साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बुढ्यौली साहित्यकार र तिनका कृतिहरू

यी आख्यान–उपख्यानहरूको मूल स्रोत भने संस्कृत वा वैदिक साहित्य नै रहेको देखिन्छ । नीति उपदेश, नैतिकताका कुराहरूले भरिएका यी आख्यानहरूमा रहेका अलौकिक कल्पना र कथात्मकता वृद्धवृद्धाका निजी पहिचानका विषयसँग नजिक रहेको मानिन्छ ।

Chovar Blues Mobile Size

बुढ्यौली साहित्यको सुरुवात प्राचीनकालमै भएको हो । अझ विस्तृत अध्ययन गर्दा वैदिककालका पुराण तथा आख्यानमा बुढ्यौलीका अनुभव र अनुभूतिको प्रयोग प्रचुर मात्रामा भएका छन् । पुराण, नीतिकथा, मिथक, लोककथा र दन्त्यकथामा वृद्धवृद्धाका घटना, विषयवस्तु तथा परिवेश समेटिएकै छन् । बुढ्यौली साहित्यमा तत्कालीन व्यक्ति, परिवार तथा सामाजिक समस्यालाई यथार्थ रूपमा प्रस्तुत गर्ने, सामाजिक आदर्शका रूपमा चित्रणका साथै मानवीय कोमल भावनाको प्रस्तुति दिने, नैतिक शिक्षा दिनेजस्ता उद्देश्यहरू निहित रहेका देखिन्छन् ।

बद्रीप्रसाद ढकाल

नेपाली साहित्यमा सम्पूर्ण रूपमा बुढ्यौलीकै कथानक वा विषयवस्तु नभए पनि बुढ्यौली घटना परिवेश समेटेर आख्यानको बीजारोपण विराटपर्वबाट भएको हो, विराट राजाको दरबार, गुरुचेलाका घटनाका प्रसङ्गको वर्णन यहाँ आएको छ । त्यस्तै बुढ्यौलीका केही प्रसङ्ग र घटना समावेश भएका यस समयका अन्य बुढ्यौलीका आख्यानहरूमा भानुदत्तको हितोपदेश मित्रलाभ(वि.सं १८३३), रामचन्द्र रेग्मीको लक्ष्मी–धर्म–सम्वाद (वि.स. १८५१),शक्तिबल्लभ अर्यालकै संस्कृत नाटकको अनुवाद ‘हास्यकदम्ब, महाभारत विराटपर्व, जयरत्नाकर नाटक’ (वि.सं.१८५५) बेताल पच्चीसी, (वि.सं. १८५८) वि. सं १९७५ को ‘दश कुमारचरित’का साथै यसै पृष्ठभूमि कालका दखापरेका अन्य आख्यानात्मक कृतिहरूमा छोटो कथाजस्ता लाग्ने–पिनासको कथा (वि.सं. १८७२), मुन्सीका तीन आहान (वि.सं.१८७६) आदि पनि महत्त्वपूर्ण ऐतिहासिक आख्यान ठहरिन्छन् । त्यसै गरी धार्मिक भए पनि बुढ्यौलीका कथानकको आख्यानात्मक रूप लिएको श्री स्वस्थानी परमेश्वरीको कथाहा (वि.सं. १९७८) र कथात्मक रचनाका रूपमा महत्त्वपूर्ण मानिने कृतिहरूमा भवानीदत्त पाण्डेको ‘मुद्राराक्षस’ (वि.सं.१८९२ पूर्व), लक्ष्मीनारायण जोशी अर्ज्यालको महाज्ञानमुद्रा कथा, हरिश्चन्द्र विलाप कथा, वीरशाली पन्तको द्रौपदी विलाप काव्य, श्रीकृष्णचरित्र विष्णुपदको लालहीराको कथा (वि.सं. १८८९), सं. १८८९ भन्दा अगिको मानिएको वीर सिक्का र मधुमालतीको कथा, सुन्दरानन्द वाँडाको अध्यात्म रामायण (वि.सं १८८६) वीरेन्द्रकेशरी अर्यालको अशोक सुन्दरी नाटक र दुर्गाभक्त तरङ्गिणी आदि तथा अज्ञात व्यक्तिका तन्त्राख्यान, (वि.सं. १८९३) र बृहत् कथा टीका (सं.१९०७), पतञ्जली गजुर्यालको बोक्सीचरित्र, महाभारत र मत्स्येन्द्रनाथको कथा आदिजस्ता कृतिले बुढ्यौली आख्यान साहित्यको पृष्ठभूमि तयार गर्न विशिष्ट सघाउ पुर्याएका छन् । उक्त आख्यानहरू मुख्य गरी धार्मिक र लोककथा गरी दुई स्रोतबाट आएका हुन् ।

