१. अनुहारको चित्र – शाश्वत पराजुली

शाश्वत पराजुली

कागजमा कोरेको छु खरायोको चित्र

आँगनीमा देखाऊँ कि राखूँ खोरभित्र !

 

मेरो चित्र हेरी–हेरी बाबा खुसी होलान्

कलमसँगै नयाँ–नयाँ रङ्ग किनी देलान्

भोलि पनि बनाउनेछु बिरालाको चित्र

छानामाथि चढाऊँ कि देखाऊँ कोठाभित्र

 

चित्र कोर्न सिकाइदेऊ भन्छ मेरो भाइ

उसले बनाउँदा हुन्छ घोडाजस्तो गाई

भन्छ फेरि कोरिदेऊ अनुहारको चित्र

बनाइदिऊँ कि रिसाएको एक्लै कोठाभित्र !

        (‘लालमोहन र रसभरी’ बालकविता सङ्ग्रहबाट)

—————————-

[कवि शाश्वत पराजुली (२०२६) नेपाली बालसाहित्यका क्षेत्रमा विगत २५ वर्षदेखि सक्रिय स्रष्टा हुन् । नेपाली बालसाहित्यका चर्चित हस्ती कृष्णप्रसाद पराजुलीका सुपुत्र कवि शाश्वतका पाँच दर्जनभन्दा बढी बालसाहित्यका किताब प्रकाशित छन् । प्रौढ साहित्यतर्फ उनको रुचि गीतिलेखनमा छ । उनले दर्जनौं बालपुस्तकहरूको सम्पादन गरेका छन् । बालमनोविज्ञान र बालरुचि बुझेका शाश्वतका बालसाहित्यिक कृतिहरू निकै लोकप्रिय मानिन्छन् । उनका प्रशस्त सचित्र बालपुस्तक र बालकथाहरू प्रकाशित छन् भने बालकविताका क्षेत्रमा थोरै तर स्तरीय लेखकका रूपमा उनी सुपरिचित छन् । ‘लालमोहन रसभरी’ (वि.सं. २०६८) उनको प्रकाशित बाल कविता सङ्ग्रह हो भने उनका थुप्रै फुटकर बालकविताहरू पनि प्रकाशित भएका देखिन्छन् । उनी छोटो आकारमा गहिरो भाव बोकेका बालकविता लेख्ने कुशल सर्जक हुन् । शिक्षण पेशाको समेत अनुभव सँगालेका पराजुली प्रारम्भिक तहका विद्यार्थीका लागि पाठ्य र सन्दर्भ सामग्री सिर्जना र उत्पादनमा संलग्न रहेको पाइन्छ भने बालसाहित्यका सर्जक र आधारभूत तहका शिक्षकहरूका लागि थुप्रै तालिम र कार्यशालाको नेतृत्व र सहजीकरण पनि उनले गरेका छन् । उनको कार्य अनुभव हेर्दा रुम टु रीड नेपाल नामक संस्थामा पढ्ने सामग्री कार्यक्रमका प्रबन्धक, मेला बाल प्रकाशनका सम्पादक, कान्तिपुर राष्ट्रिय दैनिकको साप्ताहिक बाल प्रकाशन कोपिलाका संस्थापक संयोजक तथा परिशिष्टाङ्क सम्पादक, प्रारम्भिक कक्षा पढाइ कार्यक्रममा पठन सामग्री र उत्पादन प्रबन्धक लगायतका महत्त्वपूर्ण कार्यहरूमा उनले अनुभव सँगालेका छन् । नेपाली बालसाहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सारा बाल साहित्य पुरस्कार, पारिजात उत्कृष्ट पाण्डुलिपि पुरस्कार, उत्कृष्ट बाल पत्रिका पुरस्कार, रत्न बाल कोश उत्कृष्ट लेखक पुरस्कार, जमर्को बाल पत्रकारिता पुरस्कार, बाल विकास पत्रकारिता पुरस्कार, शिशु राष्ट्रिय पुरस्कार, उत्कृष्ट बाल पुस्तक लेखक पुरस्कार लगायतका पुरस्कार तथा मानसम्मानबाट उनलाई सम्मानित गरिएको छ । उनको प्रस्तुत ‘अनुहारको चित्र’ बालकविता बाल मनोभावनामा आधारित बालकविता हो । यस बालकविताले बालबालिकामा हुने सिर्जनात्मक प्रतिभालाई विषयवस्तु बनाएको छ । बालबालिकामा रहेको कलात्मक खुबीको उजागर गर्नुपर्छ भन्ने सन्देश दिइएको यस बालकवितामा बालबालिकामा हुने चाहना र जिज्ञासाको उद्बोधन गरिएको छ । नयाँ कुरा सिर्जनासँगै आत्मसन्तुष्टि हुन्छ भन्ने कुराको सङ्केत र बालसुलभ कोमल भावनाको अभिव्यक्ति पनि कवितामा भेटिन्छ ।]

