१ डिसेम्बर २०२०,मंगलबार:

 यो पटक मेरो भ्रमणको प्रमुख गन्तव्य थियो प्रालिन आइल्याण्ड र त्यसमा पनि आश्चर्यजनक वनस्पति ‘कोको डे मेर’ पाइने रहस्यमय स्थल ‘भाली डे माई!’ प्रालिन आइल्याण्ड आएको दोश्रो दिन । उत्साह छ मनभरी । गणतन्त्र सेसेल्स आफ्ना ११५ वटा सानाठूला टापुहरु च्यापेर स्वाधीन बाँचेकोछ सन् १९७६ देखि। त्योभन्दा अघि कहिले फ्रान्स त कहिले बेलायतको औपनिवेशमा थियो भन्ने कुरा त बेलाबेला मैले उल्लेख गरेकैछु सप्रसङ्ग। माहे आइल्याण्ड सबैभन्दा ठुलो र प्रालिन आइल्याण्ड दोश्रो ठुलो टापु हो सेसेल्सको। यो कुरा पनि अवगत गराइरहेकै छु। आज म त्यहि दोश्रो ठुलो टापुमा छु र एक रात बास पनि बसिसकेकोछु। यहाँ आउने,घुम्ने र सुनिएका यहाँका अद्भुत कुरा प्रत्यक्ष बुझ्ने धोको थियो। अब पुरा हुनेवाला छ। प्रालिन आइल्याण्ड टेक्दै नटेकेको चाहिं होइन। एकपटक कम्पनीको अफिसियल भ्रमणका लागि यहाँको तेश्रो ठुलो टापु लाडिग आइल्याण्ड जाने भइयो। भ्रमण दलमा संलग्न दुइजना स्थानिय स्टाफ प्रालिनमा थिए ।  उनीहरुलाई पिक अप गर्न हामी सवार बोट आएको थियो।

तिनीहरुलाई पर्खिने क्रममा बोट बिसाइएको बन्दरगाह छेउछाउ यसो पल्याकपुलुक टहलिने सम्मको काम भएथ्यो। उनीहरु आउनेबितिक्कै हिंडीहालेका थियौं। त्यत्ति हो, प्रालिन टेकेको। सिर्फ छोएर मात्र गएको। अब धित मरुन्जेल छाम्ने साइत जुरेकोछ। प्रालिन: लेखाइमा प्रास्लिन (Pras।in) भए पनि उच्चारणमा प्रालिन हुन्छ । जसरी Is।and = आइसल्याण्ड हुनुपर्ने तर आइल्याण्ड भनिन्छ । लेखाई र बोलाईमा फरक छन् केहि अंग्रेजी शब्दहरु। जस्तै: फोर = फो, कनाइफ़ = नाइफ़, पसाइकोलोजी = साइकोलोजी आदि । यस्ता थुप्रै शब्द छन् जसलाई लेखाइभन्दा फरक ढंगले पुकारिन्छ। त, भनिन्छ नि- इङ्गलिस इज द क्रेजी ल्याङ्ग्वेज । यो सामान्यज्ञानको कुरा नगरुँ भो, बच्चालाई पनि थाहा छ यति त। प्रालिनलाई यहाँको स्थानिय भाषा क्रेओलमा चाहिं प्राले भन्छन्। फ्रेन्च भाषामा भने प्रालें । लगभग उस्तै उस्तै । फ्रेन्च र क्रेओल भाषामा धेरै समानता पाइन्छ । यी त भए भाषा र शब्दोच्चारणका कुरा ।

विशाल हिन्द महासागरको सुन्दर देश सेसेल्सको दोश्रो ठुलो टापु प्रालिन राजधानी भिक्टोरिया रहेको पहिलो ठुलो टापु माहे आइल्याण्डबाट ४४ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ भने यसको क्षेत्रफल ३८.५ वर्ग किलोमिटर रहेकोछ । दुई प्रशासनिक जिल्लाहरु मिलेर बनेको प्रालिनको जनसंख्या लगभग आठ हजार रहेको तथ्याङ्क भेटिन्छ। यो टापुका वरिपरि देखिने अन्य सानाठूला टापुहरु लाडिग, कजिन, कुजिन, एरिड, राउण्ड आइल्याण्डहरु देख्दा लाग्छ प्रालिन रानी हो र अरु चाहिं माहुरी । ती अपतटिय टापुहरूमा पनि अन्तराष्ट्रिय स्तरका सुबिधा सम्पन्न होटेल रिसोर्टहरु छन्। त्यसो त प्रालिन आइल्याण्ड आफैं विश्वस्तरीय थुप्रै होटेल रिसोर्टहरु र विख्यात समुद्र तटले परिचित छँदैछ । आन्स लाजियो र आन्स जर्जेट पर्यटकका लागि प्रमुख आकर्षण हुन्। हामी पुगेकाछौँ त्यहाँ, अनि धित मरुन्जेल रमेकाछौं पनि । चर्चाको पालो आउनेछ ।

