बुढ्यौली साहित्यमा भाषाशैली र शिल्पः

प्राचीन कथा वा पूराकथालाई बुढ्यौली साहित्यको भावभूमिमा आफ्नो व्यक्तिगत शैलीद्वारा प्रस्तुत गर्नु नै साहित्यमा प्रयुक्त शैली हो । शैली वा शिल्पहरूमा वैशिष्ट्य आजको साहित्यमा खास गरेर आख्यान साहित्यमा पाइन्छ । आजको शैलीलाई परम्परागत भाषाशैलीको भन्दा अलग रूपमा हेरिन्छ । लेखकको कला र सीपलाई भाषा, अलङ्कार, प्रतीक बिम्बजस्ता शृङ्गार लगाएर सुन्दर पार्ने काम गर्नु नै शिल्प वा सीपको प्रयोग गर्नु हो । सफल साहित्यकारले अभिव्यक्ति शैलीबाट चमत्कृत गर्ने, रोमाञ्चक बनाउने, भ्रम उत्पन्न पार्ने गर्दछ । आख्यान वा गैरआख्यानमा प्रयोग भएका त्यस्ता शिल्प वा प्रयोग भएका शैलीमध्ये वर्णनात्मक, ऐतिहासिक, आत्मकथात्मक, चेतना प्रवाह, पत्रात्मक, डायरी, चित्रात्मक पर्दछन् ।

रूपविन्यास कथाको संरचनालाई सुन्दर रूपाकृति प्रदान गर्ने कलात्मक तत्त्व हो । यो कथाको कला पक्षसँग सम्बन्धित हुन्छ । कथावस्तुलाई एउटा निश्चित आकार प्रदान गरिसकेपछि कथाकारले त्यसलाई सुन्दर बनाउन प्रयोग गर्ने युक्ति नै ‘रूपविन्यास’ हो (श्रेष्ठ,२०६६: १२) । रूपविन्यासलाई रूपाधान पनि भनेको पाइन्छ । यसभित्र कथाका सूक्ष्म तत्त्वहरू पर्दछन् । वाक्यगठन, पदविन्यास, बिम्बविधान, व्यङ्ग्य, प्रतीकविधान, अलङ्कारविधान, शीर्षक आदि कलापक्षसित सम्बन्धित तत्त्वहरू रूपविन्यासभित्र अन्तर्निहित हुन्छन् । कथाको भाषिक एवम् शिल्प–शैलीगत निर्माणमा सहायता गर्ने तत्त्वहरू यसमा पर्ने भएकाले तत्क्षण यसले पाठकवर्गलाई प्रभावित पार्ने काम गर्दछ (श्रेष्ठ,२०६६:१२) । रूपविन्यास साहित्य र गैरसाहित्य बीच भिन्नता देखाउने तत्त्व पनि हो । रूपविन्यास कथाकारको निजी भावनासँग सम्बन्धित हुने हुनाले वैयक्तिक हुन्छ । यसका संवृत् र विवृत् गरी दुई रूपहरू हुन्छन् ।

रूपविन्यास आख्यानको अनिवार्य अङ्ग हो । आख्यान अभिव्यक्तिको माध्यम भाषा हो भने शैली अभिव्यक्तिको ढाँचा हो । भाषाविना आख्यान संरचनालाई कल्पना पनि गर्न सकिँदैन । आख्यानलाई आन्तरिक एकात्मकता प्रदान गर्ने कार्यमा भाषाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । भाषा भाव वा विचार अभिव्यक्तिको माध्यम हो । आख्यानमा प्रयुक्त पात्रहरूका बीचमा संवाद र विचार विनिमय भाषाबाट हुन्छ । निजत्त्वको विशिष्ट स्वरूप शैली हो जसरी मानिसको आफ्नो रूचि र स्वभाव फरक हुन्छ यसरी नै आफ्नो मनका भावहरू व्यक्त गर्ने तरिका पनि फरक हुन्छ । त्यसैले शैली व्यक्तित्वको स्वरूप हो । मनका भाव वा विचार अरू छेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूहलाई भाषा भनिन्छ भने विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति, काम गराइको ढाँचालाई शैली भनिन्छ । आख्यान साहित्यिक विधा भएकाले आख्यानकलाको निर्माणमा भाषाशैली आवश्यक पर्दछ, जसले आख्यानलाई मौलिक तथा एक अर्काबाट पृथक् बनाउँदछ ।