यी आख्यान–उपख्यानहरूको मूल स्रोत भने संस्कृत वा वैदिक साहित्य नै रहेको देखिन्छ । नीति उपदेश, नैतिकताका कुराहरूले भरिएका यी आख्यानहरूमा रहेका अलौकिक कल्पना र कथात्मकता वृद्धवृद्धाका निजी पहिचानका विषयसँग नजिक रहेको मानिन्छ । समय र परिवेशका आधारलाई लिएर लेखिएका त्यतिखेरका आख्यान देश, काल तथा सामाजिक रूचि–अभिरूचिअनुरूप नै रहेकाले लोकप्रिय भएका थिए भन्न सकिन्छ ।

यसरी लोक–कथात्मक धारा र संस्कृत लोकपरम्पराको अनुसरणबाट नेपाली साहित्यमा आख्यानको उद्भव भएको मानिन्छ । यिनै प्रारम्भकालीन कथात्मकताले साहित्यिक गद्यको विकास गर्नमा प्रमुख योगदान दिनुका साथै यी आख्यानहरूमा औपन्यासिक गुणको सङ्केत पाइनु यस पृष्ठभूमि कालको ऐतिहासिक महत्त्व मानिन्छ ।
नेपाली साहित्यका परम्परामा वि.सं १९४६ देखि १९९० सम्म प्रेमाख्यान, तिलस्मी र ऐयारी आख्यानको कालावधि हो । यस समयमा पूर्व परम्परा प्राप्त नीति, धर्मको शिक्षा दिने पौराणिक आख्यान पनि कायमै थियो । साथै धार्मिक–पौराणिक आख्यान परम्पराबाट अलगिँदै सर्वथा मनोरञ्जन र अलौकिकताको यात्रा गर्ने मनोरञ्जन प्रदान गर्ने आख्यानतात्मक काल बन्न पुग्यो ।

