धोबिघाट–धुलिखेल दैनिक यात्राको समयमा आफ्नो गाडीलाई सडकमा निकाल्दा, कहिलेकाहीँ अस्पतालको गाडीको प्रतीक्षा गरिरहँदा एकाबिहानै प्रायः सधैं देखिइन्छन् उनी ।

झुम्म दाह्री, लामा कपाल, च्यातिएका लुगा, राता आँखा, फुस्रा छाला, कसैसँग संवाद भइरहेझैं गरी चलिरहने ओठ, कहिले रिसाएझैं त कहिले खुसी भइरहेझैं गरी बदलिरहने अनुहारका भाव ।

कल्पना गर्न गाह्रो हुँदैन, ती ४०–४५ वर्ष जतिका व्यक्ति दीर्घ किसिमको मानसिक रोगी हुन् ।

त्यस्तै या त्योभन्दा दर्दनाक अवस्थामा सडकमै भेटिने अरु पनि छन्, महिला, वृद्ध, बालबालिकासमेत । यसरी सडकमै बरालिइरहने घरसमाजबाट भागेका, धपाइएका अनि आश्रयविहीन अवस्थामा रहनेहरुको संख्या सानो छैन । गहिरिएर विचार गर्ने हो भने दीर्घ एवं पूर्ण निको हुन गाह्रो खालका रोगीहरु परिवार–समाजबाट पिल्सिएर, विरक्तिएर, अनि कलंकित (?) हुनबाट जोगिन सडकमा लुक्न आइपुगेका हुन्छन् ।

“यस्ता ‘बहुलाहा’हरु पनि पूरै निको हुन्छन् र डाक्टरसाब ?”

केही वर्षपहिले यात्राकै क्रममा बाटोमा ‘आफ्ना पूरै अङ्ग पनि राम्ररी नढाकिएको लुगा लगाएर एक्लै आफ्नै सुरमा हाँस्दै हिँडिरहेका एक अधबैंसे मनोरोगी’लाई इंकित गर्दे मसँगै यात्रा गरिरहेका मेरा सहयात्री साथीले भनेका यी कुरा म कहिल्यै पनि बिर्सन सक्दिनँ । उनले यसो भन्दा म झसङ्ग हुनपुगेको थिएँ ।

फेरि सम्झिन्छु अखबारमा नै आइरहने खबरहरु,

“…वर्षदेखि खोरमा..” ,

“घरैमा बाँधिएर रहेका….”,

“समाजबाटै परित्यक्त भएका….”,

“गाईगोरुसरह सडकबासी हुनपुगेका…”

अनि सम्झिन्छु, आफूले बालककालमा आफ्नै छिमेकमा देखेको नाङ्गै हिँड्ने एक युवकलाई ।

ओहो ! समय यसरी द्रुततर गतिमा अघि बढिरहेछ, पञ्चायत बहुदल हुँदै लोकतन्त्र र गणतन्त्रमा रुपान्तरित भइसकेको छ हाम्रो देश । तर अझै पनि यहाँ ठाउँ ठाउँमा ‘अगम गुरुङ्ग’ अनि उनीजस्ता कैयौं मनोरोगीहरु नाङ्गै—भुत्लै खोरमा रहन विवश छन् । बाल्यावस्थाको सामान्य समस्याले उचित वैज्ञानिक उपचार नपाउनाले अनि यसरी गम्भीर रुप लिन पुग्दा पशुतुल्य जीवन बिताउन विवश अगम अनि तिनको खानपान, सफाइ आदि प्राथमिक आवश्यकताहरुको व्यवस्थापनको पिरलो बोक्ने आमाबाबु र सिङ्गो परिवार !! सम्झँदै कहालीलाग्दो अवस्था !

हामीकहाँ त त्यस्तो विश्वस्त केही तथ्याङ्क उपलब्ध छैन, तर सडकमा नै लुकेर बसेका बिरामीहरु धेरै नै छन् विकसित कहलिएका मुलुकहरुमा समेत । संयुक्त राज्य अमेरिकाकै तथ्याङ्क हेर्दा पनि सहरी क्षेत्रमा मात्र डेढ वर्षको अवधिमा ७% का दरले त्यस्ता सडकबासी मानसिक रोगीहरुको संख्यामा वृद्धि भएको देखिन्छ । औसतमा ३३ प्रतिशत (ठाउँअनुसार ३०–६० प्रतिशतको फरक) त्यस्ता घरबारविहीनहरुमा दीर्घ किसिमका मानसिक रोग पाइने गरेको, ४५% मा लागुपदार्थ दुर्व्यसनसमेत जोडिएर आउने गरेको पाइन्छ । त्यस्ता दुर्व्यसनीहरुमा दुई तिहाइ पुरुष छन् ।