प्रालिन आइल्याण्डलाई सन् १९४४ मा अन्वेषक लाजारे पिकाल्टले ‘आइल डे पाल्मेस’ नाम दिएका थिए रे ! त्यसताका यो टापूलाई समुद्री डाकु र अरबी व्यापारीहरु लुक्ने ठाउँका रुपमा प्रयोग गरिन्थ्यो रे। पछि सन् १७६८ मा फ्रान्सेली कुटनीतिज्ञ सेजर गाब्रिएल डे चोइसुल,डक डे प्रास्लिनको सम्मानमा यसलाई प्रास्लिन नामाकरण गरिएको थियो रे। आज हामी पनि एक अन्वेषककै रुपमा आएकाछौं। हाम्रा अध्ययन,अन्वेषणहरु पनि जारी छन् ।

coco de mer – female

बिहानको चिया-खाजा खाइसकेर यसो इन्टरनेटमा भुलिंदै गर्दा खाना पाकेको संकेत अन्जु बहिनीले गरिन्।  नेपाली समय अनुसार नै नेपाली स्वादमा बिहानको खाना खाएर घरबाट निस्कियौं हामी तिनभाई । म, पन्तजी र मनोजजी । बिचमा थपिए छवी श्रेष्ठ र अरुण ओली । पुरुषोत्तमजी ड्युटीमा छुट्टी नमिलेकोले छुटे हामीसँग जानबाट । ‘कोको डे मेर’ का बारेमा थोरबहुत त ज्ञान छ मलाई । म कार्यरत फ्रिगेट आइल्याण्डमा पनि फल्न बाँकी ३-४ नाबालिग रुखहरु छन् । फल पनि देखेकोछु, तर यहीं प्रालिन आइल्याण्डबाट आयातित । हाम्रा पर्यटकलाई चाहिए यतैबाट मगाउने हो । प्रसस्त किस्साहरु सुनेकोछु ‘कोको डे मेर’ का बारेमा । यसको बगानमै गएर प्रत्यक्षदर्शी हुने उत्कट अभिलाषा पुरानो हो । त्यहि रहर मेट्न आएकोछु आज यहाँ । मनभरी उत्सुकता बोकेर पुग्यौं ‘भाली डे माई’ जसलाई अंग्रेजीमा ‘मे भ्याली’ भनिँदोरहेछ । सन् १९८९ मा स्थापना भएको भ्याली डे माई राष्ट्रिय निकुञ्ज अद्वीतीय कोको डे मेर र भेनिला अर्किडका लागि विश्व प्रख्यात छ।  एक रिपोर्ट अनुसार खार्तुमका जनरल चार्ल्स जर्ज गोर्डनले सन् १८३३-३५ मा ‘भ्याली डे माई’ लाई बाइबलको “इडेनको बगैंचा” भनेका थिए रे।  सेसेल्स सरकारले यो टापुको दक्षिणमा रहेको ठुलो क्षेत्रलाई प्रास्लिन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रहरुलाई महत्वपूर्ण पंक्षी आवास क्षेत्रको रुपमा तोकेको रहेछ।

प्रवेशद्वारको भित्रीभागमा व्यवस्थित कन्जरभेसन अफिस रहेछ । त्यहाँ पनि स्थानीय वासिन्दा र भिसाधारी कामदारलाई टिकट नलाग्नेरहेछ । पासपोर्ट र भिसा देखाएपछी हामीलाई निशुल्क प्रवेश मिल्यो । पर्यटकलाई भने प्रवेश शुल्क नै सय डलर रे । सामान्य ब्रिफिङ्पछी एक कन्जरभेसन कारिन्दा युवतीले हामीलाई एक-एक ‘फरेस्ट गाइड बुक’ उपलब्ध गराई । हामी छिर्यौँ त्यो भव्य अनि अद्भुत जङ्गलभित्र ।

