नेपाली वृद्धाश्रम नामको संस्थाले असहाय र अयोग्य गरिब ज्येष्ठ नागरिकहरूलाई आधारभूत आवश्यकताहरू प्रदान गरेर हेरचाह गर्छ। केही वर्ष पहिले नेपालमा वृद्धाश्रमको आवश्यकता महसुस भएको थिएन। आधुनिकीकरण, सहरीकरण, र अन्य अन्य कारणहरूले गर्दा वृद्धहरूलाई परिवारका सदस्यहरूले बेवास्ता गरेका छन् र उनीहरू वृद्धाश्रममा बस्न रुचाउँछन्। तर वृद्धाश्रममा प्रवेश सीमित क्षमताको साथसाथै जिल्ला प्रशासन कार्यालयहरू, गाउँ विकास समितिहरू (प्रशासनिक कामको न्यूनतम एकाइ), र कहिलेकाहीँ सामाजिक कल्याण परिषद्बाट पनि प्रमाणीकरण गर्नुपर्ने लामो र विस्तृत प्रक्रियाका कारण सजिलो छैन। हालसम्ममा ११० भन्दा बढी वृद्धाश्रम नेपालमा दर्ता छन् । ती मध्ये काठमाडौं र देशको विभिन्न भागमा अवस्थित छन्। बुढेसकाल विभिन्न मन्दिर र गुम्बामा राख्न वा बस्न अनौपचारिक रूपमा अस्वीकार गर्ने पाइएको छ। यद्यपि यी वृद्धाश्रममा बस्ने वृद्धहरूको सही सङ्ख्या सङ्कलन तथा यकिन गर्न गाह्रो छ (सङ्ख्या प्रवाहमा रहन्छ), सङ्ख्या एकदम कम छ।

बद्रीप्रसाद ढकाल

बुढ्यौली उमेरको समयलाई सहायता गर्दै वृद्धवृद्धाको हक हित अधिकारको संरक्षका निमित्त विभिन्न संघ संस्थाहरूले कार्य गरिरहेका छन् । बेलाबेलामा कार्यशाला गोष्ठी तथा छलफल गर्दै जेष्ठनागरिकका लागि स्वास्थ्य, शिक्षा, रहनसहन तथा सेवाको सहज वातावरण निर्माणका लागि कार्य गरिरहेका ती संघ संस्थाहरूले सिर्जनशीलता तथा साहित्यिक गोष्ठी तथा बुढ्यौली साहित्यका रचनाका लेखन तथा प्रकाशनका लागि सहज वातावरण निर्माण गरेका छन् जेरियाट्रिक सेन्टर नेपालले बुढ्यौलीका सिर्जना अनुभव तथा अन्य विषयलाई समेटेर जेष्ठ नागरिक द्वैमासिक नामक पत्रिका प्रकाशन गर्दै आएको छ भने राष्ट्रिय मानव अधिकार आयोगको सहकार्यमा जेष्ठ नागरिकमाथि भएका घटना, दुर्व्यवहारका समाचार सङ्कलन, मनमोहन मेमोरियल फाउन्डेसनको सहकार्यमा प्रकाशन गरेको छ । ती संस्थाको नामावली यहाँ प्रस्तुत गरिएको छः

१. जेष्ठ नागरिक संरक्षण मञ्च
२. जेरियाट्रिक सेन्टर नेपाल
३.एजिङ नेपाल
४. राष्ट्रिय मानव अधिकार आयोग
५. विभिन्न जेष्ठ नागरिक समाज तथा समिति
६.संकल्प नेपाल
७. विभिन्न वृद्धाश्रम सेवा समाज तथा समिति
८.आमा घर
९. मनमोहन मेमोरिएल फाउन्डेसन
१०.निशा सेवा सदन
११.अग्रज सिर्जनशील संघ
१२. वरिष्ट नागरिक समाज
१३.शब्द चिन्तन संघ
१४.समृद्धि नेपाल
१५. सरस्वती राज नारायण फाउन्डेसन
१६. सिर्जित सहयोगी हात
१७. स्वाभिमान नेपाल
१८. होम केयर नेपाल
१९.विभिन्न सामाजिक सेवा सदन
२०. अद्धैत संस्था/सत्संग समाज आदि ।

