ण आयो । खोजिरहेको कुरा दमनराज तुलाधरको आत्माकथा । उनी अंग्रेजी अनुवादक प भएकाले गर्दा नेपाली अंग्रेजी अनुवादको अध्येता बलराम अधिकारीलाई फर्वार्ड गरेर लेखेँ— प्रिय बलराम, यो पुस्तक आएछ, एक प्रति मलाई पनि किनेर राखिदिनू । सुरेन उप्रेती, सुजन सेलिङ ।
त्यसपछि ता धेरै समय व्यतीत भयो । अब आज दिनको कुरा सोच्नु पर्ला । अनि उठेँ । गोडा तन्काएँ । अर्को चिया ठिक पारेँ । तीनघण्टा व्यतीत भएछ । कीर्तिपुर डाँडामा रछाहा उज्यालो देखियो ।

आजको कुरा धेरै छ— कतिबेला नानीहरुले अञ्जनालाई ल्याउलान् । म पनि जानुपर्छ कि सोधेको छैन । तलै बस्ने कि बीच तला, सोधेको छैन । अनि दिनमा एक बजेदेखि आज भाइवा छन्— दुईटा एकै दिन । दुइटै मेरा विद्यावारिधिका । संस्कृत विश्वविद्यालय अन्तर्गत यी दुवैले अंग्रेजी विषयमा गरेका हुन् । पाँच पाँच वर्ष लगाए । दिनको एक बजे शुरु भएर पाँचसम्म चल्नेछ भन्छन् । खाजा पानी सकेर दह्रो गरी बस्नु प-यो । जूममा चाचार घण्टालाई । भेला हुन पनि डरलाग्दो छ यो बेलामा । हिजो नै विश्वविद्यालयका प्रशासक शिशिर पौडेलले दुवैका एब्स्ट्राक्ट मेल गरे छन् ।

हरिचन्द्र कमालीको भागवद् गीतामा विनिर्माण कर्ताको रुपमा भगवान् श्री कृष्ण र कृष्णप्रसाद भण्डारी धरानको ऋग्वेदमा व्यापक पर्यावरणीय चेतना यी दुवै अनुसन्धानले मलाई पनि धेरै ज्ञान दिलाए । तिनको बारेमा पछि म अर्कै लेखमा विस्तार गर्नेछु ।

आजसम्ममा म गाइड अथवा कोगाइड बसेर सम्पन्न गराएका विद्यावारिधि गरेका शीर्षकहरुमा— टङ्क न्यौपाने र केदार पौडेल, रामजी तिमसिना, नवराज न्यौपाने, पर्शुराम पौडेल, अब डिग्री लिनेमा शालिकराम तिमसिना, बलराम अधिकारी, हरिश्चन्द्र कमाली र कृष्णप्रसाद भण्डारी, जङ्गबहादुर भट्टराई भइसकेछन् ।