भाषा विचार विनियमको साधन हो । भाषाका माध्यमबाट साहित्यको सिर्जना गरिन्छ । लेखकले भाषालाई माध्यम बनाएर आफ्ना अनुभूतिहरू रचनामा व्यक्त गर्दछन् । आख्यानात्मक तत्त्वहरूलाई आन्तरिक एकात्मकता प्रदान गर्ने कार्यमा भाषाको महत्त्व सर्वाधिक छ (प्रधान, २०४०: १२) । व्यक्तिको आफ्नो भाव वा विचार व्यक्त गर्ने माध्यम नै भाषा हो । यही भाषालाई विभिन्न व्यक्तिले विभिन्न ढङ्गमा प्रयोग गर्छन् (थापा, २०४०:१३७) आख्यान भाषाद्वारा मूर्त रूपमा प्रकट हुने साहित्यिक कला माध्यम हो र यो भाषाकै रूपमा शक्तिशाली बन्दछ (बराल र एटम, २०६६ : ४०) । यसरी आख्यानकारले उपन्यासमा प्रत्यक्ष रूपमा प्रयोग गर्ने भाषा होस् वा आख्यानका पात्रहरूको माध्यमबाट व्यक्त हुने भाषा होस् ती सबैको काम स्पष्टता ल्याउनु नै हो । अतः आख्यानमा भाषा महत्त्वपूर्ण तत्त्व हो ।

भाषा र शैली दुई शब्दको समस्त रूप नै भाषाशैली हो । भाषा साहित्यिक अभिव्यक्तिको मार्ग हो । भाषाले आख्यानका सबै अङ्गहरूलाई सङ्गठित गर्दछ । आख्यानमा कथ्य र लेख्य दुवै भाषाको प्रयोग अवश्यकता अनुरूप हुने गर्दछ । कथ्य विषयलाई पाठकसमक्ष प्रभावकारी ढङ्गले सम्प्रेषण गर्ने सामग्री नै भाषा भएकाले आख्यानात्मक तत्त्वहरूलाई आन्तरिक एकात्मकता प्रदान गर्ने सामान्य कार्यमा भाषाको महत्त्व सर्वाधिक छ । आख्यानमा कथ्य र लेख्य दुवै भाषाको प्रयोग आवश्यकता अनुरूप हुने गर्दछ । अन्य साहित्यिक विधा भन्दा जीवनको विस्तृत आयामलाई समेट्ने हुँदा यसमा भाषाको सम्पूर्ण शक्तिको प्रयोग गरिन्छ ।

भाषालाई साहित्यकारहरूले आ–आफ्नो तरिका र ढङ्गमा मिलाएर प्रकट गर्ने गर्दछन् । यही प्रकट गराइलाई नै भाषाको रूप वा शैली भनिन्छ । आख्यानको शैली कथावस्तुअनुरूप पात्रको रूचि र स्तरलाई ध्यानमा राखी प्रयोग गरिन्छ । आख्यानकारको अलग–अलग व्यक्तित्व भएजस्तै आख्यानका पनि पृथक–पृथक शैली हुन्छन् । जस्तै वर्णनात्मक, विश्लेषणात्मक, आत्मकथात्मक, आलोचनात्मक आदि । शैलीको प्रकारमा विभिन्नता देखिए पनि यसको काम त कथ्यवस्तुको आकर्षक, रोचकतापूर्ण सजीव प्रस्तुतीकरण नै हो, जसबाट आख्यानकारद्वारा रचित भावालोकको मानवीय विचित्रता वा विशिष्टताहरूसँग रागात्मक सम्बन्ध स्थापित गरेर सहजै परिचित हुन सकियोस् ।

बुढ्यौली साहित्यमा प्रयोग गरिएका भाषाशैली पनि ओजपूर्ण रहेका हुन्छन् । तिनले पाठक वा भावकका मनमा प्रत्यक्ष प्रभाव पार्न सक्ने गहन चिन्तनयुक्त सरल शैलीलाई आत्मसात् गरेका हुन्छन् । त्यसैले बुढ्यौली साहित्यिक कृतिहरू बढी वैचारिक र चिन्तनशील शैलीका हुन्छन् ।

