हालसम्म विधागत छुट्टै साहित्यको रूपमा पहिचान नभइसके पनि बुढ्यौलीका कथा समाविष्ट रचनामा पाइएका विशेषता वा प्रवृत्तिको अध्ययन गरिएको हो । बुढ्यौली साहित्य रचनाका आधारमा तीभित्र निहित विचार वा जीवनजगत्का विभिन्न पक्षलाई आधार मानेर तिनका विशेषताको चर्चा गर्न सकिन्छ । व्यक्तिभित्रका प्रवृत्ति वा तिनले समातेको आधारभूमि नै समग्र बुढ्यौली साहित्यमा विशेषताका रूपमा आएका छन् । विधागत रूपमा सिर्जना भएका साहित्यलाई प्रयुक्त विचार, दर्शनका आधारमा यहाँ बुढ्यौली साहित्यको विशेषताको चर्चा गरिएका छन् । हालसम्म लेखिएका साहित्यको अध्ययनबाट बुढ्यौली साहित्यका रचनामा प्रमुखतया निम्नलिखित विशेषता पाइन्छन् । ती यसप्रकार छन्ः
क) वैचारिक दृष्टिकोणको सशक्त प्रयोगः
बुढ्यौली साहित्यमा वैचारिक दृष्टिकोणको गहन प्रस्तुति पाइन्छ । चेतनागत परिवर्तनसँगै जीवन भोगाइ समसामयिक रूपवादी वस्तुवादी चिन्तनलाई जैविक उपमामा घोलेर वैचारिक चिन्तनबाट समाजका वर्गीय समस्यालाई केलाउनु नै बुढ्यौली साहित्यको विशेषता हो । समाजका विद्यमान जनजीवनलाई जीवन दर्शनका रूपमा हेर्नु निजी विशेषता हो । त्यसैले विभिन्न वर्गका मानिसहरूका पीडा र वेदनाका सन्दर्भमा तीनले आर्थिक शोषण असन्तुलित समाज व्यवस्थाका, मानवीय चरित्रको विकृति, तुच्छ सोचाइ एवम् व्यवहारलाई मुख्य आधार बनाएका हुन्छन् ।
समाजका वर्गीय चिन्तनलाई वर्गीय जीवन यथार्थलाई नजिकबाट हेर्ने गरिन्छ । जीवन दर्शनको चिन्तनमा अडिग रहेर दीनहीन जीवनको ह्रासोन्मुख आर्थिक विषमतालाई सूक्ष्म विश्लेषण गर्नु बुढ्यौली साहित्यको विशेषता हो ।
ख) गहन बौद्धिक चिन्तनः
बौद्धिक चिन्तन एवम् वैचारिक अभिव्यक्ति बुढ्यौली साहित्यको अर्को महत्त्वपूर्ण प्रवृत्ति वा विशेषता हो । नेपाली समाजमा विद्यमान अनेकौ विकृति विसङ्गतिलाई गहिरो अध्ययन गरी त्यसको अन्त्य गर्दै नवीन मान्यताको विकास गर्नु पर्छ भन्ने बौद्धिक चिन्तन बुढ्यौली साहित्यमा रहेको देखिन्छ । परम्परागत भावुकताभन्दा तार्किक वैचारिक अभिव्यक्ति बुढ्यौली साहित्यमा पाइन्छ । मानव जीवनको निस्सारता जीवनवादी, शून्यवादी, अस्तित्त्ववादी, विसङ्गतिवादी प्रगतिवादी चिन्तनलाई वैचारिक मूल बनाएर आफ्ना अनुभव र अनुभूतिलाई प्रस्तुत गर्नु पनि गहन बौद्धिकता हो । गहन चिन्तन भनेको कुनै पनि विषयको सीमित सूक्ष्म तथा जटिल अवस्था विशेषलाई केन्द्रीकृत गरी त्यसैमा बौद्धिक विचारका माध्यमबाट विस्तार गरी पूर्ण अभिव्यक्ति दिनु हो । मानवीय अनुभूति संवेदना, भावना र विचारजस्ता कुराहरू नितान्त आत्मगत तत्त्व हुन् । तिनलाई यथार्थवादी लेखनमा समाहित गर्नु जटिल कार्य एवम् बौद्धिक क्षमता हो । बुढ्यौली साहित्यमा जीवनका अनुभवजन्य जटिलतालाई केलाएर कलात्मकता प्रदान गरी आफ्नै विशेषताको पहिचान गरी प्रस्तुत गर्न सकिन्छ ।
