१. हाम्रो झन्डा – सुशीला प्रधानाङ्ग
नेपालमा नेपालको झन्डा फररर
हावासँगै रातो झन्डा चल्यो हररर
चन्द्र सूर्य अङ्कित झन्डा हाम्रो सान हो ।
यही झन्डा नेपालीको स्वाभिमान हो
हामी सबले झन्डालाई गर्नुपर्छ माया
अनि उसले हामीलाई दिन्छ सधैँ छाया
आऊ-आऊ दाजुभाइ दिदीबहिनी आऊ
हात-हातमा झन्डा समाई पुगौँ गाउँ-गाउँ
यो झन्डाको माया लाग्छ मलाई आफ्नो भन्दा
मिलिजुली उचा राखौँ नेपालको झन्डा ।
——
[वि.सं. २००७ मा बुटवल, रुपन्देहीमा जन्म भई हालः भक्तपुर, बालकोटमा बसोबास गर्दै आएकी कवयित्री सुशीला प्रधानाङ्ग बालसाहित्यका विविध विधामा कलम चलाउने स्रष्टा हुन् । बालकथा, बाल-उपन्यास, बाल चित्रकथाका साथै बालकविता जस्ता बालसाहित्यका थुप्रै विधाका साहित्यिक लेखनमा उनको लोभलाग्दो सक्रियता रहेको देख्न सकिन्छ । मोहनको हिम्मत, सन्तेको मिहिनेत, सोहन र परेवा, परोपकार, चकचके कान्छा लगायतका बालकथाका कृतिहरूका अतिरिक्त फुच्चे भाइको करामत (बाल चित्रकथा) तथा सङ्गमपुरे दिदीभाइ (बाल उपन्यास) जस्ता बालसाहित्यका अन्य कृतिहरू पनि उनले प्रकाशन गरेकी छन् । बालकवितातर्फ उनको ‘हट घोडा हट्’ नामक कृति प्रकाशनमा आएको छ । उनको प्रस्तुत ‘हाम्रो झन्डा’ बालकवितामा चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झन्डाको महिमागान गाइएको छ । नेपालको राष्ट्रिय झन्डालाई कवितामा नेपालको सान र नेपालीको स्वाभिमानको सूचकका रूपमा हेरिएको छ । नेपाली राष्ट्रिय झन्डालाई आफ्नो भन्दा पनि बढी माया लाग्ने भाव कवयित्रीले यसमा प्रस्तुत गरेकी छन् भने सबै नेपालीहरूले आफ्नो पहिचान दिलाउने नेपाली राष्ट्रिय झन्डा उचालेर गाउँ-गाउँमा पुग्नुपर्ने आग्रह पनि गरेकी छन् । ]
*********
२. कति मीठो आँप – भानु ढुङ्गाना
आँप फल्यो बम्बै
भयो लटरम्मै
पाकेपछि खाँदा
पेट हुन्छ डम्मै
एउटा रुखमाथि
लोहोरीको गाँठी
अर्को उता चुच्चे छ
खान हेर्ने फुच्चे छ ।।
झटारोले हानौँ कि ?
अङ्कुसेले तानौँ कि ?
भन्दै विचार गरेको
आँप टिप्न सरेको
सानो फुच्चे भाइ
आँप नजिक आई
आयो झोला भिरेर
भित्र बगान छिरेर
झोलाभरि लानु कि !
यहीँ बसी खानु कि
सोचाइमा परेझैँ
कुन्नि के के गरेझैँ !
—————-
[भुटानको देन्चुका गाउँमा जन्म भई नेपालको खुदुनाबारी झापामा पूर्व शिविर सचिवका रूपमा अनुभव सँगालेका र हाल क्यानेडाको ओन्टारियोमा स्थायी बसोबास गर्दै आएका कवि भानु ढुङ्गाना (२०२९) समाजसेवा तथा शिक्षाका क्षेत्रमा समर्पित व्यक्तित्व हुन् । नेपालमा रहँदा १० वर्षसम्म सामाजिक सेवामा क्रियाशील रहेका उनी बाल तथा प्रौढ कविता लेखनमा रुचि राख्दछन् । भारतको सिलिगुडीबाट उनले साहित्य अलङ्कारको उपाधि ग्रहण गरेका छन् । कवि ढुङ्गानाले विदेशमा रहेका नेपाली बालबालिकाले आफ्नो पुर्ख्यौली र मातृभाषा नबिर्सिऊन् भन्नका लागि नेपाली भाषामा पाठ्यक्रमको विकास र निर्माण गरी पाठ्यपुस्तक तयार पार्ने जस्तो प्रशंसनीय र उदाहरणीय कामलाई निरन्तरता दिएका छन् । उनी अनलाइन बाल नेपाली भाषा BCA नामक संस्थाको स्थापना गरी उक्त संस्था मार्फत अध्यापन कार्यमा संलग्न छन् जसबाट नेपाली मूलका थुप्रै विद्यार्थीहरू लाभान्वित छन् । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यप्रति औधि रुचि राख्ने कवि ढुङ्गानाले नेपाली साहित्यका विविध विधामध्ये बालकविता विधामा निरन्तर कलम चलाउँदै आएका छन् र उनका बालकविताहरू नेपाल तथा भुटानका राष्ट्रिय स्तरका अनलाइन मिडियाहरूमा प्रकाशित हुँदै पनि आएका छन् । उनको प्रस्तुत ‘कति मीठो आँप’ बालकविता प्राकृतिक विषयसँग सम्बद्ध छ जसमा फलहरूको राजा मानिने आँपलाई हेरेर एउटा बालपात्रले गरेको एकालापीय अभिव्यक्ति प्रस्तुत गरिएको छ । ७ अक्षरे बालोरी लोक छन्दमा रचित यस बालकवितामा आँप टिपेर खानका लागि बालकले गरेको प्रयत्नलाई देखाइएको छ । कथयिता बालपात्रका माध्यमबाट बालभाषा र बालकले गरेको चिन्तन कवितामा प्रस्तुत भएको छ ।]