म जङ्गल छेउकै गाउँमा जन्मी-हुर्की गरेको पहाडे मान्छे । जङ्गलमै घाँस-दाउरा,गोठालो गरेर बाल्यकाल बित्यो । संयोग: अहिलेपनि समुद्री टापुको जङ्गलभित्रै अवस्थित रिसोर्टमा बनिबुतो गरिरहेकोछु । जङ्गल मेरो लागि प्रिय छ । जङ्गलले मलाई एकप्रकारको छुट्टै सुखानुभूति दिन्छ। जङ्गलप्रति मेरो मोह छ। जङ्गलको नामै सुन्दा नोस्टाल्जिक भईहाल्छु म। एक हिसाबले जङ्गली मान्छे हूँ म । सरकार संरक्षित केहि जङ्गल पनि देखेकोछु । थुप्रै सामुदायिक जङ्गल घुमेकोछु । तर आजसम्म यति सफा र व्यवस्थित जङ्गल कहीं देखेको थिइन मैले । त्यो स्निग्ध र सुगम जङ्गली बाटो अपाङ्गमैत्री थियो, व्हील चेयर पनि गुडाउन मिल्ने । ‘भाली डे माई’ कन्जरभेसन अफिसको पश्चभागबाट संरक्षित जङ्गल छिर्दा यस्तो लाग्यो कि हामी त्रिभुवन विमानस्थलको अग्रभागबाट काठमाडौँ शहर छिर्दैछौं । आफ्नै पातको स्वनिर्मित छानो सहितका ‘कोको डे मेर’ लहरै उभिएको देख्दा ति रुख होइनन् कि शहरका घर लाग्दारहेछन् । अघिको फरेस्ट गाइड बुक हेर्दै, आपसी छलफल गर्दै अवलोकन गर्दै अघि बढ्यौं हामी । अलिक पर ‘कोको डे मेर’ कै पातले छाइएको एउटा छाप्रो भेटियो जहाँ ‘कोको डे मेर’ का वयस्क फल, फूल, स्त्रीलिङ्ग, पुलिङ्ग डिस्प्ले गरिएको रहेछ । हामीले तिनलाई कौतुहलतापूर्वक हेर्यौं, छोयौं, छाम्यौं, सुमसुम्यायौं, उचाल्यौं, बोक्यौं र फोटो खिच्यौं ।

जति हिंड्दै र हेर्दै गयो उति रोमान्चक र आश्चर्यजनक पर्यावरणीय छटाहरुले हामीलाई लोभ्याईरहेका थिए । यो भ्रमण सिर्फ घुम्न र हेर्नको लागि मात्रै थिएन बरु यो त बहुप्रतिक्षित अध्ययन भ्रमण थियो । तसर्थ ठाउँ-ठाउँमा उपलब्ध इन्फर्मेशन बोर्डको फोटो खिच्ने, डायरीमा नोट गर्ने पनि गर्दैछु । आजको सामुहिक फोटोग्राफी र भिडियोको काम चाहिं अरुण ओली भाईले सम्हालेका छन् । यो मूलतः ‘कोको डे मेर’ कै जङ्गल भएकोले यसकै घनत्व छ । फाट्टफुट्ट अन्य रैथाने पाल्म प्रजातीका वनस्पति, टकामका र कटहरका रुखहरु पनि देखिन्थे । ‘भाली डे माई’ घुमेपछि र ‘कोको डे मेर’ देखेपछी/बुझेपछि यसका बारेमा केहि भनिएन/लेखिएन भने पाठकवर्गप्रति अन्याय हुने ठहरले छोटो जानकारी पेश गर्दछु यहाँ :

भाली डे माई : सेसेल्सको दोश्रो ठुलो आइल्याण्ड प्रालिनको मुटुमा अवस्थित एक प्रतिष्ठित प्रकृति संरक्षण केन्द्र हो । यहाँ संसारको दुर्लभ मानिने नरिवल प्रजातिको अद्भुत वनस्पति ‘कोको डे मेर’ संरक्षित छ । यसका अलावा अन्य पाँच-छ प्रजातिका पाल्म पनि रहेछन् । यहाँ दुर्लभ वनस्पतिको साथै सेसेल्सका रैथाने पशुपंक्षी र जिवात्माहरु कालो सुगा, स्तनपायी, क्रस्टेसियन, सरीसृप, निलो परेवा, बुलबुल, छेपारो, सर्प, अरिमट्ठे आदि प्रचुर मात्रामा आरक्षित छन् । यहाँ स्थानिय प्रजातिका रैथाने बाहेक सबै प्रजातिका बिदेशी वनस्पति भने उन्मुलन गरिएको रहेछ।