बुढ्यौली साहित्यमा जीवन र जगत्का मूलभूत पक्ष र त्यसलाई वैचारिकता र बौद्धिक चिन्तनमा स्पर्श गरी सुरूचिपूर्ण ढङ्गबाट कलात्मक अभिव्यक्त गरिएको हुन्छ । समाजवादी यथार्थवादी चिन्तनलाई घोलेर भाव वा विचारको अमूर्तकरण गरिन्छ । यही नै बुढ्यौली साहित्यको वैचारिक प्रवृति हो । यसरी बिम्ब प्रतीकको उचित संयोजन गरी जीवन (तिनकै केन्द्रियतामा युगीन जीवनजगत्का पक्षलाई) जगत्को अभिव्यक्ति प्रतीकात्मक एवम् अन्योक्तिमूलक ढङ्गबाट गरिएको हुन्छ । थोरै पात्रको चयन गरी तिनकै केन्द्रीयतामा युगीन जीवनजगत्का पक्षलाई समाहित गर्ने जमर्को गरिन्छ । यसरी जीवनको सूक्ष्मताबाट स्थूलतातर्फ उन्मुख हुँदै बौद्धिक एवम् तार्किक वैचारिक अभिव्यक्ति साहित्यमा प्रस्तुत गर्नु बुढ्यौली साहित्यको मूल विशेषता हो ।
जीवनजगत्लाई अस्तित्ववादी, विसङ्गतिवादी एवम् शून्यवादी दृष्टिले हेर्दै जीवनको असङ्गत पक्षलाई हेर्न सकिन्छ । बुढ्यौली साहित्यमा जीवनप्रतिको आशा, निराशा एवम् सकारात्मक, नकारात्मक दृष्टिकोण र त्यसप्रतिको गहन चिन्तन तथा जीवनको सकारात्मक पाटोको चित्रण र जीवनप्रति निकै आशावादी विचार स्पष्ट रूपमा आएका हुन्छन् । लामो अनुभवद्वारा बुढ्यौली साहित्यमा व्यक्ति, समाज एवम् सिङ्गो युगकै बेथितिप्रति आक्रोश र विद्रोह व्यक्त गर्दै असमान आर्थिक अवस्था र ह्रासोन्मुख मानवीय मूल्यले सिर्जित जटिल समस्याको कलात्मक प्रस्तुति गर्दै आर्थिक सन्तुलन र वर्गमुक्त समाजको परिकल्पना पाइन्छ ।
ग) प्रकृति चित्रणः
बुढ्यौली साहित्यका रचनाहरूमा प्रकृतिको चित्रण उल्लेख्य रूपमा भेट्न सकिन्छ । प्रकृतिलाई मानवीकरण गरेर सहज, सरल तथा कलात्मक ढङ्गले व्यक्त गरिनु नै बुढ्यौली साहित्यको विशेषता हो । प्रकृतिलाई सुख, दुःख, पीडा शमन गर्ने स्थलका रूपमा लिइएका हुन्छन् । बुढ्यौली साहित्यमा प्रकृतिको भव्य र विराट रूपको चित्रण देख्न सकिन्छ । आकाश, धर्ती र फूलको सुन्दरतालाई जीवनसँगै दाँज्दै प्रकृतिसम्बन्धी भावना अभिव्यक्त भएका हुन्छन् ।
बुढ्यौली साहित्यमा प्रकृतिको मानवीकरण गरी प्रकृतिलाई सुन्दर र कलात्मक बिम्बका रूपमा प्रस्तुत गरिएको पाइन्छ । प्रकृतिको अथाह भण्डारको विचित्रता खोतल्दै त्यसभित्रको अपार सौन्दर्यको कलात्मक चित्रण पाइन्छ । प्रकृतिलाई विभिन्न उपमा दिई प्रकृतिले मानिसलाई स्वस्थ र सिर्जनात्मक बनाउँछ र प्रकृति नै जीवनको मार्गदर्शक हुन् भन्ने भाव रहेका हुन्छन् ।
घ) सामाजिक यथार्थको चित्रणः