*********
३. खेल – केशव बस्नेत
एकै छिनमा झै-झगडा एकै छिनमा मेल
रुमाल लुकाई चोर पुलिस छोई डुम खेल्ने खेल
यता आँगन उता पिँढी दौडी उफ्री -उफ्री
जे खेले नि जहाँ खेले नि हुन्नथ्यो केही फिक्री
भाँडाकुटी गट्टा हाम्रा खेल्ने सर-सामान
कुस्ती खेल्यौ कबड्डी र कहिले आन कि मान
ठुलो ठाँउमा ढुङ्गाको ढ्याक बनाई कोठाकोठी
दुईजना भेटेपछि खेल्थ्यौँ खर्ल्याङ् खुट्टी
टाला खोजी पुतलीलाई चिटिक्क बनाई
चौतारीमा शीतल बसी कमिला जुधाई
खोला जान्थ्यौँ पौडी खेल्न माछा मार्न भनी
वैशाख जेठको खडेरीको चर्को घाममा पनि
गाइने किरा समाएर पुच्छरमा बानी
जता जता जान्छ ऊ पछिपछि जानी
बाँसको धोती केरा सुप्लो ल्याउन जो पहिलो
ठाडो चौरमा सिल्बिल खेल्दा औधि रमाइलो
साथी पाए साथीसँगै नत्र आफ्नै तालमा
गह्रा नाघी रुख चढी उफ्री घाँस परालमा
साना चोके झिँजा काटी गाई-गोरु बनाई
हप्ता कट्थे नुहाउँदा बस्थ्यौ कन्याई कन्याई
तेलकासा गुच्चा चुङ्गी कहिले लुकामारी
वल्लो घर पल्लो घर कहिले डाँडापारि
—————————
[अनन्त मुस्कान साहित्यक उपनामबाट परिचित कवि केशव बस्नेत (२०३३) गोरखामा रहेर साहित्य साधनामा तल्लीन स्रष्टा हुन् । साहित्य सङ्गम गोरखाका पूर्व अध्यक्ष एवम् गजल मञ्च गोरखाका संस्थापक सल्लाहकार रहेका कवि बस्नेत गजल, मुक्तकका अतिरिक्त बालकविताहरू पनि लेख्ने गर्दछन् । उत्प्रेरणा हवाई मासिक, अडान हवाई मासिक, इन्द्रेणी अर्धवार्षिक लगायतका पत्रिकाको सम्पादन गरेका उनीसँग रेडियो गोरखाको मुक्तक विशेष र गजल विशेष कार्यक्रम सञ्चालनको अनुभव छ । गोरखाको परिचय झल्कने गीत लेखन, सङ्गीत र गायनमा उनले आफ्नो परिचय बनाएका छन् । विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशन गर्दै आएका उनका बालकविताहरू अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा प्रकाशित भएका छन् । उनको प्रस्तुत ‘खेल’ बालकवितामा उनी बाल्यजीवनतिर फर्केका छन् र बाल्य अनुभवलाई रोचक पारामा प्रस्तुत गरेका छन् । कविताले बालखेलको परिचय दिएको छ । आफूले बाल्यकालमा खेल्ने गरेका रुमाल लुकाइ, चोर पुलिस, छोई डुम, भाँडाकुटी, गट्टा, कबड्डी, खर्ल्याङखुट्टी, तेलकासा, गुच्चा, चुङ्गी, लुकामारी लगायतका खेल अनुभवलाई समेत कविले प्रस्तुत बालकवितामा स्मरण गरेका छन् । सानो छँदा खोलामा पौडी खेलेको, गाइने कुरा समाएर पुच्छरमा धागो बाँधेर उडाएको, रुख चढेको, घाँस-परालको थुप्रोमा उफ्रिएको, काठका छेस्का बनाएर गाई-गोरु बनाएको, नुहाउनका लागि हप्ता कुरेको जस्ता रोचक क्षणको सम्झना गरिएको प्रस्तुत बालकवितामा कविले उत्तिकै रोचक र रमाइलो खालको शैलीको प्रयोग गर्न समेत भ्याएका छन् । चौध अक्षरे सबाई लोकछन्दको प्रयोगले लयात्मक र कलात्मक बन्न पुगेको यस बालकवितामा लोक जीवन र अतीततर्फको चासो भेटिन्छ ।]
———————-
– rcghimire47@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।