sagarmani mobile size

नेपाली साहित्यको माध्यमिकालीन साहित्य परम्परामा जासुसी तिलस्मी तत्त्वका साथै रोमान्स र आद्भूतिकता प्रकृतिका साहित्य रचना भएका छन् । यस प्रकृतिको प्रारम्भ गर्ने पहिलो कृति वीरसिक्का हो । हरिकृष्ण रचित, शिवदत्त शर्मानुवादित भनिएको तर तिनका बारेमा जानकारी अप्राप्त रहेको वीरसिक्काबाट नेपाली आख्यान फाँटमा गरेको नयाँ आख्यानात्मक शैलीका उपन्यासमा पहिलो र जेठो कृति वीरसिक्काको स्वरूप र प्रकृति दुवै दृष्टिमा नेपाली उपन्यासको इतिहासमा महत्त्वपूर्ण भूमिका रहेको छ । यसपछि गिरिशवल्लभ जोशीको वीरचरित्र र प्रारब्ध दर्पण उपन्यासमा बुढ्यौली साहित्यको घटना पाइन्छ । जासुसी तिलस्मी वा मनोरञ्जनात्मक र शृङ्गारिक प्रवृत्तिले प्राधान्यता पाएको यो कालको प्रारम्भमा सं. १९४२ देखि वीरशमशेरद्वारा थालिएको राणाकालीन विलासी र मनोरञ्जनप्रिय प्रवृत्ति विशेष जिम्मेवार रहेको देखिन्छ । तत्कालीन दरबारिया रूचि र दरबारमुखी जनरूचिलाई समेत ध्यानमा राखेर माध्यमिककालीन साहित्य रचना भएका छन् । यस समयका अन्य रचनाहरूमा पनि बुढ्यौली साहित्यका कथानक तथा परिवेशको चित्रण गरिएको छ । शिखरनाथ सुवेदीको कर्णपर्व र कृष्णचरित्र, सदाशिव शर्माको मधुमालतीको कथा र बीरबल कौतुक, गुणराज उपाध्यायको सुदामाचरित्र काव्य र अश्रुपात, भानुभक्तको बधुशिक्षा, रामायण तथा फुटकर कवितामा केही वृद्धपनको चर्चा गरिएको छ । माध्यमिककालीन साहित्यिक रचनाहरूको सृजना संस्कृत र भारतीय भाषा, अरबी, फारसी, हिन्दीको प्रभाव र अनुकरणबाट अधिक मात्रामा भएको पाइन्छ । यस्तै गरी बङ्गला र बङ्गलाबाटै लिइएको अङ्ग्रेजीको प्रभावबाट पनि नेपालीमा औपन्यासिक कृतिहरू थोरै मात्रामा भए पनि देखापरेका छन् । विस्तृत बङ्गला साहित्यको प्रभाव नेपालीलाई हिन्दीकै माध्यमबाट भएको पाइन्छ । यसरी माध्यमिककालीन नेपाली साहित्यको रचनामा विदेशी प्रभाव परे पनि वृद्धवृद्धाको प्रसङ्ग, अर्ती उपदेश तथा धार्मिक नैतिक चेतनाको अनुसरण प्रशस्त भएको छ ।

नेपाली साहित्य आख्यानमा आधुनिकताको सूत्रपातसँगै कुलीन परम्परा बुढ्यौलीका घटना र कथावस्तुको चर्चा गर्ने श्रेय रुद्रराज पाण्डेको रूपमती (१९९१) लाई रहेको छ । रूपमतीमा सर्वप्रथम सामाजिक यथार्थवाद पाउनु नै आदर्शको लक्षण हो, बा आमाका परिवेश, धार्मिक नैतिक आदर्श र आचरण नै यसमा पाइने आधुनिक मूल्यहरू हुन् । सर्वप्रथम सामाजिक जीवनको यथार्थ चित्रण उपन्यासको मूलभूत स्वरूपको प्रतिष्ठा, मानवीय सचित्रणको शैली, सामाजिक र सम्भाव्य घटनाहरूको संयोजन, बोलचालको भाषा प्रयोग, रोचकता र मानवीय रागात्मताको प्रतिष्ठापन यस समयका उपलब्धि पनि हुन् । यसमा प्रयुक्त बुढ्यौलीको प्रसङ्ग यसरी आएको छः

पं. छविलाल उच्च खानदानका ब्राह्मण हुन् । यिनका पुर्खाले नेपालका एक सौखीनलाई च्याखुरा लडाएर खुब रिझाएका हुनाले गोकर्णमा बिर्ता पनि पाएका थिए । त्यसैले हाम्रो ढोका बलियो छ भन्ने यिनको घमण्ड थियो । यिनको पुर्ख्यौली घर पाँचमानेमा हो, वर्षमा एक–दुईपटक यिनका गाउँका मानिसहरू पनि आउँथे, तिनका अघिल्तिर पण्डितजीलाई खुब ढाँचा निकाल्नुपर्थ्यो, रोबरवाफ पनि देखाउँथे, हामी ठूला हौँ भन्ने कुराको सबूती दिन्थे । (रूपमतीबाट)

तत्कालीन समयका बुढा ब्राह्मणका जीवनचर्या रवाफलाई उपन्यासमा घटनाका रूपमा प्रस्तुत गरिएको छ साथमा पण्डितनीको चर्चा पनि निकै आएको छ ।