बुढ्यौली साहित्यको अर्को साहित्यिक विशेषता भनेको सामाजिक यथार्थको चित्रण हो । साहित्यलाई समाजको प्रतिबिम्ब मानेर समाजमा घट्ने घटनाहरूलाई विषयवस्तु बनाएर साहित्य सिर्जना गरिएको हुन्छ । आफूले देखेका, अनुभव गरेका र सुनेका यथार्थ घटनाहरूलाई रचनामा प्रस्तुत गरिन्छ । यसमा भौतिक सुख र सुविधाप्रतिको मोह र यसले निम्त्याउने पारिवारिक विघटन आदिको जीवन्त चित्रण पाइन्छ । यसरी समाजका समसामयिक घटनाहरूलाई नजिकबाट हेर्ने जीवनदृष्टि र समाजका विकृति, विसङ्गति, शासकीय क्रूरता आदिको चित्रण गर्दै बुढ्यौली साहित्य रचनामा आशावादी स्वर पनि प्रस्तुत भएको हुन्छ । सामाजिक विषयवस्तुमा आधारित रहेर रचना गरिने बुढ्यौली साहित्यमा सामाजिक आदर्श पनि अभिव्यक्त भएको देखिन्छ यसमा समाज, प्रकृति, ईश्वरजस्ता मूर्त–अमूर्त वस्तुहरूलाई कथ्य बनाएर लेखिन्छ । बुढ्यौली साहित्यमा सामाजिक, राजनीतिक परिवर्तन, त्यसले व्यक्तिको सामाजिक, आर्थिक पक्षमा पारेको प्रभावको चित्रण रहेको पाइन्छ । यसका साथै पात्रको मानस रचनाको पृष्ठभूमिमा समेत सामाजिक परिवेशलाई रचना भएका हुन्छन् ।
बुढ्यौली साहित्यका सामाजिक कथाले वर्गीय विभेद, विधवा समस्या, पारिवारिक चिसो सम्बन्ध, दाम्पत्य जीवनका अप्ठ्यारालाई देखाएका हुन्छन् साथै राजनीतिक परिवर्तन, त्यसले नेपाली समाजमा पारेको प्रभाव, प्रजातान्त्रिक शासन व्यवस्थाका विकृति र विसङ्गति, राजनीतिक परिवर्तनपछि नेपाली नारीमा आएको जागरण, उनीहरूको आत्मनिर्भर हुने प्रयत्नजस्ता विविध सामाजिक पक्षको चित्रण भएको पाइन्छ । यसका साथै बुढ्यौली साहित्यमा शासकीय अवस्थाको परिवर्तन भइसकेपछि पनि आम जनताका अवस्था, पश्चिमी संस्कृति र शिक्षाले नेपाली जीवनमा आएका परिवर्तन तथा स्थान विशेषका संस्कृतिको महत्त्व आदिलाई राम्ररी चित्रण गरिएको पाइन्छ ।
ङ) मानवतावादको पक्षमा चिन्तनः
बुढ्यौली साहित्यमा मानवतावादी विचार तथा प्रखर स्वर प्रस्तुत भएको पाइन्छ । यसमा व्यक्त भएका मानवप्रेम, मानवकल्याण, परोपकारको भावना आदि मानवतावादी चिन्तनसम्बन्धी महत्त्वपूर्ण विशेषताहरू हुन् । त्यसैले मानवतावादी स्वर बुढ्यौली साहित्यको विशेषता हो ।
साहित्यमा प्रकृति चित्रण, मानवीय संवेदना र संवेगहरूको स्वतन्त्र र स्वच्छन्द रूपमा व्यक्त गरिने प्रवृत्ति स्वच्छन्दतावादी प्रवृत्ति हो । यस्ता साहित्यमा ग्रामीण जीवन, वनजङ्गल, खोलानाला, मायाप्रेम, नारी सुन्दरता र सुलभताजस्ता विषयवस्तुलाई प्रस्तुत गरिएको हुन्छ । स्वतन्त्रता, समानता र भातृत्वमा जोड दिने तथा संसारका मान्छेले सुखसँग बाँच्न पाउनु पर्छ भन्ने धारणा नै मानवतावाद