सेसेल्सको मूल पाल्म प्रजातीय जङ्गलको घर ‘भाली डे माई’ लाई ‘इडेनको बगैंचा’ भनेर वर्णन गरिएकोछ। यसको एकान्त र रहस्यमय प्रकृति साँच्चिकै अलौकिक लाग्दछ। जब सेसेल्स देश सुपरमहाद्वीप गोन्डवानाको भाग थियो, आजको अवस्थित महाद्वीपहरूमा विभाजन हुनुभन्दा धेरै वर्ष अघि, यो क्षेत्र अद्वितीय बोटबिरुवा र पशु विविधताले भरिएको थियो । आधुनिक संरक्षणका उपायहरूले आक्रामक वनस्पतिका प्रजातिहरू, साथै मानिसहरूद्वारा परिचय गराइएका वनस्पतिहरूलाई हटाउने र कोको डे मेरको घरको रूपमा उपत्यकाको मूल चरित्रलाई निरन्तर रूपमा सुनिश्चित गर्ने लक्ष्य राखिएको रहेछ।

लाखौं वर्षदेखि अपरिवर्तित यस पुरानो जंगल क्षेत्रमा प्रागैतिहासिक निशानहरू पछ्याउन सम्भव छ, र यहाँ पाइने सबै छवटा स्थानीय पाम प्रजातिहरू फेला पार्न सकिन्छ। कोको डे मेर, संसारको सबैभन्दा ठूलो बीउको रुपमा चिनिनु, यहाँ आउने सबै आगन्तुकहरूद्वारा विशेष रूपमा प्रशंसा गरिनु र यो राष्ट्रिय निकुञ्जको विश्व सम्पदा साइटमा अवस्थिति प्रमुख कारण हुन सक्छन्।

सन् १९३० सम्म यो निकुञ्ज अविचलित कुमारी वन थियो रे। सन् १९६६ मा वन्य पंक्षी संरक्षण नियमन १६९६ अन्तरगत स्थानीयले प्रकृति संरक्षणस्थलको रुपमा यसलाई प्राप्त गरेछन्। ४८ एकड क्षेत्रफलमा फैलिएको भ्याली डे माईले ६,००० भन्दा बढी कोको-डे-मेर कै रूखहरूको भएको कारण युनेस्कोको विश्व सम्पदाको दर्जा कमाएको रहेछ । यी सुन्दर रूखहरू एक पटक समुद्रको भुइँबाट अंकुरेको विश्वास गरिन्छ । प्रागैतिहासिक समयदेखि धेरै विकसित भएका छैनन् यिनीहरु । यसलाई अझ राम्रोसँग संरक्षण गर्नको लागि सन् १९७९ मा प्रास्लिन राष्ट्रिय निकुञ्जको रुपमा रुपान्तरण गरिएको रहेछ। पछि सन्  १९८३ मा विश्व सम्पदा सुचिमा सुचिकृत भाली डे माईको संरक्षकत्व सन् १९८९ देखि सेसेल्स आइल्याण्ड फाउन्डेसनले लिएको रहेछ । यहि फाउन्डेसनको कुशल व्यवस्थापन र संरक्षकत्वमा आज यो विश्व सम्पदा अध्ययन, अनुसन्धान, शिक्षा र पर्यटनको दिगो विकाश अनि भावी सन्ततिको लागि राष्ट्रिय गौरवको ऐतिहासिक स्थलका रुपमा विकसित छ । वनस्पति र चराको विशेष अध्ययनका लागि जानेहरुलाई दिन बितेको पत्तो हुँदैन यहाँ । हामी चाहिं केहि अध्ययन र केहि अवलोकनका लागि गएको हुनाले केहि घन्टामै सन्तुष्ट भएर फर्कियौं ।