सडकमा लुकेका भनौँ या घरपरिवारबाट परित्यक्त भएका या बरालिएर भागेका नै भनौँ, अथवा घरभित्र नै खोरमा थुनिएर या बाँधिएर पशुसरह रहन विवश व्यक्तिहरु नै । अनि बहुलाहा, पागल आदिका रुपमा समाजमा तिरस्कृत भएर रहेका मानिसहरु नै । ती सब एक किसिमको दीर्घ मानसिक रोगबाट पीडित रहेको पाउँदछु म प्रायः । धेरैजसो ती व्यक्तिहरु सिजोफ्रेनिया नामक दीर्घरोगको शिकार भएका हुन्छन् ।

‘सिजोफ्रेनिया’ अर्थात् व्यक्तिगत विचार,चिन्तन अनि संवाद,सञ्चारमा आघात पुगेर देखापर्ने दीर्घ एवं गम्भीर किसिमको मानसिक रोग । अश्रव्य शब्द सुन्ने, अनि त्यसमा प्रतिक्रिया जनाउँदा वरिपरिकाले एक्लै बरबराएझैं ठान्ने, अरुले नबुझ्ने शब्दोच्चारण,क्रियाकलाप गर्ने । शनैः शनैः दैनिक विधिव्यवहार अनि व्यक्तित्व विकासमा असर पर्न गई परिवार अनि समाजबाटै अलग हुनपुग्ने….यस्तै यस्तै लक्षणहरु हुन्छन् यसका । झण्डै–झण्डै भ्रममा नै बाँचिरहनेजस्तो । यिनै भ्रमित मनका कथाहरु कोर्न गइरहेको छु म आज ।

उचित उपचार समयमै नपाएमा जीवनको करिब दोस्रो—तेस्रो दशकमा नै सुरु हुने यो रोगले रोगीलाई युवावस्थादेखि नै परनिर्भर बनाइदिन्छ । उसको ऊर्जाशील समय बेकार हुन जान्छ, अन्ततः परिवार र समाजबाटै ऊ तिरष्कृत अनि बहिष्कृत हुन्छ….त्यसैले विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा नै अशक्तताको प्रमुख कारकतत्त्वका रुपमा यस रोगलाई सूचीकृत गरेको छ ।

तथ्याङ्कलाई हेर्दा विश्व जनसंख्याको करिब १ प्रतिशतमा यो रोग रहेको अनुमान गरिएको छ, अर्थात् झण्डै ३ करोड विश्ववासी ‘सिजोफ्रेनिया’सँगै बाँचिरहेका छन् । यससँग सम्बन्धित भएर रहेका ‘साइकोसिस’, ‘डेल्यूजनल डिस्अर्डर’ आदिको पनि गणना गर्ने हो भने त अझै भयावह रहन्छ यसको तस्बिर ।

यसका कारण ५—१० प्रतिशतले आत्महत्या गर्ने, ६—७ गुणा बढी बेरोजगार रहने आँकडा प्रक्षेपण गरिएको छ । ‘सिजोफ्रेनिया’का रोगीहरु अत्याधिक धुम्रपान गर्दछन्, तिनमा उच्च रक्तचाप अनि मधुमेहजस्ता रोगहरु बढी नै पाइने अनि औसत व्यक्तिभन्दा १५—२० वर्ष अघि नै तिनले मृत्युवरण गर्ने देखिएको छ ।

तथ्याङ्क यस्तो डरलाग्दो पाइए तापनि यो रोग निको नै नहुने रोग भने होइन । तर अपसोच ! विश्वका करिब ५० प्रतिशत ‘सिजोफ्रेनिया’ रोगीहरु उचित उपचारको पहुँचमा छैनन्, त्यस्ता उपचारविहीन बिरामीहरु ९० प्रतिशत हाम्रोजस्तो अल्पविकसित मुलुकमै रहेका छन् ।