हो । मानव जीवनको मूल्य स्वीकार गर्नु र कल्याण चाहनु नै मानवतावादको महत्त्वपूर्ण विशेषता हो । बुढ्यौली साहित्यका रचनामा मानवताको सन्देश पाइन्छ । बुढ्यौली साहित्यका सबै विधाका रचनामा मानवीय भावना समेटिएको पाइन्छ । जातीय, वर्गीय लैङगिक भेदभावको विरोध गरिएको मानवतावादी विचार समाजमा आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारको चिन्तन बुढ्यौली साहित्यमा पाइन्छ ।
च) समसामयिक चेतनाः
बुढ्यौली साहित्यले वृद्धवृद्धाको सामाजिक अवस्थाको चित्रण गर्ने भएकाले समाजका विभिन्न पक्षहरूलाई समेटेर रचनामा अभिव्यक्त गर्दछ । बुढ्यौली साहित्यका रचनामा प्रतीकात्मक रूपमा तात्कालीन युगखण्डको घटना र पीडाबोधलार्ई मुख्य विषयवस्तुका रूपमा समावेश गरिएको पाइन्छ । बुढ्यौली साहित्यका रचनाहरूमा राजनैतिक, सामाजिक क्षेत्रहरूका विकृति र त्यसप्रतिको रोषसमेत उल्लेख भएको पाइन्छ । राजनीति, साहित्य, स्वास्थ्य, शिक्षा लगायत हरेक पक्षहरूमा विकृति विसङ्गति बढ्दै गएको कुराहरूलाई सशक्त रूपमा व्यक्त गरिएका हुन्छन् । समाजवादी विचारमा प्रतिबद्ध हुँदै वर्ग सङ्घर्षको चित्रण पनि गरिन्छ । उच्चवर्ग अर्थात् शोषकवर्गले निम्नवर्ग अर्थात् शोषित वर्गलाई शोषण गरिएकाले समाज तथा राष्ट्र अधोगतितिर लागिरहेको अवस्थालाई बोध गराउँदै त्यसको सुधारका लागि सल्लाह र सुझावका कुरा समावेश भएको पाइन्छ ।
छ) बेथितिप्रति व्यङ्ग्यात्मकताः
बुढ्यौली साहित्यको प्रवृत्ति व्यङ्ग्यात्मकता पनि हो । बुढ्यौली साहित्यका रचनाहरूमा मानव जीवन भोगाइका क्रममा देखा परेका सामाजिक, राजनीतिक विकृति, विसङ्गगतिहरूप्रति व्यङ्ग्य प्रहार गरिएको हुन्छ । सामाजिक विकृति, विसङ्गतिप्रति तीखो व्यङ्ग्य प्रहार गर्दै सुधारको अपेक्षा रचनाहरूमा राखेको पाइन्छ । यसै गरी शैक्षिक, राजनीति क्षेत्रमा इमान्दारिता कर्तव्यनिष्ठताभन्दा धनसम्पत्तिलाई महत्त्व दिने परिपाटिप्रति व्यङ्ग्य गर्दै असल नैतिक आचरणका लागि नयाँ पुस्तालाई अर्ती, उपदेश, ज्ञानका कुराहरू प्रस्तुत गर्दै कर्तव्यविमुख सन्तानप्रति व्यङ्ग्य गरिएको हुन्छ ।
ज) कारूणिकताको चित्रणः
बुढ्यौली साहित्यका रचनाहरूमा मानव जीवनका दुःख पीडा, अभाव र समस्याहरूमा केन्द्रित रहेर साहित्य सिर्जना गर्ने हुनाले कारुणिकता अर्को साहित्यिक विशेषता हो । समयको परिवर्तनसँगै एक्लोपन, शरीरको निस्क्रियता तथा समवयका मित्रहरूसँग भेट नहुनु, विभिन्न रोगले पीडित हुनु आदि बुढ्यौली साहित्यभित्रको कारुणिकता हो ।
झ) मनोविश्लेषणः