वि.सं.१९९० कै दशकको नेपालबाहिरको सामाजिक, राजनीतिक, साहित्यिक, वैज्ञानिक गतिविधिहरूले पनि आधुनिक नेपाली साहित्यको उत्थानमा धेरै सघाउ पुर्याएको देखिन्छ । यसै समयमा भारतको दार्जीलिङ, आसाम क्षेत्रमा बसोबास गर्ने नेपालीहरूमा पाश्चात्य जीवन–शैलीको प्रभाव परेका कारण त्यस क्षेत्रबाट पनि आधुनिक, साहित्यको सिर्जनामा योगदान पुर्याएको देखिन्छ । यसरी विविध कारणहरूका साथै खास गरेर अङ्ग्रेजी शिक्षा र विदेशी आधुनिक साहित्यको प्रभाववश तत्कालीन राजनीतिक परिधि भित्रै रहेर पनि आधुनिक ढाँचाका साहित्य लेखिन थालेका पाइन्छ । त्यस्तो परिवेशमा रचना गरिएको उपन्यास, कथाहरूमा पनि बुढेसकालका घटनाहरूको प्रयोग भएको छ ।

बुढ्यौलीको परिवेशगत चेतना र मानवीय मूल्यको अन्तर्भाव पाइनु नै यस समयका साहित्यको ऐतिहासिक महत्त्व हो । विष्णुचरण श्रेष्ठको सुमती, ऋद्धिबहादुर मल्लको शर्मिष्ठा, आँखाको कसिङ्गरमा बुढ्यौली साहित्यको छनक पाइन्छ । यी रचनाले सामाजिकतालाई वरण गरेका भए तापनि नेपालको पृष्ठभूमिमा लेखिएको पूर्ण र सुसंगठित मौलिक सामाजिक पारिवारिक इतिहास केलाउँदा आधुनिकतालाई बिन्दु मानेर अगाडि बढेका छन् । यी साहित्यले धार्मिक आचरण र नैतिक बुढ्यौली आदर्शलाई लक्ष्य बनाएका छन् भने सामाजिक जीवनको यथार्थलाई प्रस्तुत गरेका छन् । यसपछि नेपाली साहित्यमा बुढ्यौलीका घटना वा प्रसङ्ग, पात्र वा पविेशलाई आधार मानेर वा बनाएर लेखिएका नेपाली साहित्यहरूमा लेखनाथ पौड्याल (१९४१–२०११) को शोकप्रवाह, तरुण तपसी, बोधविक्रम अधिकारी (१९५१–२००८) नेपाली दन्त्यकथा, गुरुप्रसाद मैनाली (१९५७–२०२८) को नासो कथासङ्ग्रहका ‘अभागी’, ‘कर्तव्य’ कथाहरू पर्दछन् ।

अभागी कथामा बुढ्यौली वा जीर्ण अवस्थाको यसरी चित्रण गरिएको छः

पण्डित माधवप्रसादले आफ्नी बिरामी स्वास्नी गङ्गाको निधारमा हात राखेर भने –बाबै तिमीलाई कस्तो छ ?….
गङ्गाको वाक्य रहेको तीन दिन भो । दुबै आँखामा जालो बसेको थियो । मुखमा श्रीहीन देखिन्थ्यो । नाक सुकेको, ओठ निलो, दाँत काला, कानका लोती फर्केका थिए । फुकेको रूखो केशराशी निधारमा यतायति छरिएरहेको थियो । शरीरमा हाडछालासिवाय केही थिएन ।आँखाबाट अविरल आँसुका धारा बगिरहेका थिए ( अभागीबाट)