बुढ्यौली साहित्य र व्यवहार

हामी साहित्यमा वृद्धवृद्धाका समस्या, पीडा अनुभूति तथा उनीहरूका सिर्जनाका बोरमा कुरा गर्दछौँ । विषय बनाउँछौँ, तर उनीहरूप्रति परिवार, समाजले के कस्तो व्यवहार गरिरहेको छ ? जान्न खोज्दैनौँ । हामी आफैंले वृद्धवृद्धाका लागि उचित सहयोग गर्नु पनि नैतिक जिम्मेवारी हो ।
आधुनिक युगमा भएका प्रगतिले हाम्रो संस्कार र सांस्कृतिक वातावरणमा समेत निकै परिवर्तन भइसकेको छ । हामीले हाम्रा सन्तति वा सन्तानलाई जेजस्तो संस्कार दिन्छौँ उनीहरूले त्यही सिक्छन् र हामीलाई भोलि त्यही प्रकारको व्यवहार गर्दछन् । त्यसैले हामीले हाम्रा मान्यजन, बा आमा तथा वृद्धवृद्धाको स्याहार सुसार र सम्मान गर्नुपर्दछ ।

वृद्धवृद्धाहरूको वर्तमान समस्या

यस समयमा भौतिक विज्ञानमा जुन प्रगति भएको छ त्यसभन्दा दुई गुना हामी आत्मकेन्द्रित र स्वविलासितामा आफ्नो कर्तव्य र मर्यादा भुल्दै गएका छौँ । पुस्तान्तरणसँगै छोराछोरीहरूको नैतिक तथा सांस्कृतिक पतन बढ्दै गएकाले सामाजिक समस्या बढ्दै गएको छ । नैतिक आचरणमा कमीका कारण बेथितिले विस्तारै दह्रो जरो गाड्न थालेको छ । गुरु, गुरुआमाहरू मान्यजनहरू र बुज्रुकहरूको कुरा सुन्ने, मान्ने तथा आफ्ना आमाबाबुप्रति समर्पित, सम्मान दिने परम्परामा विचलन आउन थालेको छ । त्यसैले बाबुआमाप्रतिको सम्मानपूर्वक गरिने व्यवहार आजभोलि विरलै पाइन्छ ।

भौतिक लिप्सा र स्वार्थको भावना युवाहरूमा बढ्दै जानु भनेको सामाजिक विकृति विसङ्गति बढ्दै जानु हो । मानिसलाई भौतिकवादी बनाउँदै लानु र विलासीपन बढ्नु तथा विदेशी संस्कृति र परम्परालाई आत्मसात् गर्नुले हाम्रो असलपक्ष घट्दै गएको छ । युवा पुस्ता वा पछिल्लो पुस्तामा संस्कार र मर्यादा तथा नैतिक आचरणको कमीले पनि संस्कार, सम्मान, संस्कृति तथा परम्पराहरू लोप हुँदै गएका छन् । विदेशी संस्कृति र तिनको अनुसरणले हामीलाई पछाडि पारिसकेको छ भने नयाँ पुस्तामा संस्कार तथा संस्कृतिका कारण पछौटेपनको तथा प्रगतिमा बाधक बनेको हो भनेर बुझ्न सुरु गरेका छन् । वर्तमान नेपाली समाजका हरेक वर्ग आफू सजिलोसँग जीवन बाँच्न प्रयासरत रहेको र कसैको दुईमत होला त्यसो भन्दैमा हामीले हाम्रा अग्रजप्रति गर्नुपर्ने असल व्यवहारलाई चटक्क छोड्दा हामीमाथि भोलि के होला सोचेका छौँ त ? व्यस्तता नाममा कर्तव्यविमुख हुनु, अग्रजलाई आदर नगर्नुजस्ता परम्परा बनाउनाले नयाँ पुस्तामा त्यसको कस्तो प्रभाव पर्छ सोच्न जरुरी देखिन्छ ।