बुढ्यौली साहित्यका अर्को मुख्य विशेषता भनेकै मनोविश्लेषण हो । रतिरागात्मक र रतिरागेत्तर गरी दुई किसिमका मनोविश्लेषणात्मक प्रवृत्ति देखिन्छन् । यसका साथै चेतन र अचेतन मनको द्वन्द्वमा परेका पात्रहरूले गरेका कार्यको विश्लेषण भएका हुन्छन् । बुढ्यौली साहित्यमा यौन तथा सामाजिक मनोविज्ञानको सूक्ष्म चित्रण पाइए तापनि उनलाई यथार्थ प्यारो लाग्ने भएकालेका साथै भावुकतासँग लिप्सिएर पनि मानिसभित्रका आत्मीय भाव, सौर्न्दय र चिन्तन प्रक्रियालाई प्रस्तुत गरिन्छन् । यौन मनोविज्ञानमा रूचि राखेका बुढ्यौली साहित्य रागात्मक बनेका हुन्छन् । फ्रायडीय सिद्धान्तको मनोविज्ञानलाई उमेरगत आधारमा मौलिक रूपमा प्रस्तुत गरिन्छन् ।
बुढ्यौली अवस्थामा रहेको यौनको अवस्था र सामाजिक बोधलाई केन्द्रमा राखेर मनोवैज्ञानिक साहित्यलेखनमा यौनलाई केन्द्रीय तत्त्व बनाएर आरम्भिक रेखाङ्कन गर्ने नेपाली स्रष्टा विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल गोठाले, भवानी भिक्षु, पुस्कर लोहनी, पोषण पाण्डे आदि हुन् भने त्यसै प्रवृत्तिलाई विविधता दिएर सन्तुलित र सतर्क मनोवैज्ञानिक कथा सृजना गर्ने गरिएका छन् । उमेरले यौनगत प्रवृत्ति र चाहना पार्ने प्रभावका साथै त्यसले पार्ने संकुचनको अवस्थालाई समेत वृद्धवृद्धाको यौनको अवस्था चित्रण गर्दै मानवीय प्रणय अनुरागको मनोवैज्ञानिक मीमांसा मौलिक ढङ्गमा स्थापित गर्नु बुढ्यौली साहित्यको विशेषता वा प्रवृत्ति हो ।
पात्रका मानसिक द्वन्द्वको स्थापना गरी त्यसलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै संस्मरणहरू प्रस्तुत गरिएका हुन्छन् । द्वन्द्व मूलतः दुई प्रकारका हुन्छन् –आन्तरिक र बाह्य । आन्तरिक द्वन्द्व व्यक्ति मनका दुई विपरीत विचार, धारणा एवम् मान्यताका बीच हुन्छ भने बाह्य द्वन्द्व सीमित रूपमा आएको हुन्छ । बुढ्यौली साहित्यमा प्रयुक्त पात्रहरू कुनै न कुनै मानसिक द्वन्द्वका सिकार बनेका देखिन्छन् । भावात्मक सूक्ष्म मनोद्वन्द्वले तिनको सोचाइ र व्यवहारमा अनौठो गतिविधि देखिन्छ । बुढ्यौली साहित्यमा पात्रको मानसिक द्वन्द्व मनोवैज्ञानिक र स्वच्छन्दताद्वारा मिश्रित हुन्छ । बुढ्यौली साहित्यमा रचनामा मानसिक द्वन्द्वको स्थापना गरी कलात्मक सौर्न्दयका माध्यमबाट पात्रको मनोवैज्ञानिक गहिराइसम्म पुग्ने प्रयास गरिएको हुन्छ । साथै मनोसंरचनाका आफैभित्रका द्वन्द्व र पात्रपात्राका बीचका द्वन्द्वका कारणले पात्रले नियतिद्वारा निर्मित दुर्घटना भोग्नु परेको तथ्य पनि प्रस्तुत गरेको भेटिन्छ । बुढ्यौली साहित्य रचनामा पात्रका आन्तरिक एवम् बाह्य द्वन्द्वलाई समाजका पर्यावरणसँग जोडेर उजागर गरेको पाइन्छ । बाह्य द्वन्द्वका तुलनामा पात्रहरूका मनोद्वन्द्वले सशक्तता पाएका हुन्छन् । बुढ्यौली साहित्यमा पात्रले शिष्टतालाई त्याग नगरी आन्तरिक अचेतन र बाह्य चेतन मन बीचमा द्वन्द्व सहेका हुन्छन् ।