बुढ्यौली साहित्यमा सारवस्तु तथा उद्देश्यः

आख्यानमा पनि संरचना र रूपविन्यास गरी दुई पक्ष रहेका हुन्छन् । आख्यानको संरचनामा कथावस्तु, पात्र विधान दृष्टिविन्दु र सारवस्तु गरी चारवटा तत्त्वहरू पर्दछन् । तिनीहरूमध्ये सारवस्तु कथाको महत्त्वपूर्ण तत्त्व हो ।

आख्यानकारले कृतिका माध्यमबाट आफूले व्यक्त गर्न खोजेको विचार वा अभिप्रायलाई सारवस्तु भनिन्छ । कुनै पनि कृति पढिसकेपछि त्यसबाट पाठकले जुन भावार्थ वा अभिप्राय पाउँछ त्यही नै सारवस्तु हो । सारवस्तुलाई उद्देश्य, विचार, जीवन दर्शन, सन्देश वा सारतत्त्व पनि भनेको पाइन्छ । आख्यान संरचनामा कथावस्तुसँग प्रत्यक्ष वा परोक्ष रूपमा विचारको बीज रोपिएको हुन्छ । यो नै पछि कथावस्तुका रूपमा प्रदर्शित हुन्छ ।

सारवस्तुलाई कथाकारले अभिधात्मक, उपयुक्तिमूलक वा प्रतीकात्मक अर्थ वा तहबाट प्रदर्शन गर्नसक्छ । आख्यानमा सारवस्तु मानवशरीरको रक्तसंचार प्रणालीझैं सर्वव्याप्त हुन्छ । यसको स्थिति चाहिँ शाश्वत हुन सक्छ र प्रसङ्ग वा विषय फरक तर जे भए पनि यसले मानव समाजका निम्ति नै विभिन्न भाव वा विचार संचार गर्दछ । नदीको पानीभित्रको विद्युतीय धारझैं यस्ता भाव वा विचारले मानव समाजमा परिवर्तन ल्याउन सक्दछ । (श्रेष्ठ २०६६ :१२)

जसरी मानव शरीरमा रक्तसञ्चार प्रणाली सर्वव्याप्त हुन्छ, त्यसरी नै आख्यानमा पनि सारवस्तु आख्यानभरि सर्वव्याप्त भएर फैलिएको हुन्छ । प्रसङ्ग र विषय फरक भए पनि कथाले पाठक र श्रोतालाई दिन खोजेको विचार वा सन्देश चाहिँ महत्त्वपूर्ण हुन्छ । यस्ता भाव र विचारले समाजलाई परिवर्तनको दिशातर्फ उन्मुख गराउन खोजेका हुन्छन् । त्यही नै आख्यानमा सारवस्तुको रूपमा चित्रित हुन्छ । कथाको उद्देश्य पाठकलाई तत्काल स्वस्थ मनोरञ्जन दिनु र कुनै न कुनै सत्यको प्रतिष्ठापन गर्नु हो । त्यसैले जीवनको कुनै एकपक्षप्रति दृष्टिकोणको प्रस्तुति हेर्दा पाठकलाई कुनै न कुनै ज्ञान प्राप्त भएको हुन्छ (न्यौपाने २०४९ :१७०)।

आख्यानकारले आख्यानका माध्यमबाट प्रस्तुत गर्ने सकारात्मक दृष्टिकोण नै सारवस्तु हो । कृतिका माध्यमबाट आफूले व्यक्त गर्न खोजेको विचार वा अभिप्रायलाई सारवस्तु भनिन्छ । अर्को तरिकाले भन्नुपर्दा कुनै पनि कृति पढिसकेपछि त्यसबाट पाठकले जुन भावार्थ वा अभिप्राय पाउँछ त्यही नै सारवस्तु हो (लुइटेल,२०७० :१६) ।