कोको डे मेर : यो संसारकै दुर्लभ, अद्भुत र चमत्कारिक वनस्पति रहेछ । फ्रेन्च र क्रेओल भासामा ‘कोको डे मेर’ भनिने यसको अंग्रेजी नाम Sea coconut (सामुद्रिक नरिवल) रहेछ । संसारको सबैभन्दा ठुलो र गह्रुङ्गो मानिने यो फलका अनौठा विशेषताहरु भेटिए । यसको तौल नै सामान्यतया १५-३० किलो हुँदोरहेछ । विश्व रेकर्डमा ४२ किलो सम्मको रहेछ । यसको साइज ४०-५० सेन्टिमिटर हुँदोरहेछ । उम्रेर परिपक्क हुनै ६-१० वर्ष लाग्दोरहेछ यसलाई । यसको बिज टुसाउन दुई वर्ष, बिरुवा हुर्केर फूल्न एघार वर्ष अनि फल्न २०-४० वर्ष लाग्दोरहेछ । जब यो पाक्छ र बाहिरी खोस्टा नंग्याइन्छ तब यो महिलाको नितम्ब आकारमा प्रकट हुँदोरहेछ । दुरुस्तै मानव महिला शरीरको तल्लो भाग । पछाडी नितम्ब र अगाडी तल्लो पेटदेखि मुनिको यौनाङ्ग काटीकुटी उस्तै । यसको पात पनि संसारका अन्य वनस्पति जगतमा सबैभन्दा लामो । लम्बाई ६-१० मिटर, चौडाई ५ मिटर । हरियो मुकुटजस्तो विशाल यसको पात सोली आकारमा फैलिंदा जङ्गलका अन्य जिवात्माहरुलाई पानी पर्दा ओत लाग्न सजिलो हुँदोरहेछ । पचास वर्षभन्दा बढीको उल्लेखनीय जीवनकाल भएको यो वृक्ष वनस्पति जगतकै दिर्घायु हुँदोरहेछ । यसको भाले फूल पनि ठ्याक्कै मानव पुरुष लिङ्ग आकारको हुँदोरहेछ । साइजमा एक मिटर लामो यो फूल पनि संसारकै लामो फूलमा पर्दोरहेछ ।

कोको डे मेर प्रालिन  र क्युरियस टापुहरूमा मात्र प्राकृतिक रूपमा बढ्दोरहेछ । रूखको सबैभन्दा पुरानो नमूना लगभग ३००  वर्ष पुरानो र २७  मिटर अग्लो सम्मको छ।  एकदम सीधा ट्रंक र ठूला पंखा आकारका पातहरू सहित। पोथी रूखले २५  किलोग्राम सम्मको मुटुको आकारको फल फलाउँछ, जुन संसारको सबैभन्दा ठूलो र भारी बीउ हो। यो यति ठूलो र भारी छ कि यसलाई जनावरहरूले बोक्न सक्दैनन्। जबकि यदि यो पानीमा खस्यो भने, यो बिग्रन्छ र यो डुब्छ। मानव स्त्रीको यौनाङ्ग  क्षेत्रको सम्झना दिलाउने यसको छुट्टै आकारको कारण, यो बीउले कुनै समय पूर्व शाही अदालतहरूमा प्रतिष्ठित खजानाको रूपमा प्रतिष्ठा प्राप्त गरेको रहेछ।
अर्को आश्चर्यको कुरा त के छ भने- यो अन्य वनस्पति जस्तो यौटै रुखमा फूल्ने/फल्ने नहुँदोरहेछ । भाले रुख र पोथी रुख फरक-फरक हुँदारहेछन् । भाले रुखले पोथी रुखलाई सम्भोग (परागण) गरेपछि मात्र पोथी रुख फूल्ने/फल्ने हुँदोरहेछ । अझै अचम्मको कुरा त के छ भने- यिनीहरुको सम्भोग राती मात्र त्यसमा पनि पूर्ण चन्द्रमा (पूर्णिमा को रातमा) हुँदोरहेछ । किम्बदन्ती अनुसार यिनीहरुले लजाउँदै सम्भोग गरेको बेला मानव जातीले हेर्नु हुँदैन । हेरियो भने कि त्यो मान्छे मर्छ कि अन्धो हुन्छ रे !