‘किन यस्तो त ?’, खोजी गर्दा अन्धविश्वास, अज्ञान, चेतनाको कमी, गरिबी अनि लोकलज्जाजस्ता चिरपरिचित कारणहरु नै अगाडि आउँछन् । वास्तवमा यस्तै कारकतत्त्वहरुद्वारा ढाकिएको मध्ययुगीन विश्वमा आधुनिक उपचार पद्धतिहरुको विकास नभइसकेको हुँदा यस्ता रोगीहरु ‘पागल’को दर्जामा रहन्थे, तिनलाई थुनिन्थ्यो, बाँधेर राखिन्थ्यो, यातना दिइन्थ्यो, अनि मर्न विवश पारिन्थ्यो…..कत्ति जलेर मर्थे, कोही भोकभोकै पर्थे, अनि कति त विभिन्न अन्य रोग,संक्रमणका कारण मृत्युवरण गर्दथे । तर सन् १९५० यता यसको औषधिको विकास भएपछि तिनले उचित उपचार पाए, तथाकथित ‘बहुलाहा’हरु सद्दे जीवन जिउने भए । अचेल हरेक अस्पतालमा सञ्चालित मानसिक स्वास्थ्य यूनिटबाट तिनले उपचार पाइरहेका छन् । समुदायमा नै औषधिमूलो हुनेहुँदा परिवारको मायाप्रेमले तिनको उपचार प्रक्रिया सरल अनि सुलभ हुँदै गएको छ ।

तर पनि, हाम्रोजस्तो मुलुकमा चेतनाको कमीका कारण रोग लुकाइन्छ, आर्थिक अभावले गर्दा उपचार सुपथ अनि सुगम भइसकेको छैन । त्यसैले दैनन्दिन रुपमा बाँधिएका, थुनिएका, अनि भ्रमित मन लिएरै सडकमा बरालिइरहेका ‘सिजोफ्रेनिया’ ले ग्रस्त मानसिक रोगीहरु भेटिइरहन्छन् । अतः रोगीमात्र नभई तिनका साथीभाइ, परिवारजन,स्वास्थ्यकर्मीहरु, समाज अनि समग्र राष्ट्रसहित हामी सबै ‘सिजोफ्रेनिया’सँगै नै बाँचिरहेछौँ । यसबाट मुक्त भएर अगाडि बढ्न उपरोक्त सबै पक्षको सामूहिक प्रयास अपरिहार्य भइसकेको छ ।

कस्तो समाज हाम्रो ? जस्तोसुकै दीर्घ किसिमको शारीरिक रोग पनि निको हुने आशामा बिरामीलाई गाउँबाट सहर (सदरमुकाम), सहरबाट काठमाडौं, सरकारी अस्पतालबाट प्राइभेट, नाम चलेका (? महङ्गा) अस्पताल, अझ दिल्ली, बैंकक, यूरोप, अमेरिका, बेलायत लैजान हिच्किचाहट हुँदैन यहाँ । अझै आशै मरिसकेको अवस्थामा पनि “भेण्टिलेटरमा नै राखेर सुधार आउँछ कि ?” भनेर जतिसुकै पैसा या समय खर्चन पनि तयार रहन्छन् मान्छे । तर दीर्घ किसिमका या उपचार नपाएका या उपचार नपुगेर लामो समय मानसिक अवस्थामा सुधार नभएका मनोरोगीलाई भने पागल, बहुला, साइको, सिल्ली भनेर हेप्ने, तिरस्कार गर्ने, पूरा उपचार गर्नतिर नलागी पशुहरुलाई झैं सडकमै छोडिदिने प्रवृत्ति छ यहाँ ।

यसमा गल्ती कसको त ?

बाह्र वर्ष बढी मनोचिकित्सकका रुपमा काम गरिसकेको नाताले म पनि यसमा आत्मालोचना गर्न तयार छु । हुनसक्छ, मेरा ती सहयात्रीझैं अरु कति होलान् “मानसिक रोगीहरु कहिल्यै निको हुँदैनन्” भन्ने भ्रम पालेर बसेका ? ती सबैमा चेतना पुर्याउने जिम्मेवारी मेरो पनि हो, हामी सबैको हो । यसमा हामी सबै चुकेकै नै हौँ ।

चिन्तनको प्रवाह बढ्दै जाँदा हाम्रो राज्य संयन्त्रका बारेमा पनि सोच्न थाल्छु म । आर्थिक कमजोरीले या बजेटको अभावले मात्र त्यस्तो भएको हो भनेर म मान्दिनँ किनभने विश्वव्यापी सर्भेक्षणहरुमा नै देखिएअनुसार विकसित देशहरुमा समेत ३५–५० प्रतिशत दीर्घ किसिमका मानसिक रोगीहरुले उपचार पाएका हुँदैनन्, अथवा तिनका परिवार अनि समाजले तिनको उपचारमा यथोचित ध्यान दिँदैनन् । हाम्रोजस्तो अल्पविकसित मुलुकहरुमा भने त्यसरी उपचार नपाउने दीर्घ मानसिक रोगीहरु करिब ८० प्रतिशत (७६–८५%) छन् । वास्तवमा विश्वव्यापी रुपमा नै समस्या हाम्रो चेतनास्तरमा छ, चिन्तनमा छ, अनि मनोरोगीहरुप्रतिको हाम्रो संवेदनशीलतामा नै छ ।