सारवस्तुलाई आख्यानको उद्देश्य भनेर पनि चिनाउन सकिन्छ । यसले पाठक वा श्रोतालाई तत्कालका लागि मनोरञ्जन दिनुका साथै नैतिक, धार्मिक, सामाजिक र ऐतिहासिकमध्ये कुनै एक किसिमको ज्ञान दिलाउन खोजेको हुन्छ । यीमध्ये पाठकले जस्तो किसिमको भाव ग्रहण गर्न सक्छ त्यही भावलाई सारवस्तुका रूपमा लिन सकिन्छ ।

प्रथमतः पाठकलाई मनोरञ्जन प्रदान गर्नु नै आख्यानको एउटा उद्देश्य रहेको पाइन्छ भने जीवनसम्बन्धी कुनै महत्त्वपूर्ण तथ्यको वा मानव मनका कुनै खास पक्षको परिचय दिनु पनि आख्यानको उद्देश्य रहेको हुन्छ । आख्यानमा जीवनको व्याख्या गर्नु सम्भव छैन तर जीवनप्रतिको कुनै खास दृष्टिकोणको प्रतिपादन यसमा सम्भव छ । कुनै आख्यानकारले आफ्ना आख्यानमा जीवनजगत्प्रतिको यथार्थवादी दृष्टिकोण प्रस्तुत गरेका हुन्छन् भने कतिपय आख्यानकारहरूले जीवनजगत्को यथास्थितिमा परिवर्तन ल्याई आदर्शको स्थापना गर्नुपर्ने दृष्टिकोण प्रस्तुत गरेका छन् ।

पाठकले कुनै पनि रचनाको अध्ययन गरिसकेपछि वा श्रोताले श्रवण गरिसकेपछि मनलाई आनन्दित बनाउनु नै यसको उद्देश्य रहेको हुन्छ । जीवनको कुनै एक महत्त्वपूर्ण तथ्य वा मनको कुनै खास पक्षको परिचय दिनु पनि आख्यानको उद्देश्यभित्र पर्दछ । आख्यानकारले आख्यानमा व्यक्तिको जीवन भोगाइ र समाजको सामाजिक यथार्थको चित्रण गरी आदर्शको परिकल्पना गरेका हुन्छन् । आख्यानमा यसरी प्रस्तुत भएका आर्दशका कुराहरू कलात्मक ढङ्गले प्रकट भएका हुन्छन् । त्यस्ता कुराहरूलाई नै सारवस्तुका रूपमा व्याख्या र विश्लेषण गर्न सकिन्छ ।

विचारशून्य अवस्थामा आख्यानले जीवन पाउन सक्दैन । विचारलाई कतिपय ठाउँमा उद्देश्य, जीवनदर्शन, दृष्टिविन्दु, कथा अन्तर्वस्तु आदि संज्ञाबाट सम्बोधन गरिन्छ । आख्यान कतै आख्यानकारले राखेका उद्देश्यअनुसार आफ्नै व्यक्तित्व प्रर्दशन गर्ने कार्यमा केन्द्रित रहन्छ भने कतै वैचारिकता प्रदर्शन गर्ने उद्देश्यमा केन्द्रित रहन्छ । आख्यानको उद्देश्य आख्यानकारको वैयक्तिक व्यक्तित्व प्रर्दशन रह्यो भने विचार पक्ष गौण रहन्छ । त्यस्तो अवस्थामा शैली र चालढालको चमत्कारीपनमा अल्मलिएको हुन्छ र विचारपक्षलाई स्थापना गर्ने उद्देश्यले प्रेरित आख्यान लेखन हो भने मानवीय शाश्वत मूल्यमा आएका जीवन र युगका प्रभावहरू र संवेगका क्षणहरूले आख्यानलाई जीवन दिएका हुन्छन् । यस्ता आख्यानमा समाजका राजनीति, अर्थनीति, धर्म र संस्कृति, ज्ञानविज्ञान परम्परागत र नवीन मूल्यबोधका चेतहरू सिङ्गो संरचनामा देखिने सङ्गति र विसङ्गतिका लक्षणहरूलाई पारदर्शी रूपमा स्थापना गरिएको हुन्छ । (सुवेदी, २०५३ : ३०)