थुप्रै दृष्टान्त, मिथक, किम्बदन्ती र ऐतिहासिक/पौराणिक कथाहरु भेटिए यो वनस्पतिका बारेमा ।

मलाय पौराणिक कथानुसार:

‘कोको डे मेर’लाई रहस्यमय र जादुमयी गुणहरू भएको नट मानिन्छ । नट र यसको रूखको उत्पत्ति अज्ञात थियो, जसले गर्दा नटको रहस्यमय प्रकृति थपियो । कोको डे मेरको आकार ठुलो भएका कारण पानीमा तैरन असमर्थ छ, त्यसैले समुद्रमा डुब्न सक्छ। समय बित्दै जाँदा जैविक प्रक्रियाका कारण नटको बाहिरी भुसी सुक्दै जान्छ र बिरुवाको भित्री अङ्कुरण हुने भागहरू क्षय भई सड्छन् । फलत: निस्कने ग्यासहरूले नाङ्गो बीउलाई समुद्रको माथितिर धकेल्छ, जुन समुद्री धाराहरूले टाढाको किनारहरूमा पखाल्दै पुराउँछ ।

मलायाका नाविकहरूले यी नटहरू समुन्द्रको खाटबाट ‘माथि झरेको’ देखे। यसले उनीहरूलाई हिन्द महासागरको फेदमा जङ्गल छ भन्ने विश्वास दिलायो । उनीहरूले यी रुखहरूमा हात्ती र बाघको शिकार गर्ने विशाल चरा गरुडको बासस्थान भएको पनि विश्वास गर्थे। अर्कोतर्फ, अफ्रिकी पादरीहरूको अर्को चाखलाग्दो विश्वास पनि थियो। उनीहरूले भनेका छन् कि- कोको डे मेर रूखहरू कहिलेकाहीँ समुद्रको पानीभन्दा माथि उठ्छन् र परिणाम स्वरूप उत्पन्न भएका अशान्त छालहरूले वरपरको कुनै पनि जहाजको यात्रामा अवरोध पुर्‍याउँछन्। त्यसपछि गरुडले यी जहाजहरूमा यात्रा गर्ने मानिसहरूलाई मारेछन् ।

माल्दिभ्सको पौराणिक कथा भन्छ :

‘कोको डे मेर’का खोक्रा अङ्कुरित नटहरू शक्तिशाली सामुद्रिक छालले माल्दिभ्सको किनारमा लान्थे । तर मान्छेहरू पूर्णतः अज्ञात थिए । किनारमा पुग्ने यी खोक्रा नटहरू उर्वर नभएकाले तिनीहरूबाट कुनै रूखहरू उम्रेनन् । नटको असामान्य आकारले यस टापुका बासिन्दाहरूलाई हैरान पारेको किंवदन्ती रहेछ । माल्दिभ्सको किनारमा पाइने कुनै पनि कोको डे मेर नट शाही अदालतमा पेश गर्नुपर्थ्यो रे । यसलाई शाही खानदान बाहेक अरुले राखे मृत्युदण्डको सजाय पाउँथ्यो रे ! डच एडमिरल वोल्फर्ट हर्मनसनलाई उनको सेवाको बदलामा बान्टमको सुल्तानले सन् १६०२ मा कोको डे मेर नट उपहार दिएका थिए रे । नटको माथिल्लो भाग चाहिं काटिएको थियो रे ! किनभने यो एडमिरलको नम्रताको अपमान हुने भएकोले । कोको डे मेरमा औषधीय गुण पनि हुने विश्वास गरिएको थियो रे।

सेसेल्समा पौराणिक कथा यस्तो छ:

सन् १७४३ अघि सेसेल्समा कोको डे मेर देखिएकै थिएन रे ! पछी यसको खोजले कोको डे मेरको बारेमा अर्को किंवदंती जन्माएछ । यो बिरुवाको फल पोथी रुखमा मात्र फल्ने भएकाले रातीमा भाले रुखले पोथीलाई माया गर्न हिँड्ने गर्दछ रे। नटको कामुक आकार धेरै हदसम्म यस गुप्त प्रेम निर्माणको लागि जिम्मेवार छ भन्ने कुरा त हेरेरै अन्दाज गर्न सकिन्छ । यहाँ एउटा यस्तो अचम्मको किंवदन्ती छ कि- जसले यी रूखहरू राती एकअर्कालाई सम्भोग गरेको देख्यो कि त्यो मान्छे मर्ने वा अन्धो हुने भएछ । कोको डे मेरको परागकण अझै वैज्ञानिक र जीवविज्ञानीहरूले पूर्ण रूपमा पहिचान गर्न नसकेकाले पनि यी रूखहरूले एकअर्कालाई माया गर्ने यो विश्वासलाई थप बलियो र पत्यारलाग्दो बनाएको छ ।