पात्रका जीवनमा आइपर्ने दुःखद् स्थितिमा त्यही मनोद्वन्द्वको भूमिका प्रबल देखिन्छ । यसका साथै द्वन्द्व र क्रियाव्यापारको अनुपातिक समायोजन गर्न सक्नु बुढ्यौली साहित्यको मौलिक विशेषता हो । बुढ्यौली साहित्यमा मनोविज्ञानका तिनै पक्षको सामान्य, असामान्य र आपराधिक मनोविज्ञानको प्रयोग भएको हुन्छ । सामान्य मनोविज्ञानको प्रयोग भएका पात्रहरूका मनोभावनाहरू राम्ररी मुखरित हुन्छन् भने व्यक्तिका अन्तः करणमा दबेर रहेका यौन चाहना, विपरीत लिङ्गीप्रतिको आकर्षण आदिलाई बुढ्यौली साहित्यका माध्यमबाट उजागर गरिन्छ ।
ञ) चरित्रप्रधानताः
बुढ्यौली साहित्यमा घटनालाई भन्दा चरित्रलाई महत्त्व दिइएको पाइन्छ । बुढ्यौली साहित्यमा वृद्धवृद्धा पात्रका अन्तर्मनको अध्ययन गरी उनीहरूका समस्याको चित्रण गरिएको हुन्छ । यस्ता रचनाहरू मनोविज्ञानसम्मत भएर पनि बढी कल्पनाश्रित भएकाले त्यति यथार्थपरक हुन सकेका भने हुँदैनन् पछि यथार्थमा आश्रित भएपछि बढी समाजसापेक्ष भएका भने पाइन्छन् । त्यसैले पात्रको मानस अथवा मनोलोकभित्रका मार्मिक स्पन्दनलाई शब्दबद्ध गरी पाठक वर्गलाई जीवनबोध गराउने उद्देश्य बुढ्यौली साहित्यले लिएको हुन्छ । त्यसैले गर्दा सुरूका चरित्र बढी आवेगप्रधान, भावुक बुद्धिले भन्दा मनले निर्णय गर्ने बढी देखिए तापनि पछिका चरित्रहरू यथार्थपरक जीवनानुरूप र प्रतिनिधिमूलक बन्दै गएका देखिन्छन् भने सामन्तवर्गका परम्परागत अहम् र तत्कालको अभावग्रस्तताको पीडापूर्ण मनोदशाको उद्घाटन गरेको पाइन्छ । अतः चरित्रप्रधानता बुढ्यौली साहित्यको अर्को महत्त्वपूर्ण विशेषता हो ।
ट) सुधारको अपेक्षाः
सामाजिक घटनाहरूलाई आलोचनात्मक तवरले साहित्यमा उतार्नु आलोचनात्मक यथार्थवादी प्रवृत्ति वा विशेषता हो । यो सामाजिक यथार्थवादी र यथार्थवादअन्तर्गत कै प्रवृत्तिगत भिन्नता हो । यस प्रकारको साहित्यमा सामाजिक अराजकता, शोषण, कुरीतिप्रति आलोचना गरिएको हुन्छ । “आलोचनात्मक यथार्थवादकै एउटा रूप भए तापनि यसमा लेखक तटस्थ नभई आलोचनात्मक द्रष्टाका रूपमा सक्रिय हुन्छ” (शर्मा र लुइँटेल, २०६१, ३०२) । बुढ्यौली साहित्यमा यथार्थको आलोचना गरिएको हुन्छ । बुढ्यौली साहित्यमा भोग्न नै नसकिने यथार्थ भएपछि मान्छेको जीवन कस्तो हुन्छ भन्ने कुरालाई मुखरित गरेको देखिन्छ ।
ठ) अस्तित्ववादी दृष्टिकोण