आख्यानमा आख्यानकारले एउटा विचार प्रस्तुत गरेका हुन्छन् । आख्यानमा प्रस्तुत भएका विचारलाई कतिपय ठाउँमा उद्देश्य, जीवनदर्शन, दृष्टिविन्दु, अन्तरवस्तु वा सारांश आदि नामले पनि व्यक्त गरिएको हुन्छ । आख्यानमा आख्यानकारले कतै व्यक्तित्व प्रदर्शन गर्ने कार्यमा केन्द्रित रहेको हुन्छ भने विचारपक्षलाई केन्द्रित गरिएको हुन्छ । तर विचारपक्षलाई केन्द्रित गरी लेखिएका लेख नै आख्यान लेखनको उद्देश्य हो । यस्ता आख्यानमा समाजमा राजनीति, अर्थनीति, धर्मसंस्कृति ज्ञानविज्ञानको परम्परागत र नवीन मूल्यका चेतहरूलाई पारदर्शी रूपमा राख्न खोजिएको हुन्छ । यसलाई नै कथाको सारवस्तु मान्न सकिन्छ ।

साहित्य रचनामा विषय पनि सबै साहित्यिक कृतिहरूको तत्त्व हो र यो आख्यानको पनि आधारभूत तत्त्व हो । आख्यानको विषय यही जीवनजगत् हुने गर्दछ र यसै जीवनजगत्का प्रवृत्ति, समाज, धर्म संस्कृति, इतिहास मनोविज्ञान आदिमध्ये कुनै एक वा एकभन्दा बढी विषयको चित्रण गरिने मुख्य कुरो हो । यसलाई केन्द्रीय कथ्य पनि भन्ने गरिन्छ । आख्यानमा चित्रण गरिएको विषयकै आधारमा आख्यानहरू सामाजिक मनोवैज्ञानिक आदि हुने गर्छन् । आख्यानमा व्यक्त विचारतत्त्व, सन्देश वा उद्देश्य तत्त्वजस्ता कुरा पनि यसै विषयसँग सम्बन्धित हुने गर्छन् । त्यसैले आख्यानका केन्द्रीय कथ्य विचार तत्त्व, सारवस्तु, सन्देश उद्देश्य आदि सबै तत्त्वलाई विषय तत्त्वभित्रै राखेर हेर्न सकिन्छ । सारवस्तुलाई कथाकारले अभिधात्मक, अन्योक्तिमूलक वा प्रतीकात्मक कुनै पनि अर्थको तहबाट प्रदर्शन गर्न सक्छ (लुइटेल,२०७०:१६) । सारवस्तुलाई आख्यानको आधारभूत तत्त्वका रूपमा चित्रित गरिएको हुन्छ । यसलाई विषयवस्तुका रूपमा पनि लिन सकिन्छ । यसले जीवनजगत्का प्रवृति समाज, धर्म, संस्कृति, इतिहास र मनोविज्ञानमध्ये कुनै एउटा विषयलाई आधार मानेको हुन्छ । आख्यानमा व्यक्त गरिएको विचार तत्त्व वा केन्द्रीय भावलाई सारवस्तु भन्न सकिन्छ । यसलाई उद्देश्यभित्रै राखेर अध्ययन गर्न सकिन्छ ।

उद्देश्यलाई विचार तथा आख्यानले देखाउन चाहेको सारतत्त्व पनि भन्ने गरिन्छ । ‘थेम’ थट ‘मिनिङ’ को नेपाली रूपान्तरणको रूपमा ‘उद्देश्य’ लाई राख्न सकिन्छ । संरचनावादीहरू थेमको सम्बन्ध विषय सूत्रसित रहेको मान्दछन् । पाठकवादीहरू उद्देश्यलाई मिनिङको रूपमा हेर्दछन् । वास्तवमा कुनै पनि आख्यानले कथावस्तुमार्फत् भन्ने, देखाउने, प्रस्तुत गर्ने, जीवन चिन्तन सारपक्ष नै आख्यानको उद्देश्य हो । आख्यानकार आख्यानमार्फत् के भन्न चाहन्छन्, आख्यानले के भन्न चाहन्छ नै आख्यानको उद्देश्य हो । यो उद्देश्य नै आख्यानको वैचारिक पक्ष हो । छोटकरीमा भन्दा आख्यानले छोड्ने निष्कर्ष नै कथाको सारतत्त्व हो, जसको सम्बन्ध आख्यानको उद्देश्यसित गाँसिएको हुन्छ ।