पछी युरोपेली कुलीन खानदानमा उपहारको रुपमा आदानप्रदान गरिन्थ्यो रे । अलिक पछी यसलाई चमत्कारिक वस्तुका रुपमा घरमा राख्ने, आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्ने साथै घरमा सुब्बेफाब्बे होस्, रोगव्याधी नलागोस् भनेर रक्षाको लागि राखिने गर्न थालिएछ ।

आजकल यसलाई सजावटको महँगो वस्तुका रुपमा प्रयोग गरिन्छ । संसारको लामो, ठुलो, गह्रौं वीजपत्र, फूल, फलको रुपमा प्रख्यात ‘कोको डे मेर’ का अन्य पनि प्रचलित नाम रहेछन्- सी कोकोनट, लभ नट, डबल कोकोनट, कोको फेस्से आदि । यसको बायोलोजिकल नाम भने ‘लोडोइसिया माल्दिभिका’ रहेछ ।  सेसेल्समा मात्र पाइने नरिवल प्रजातीको दुर्लभ, अद्भुत, चमत्कारिक र कामुक यो वनस्पति यहाँबाट बाहिर लान पाइँदैन । सुख्खा फल चाहिं लान मिल्छ, तर महँगो मूल्यका साथै आधिकारिक सरकारी निकायको अनुमतिपत्र अनिवार्य चाहिन्छ । सेसेल्सले ‘भाली डे माई’ र ‘कोको डे मेर’ लाई राष्ट्रिय गौरव, पर्यटकको प्रमुख आकर्षण र आय आर्जनको ठुलो श्रोत बनाएकोछ ।

कोको डे मेर लाई  ‘लभ नट’ पनि भनिन्छ।  एकपटक सेसेल्स सरकारद्वारा क्याम्ब्रिजको ड्यूक र डचेसलाई उपहार समेत दिइएको थियो भनिन्छ।

एउटा तत्कालिन समाचार सम्झना आयो मलाई: सन् २०११ मा अखबारहरुले विश्वव्यापी हेडलाइन बनाए,- सेसेल्सद्वारा ड्यूक र डचेस अफ क्याम्ब्रिज – प्रिन्स विलियम र केट मिडलटनलाई उपहार दिइएको थियो। विशाल कामोत्तेजक नट, कोको डे मेर, सेसेल्स  सरकारले शाही दम्पतीलाई उपहार दिएका थिए।  जसले उनीहरूको शाही हनीमूनको लागि होस्ट गर्न पाउनु एक विशेषाधिकार माने। उनीहरूलाई यो कामुक नट घर ल्याउनको लागि विशेष इजाजतपत्र पनि दिइएको थियो। माहे आइल्याण्डमा आयोजित एक समारोहमा सेसेल्सका तत्कालिन राष्ट्रपति जेम्स मिसेलको तर्फबाट विदेशमन्त्री जीन-पल एडमले “गहिरो प्रेममा रहेको” जोडीलाई ‘लभ नट’ दिएका थिए। कोको डे मेर नट विल्स र केटलाई सेसेल्समा उनीहरूको भव्य र मनमोहक हनीमूनको अन्त्यतिर प्रस्तुत गरिएको थियो। बीबीसीले यस घटनालाई “रोयल हनीमूनर्सको कामुक सेसेल्स स्मारिका” को रूपमा रिपोर्ट गरेको थियो। टर्च-लाइट डिनर, रमणीय समुद्र तटहरू र हिन्द महासागरमा डुब्नका मीठा सम्झनाहरू बाहेक, क्याम्ब्रिजको ड्यूक र डचेसले सेसेल्सबाट शाब्दिक अर्थमा लिएको अर्को कुरा यो विदेशी नट – कोको डे मेर थियो।