हाम्रो संविधान पल्टाउँदा अनि हाम्रा अन्य कानूनी पुस्तकहरु अध्ययन गर्दै गर्दा मनमा खट्केका कुराहरु पनि स्मृतिमा आउन थाले । कुनै पद प्राप्त गर्ने योग्यता भनौँ या केही जागिर पाउने आधार “मानसिक सन्तुलन नगुमाएको” भन्ने देखिन्छ कानूनमा, त्यस्तै कुनै पद गुमाउने अवस्था पनि “मानसिक सन्तुलन खलबलिएमा” भन्ने नै पाइन्छ । मनोरोगीहरुप्रतिको कस्तो पूर्वाग्रह हाम्रो कानूनमा ? अरु शारीरिक रोगहरु भने जस्तो भए पनि कोही अयोग्य नहुने, अध्ययन एवं अनुभवको आवश्यकता कानून बनाउने स्थलमा पनि नरहने, उमेर जति नै बढी भए तापनि या शारीरिक असक्षमता जति नै भए तापनि नेतृत्व तहमा नै रहिरहन पाइने, तर मनोरोगलाई भने ‘कहिल्यै निको नहुने’ जस्तो गरी अयोग्यताको मानक बनाइदिने ? यो पनि त मेरा ती साथीमा झैं कानून–निर्माताहरुमा रहेको अज्ञानताको द्योतक नै त होला नि ! पूर्ण समावेशी मानिएको हाम्रो संविधानले शारीरिक अपांगतालाई झैं बौद्धिक अपांगता या मानसिक रोगलाई, अझ भनौं मनोसामाजिक समस्याहरुलाई एउटै तराजुले जोख्न किन नसकेको होला ? हाम्रा कानून–निर्माताहरुमा रहेको चेतनाको अभावलाई अनि तिनको अज्ञानता भनौँ या पूर्वाग्रहप्रेरित अवस्थालाई चिर्न निकै नै ढिलो भइसकेको छ अब ।

वास्तवमा “मानसिक सन्तुलन गुमाउनु” भनेको साह्रै नै अमिल्दो मानक हो । हामीलाई या जोसुकैलाई पनि तनाव उत्पन्न हुने अवस्था (जस्तैः दुर्घटना, पारिवारिक बेमेल, आर्थिक हानि या नजिकका व्यक्तिको मृत्यु) मा केही समयका लागि उदासीनता, उद्वेलन या एङ्गजाइटी रहन सक्दछ, त्यस्तो समयमा हाम्रो मन पनि भ्रमित भएर “मानसिक सन्तुलन” केही समयका लागि खलबलिन पनि सक्दछ । छोटो समयको औषधोपचार अनि काउन्सेलिङ्गले ती पूरै निको हुनसक्दछन् । एक पटकको क्षणिक मानसिक असन्तुलन भविष्यका लागि अनि जीवनैभरिका लागि कलङ्कको विषय बनाउन मिल्छ र ? एक पटक रोगी भएकै आधारमा कसैको रोजीरोटी नै छिनिदिनु प्राकृतिक न्याय होला र ? दीर्घ किसिमका मनोरोगीहरु नै पनि औषधोपचारमा निरन्तरता भइरहेको बेलामा आफ्ना काम गर्न, पारिवारिक दायित्व निभाउन अनि सामाजिक गतिविधिमा सामान्यतः सक्रिय रहिरहन सक्दछन् । तिनलाई पनि अन्य शारीरिक रोगीहरुलाई नै झैं व्यवहार गर्न नमिल्ने होला र ? उच्च रक्तचाप, मधुमेह, क्यान्सर एवं एड्सजस्ता रोग लागेका बिरामीहरुले औषधि प्रयोग गरिरहेको अवस्थामा “शारीरिक सन्तुलन गुमाएको” भनेर कुनै रोजगारी नपाउने अवस्था रहन्छ र ? आँखा, कान, हातगोडा आदि अङ्गहरुमा समस्या भएका व्यक्तिहरुले उनीहरुको अवस्था सुहाउँदो काम गरीखान कानूनले रोक्छ र ? यी तथ्यहरुतर्फ राज्यले सोच्नु जरुरी छैन र ?