सारवस्तुलाई आख्यानले देखाउन खोजेको सारतत्त्वका रूपमा व्याख्या गर्न सकिन्छ । कुनै पनि आख्यानले विषयवस्तुमार्फत् प्रस्तुत गर्ने जीवन चिन्तन वा सारपक्ष नै उद्देश्य हो । पाठकले आख्यान पढिसकेपछि प्राप्त गर्ने निष्कर्ष वा निचोड नै सारवस्तु हो ।

कुनै आख्यानको भावार्थ वा अभिप्राय नै सारवस्तु हो । आख्यानमा कुनै न कुनै विचार वा भावको वीज रूप प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रहेको हुन्छ । यसैबाट कथानकको संरचना तयार गरिन्छ । आख्यान संरचनाको सौन्दर्यतत्त्व मानिने विचार वा भावको बीजरूप नै सारवस्तुका रूपमा रहन्छ । सारवस्तुलाई अभिधात्मक, प्रतीकात्मक र अन्योक्तिमूलकमध्ये कुनै किसिमबाट पनि प्रस्तुत गर्न सकिन्छ । कुनै पनि साहित्यको लेखकले पाठकवर्गसँग सम्बन्ध स्थापना गर्नका लागि आफ्ना कृतिहरूमा कुनै न कुनै विचार दृष्टिकोण वा भावलाई विधाको स्वरूप हेरेर प्रस्तुत गर्दछ । मूलतः आख्यानात्मक कृतिहरूमा यस्ता भाव विचार वा दृष्टिकोणहरूलाई कथानक र पात्रको संयोजन गरी कथात्मक पारामा व्यक्त गरिएको हुन्छ ।
आख्यानको भाव वा अभिप्राय नै सारवस्तु हो । आख्यानमा भन्न वा बताउन खोजिएको बीज नै सारवस्तु हो । सारवस्तुलाई अभिधात्मक, प्रतीकात्मक, व्यङ्गयात्मक र अन्योक्तिमूलकमध्ये कुनै एक किसिमबाट प्रस्तुत गर्न सकिन्छ । यसरी प्रस्तुत हुने मूलभाव वा विचारलाई सारवस्तु भनिन्छ ।

आख्यानले पस्किन खोजेको केन्द्रीय विचार, भाव, उद्देश्य, सन्देश जे भने पनि सारवस्तुलाई बुझाइएको हुन्छ । आख्यानमा प्रस्तुत सारवस्तु अभिधात्मक पनि हुन सक्छ, प्रतीकात्मक पनि हुनसक्छ । अझ कतिपय सारवस्तु व्यङ्गयात्मक पनि हुन सक्छ । यस्ता प्रतीकात्मक र व्यङ्गयात्मक सारवस्तु सोझो अर्थमा नभई घुमाउरो अर्थले दिइएको हुन्छ । त्यस्ता आख्यानको सारवस्तु बुझ्नको लागि बौद्धिक पाठकको आवश्यकता पर्दछ । कुनै एउटा पक्ष वा विचारलाई सिधा रूपमा नभई घुमाएर व्याख्या र विश्लेषण गरिएको हुन्छ । आख्यानजस्तो किसिमको भए पनि त्यसले एक किसिमको सार अवश्य बोकेको हुन्छ । आधुनिक आख्यानमा सारवस्तुलाई बढी महत्त्व दिइएको हुन्छ ।

साहित्य किन र के का लागि लेखिन्छ भन्ने कुरा नै त्यसको उद्देश्य हो । त्यसैले प्रत्येक साहित्यिक रचनामा जस्तै आख्यानको पनि कुनै न कुनै उद्देश्य रहेको हुन्छ । यसलाई शब्दान्तरमा विचार, जीवनदर्शन आदि पनि भनिन्छ । आख्यानमा जीवनकै अभिव्यक्ति हुन्छ । आख्यान लेखकको जीवन दर्शनको अभिव्यक्ति दिने माध्यम पनि हो । यसमा जीवन अनुभूतिको प्रकाशन गर्ने लक्ष्य मूल रूपमा रहेको देखिन्छ । यसर्थ समाज सुधारको सन्देश दिनु, राजनीतिक, सांस्कृतिक, आर्थिक चेतनाका लागि प्रचारप्रसार गर्नु, विकृति र विसङ्गतिको चिरफार गर्नु इत्यादि आख्यान लेखनको उद्देश्य रहेको हुन्छ ।

