पहिले यो गजल पढ्नुहोस्-

थियो जहाँ रम्य फूलबारी
त्यहीँ म देख्दै छु सिस्नुघारी

सिधा र साधा यहाँ त्रसित छन्
खुलेर हिँड्छन् नकाबधारी

सधैँ उनैलाई मिल्छ दर्जा
थिए पुरोहित, भए पुजारी

विचारभन्दा कुतर्क गर्छन्
उनै वकिल हुन् उनै उनै विचारी

बनेलु प्राणी सतर्क होऊ
पस्यो त्यतै भरखरै सिकारी

ग¥यौ तिमीले नकाम यस्तो
भन्यौ दबाई जहर उमारी

हुन् एउटै तर फरक चरित्र
कतै सिकारी, कतै भिखारी

उनीहरू स्वागतार्थ आए
हजुरहरूको हुँदा सवारी

तिमी गिर्यौ शत्रुका अगाडि
नयनहरूबाट आँसु झारी
अर्कान—१२१२२.१२१२२

(निभेका शिखाबाट)

विषय प्रवेश

गजल काव्यको एउटा सुन्दर प्रभेद हो । यो अरबी भाषिक मूलको शब्द हो । भोगाइ, अनुभूति, दृष्टि, श्रुति र कल्पनाका गूढ तथा सूक्ष्म विषयलाई थोरैभन्दा थोरै मूलतः विम्बात्मक र प्रतीकात्मक तर सुबोध्य शब्दमा काव्यात्मकतासहित शिल्पगत सर्तहरूलाई पालना गरेर लेखिएको रचनालाई गजल भनिन्छ । शिल्पगत सर्त भन्नाले गजल संरचनाका तत्त्वहरूसहितको स्वरूपलाई बुझ्नुपर्दछ । यसको बाह्य स्वरूप मतला, मक्ता, मिसरा, सेर, काफिया, रदिफ, बहर आदिले बनेको हुन्छ । गजल शब्दले कोशीय अर्थका रूपमा नारीसँगको संवाद अर्थात् वार्तालाई बुझाउँछ । साहित्यका सन्दर्भमा भने यो गीत र कवितासँग नजिकको सम्बन्ध भएको काव्यको एउटा प्रकार हो । काव्यिक प्रविधाका रूपमा यसको जन्म प्रथमतः इसाको सातौँ शताब्दीमा अरबी साहित्यिक धरातलमा नै भएको हो । यसपछि क्रमशः फार्सी, हिन्दी र उर्दू हुँदै र विशेषतः इस्लामिक जगत्का भाषासाहित्यमा आफ्नो खास पहिचान बनाउँदै यसले शब्दकोश र साहित्यकोश दुवैमा विश्वव्यापी विस्तार पाएको देखिन्छ । त्यसैले संसारका हरेक भाषामा गजललाई अर्को कुनै नामले सम्बोधन गरिएको छैन, गजल नै भनिन्छ । पूर्वीय काव्यसंसारमा संस्कृत साहित्यको उन्नतावस्थासँगै अरबी र फार्सी भाषामा पनि वाङ्मयिक विकास भइरहेको अवस्थामा कसिदाबाट तसबिब हुँदै प्रथमतः प्रणयभावाव्यञ्जनको पृथक् माध्यमका रूपमा गजलको उद्भव भएको हो । उद्भवसँगै यसमा विशेषतः सुसंस्कृत र शिष्ट भाषाको प्रयुक्तिले महत्त्व पाएको देखिन्छ ।

गजल सेरहरूबाट बन्दछ । त्यसैले यसलाई सेरहरूको मनोहर माला पनि मानिन्छ । यसका प्रत्येक सेरहरू भावगत र अर्थगत दृष्टिले पूर्णतः स्वायत्त अस्तित्वका हुन्छन्, अर्थात् एउटा गजलको संरचना एउटै बहर र शिल्पमा हुन्छ तापनि यसका सेरहरू परस्परमा सम्बन्धित हुँदैनन् । यसर्थ एउटै गजलका सेरहरूमा कथ्यको विविधता पाइन्छ । गजलका सेरहरूमा प्रभावकारी खालका पुराना र नयाँ प्रतीक तथा विम्ब, भाषिक संस्कार र सञ्चेतना, सङ्क्षिप्त, सूक्ष्म र दृश्यात्मकता, विशिष्ट अनुभवको व्यापक भावभूमि, सामाजिक अन्तर्विरोधहरूमाथि दरिलो हस्तक्षेप, प्रतिवादको प्रखर र तीक्ष्ण स्वर, लोकतत्त्वको उपस्थिति, विषयगत वैविध्य र प्रयोगधर्मिता, प्रणयको सघन अनुभूति, संस्कार र उखानटुक्काहरूको खोजी, विकृतिविसङ्गतिको चित्रण, चेतनासम्पन्न जीवनदृष्टि, तत्त्वज्ञान, मनोवैज्ञानिकता, कल्पनाशीलता, जीवनको वास्तविकता, वैयक्तिक अनुभूतिको मुखरण आदिको सौन्दर्यमय उपस्थितिको अपेक्षा गरिएको हुन्छ । क्लिसे (cliche) अर्थात् परम्परादेखि भनिँदै आएका र थोत्रा भइसकेका कहावतहरू भने गजलमा उपयोगी मानिँदैनन् । जस्तै—

हाँस्नु हुन्न कदापि नारीहरूले वेश्या हुन्या हाँस्तछन्,

नारी पुरूषका अर्धाङ्गिनी हुन्,

हाँडीमा कनिका छँदासम्म राँडीलाई निद लाग्दैन,

ऊ वेश्या हो,

ढोल, गँवार, शुद्र, पशु, नारी ये सब ताडन के अधिकारी,

दमाईं, कामीको बोली सधैँको भोलि,

दनुवारको जस्तो अनुहार,

नेवार इष्ट र बाउ दुष्ट कहिल्यै हुँदैनन्,

थारु नभई नहुने दारु ।

मनु मखु मस्र्या ख ।

पोथी बासेको राम्रो हुँदैन ।

=====

केही प्रश्नहरू —

गजल भनेको के हो ?

गजलको जन्म कहिले, कहाँ र कुन भाषामा भएको हो ?

गजलमा कस्ता कुराहरू वर्जित छन् ?

गजल कुन भाषिक स्रोतको शब्द हो ?

(बहर र गजल; तीस दिनको अभ्यास र ज्ञानका लागिबाट साभार)