फेरि, मनोरोगको उपचार हुँदै नहुने पनि होइन । न त त्यस्तो उपचार त्यत्ति महङ्गो नै छ । ६–९ महिनाको सामान्य औषधोपचारले डिप्रेसन, एङ्गजाइटीजस्ता जनस्तरमा सबैभन्दा बढी देखापर्ने मानसिक समस्याहरु पूरै नै निको हुन्छन् । दीर्घकालीन (कसैकसैलाई जीवनैभर) उपचार चाहिने बाइपोलार डिस्अर्डर, रिकरेण्ट डिप्रेसन, सिजोफ्रेनियाजस्ता दीर्घ रोगहरुको औषधि पनि त्यत्तिसारो अफ्ठ्यारा छैनन् । अहिले भएका ७५३ स्थानीय तहहरु प्रत्येकले आफ्नो बजेटको ०.३–०.५ प्रतिशत मात्र पनि यस्ता मनोरोगीहरुको उपचारका लागि छुट्याउने हो भने मात्र पनि माथि उल्लेखितझैं बहुलाहा–पागल भनिएर सडकमा परित्यक्त अवस्थामा कोही पनि मानसिक रोगी देखा पर्ने थिएनन् ।

अझै पनि मानसिक रोगीहरु थुनिन, बाँधिन, जेलमा कोचिन अनि सडकबासी रहन बाध्य भइरहनु हाम्रो सभ्यता अनि हाम्रो चेतनाको गम्भीर उपहास हो । एक्काइसौं शताब्दीमा समेत हामी कति अमानवीय, क्रूर एवं कुसंस्कृत छौँ भन्ने कुराको ज्वलन्त उदाहरण हो । त्यसैले “मानसिक रोगीहरुको उपचार सम्भव छ अनि सुपथ छ ” भन्ने चेतना हामी सबैलाई हुनु अत्यन्त जरुरी छ । त्यही चेतनाले नै तिनको उपचार सुलभ पनि गराउने छ । साँच्चै नै, राम्रो उपचार पाउन सकेमा सबै किसिमका मानसिक रोगीहरु पूर्ण निको हुन सक्दछन् ।

अन्य मुलुकहरुको तथ्याङ्कलाई समेत केलाउँदा सिजोफ्रेनिया नै अथवा साइकोसिस, डिप्रेसन, आत्महत्याको प्रयास, मद्यपान दुर्व्यसनजस्ता अन्य मानसिक रोगहरु समेत तिनमा पाइने गरेको देखिन्छ । हुनसक्छ, त्यस्ता रोगका कारण नै तिनीहरु घरपरिवारबाट भाग्दछन्, या गरीबी, सामाजिक कलङ्कको डर, लोकलज्जाका कारण परिवार एवं समाजले नै तिनलाई सडकबासी बन्न विवश गराएको हो । एक क्षणका लागि मानसिक रोगलाई चटक्कै बिर्सिदिँदा पनि तिनमा श्वासप्रश्वाससम्बन्धि रोग, चोटपटकको सम्भावना, पोषणतत्त्वको कमीका कारण हुने रक्तअल्पता, भिटामिनको कमी, उचित सरसफाइको कमीका कारण जुम्रा, जुका आदिले सताउने, जीवाणु संक्रमण, छालाको रोग देखिने गर्दछ । त्यस्तै लागुपदार्थ दुर्व्यसन, सुई साटासाट या असुरक्षित,अप्राकृतिक यौन सम्पर्कका कारण एच. आइ. भी. समेत हुने खतरा रहन्छ । त्यस्तै कुष्ठरोग, क्षयरोगजस्ता रोग लागेका व्यक्तिहरु समाजमा व्याप्त अन्धविश्वासका कारण घरैबाट लखेटिएका पनि हुनसक्छन्, अनि तिनमा समेत मानसिक रोगको सम्भावना बढ्न जाने गर्दछ ।