**********************

२. अक्षर – कमला घिमिरे

कमला घिमिरे

रूप हेर्दा काली छौ ।

ज्ञानको दिव्य ज्योति हौ

नाम कस्ले राख्यो हँ?

स्वर कस्ले भर्‍यो हँ ?

 

व्यञ्जन वर्ण पढेर

स्वर वर्ण थपेर

लेख्छु कलम समाउँदै

तिमीसँगै  रमाउँदै

 

अङ्ग्रेजी अक्षर चिनेर

अङ्कको मूल्य बुझेर

सिक्नेछु गीत गाउँदै

गन्नेछु ढुङ्गा बटुल्दै

 

गुण तिम्रो चिनेर

भविष्य यसमै खोजेर

अघि बढ्छु रमाउँदै

मातृभूमि हँसाउदै ।

—————————-

[बेशिसहर नगरपालिका-३, लमजुङ घर भई हाल टोखा नगरपालिका काठमाडौँमा बसोबास गर्दै आएकी कमला घिमिरे (२०३१) पेशाले शिक्षिका हुन् । स्नातक शैक्षिक योग्यता रहेकी घिमिरे बालसाहित्यका विविध विधाहरूमध्ये बालकविता विधामा कलम चलाउन रुचाउँछिन् । उनी बाल मनोभावना बुझेर बालबालिकाका लागि रुचिकर हुने बालकविता लेख्न खप्पिस छन् । उनले बालशिक्षासँग सम्बन्धित सामग्रीलाई विषय बनाएर बालकविता लेख्ने गर्दछिन् । उनका बालकविताहरू विभिन्न अनलाइन मेडियाहरूमा प्रकाशित हुँदै आइरहेका छन् । उनको प्रस्तुत अक्षर बालकवितामा पनि बालबालिकाका लागि उपयोगी हुने सामग्रीको चयन गरिएको छ । उनको यो कविता शिक्षासँग सम्बन्धित छ जसमा कवयित्रीले स्वर र व्यञ्जन वर्णको परिचय दिएकी छन् । रूपमा कालो भए पनि गुणमा  ज्योति दिन सक्ने खुबी अक्षरमा छ भन्ने विचार प्रस्तुत बालकवितामा अभिव्यक्त भएको छ । अक्षरसँग साइनो गाँस्न सक्ने सिकारूका लागि कलमको पनि आफ्नै महत्त्व छ अनि कलमका सहाराले कापीमा नेपाली र अङ्ग्रेजी अक्षर मात्र होइन अङ्कको समेत उपयोग गर्न सक्छ भन्ने कुरालाई कवयित्रीले कलात्मक र लयात्मक पारामा व्यक्त गरेकी छन् । गीत गाउँदै र ढुङ्गा बटुल्दै अक्षरसँग खेल्न सक्ने व्यक्तिले सुनौलो भविष्य कोर्न सक्छ, रमाउँदै अघि बढ्न सक्छ अनि मातृभूमिलाई हँसाउन सक्छ भन्ने सार प्रस्तुत बालकवितामा पाउन सकिन्छ ।]

********************

३. उखु – प्रकाश अधिकारी

प्रकाश अधिकारी

आमा खेत जानुभो

लठ्ठी टेकी आउनुभो

बाले भारी बोकेर

बेच्नु भयो जोखेर

 

मुने पाठी खान्छ पात

काटी ल्यायो भाइले

मैले काटी चपाउँदा

रस आयो अहिले

 

`´ बाट उखु हुन्छ

आँख्लादार सिठो

अङ्ग्रेजीमा सुगर भन्छन्

खाँदा अति मिठो

 

खेतबारीमा लगाउँदा

सबको हुन्छ हुँदो

उखुबाटै बन्ने गर्छ

चिनी, सखर, खुदो

 

काटे पनि, थिचे पनि

चपाएर खाँदा नि

बैगुनीलाई गुनको पैँचो

तिर्ने यसको छ बानी

 

रस आउने गुलियो

गुनिलो छ छाती

उखु जस्तै मान्छे भए

हुन्थ्यो कति जाती ?