कोको डे मेरले अनादिकालदेखि आँखी भौं उठाएको छ। यसको आकार सबैले बोल्न चाहेको हो, चाहे त्यो वैज्ञानिक होस् वा कवि होस् वा स्थानीय वा मिडिया पनि होस् । यस निषेधित फलको बारेमा धेरै रोमाञ्चक र आकर्षक चीज छन्  कि यसलाई “स्वाद” गर्ने इच्छालाई प्रतिरोध गर्न सकिन्न।  मैले पनि सकिन। हामीले पनि सकेनौ।  र त, वर्षौं कुरेर भए पनि दर्शन गरेरै छाड्यौं।  यो साँच्चै सेशेल्सको गौरव हो। प्रसङ्गवश : सन् २०२२ मार्चको तेश्रो साता नेपाल सरकारका तत्कालिन श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले सेसेल्सको मन्त्रीस्तरिय भ्रमण गरेका थिए। साथमा थिए सम्बन्धित र अन्य सचिव,उपसचिवहरु पनि।  गैर आवासिय नेपाली संघ सेसेल्सले स-पत्नी आएका उनीहरुको स्वागत,सम्मान कार्यक्रम राख्दा संयोगले कार्यक्रम संचालनको जिम्मा मेरो भागमा परेको थियो।  कार्यक्रमको समापनसँगै उपहारस्वरुप कोको डे मेरको काष्ठनिर्मित डमी प्रदान गर्ने क्रममा यसको अन्तरकथा मैले मन्चबाट सुनाउँदा उनीहरु सबैले बडो चाख मानेका थिए। आँखा तन्काएर हेरेका थिए।  वास्तवमा ‘कोको डे मेर’ यो पृथ्वी लोकमा देखिएको एउटा अलौकिक,अदभुत र अनौठो सत्य हो। स्मरण रहोस् : ‘कोको डे मेर’ सेसेल्सको राष्ट्रिय फल पनि हो।

एकपटक सेसेल्स पुगेको मान्छे ‘भाली डे माई’ जानू र ‘कोको डे मेर’ हेर्नू ! यहि निष्कर्षका साथ विच-विचमा भेटिने खोल्साबाट बगेको अर्गानिक पानी तुमलेटमा भरेर पिउँदै त्यहाँबाट बाहिरियौं हामी । यो भ्रमण प्याकेजकै मुख्य भाग सार्थक पारेर ।

फर्किंदा लेमुरिया रिसोर्टको स्टाफ आवासमा छवीजीले लिएर गए । त्यहाँ पनि थुप्रै नेपलीहरुसँग भेटघाट र चिनजान भयो । सन् २००८ मा पहिलोपटक सेसेल्स आउँदा जम्मा ३ जना नेपाली भेटेकोले आफुहरु नै सेसेल्स आउने पहिलो नेपाली लाग्दथ्यो । तर त्योभन्दा अघि आउने नेपाली पनि रहेछन् । इलामका उदय बस्नेतले आफु सन् २००६ मै आएको भन्दा म जिल्ल परें । उनि त उमेरले पनि ज्येष्ठ नेपाली लागे । त्यहाँ फलफूल र चिसो पेय पदार्थको स्वागत ग्रहण र सामान्य गफ पश्चात भोली लेमुरिया रिसोर्ट घुम्न आउने र घुमाउने दोहोरो सहमति गरेर निस्कियौं । प्रालिन आइल्याण्डको बन्दरगाहमा भेटिए अन्य तीन नेपाली । रमेश खड्का, खड्ग पुन र उनकी श्रीमती सवी । सेसेल्समा तेस्रोपटक नेपाली महिला देखें मैले । सबैसँग चिनजान र गफगाफ भयो । नजिकैको एक होटेलमा काम गर्दारहेछन् उनीहरु। आपसी काम, कमाई र कर्मस्थलका बारेमा जानकारी आदानप्रदान भयो । घाम क्षितिजमा डुब्ने तरखर गर्दै आधि सगर र आधी सागरमा पौडिने बेला छुट्यौं त्यहाँबाट । साँझमा बरजया होटेलको चौरमा अर्को जमघट भयो । एनआरएनएसँग आबद्द साथीहरु निम्त्याइएका रहेछन् । त्यहाँ अर्का ज्येष्ठ नेपाली भेटिए कृष्ण श्रेष्ठ । सम्भवतः सेसेल्समा यिनै हुन् सबैभन्दा पाका नेपाली । साथमा थिए अन्य ८-१० जना पनि । सबैसँग परिचयको आदानप्रदान भयो । एनआरएनए र अनेसासको विषयमा विमर्शण भयो । बेलुका मनोज निवासमा फर्केर खाना खाइवरी एकछिन पुरुषोत्तमजीसँग ठट्टा गरेर थकित शरीरलाई ओछ्यानमा आराम दिलायौं ।

क्रमशः…….