यसरी परिवार, समाज एवं राज्यले उचित स्याहार–सम्भार गर्न नसक्दा सडकबासी अनि भ्रमित मनमा पिल्सिरहेका बिरामीहरुको संख्या बढ्न गएको हो । यसका कारकतत्त्वहरुको बारेमा विश्लेषण गर्दा सर्वप्रथम ती बिरामीहरुकै सामाजिक परिस्थितिको अध्ययन गर्नु मनासिब होला । ती बिरामीहरुमा प्राथमिक शिक्षा उतीर्ण गरेका या उचित रोजगारी पाएकाको संख्या एकदमै न्यून छ । त्यस्तै तिनको पारिवारिक अवस्था नाजूक देखिन्छ, गरिबी, अभाव, शैशवकालमै आमाबाबु गुमाएका, सानैमा गार्हस्थ हिंसा या दुर्व्यवहारको सिकार भएका छन् प्रायः ती सब । त्यस्तै रोगकै कारण आफ्ना अत्यावश्यक दैनिक कृयाकलापका लागि पनि असमर्थ छन् ती । ठूलो संख्यामा त्यस्ता बिरामीहरु अपराध कार्यमा संलग्न, जेलसजाय पाएका या जेलबाट भागेका,भगाइएका समेत छन् ।

अतः गरिबी, अभाव, एकाकीपन, असहायपन, अपराधोन्मुख प्रवृत्ति आदिका कारण ती बिरामीहरु सडकमै रहन विवश छन् । अनि त्यसैका कारण सडकबासी भएकाहरु एक या अर्को रोगको सिकार भइरहेका पनि छन् । विडम्बना नै भन्नुपर्छ, तिनले उचित रेखदेख अनि स्याहारसम्भार नपाउनुमा पनि उपरोक्त कारणहरु नै जिम्मेवार छन् । कसरी अन्योन्याश्रित रुपमा जकडिएर अनि जेलिएर रहेका छन् यी कार्य–कारण सम्बन्धहरु ?

सेवाप्रदायक निकायहरु, समाजकल्याणका लागि खोलिएका सरकारी–गैरसरकारी संस्थाहरु, स्वास्थ्य केन्द्रहरु,अनि न्याय–सुरक्षाका लागि जिम्मेवार प्रशासनिक कार्यालयहरु, सबैबीच उचित संयोजन पो नभएको हो कि ?

समस्याहरु त देखियो, समाधान के त ?

मैले माथि नै उल्लेख गरेको घटनाले समस्याको सजीव चित्रण मात्र नगरी त्यसैबाट समाधानको सूत्र पनि पहिल्याउन सकिएला भन्ने आशा गर्दछु । म मानसिक रोग विशेषज्ञ, प्रायः बिहानै एक वयस्क मानसिक रोगीलाई सडकपेटीमा देख्दछु । मैले केही औषधि प्रदान गरेर उनलाई रोगमुक्त गराउन खोजेको पनि हुँ । तर, उचित बसोबास, स्याहारसम्भार अनि सामाजिक हेरचाहबिना औषधि दिएर मात्र उनी निको हुन सक्दैनन् । त्यसका लागि मेरो व्यक्तिगत प्रयासमात्र पर्याप्त हुँदैन । समाज एवं राज्यले नै दायित्वबोध गरेर तिनी र तीजस्ता सडकबासी बिरामीहरुलाई अस्थायी (या स्थायी नै) निवासको प्रबन्ध गर्न सक्नुपर्दछ । त्यस्तै, स्वास्थ्यको नियमनकारी माथिल्लो निकायले नै त्यस्ता रोगीहरुलाई निःशुल्क औषधिको प्रबन्ध गर्ने तदारुकता देखाउन सकेमा गरिबीका कारण औषधोपचार नपाई सडकमा आउन विवश बिरामीहरुको संख्यामा कमी आउने थियो कि ? यसका लागि धेरै ठूलो बजेट चाहिने होइन, हाल विद्यमान “अत्यावश्यक औषधिको सूची” मा हाम्रो समेत सल्लाह–सुझाव लिएर केही महत्त्वपूर्ण मनोचिकित्सकीय औषधि थप गरे पुग्छ । अनि लोकलज्जा एवं पारिवारिक–सामाजिक अपहेलना निवारणार्थ ठाउँ–ठाउँमा चेतनामूलक कार्यक्रम चलाउनुर्ने हुन्छ । समय–समयमा ठूला अस्पताल÷मेडिकल कलेजहरुले त्यस्ता सडकबासी रोगीहरुको हितलाई ध्यानमा राखेर सेवामूलक स्वास्थ्य शिविर सञ्चालन गर्ने गर्नुपर्दछ । त्यस्तै, समाज कल्याण परिषद् जस्ता निकायले “सडकबासी बिरामीहरु’’को बारेमा बेलैमा सोचिदिए राम्रो हुन्थ्यो जस्तो लाग्दछ । कहिलेकाहीँ जेलमा रहेका मानसिक रोगीहरुको उपचार गर्ने क्रममा म ती पनि भविष्यमा सडकबासी बिरामी बन्ने हुन् कि भनी चिन्तित हुने गर्दछु । यसले स्वास्थ्य समस्यामात्र नबढाई अपराधीकरणमा पनि अझ बढोत्तरी गराउन सक्दछ । यी सब तथ्यहरुप्रति जिम्मेवार निकायहरुले ध्यान पुर्याउन ढिला भइसकेको छ ।