जुनसुकै रचनाको सिर्जना गर्दा स्रष्टाले कुनै न कुनै उद्देश्य राखेको हुन्छ । उद्देश्यको परिपूर्तिका निमित्त रचनामा विचारको शृङ्खला प्रवाहित गरिएको हुन्छ । उद्देश्यलाई आख्यानको प्राप्ति भनिन्छ । आख्यान खास गरी सामाजिक समस्या र वैयक्तिक जीवनका विभिन्न पक्षको विस्तृत अध्ययन हुनाले त्यसमा चित्रित जीवन र समस्याहरू यथातथ्य वर्णन मात्र नभएर तिनीहरूको जीवनप्रति नै आख्यानकारले कुनै विशिष्ट दृष्टिकोणलाई प्रस्तुत गरिरहेका हुन्छन् । विषयलाई गहनता र विस्तृतता दिएर कुनै सामाजिक समस्या वा सैद्धान्तिक सत्यको प्रतिपादन अर्थात् जीवन दर्शनकै रूपमा मूल्याङ्कित गर्ने काम उद्देश्यले पूरा गर्दछ ।

तसर्थ निष्कर्षमा के भन्न सकिन्छ भने बुढ्यौली साहित्यले पनि पाठकलाई आनन्द दिनुको साथै समाज तथा व्यक्तिको चित्रण गरेर त्यसबाट निश्चित निष्कर्ष निकाल्दै पाठकलाई शिक्षा वा सन्देश दिनु नै प्रमुख उद्देश्य बोकेको हुन्छ ।

बुढ्यौली साहित्यमा संवादः

पात्रहरू बीचको कुराकानीलाई संवाद भनिन्छ । आख्यानको कथानक अगाडि बढ्ने क्रममा पात्रहरूबीचको कुराकानीलाई संवाद वा कथोपकथन भनिन्छ । संवाद वा कथोपकथनको प्रमुख कार्य आख्यानात्मक चरित्रको चित्रण गर्नु हो र घटनालाई नाटकीकरण गरेर अगाडि लैजानु हो । आख्यानका पात्रहरूका बीचमा स्थापित समस्या, अन्तद्वन्द्व र परिणति संवादले उपयुक्त ढङ्गले प्रस्तुत गर्दछ (बराल र एटम, २०६६:३२) । संवादकै मद्दतले उपन्यासकारले पात्रहरूको बाह्य र आन्तरिक जगत्का जटिलता, सङ्घर्ष, कुण्ठा आदि भावहरूको प्रत्यक्ष बोध गर्दछ । संवाद वा कथोपकथनको सम्बन्ध आख्यानको कथावस्तुसँग हुन्छ । संवाद पात्रको स्तरअनुरूपको भए मात्र यसले सफलता प्राप्त गर्न सक्छ । पात्रअनुकूल संवाद र आत्मालाप, मनसङ्घात, अन्तर्मुखी प्रवृत्तिका मूल्यहरू पनि कथोपकथनकै माध्यमबाट व्यक्त हुन्छन् (सुवेदी,२०५३:२३) ।

बुढ्यौली साहित्यका रचनामा वृद्धवृद्धाका संवादका माध्यमबाट आफ्ना विचारहरूलाई सहजै सम्प्रेषण गरिएका हुन्छन् ।

बुढ्यौली साहित्यमा द्वन्द्वः

कथावस्तु र पात्रलाई क्रियाकलापसँग आबद्ध गराएर अभिव्यक्ति दिने तत्त्व द्वन्द्व हो । द्वन्द्वलाई कतिपय विद्वान्हरूले सङ्घर्ष भन्न पनि रूचाउँछन् । द्वन्द्व वास्तवमा रचनामा प्रयुक्त जीवनको अन्तर्जटिलताको सूचक हो । द्वन्द्व तीन तहमा विभक्त हुन्छ । मान्छेका बाह्यजीवनमा आइपर्ने विसङ्गतिका कारण देखापर्ने द्वन्द्व, मान्छे–मान्छेसँगका विषमताका कारणले दुवैमा वैमनस्य जन्माउने द्वन्द्व र मान्छेको आफैँभित्र देखापर्ने तनावमूलक द्वन्द्व (सुवेदी, २०५३: २४) । नेपाली आख्यान जगत्मा पल्लो घरको झ्याल र अनुराधा उपन्यासकी नायिकाका बीचमा पैदा भएका द्वन्द्व व्यक्तिका आन्तरिक मनमा भएका द्वन्द्व हुन् भने माइतघर, लङ्गडाको साथी, चपाइएका अनुहार, डापी आदि बाह्य द्वन्द्व भएका आख्यानहरू हुन् ।