भनिन्छ सम्पत्ति भएन भने केही समय दुःख हुन्छ आर्जन गर्न सकिन्छ तर संस्कार भएन भने सधैं दुःख हुन्छ । सानैदेखि आधुनिकताका नाममा आफ्ना बाआमा वा अग्रजलाई पुरातन रुढिवादी वा विज्ञान र प्रविधिको उपयोग गर्न नजान्ने मान्ने परिपाटीका कारण उनीहरू एकल वा परिवारसँग घुलमिल हुन नसक्ने बन्दै गएका छन् । यो आजको एउटा प्रत्यक्ष समस्या हो भने घरका सदस्यहरू विज्ञान र प्रविधिको उपयोगका कारण सामाजिक सञ्जालमा घण्टौँ भुल्ने र झुल्ने कारणले पारिवारिक मेलजोल र आपसी सम्बन्धमा खाडल पर्दै गएको छ त्यो विकराल समस्या बन्दै गइरहेको छ ।

बालबालिकालाई हेरचाह वा स्याहारसुसारमा झिजो मानेर मोबाइलको दुर्व्यसनी बनाइरहेका आजका युवायुवतीले भोलि वृद्धावस्थामा हेरचाह नगर्दा वा वास्ता नगर्दा कस्तो समस्या झेल्नु पर्ला ? अझ त्यसमाथि वृद्धवृद्धाप्रति वास्ता नगर्ने, उनीहरूको समस्या नबुझ्ने जस्ता कारणले उनीहरूमा भएको केही नैतिक आचरणमा ह्रास आएको छ । जसले गर्दा जन्म दिने आमा बालाई समेत हेला गर्ने, कुटपिट गर्ने सम्पत्ति हात पारी घरबाट निकाली दिने प्रवृत्तिको विकास भएको देखिन्छ अझ सन्तानका नामका केही नरपशुहरूले वृद्ध बाआमाको क्रूर वा बीभत्स हत्यासम्मका गरेका घटना सुनिँदै आएको छ । जुन बेला शरीर कमजोर हुन्छ, रोगले आक्रान्त पारेको हुन्छ त्यही बेला काम नलाग्ने सन्तानको के अर्थ, के महत्त्व ? रोग र अशक्तताका कारण आफ्नै शरीर गरेर समेत सुरक्षित गर्न नसकी कति वृद्धवृद्धाहरू सडक किनारामा मागेर खान बाध्य भएका छन् ।

आफ्नो सुखसयलमा आँच आएको वा आफ्नो विचार र व्यवहारमा नचलेको भन्दै गालीगलौज, कुटपिट गर्ने सन्तान, छोराबुहारीको पनि कमी छैन हाम्रो समाजमा । आमाबुवालाई विभिन्न बहानामा दुःख दिने क्रम रोकिएको छैन । कतै बोक्सीको आरोपमा आफ्नै आमाबाबुलाई तिरस्कार गर्ने, सामाजिक बेइज्जत गर्ने, आफ्नो मनखुसीका लागि सम्पत्ति नदिएको भनेर मर्नु परेको छ ।

एकातिर आफ्नै शरीर कमजोर, रोग अर्कोतिर आफ्नै सन्तानबाट हेला वा तिरस्कारका कारण वृद्धवृद्धाका ज्यान जोखिममा परेको छ । त्यसमाथि भनेको समयमा राम्ररी उभिन नसक्ने सहाराविहीन साठी, सत्तरीवर्षका वृद्धाहरूसमेत यौन दुर्व्यवहार तथा बलात्कारको सिकार भएको घटनाले समाजलाई नै लज्जित बनाएको छ । आफैंले जन्माएको र हुर्काएको सन्तानले बुढेसकालमा आमाबाबुलाई सहारा दिनु कर्तव्य हो, तर नैतिक आचरणमा आएको कमी तथा आफू पनि वृद्ध हुनुपर्छ भन्ने चेतना तथा सरकारी कडा कानुनको कमीले सम्पति प्राप्त गरिसकेपछि बाबुआमालाई त्याग्ने वा वृद्धाश्रममा लगेर छोड्ने मनोबल बढ्दै गएको देखिन्छ । यो विकराल मानवीय समस्या हो ।

आफूलाई जन्म दिने आमालाई नै बुढेसकालमा सहारा नदिई वृद्धाश्रममा लगेर छोड्ने निर्दयी कठोर सन्तानले आफू पनि बुढाबुढी हुन्छु भनेर सोच्नु पर्छ कि ? सरकारले आफ्ना बाबाआमालाई हेरचाह र स्याहारसुसार नगर्ने सन्तानलाई पैतृक सम्पतिको अधिकारबाट बञ्चित गराउनु पर्दछ ।