चिकित्सकीय दृष्टिबाट ती सडकबासी वयस्क व्यक्ति या त मेरा सहयात्री साथीले बहुलाहा भनी प्रश्न उठाइएका व्यक्ति या त समाचारमा आएका घरमै थुनिएर रहेका अर्का कुनै मानिस अथवा भ्रमित मन लिएर बाँचिरहेका या त्यस्तै प्रकृतिका अन्य मानसिक रोगीहरुको बारेमा सम्बोधन गर्नुपर्दा गर्भावस्थादेखिकै विकासक्रमको अध्ययन गर्नुपर्ने हुन्छ । भ्रुणावस्था अनि जन्मेपछिको १ वर्षे अवधि जुनसुकै जीवको शारीरिक, मनोवैज्ञानिक अनि सामाजिक विकासका लागि महत्त्वपूर्ण हुन्छ । त्यस समयमा कुनै पनि कारणले मस्तिष्क विकासमा असर पर्न गएमा विभिन्न रोगहरु देखापर्न सक्दछ, जसको समयमै निराकरण नभएमा भविष्यमा माथि उल्लेखितझैं दीर्घ समस्या नै आइपर्दछ ।

गर्भवती आमाको खानपान, औषधोपचार अनि स्याहारसुसारमा कमी कमजोरी रहन गएमा तिनको गर्भमा रहेको भ्रुणको वृद्धि—विकासमा असर पर्दछ । अन्ततः जन्म लिने बच्चामा सुस्तःमनस्थिति, मस्तिष्क पक्षघात, अपाङ्कता या आनुवंशीक दुर्बलताहरु देखिन सक्दछ । त्यस्तै, पहिले स्वस्थ जन्मेको बच्चाको मस्तिष्कमा उचित जैविक या रासायनिक परिवर्तनहरु हुन नसकी ‘छारेरोग’, ‘अटिजम’, ‘डिस्इन्ट्रिगेटिभ डिस्अर्डर’ या ‘साइकोसिस ’ अथवा “सिजोफ्रेनिया” जस्ता रोगहरु देखा परी बालकबालिकालाई शारीरिक एवं मानसिक रुपमा अपाङ्ग बनाउन सक्दछ । समयमा नै दक्ष चिकित्सकहरुद्वारा उपचार प्रक्रिया अवलम्बन नगराउने हो भने यी समस्याहरुले तिनको प्राज्ञिक, सामाजिक, भावनात्मक एवं नैतिक विकासमा अवरोध पुर्याई यसरी नै खोरमा अमानवीय यातना पाउन विवश हुन पुग्छन् तिनीहरु ।

त्यसो भए तिनलाई भ्रमित अवस्थामा तिरस्कृत रहनबाट जोगाउने कसरी त ?

१. गर्भवती महिलाको स्याहारसुसार, खानपानका अतिरिक्त तिनले नियमित रुपमा स्वास्थ्यचौकी पुगेर गर्भपरीक्षण गराउने, परिवार नियोजन आदिको परामर्श लिने व्यवस्था मिलाउने ।

२. स्वास्थ्य चौकीमा नै बच्चा जन्माउन अनिवार्य बनाउने ।

३. नवजात शिशुमा संभावित आनुवंशीक दुर्बलता परीक्षण गर्ने प्रक्रियालाई नियमबद्ध बनाउने ।

४. बच्चाको एकवर्षभित्र हुनुपर्ने तौल, लम्बाइ, टाउकाको गोलाइ आदिको नापका साथसाथै तिनको शारीरिक एवं सामाजिक वृद्धिविकासका बारेमा आमाबाबुलाई सुसूचित गराउने । यसमा कुनै व्यवधान आएको शंका भएमा विशेषज्ञको परामर्शका लागि पठाउने व्यवस्था मिलाउने । खतराका संकेतहरुका बारेमा जानकारी दिलाउने ।