मानिसको जीवन सङ्घर्षपूर्ण छ । ऊ सङ्घर्षका बीचमा पनि आफ्नो अस्तित्व सुरक्षित राख्न चाहन्छ । यो धारणा नै अस्तित्ववाद हो । मानिसको जीवन विसङ्गति नै विसङ्गतिले भरिपूर्ण छ, तर पनि मानिस अस्तित्वका लागि बाँच्न विवश छ भन्ने चिन्तन नै अस्तित्ववादी चिन्तन हो । “मानिसलाई उसको इच्छाविना नै यस निरर्थक र संयोजित संसारमा आउनु पर्यो । बाँच्नका लागि जीवनभर सङ्घर्ष गर्नुपर्छ र इच्छा विपरीत नै मर्नुपर्छ । यस्तो जीवनलाई निरूपाय र निरर्थक मानेर यसलाई महत्ता वा मूल्य प्रदान गर्ने चेष्टा तथा दृष्टिकोण अस्तित्ववादमा संरक्षित छ” (प्रधान, २०६१,१८८) ।
बुढ्यौली साहित्यमा प्रचुर मात्रामा अस्तित्ववादको चर्चा गरिएको हुन्छ । विषयवस्तु तथा पात्र नै आफ्ना अस्तित्वको खोजमा रहेका हुन्छन् । बुढ्यौली साहित्यमा प्रयुक्त पात्रले केही स्वेच्छा, केही स्वत्व, केही आत्मसम्मान केही अधिकार आदिको खोजमा हिँडिरहेका पाइन्छन् ।
ड) विसङ्गतिबोधः
आफूले नचाहेको भोग्नु, जे जे हुनु पर्ने हो त्यो नभई अर्कै हुनुजस्ता असङ्गतिपूर्ण कुरा नै विसङ्गति हुन् । “असङ्गति र विसङ्गति नै जीवनजगत्को मूलभूत कुरा हो भन्ने मान्यता वा सिद्धान्तलाई विसङ्गतिवाद भनिन्छ । अझ विसङ्गतिवादी दृष्टिले हेर्दा त यो समस्त जीवनजगत् नै फजुलै फजुल, वाहियातै वाहियात, निरर्थकै निरर्थक, निस्सारै निस्सार कामकुराद्वारा भरिएको देखिन्छ ।” (जोशी, २०६६,१०४) । सामाजिक तिरस्कार, घरपरिवारबाट अपहेलना, दुःख, पीडा, एक्लोपन र निस्सारताका साथै कहीँ कतैबाट पनि बाँच्नुको सार नपाइरहेको सत्य कुरालाई बुढ्यौली साहित्यमा अभिव्यक्त गरिएका हुन्छन् ।
ढ) सरल भाषाशैलीको प्रयोगः
बुढ्यौली साहित्यको भाषाशैली आकर्षक मनमोहक रहेको पाइन्छ । बुढ्यौली साहित्यका रचनाहरूमा भौतिक द्वन्द्वबाट आध्यात्मिकतातिरको यात्रा रहेको पाइन्छ । विभिन्न दर्शनको तान्त्रिक सिद्धान्तलाई ठाउँ ठाउँमा प्रयोग गरिन्छन् । दर्शन सम्बद्ध विषयको प्रस्तुति भएकाले विशिष्ट खालको भाषा अपेक्षित हुन्छ । त्यस खालको भाषा बुढ्यौली साहित्यमा प्रयोग भएको पाइन्छ । भाषाले तत्सम शब्द चयनमा सरलता छोडेर जटिलताको अनुसरण गरेको हुन्छ । भाषामा झर्रोपन र सरलता र शैलीगत उच्चताले गर्दा बुढ्यौली साहित्य उच्च कोटीको बनेको छ । शैलीशिल्पका दृष्टिले हेर्दा भावुक संवेदनशीलता देखिन्छ तर पछि केही वैचारिक र सहज–सरल बन्न पुगेको पाइन्छ ।
निष्कर्ष