————————–

[बाग्लुङ जैमिनी नगरपालिका-५ बिनामारे स्थायी घर भई हाल पोखरामा बसोबास गर्दै आएका प्रकाश अधिकारी (२०४८) पत्रकारिताका क्षेत्रमा सक्रिय छन् । नेपाल पत्रकार महासङ्घ कास्कीमा आबद्ध उनी सारङ्गी न्यूज डटकमका सञ्चालक तथा सम्पादक हुन् । पर्ल स्ट्रीट जर्नल डटकमका नेपाल ब्युरो चिफ भएर कार्य गरेका अधिकारीसँग प्रहार न्यूज डटकमका कार्यकारी सम्पादकको अनुभव छ । उनी माछापुच्छ्रे एफ.एम. का निर्वतमान स्टेसन म्यानेजर समेत हुन् । पत्रपत्रिका, रेडियो र अनलाइन गरी अधिकारीसँग एक दशकभन्दा बढी पत्रकारिताको अनुभव छ । शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर अध्ययन गरेका उनी थ्रि एन्जल्स बुलेटिनका  सम्पादक र थ्रि एन्जल्स सामुदायिक रेडियोका क्वालिटी कन्ट्रोल इन्स्पेक्टर हुन् । आधा दर्जन जति गीत गजलहरू रेकर्डिङ गरिसकेका अधिकारीले सन्देश मासिक तथा समाज दर्पण मासिक पत्रिकाको सम्पादकको अनुभव पनि बटुलिसकेका छन् । सञ्जीवनी प्रतिभा पुरस्कार प्रतिष्ठान नेपाल, मुक्तक मञ्च पोखरा, गीतकार प्रतिष्ठान नेपाल लगायत विभिन्न साहित्यिक तथा सामाजिक संघसंस्थामा आबद्ध अधिकारीको ‘पीडाभित्रको यथार्थ’ (२०६७) नामक गजल सञ्चयन प्रकाशित छ । विभिन्न पत्रपत्रिका तथा जर्नलहरूमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, मानव बेचबिखन र पत्रकारितासम्बन्धी विषयमा उनका थुप्रै लेख-रचनाहरू प्रकाशित छन् । आधा दशक थ्रि एन्जल्स नेपालमा आबद्ध युवा लेखक तथा पत्रकार अधिकारी अब कविता सञ्चयन प्रकाशनको तयारीमा छन् । एक दशकदेखि पोखरामा बस्दै आएका अधिकारी माध्यमिक सामाजिक शिक्षा शिक्षक हुन् । गीतकार प्रतिष्ठान नेपालका संस्थापक सदस्य अधिकारी पहल नेपाल कास्कीका संस्थापक कार्यकारी निर्देशक समेत हुन् । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमा बालबालिकासँग सम्बन्धित रिडिङ क्लब गठन एवम् सञ्चालनका उनी अभियन्ता हुन् । उनले बालसाहित्यका विविध विधामध्ये बालकविता विधामा पनि कलम चलाएका छन् । उनी बाल मनोविज्ञान बुझेर बाल मनस्थिति छाम्ने गरी बालोपयोगी कविता लेख्न रुचाउँछन् । उनको प्रस्तुत उखु बालकविता प्राकृतिक वनस्पति उखुलाई विषयवस्तु बनाएर लेखिएको सुन्दर बालकविता हो । यस बालकवितामा उखुको बहु उपयोगिता र यसबाट लिन सकिने फाइदाका बारेमा चर्चा गरिएको छ भने आफूले चोट सहेर पनि गुन गर्न नछोड्ने प्रवृत्तिको चर्चा गर्दै बालपाठकलाई पनि उखु जस्तै गुनिलो, रसिलो र सहनशील हुनुपर्ने सन्देश दिइएको छ ।]

 —————————

rcghimire47@gmail.com