५. नवजात अवस्थामा बेहोस हुने, अङ्गहरु नचलाउने या बढी चलाउने, दृष्य, शब्द, ताप अनि ध्वनिजस्ता संकेतहरुमा कुनै प्रतिक्रिया नदेखाउने, नहाँस्नेजस्ता नकारात्मक लक्षणहरु भेटिएमा विशेषज्ञसँग परामर्शका लागि सहायता गर्ने ।

६.मनोचिकित्सकहरुसँग सल्लाह—परामर्श विक्षिप्तावस्थामा मात्र नभई बालबालिकाको वृद्धिविकासको समयदेखि नै आवश्यक रहने गर्दछ भन्ने चेतनाको विकास गराउने ।

७. बालबालिकाहरुमा मस्तिष्क वृद्धिविकासजन्य समस्याहरु दैवी, राक्षसी, भूतप्रेत या ग्रहदशा दोषले नभई जैविक कारणहरुले नै हुनेगर्दछ र तिनको जैविक उपचार संभव छ भन्ने चेतना समयमै फैलाउनसकेको भए ‘अगम’का आमाबाबुले उसलाई झाँक्रीकहाँ लगेर झारफूक गर्नुको साटो अस्पतालतिरै लैजाने थिए कि ?

यी त भए सडकमा या खोरमा पुग्नबाट जोगाउने उपायहरु ।

तर सडकमा या खोरमा नै रहन बाध्यहरुलाई खोरबाट बाहिर ल्याएर भनौँ या सडकबाट परिवार या समाजमा पुनस्थापित कसरी गर्ने त ?

यसका लागि सरकारी पहलकदमीको नै आवश्यकता देखिन्छ । ‘छारेरोग’, ‘सिजोफ्रेनिया’ र ‘साइकोसिस ’ जस्ता समस्याहरु त सामान्य औषधोपचारबाट नै निको हुन सक्दछन्, अतः सरकारले निःशुल्क उपलब्ध गराउने अत्यावश्यक औषधिको सूचीमा यसलाई पनि समावेश गरी मनोचिकित्सकको सिफारिसमा जिल्ला तहबाटै वितरण गर्ने व्यवस्था मिलाउनु पर्दछ ।

त्यस्तै सुस्तःमनस्थिति, ‘अटिजम’, पक्षघात एवं गम्भीर किसिमका शारीरिक एवं मानसिक अपाङ्कता भएकाहरुको जैविक र मनोसामाजिक उपचार गराउन विभिन्न स्तरका पुनस्थापना केन्द्र स्थापना गर्नेतिर ध्यान दिन जरुरी भइसकेको छ ।

यसतर्फ हामी मनोचिकित्साकर्मीहरुले नै पहल गर्ने हो कि ?

अन्त्यमा एउटा सकारात्मक पक्ष ।

विद्यार्थीहरुसँग “सिजोफ्रेनिया” रोगको बारेमा छलफल गर्ने क्रममा यदाकदा मेरो दिमागमा एउटा सुखद परिदृश्य खडा भइरहने गर्दछ ।

मेरो ओपिडीमा आइरहने एक प्रौढ व्यक्ति छन् जो बिगत दुई तीन दशकदेखि नै नियमित औषधि सेवन गरिरहेछन् । हो, संभावित दुष्परिणामहरुको समाधान हेतु परिवर्तित भइरहेका होलान् औषधिका नाम, तर उनको रोग भने ‘सिजोफ्रेनिया’ नै हो । उनी नियमित उपचारका कारण आफ्नो शिक्षण पेशा धान्न सक्षम छन् । उनकी श्रीमती सुखी छिन्, बाबुआमा खुसी छन्, अनि छोराछोरीहरु स्वस्थ र सबल छन् । मात्र एउटै कुरामा ती सबै दृढ छन्, “कसैगरी पनि तिनको औषधि भने छुट्नु हुँदैन…”, ती सबले बुझेका छन् कि यो रोगका लागि पनि ‘प्रेसरसुगर’का लागि झैं नियमित औषधि सेवन जरुरी छ ।

त्यसैले म ढुक्क भन्न सक्ने अवस्थामा छु, नियमित औषधि सेवन गरेर मात्र नै भ्रमित मनलाई नियन्त्रण गर्न सकिन्छ, सिजोफ्रेनियाबाट मुक्ति पाइन सक्दछ , सडकबासी हुन पर्दैन न त खोरमा थुनिन नै पर्दछ । त्यति भएपछि त कसैलाई पनि बहुला या पागलका रुपमा कलंकित बन्नु पर्ने त प्रश्न नै उठ्दैन नि ।