बुढ्यौली साहित्यअन्तर्गत विभिन्न विधागत रचनाहरू पर्दछन् । कविता, कथा, उपन्यास, नाटक र निबन्ध साहित्यका सिर्जनागत भेद हुन् । साहित्य सिर्जना हो । नेपाली साहित्यमा पनि विभिन्न विधागत साहित्य सिर्जना भएका छन् । नेपाली साहित्यको विकासक्रमलाई अध्ययन गर्दा प्राथमिक, माध्यमिक र आधुनिक कालमा विभाजन गरिएको पाइन्छ । साहित्य सिर्जनाका कालगत विभाजनसँगै तत्कालीन समयमा रचनाका विषयवस्तुमा पनि विविधता पाइन साकिन्छ । वास्तवमा साहित्य सामाजिक इतिहासको दर्पण हो । विगत र आगतलाई जोड्ने पुल हो भन्न सकिन्छ । साहित्य रचनामा सर्जक वा स्रष्टाले विषयवस्तुको चयन गर्दछ । ती विषयवस्तु धार्मिक, सामाजिक, राजनीतिक, आर्थिक कुनै पनि हुन सक्छन् । साहित्य सिर्जनामा सर्जकले आफ्नो शैली शिल्पसँगै मौलिकपन वा मौलिकता, कलापूर्ण भाषा, मानवीय संवेग अनुभूति अन्तरविचारको प्रदर्शन र अनुभवको प्रयोग गर्दछ ।
साहित्यमा प्रयुक्त विषयवस्तु सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा ऐतिहासिक हुन सक्छन् । साहित्य सिर्जनाका उद्देश्य धर्म, अर्थ, काम र मोक्ष अन्तर्गतका कुनै पनि हुन सक्छन् । साहित्यका माध्यमबाट साहित्यकार वा सर्जकले समाजको चित्रण गर्दछ, समाजमा भएका राम्रा नराम्रा पक्षको उद्घाटन गर्दछ । सुधार गर्नुपर्ने कुरालाई प्रस्ट्याउँछ । असल चरित्र, आदर्श र नैतिकताको सकारात्मक सन्देश दिन्छ । नेपाली साहित्यमा धर्म र संस्कारको प्रत्यक्ष प्रभाव रहेको देखिन्छ । धार्मिक परम्परामा आधारित रहेर आदर्शोन्मुख समाजको निम्ति रचना गरिएका साहित्यहरू प्रशस्तै रहेका पाइन्छन् । नेपाली साहित्यको प्राथमिक कालमा संस्कृत भाषाको प्रभाव, गुरुकुल शिक्षाको प्रचलन, धार्मिक आस्था र सनातन परम्पराबाट प्रभावित भएको पाइन्छ । वैदिक धर्म, संस्कृतिको प्रत्यक्ष प्रभावद्वारा समाजमा र सामाजिक व्यवहारबाट सिर्जना गरिएका साहित्यमा नैतिक, औपदेशिक, धार्मिक विषयवस्तु रहेका देखिन्छन् ।
आर्थिक, राजनीतिक, धार्मिक तथा ऐतिहासिक हुन सक्छन् । साहित्य सिर्जनाका उद्देश्य धर्म, अर्थ, काम र मोक्ष अन्तर्गतका कुनै पनि हुन सक्छन् । साहित्यका माध्यमबाट साहित्यकार वा सर्जकले समाजको चित्रण गर्दछ, समाजमा भएका राम्रा नराम्रा पक्षको उद्घाटन गर्दछ । सुधार गर्नुपर्ने कुरालाई प्रस्ट्याउँछ । असल चरित्र, आदर्श र नैतिकताको सकारात्मक सन्देश दिन्छ । नेपाली साहित्यमा धर्म र संस्कारको प्रत्यक्ष प्रभाव रहेको देखिन्छ । धार्मिक परम्परामा आधारित रहेर आदर्शोन्मुख समाजको निम्ति रचना गरिएका साहित्यहरू प्रशस्तै रहेका पाइन्छन् । नेपाली साहित्यको प्रार्थमिक कालमा संस्कृत भाषाको प्रभाव, गुरुकुल शिक्षाको प्रचलन, धार्मिक आस्था र सनातन परम्पराबाट प्रभावित भएको पाइन्छ । वैदिक धर्म, संस्कृतिको प्रत्यक्ष प्रभावद्वारा समाजमा र सामाजिक व्यवहारबाट सिर्जना गरिएका साहित्यमा नैतिक, औपदेशिक, धार्मिक विषयवस्तु रहेका देखिन्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।