त्यस्तै कर्तव्य कथामा गङ्गाधरलाई यसरी चिनाइएको छः

लगालग नौ दिन ज्वरो आएर मुखिया गङ्गाधरले संसार छोडे । उनी एउटा महान् पुरुष थिए । आफ्नु विपुल सम्पत्तिलाई यिनी सधैं ‘जनताको थाँती’भन्थे र आफूलाई त्यस सम्पत्तिको केवल एउटा सञ्चालक मात्र सम्झन्थे । गरिबहरूको चुलोमा आगो नबलेको र सुत्केरी भोको रहेको समाचार सुन्ने बित्तिकै बोलाएर चाहिँदो अन्न–पैसा दिई पठाउँथे । ( कर्तव्य कथाबाट)

रुद्रप्रसाद शर्मा ढकालको (१९५५–२०१७) वीर बभ्रुबाहन र विधवा पुकार, पुष्कर शमशेर(१९५८–२०१८) पुष्कर शमशेरका कथाहरू, बालकृष्ण सम (१९५९–२०३८)को मुटुको व्यथा, भक्त भानुभक्त, भीमसेको अन्त्य, चिसो चुल्हो आदि नाटक तथा महाकाव्यमा बुढ्यौली अवस्थाको चित्रण गरिएको छ । मुटुको व्यथामा
बूढी (समातेर रोकी रिसाएर) छोरा माधव, म तेरी आमा हुँ, मै हुँ, तँलाई जन्माउने, पाल्ने, टाल्ने, सुन्–मैले यमुनालाई, त्यो कुकुर्नीलाई हात जोरेर कति भनें, उसले भनी‘के गर्नु’छोरी भन्दछे–मैले शनकलाई नदेखेको भए माधवसँग होस् वा दुई चारजना अरूसँग हो विवाह गर्न सक्तथेँ, तर अबलाई म शनकबाहेक अरू कसैसँग पनि सुख पाउन सक्तिनँ । …

ठकुर्नीः आमाको पनि परलोक हुनु भइहालेछ । किन रोयौ बा ? त्यस्तै हो , मैले त चित्त बुझाइसकेँ तिम्रो र मेरो सात वर्षको फरक छ, हाम्रो बीचमा एउटी बहिनी, एउटा भाइ गए, आमालाई कति दिक्क लाग्यो होला ! आमाले त हाम्रो अगाडि जानैपर्ने, उमेर पनि नपुगेको होइन, नरोऊ, यो को !

खड्गमान सिंह(१९६४–२०५१))को जेलबाहिर चालीस वर्ष, बदरीनाथ भट्टराई(१९६५–२०५२) को पौराणिक कहानी र वैदिक कहानी, लक्ष्मीप्रसाद देवकोटा( १९६६–२०१६)को मुनामदन, सावित्री सत्यवान्, भिखारी, म्हेन्दु, रावण जटायु युद्ध, महाराणा प्रताप, प्रमिथस र चम्पा उपन्यासमा बुढ्यौली अवस्थाको चित्रण गरिएको छ ।
भवानी भिक्षु (१९६६–२०३८)को मैयासाहेब, शुभद्रा बज्यै, मीनप्रसाद नेपाल(१९६७–२०३५)को श्रीराम वनोगमन काव्य र नचिकेतोपाख्यान, भीमनिधि तिवारी (१९६८–२०३०) यशस्वी शव, तर्पण, काशीवास, सहनशीला सुशीला, लैनसिंह वाङ्देल (सन् १९२४–२००३)को मुलुक बाहिर, लङ्गडाको साथी उपन्यासमा बुढ्यौली साहित्यलाई यसरी प्रस्तुत गरिएको छः

उसको हिसी परेको अनुहार बिस्तार बिस्तार उमेर ढल्कँदै जाँदा चाउरी पर्दै गएको देखिन्थ्यो । उसको निधारमा धेरै रेखाहरू देखिन्थे । तिनै रेखाहरूबाट बाँच्नका निम्ति उसले जीवनमा गरेको सङ्घर्षको परिचय पाइन्थ्यो । यसरी धेरै वर्षदेखि मागेर खाने उसको अभ्यास भइसकेको थियो । ( लङ्गडाको साथी उपन्यासबाट)

प्रतिक्रिया
Loading...