बुढ्यौली साहित्यमा प्रतीक र बिम्बः

कुनै पनि मूर्त वस्तुको प्रयोगद्वारा अमूर्त गुण वा भावको प्रयोग गर्न सकिन्छ । यसरी प्रयोग गरिने वस्तु वा घटना जसले सामान्य वा सोझो अर्थ नबुझएर त्यसभन्दा निकै परको अर्थ बुझाउँछ भने त्यस्तो प्रतीक वा घटनालाई प्रतीक भनिन्छ । प्रतीकले एकातिर अमूर्त र अव्यक्त भागलाई भित्र ढाँचाले मूर्तता र अभिव्यक्ति दिने काम गर्दछ भने अर्कोतिर धेरै शब्द खर्च गरेर भत्रुपर्ने कुरालाई थोरै शब्दमा मीठोसँग भन्दछ (बराल र एटम, २०६६:४०) ।
बिम्ब भन्नाले मस्तिष्कमा सञ्चित कुनै वस्तुको मानसिक छायाचित्र हो । आख्यानमा यस्तो छाया बसाउने माध्यम भाषा हुन्छ । शब्दका माध्यमबाट श्रोता वा पाठकका मस्तिष्कमा कुनै स्थिति, स्थान, घटना वा पात्रको यथार्थसदृश छाया पारिदिने पद्धतिलाई बिम्ब विधान भनिन्छ । बिम्बले अमूर्तलाई मूर्तता दिन अमूर्तकै प्रयोग गर्दछ, प्रतीकमा झैँ मूर्त वस्तुको सहयोग लिँदैन । बिम्बको भाषा संवेदना निकट हुने भएकाले यसले मान्छेको हृदय छुने सामर्थ्य राख्छ (बराल र एटम, २०६६: ४१÷४२) ।

बुढ्यौली साहित्यमा गति र लयः

आख्यानमा गति नै कथानकको विकासमा रहेको वेग हो । गतिकै सहयोगबाट क्रियाको द्वन्द्व पहिचान गर्न सकिन्छ भने आख्यानको सारवस्तुमूलक गहिराइमा पुग्नका लागि पनि गतिको स्थिति विचार गर्नु पर्ने हुन्छ । कथानकको विकासमा रहेको वेग नै गति हो । कथानकको हिँडाइ आख्यानमा दृश्यात्मक र सङ्क्षेप पद्धति गरी दुई प्रकारको हुन्छ । दृश्यात्मक पद्धतिमा संवाद र वर्णनको मिश्रणबाट आख्यानको गति तलमाथि गर्दा रोचकताको सृजना त हुन्छ तर आख्यानको गति भने मन्द हुन्छ । सङ्क्षेप पद्धतिमा सूचनात्मकता हुने भएकाले अनावश्यक र पट्यारलाग्दा घटनाहरू सङ्क्षेपीकृत गरिएको हुन्छ जसले गर्दा आख्यानको गति तीव्र हुन्छ । त्यस्तै लामा–लामा वाक्य, जटिल तथा संयुक्त वाक्यको योजना र संवादको प्रयोगले कथानक मन्द गतिले अगाडि बढ्दछ भने छोटा वाक्य र काव्यात्मक प्रस्तुतिले कथानक तीव्र गतिले अगाडि बढ्छ । आख्यानमा गतिकै उतार चढावको तरङ्गबाट लयको सृजना हुने गर्दछ । गद्य भाषामा लय भनेको भाषिक ध्वनिबाट उत्पन्न हुने साङ्गीतिकताभित्र निहित मूर्छना हो (बराल र एटम,२०६६:४०) ।