साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

स्वादिला बालकविता; शृङ्खला – २० 

Chovar Blues Mobile Size

१. भँगेराको गुँड – मञ्जुश्री गिरी

मञ्जुश्री गिरी

हाम्रो घरको कौसीमा

भँगेराको गुँड छ

छिन छिन बिराएर

sagarmani mobile size

भित्र बाहिर उड्छ

 

फुर्रफुर्र आँगनीमा

नाच्ने उस्को बानी

आउँदैनन्  छेउछाउ

उस्का साना नानी

 

चिर्रबिर्र चिर्रचिर्र

सुरिलो गीत बोली

खानेकुरा बोक्छ उस्ले

मुखको चुचो खोली

 

कचौराको पानी खाना

घरीघरी  खान्छ

सुटुसुटु गुँडमा जान्छ

सँगै माम लान्छ ।

——————————

[विराटनगर-८, मोरङकी स्थापित स्रष्टा मञ्जुश्री गिरीका कविता, लघुकथा र मुक्तकका सङ्ग्रहहरू प्रकाशित छन् र कविता तथा मुक्तकका अन्य सङ्ग्रहहरू पनि प्रकाशनको पर्खाइमा छन् । २०४२ सालमा मोरङ जिल्ला स्तरीय बाल कवितामा प्रथम भएर साहित्य लेखनको यात्रारम्भ गरेकी कवयित्री गिरीले क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै सम्मान तथा पुरस्कारहरू हात पारेकी छन् । विराटनगरमा रहेर  साहित्यमा कलम चलाउदै आएकी गिरी हाल विभिन्न साहित्यिक तथा सामाजिक सङ्घ सस्थामा आबद्ध छिन् । उनले केही फुटकर बालकविताहरू पनि लेखेकी छन् । उनी मानवीय वा मानवेतर पात्रलाई केन्द्रमा राख्दै बालमनोविज्ञानलाई खोतलेर बालकविता लेख्न रुचाउँछिन् । प्रस्तुत ‘भँगेराको गुँड’ बालकवितामा भँगेराको आनीबानी र उसले गर्ने गतिविधिलाई बालसुलभ ढङ्गले गीतिलयमा चित्रण गरिएको छ । कवितामा मानवेतर पात्र भइकन पनि भँगेराले मानवीय स्वभावसँग मिल्ने खालको व्यवहार गरेको देखाइएको छ । यस बालकवितामा संरचनाका हिसाबले चौध अक्षरे सबाइ लोकलयको प्रयोग भएको भेटिन्छ । कथयिता पात्र बालिका बनेर लेखिएको यो बालकविता बालोपयोगी छ र अन्त्यानुप्रासको मिल्दो तालमेल एवम् लयात्मकता कारण कविता कलात्मक बन्न पुगेको छ ]

**************************

२. आज मेरो जन्मदिन – डा. ऋषि बस्ताकोटी

डा. ऋषि बस्ताकोटी

आज मेरो जन्मदिन

थियो एउटा धोको,

हुलाकी दाइ आएर

दिए मलाइ पोको

 

पोहोर साल यही दिन

थालेछु म झन् रुन,

काका आई सोध्नुभो –

रुन पर्‍यो भन् किन ?

 

साथीभाइले सुनाउँथे

उपहार पाएको

जन्मदिनमा मेरो त

छैन केही आएको

 

काका मेरा बुझ्झकी

मनको कुरा जान्नुभो,

कानमा आई खुसुक्क

मलाई केही भन्नुभो।

 

यो वर्षको जन्मदिन

पूरा हुने भो धोको

मेरा काका मायालु

पुस्तक पाएँ एक डोको

 

चित्रकथा पढ्ने हो

बालगीत गाउने हो

लेख्न सिकी कविता

अझै स्याबास पाउने हो।

 

काका घर आएपछि

धन्यवाद नि भन्नुछ

अर्को जन्मदिनलाई

राम्रा पुस्तक छान्नुछ ।

———————–

[साविक आँपपिपल-१ गोरखा घर भई हाल केरी, नर्थ क्यारोलाइना, संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका डा.  ऋषि बस्ताकोटी(२०३१) खास  गरी गजल विधामा आर. बी. फ्लेम उपनामबाट चिनिन्छन् । वातावरणीय  नीति विषयमा क्यालगरी विश्वविद्यालय, क्यानाडाबाट क्यानाडा सरकारको  प्रतिष्ठित भेनियर छात्रवृत्ति सहित  विद्यावारिधि गरेका बस्ताकोटीले वन विज्ञानमा टेक्निकल युनिभर्सिटी ड्रेसडेन, जर्मनीबाट जर्मन सरकारको प्रतिष्ठित DAAD छात्रवृत्ति सहित स्नातकोत्तर गरेका छन् । पेशागत हिसाबले हाल उनी  नर्थ क्यारोलाइना सरकारको  वातावरण विभागमा  वरिष्ट वातावरण विज्ञका रूपमा सेवारत छन् । कविता, गजल, कथा, गीत, मुक्तक  उनका सिर्जनाका मुख्य विधा हुन् । उनको ज्वालाका रापहरू (गजल संग्रह) प्रकाशित छ भने  गजल स्पर्श नामक गजल एल्बम पनि निस्किसकेको छ जसमा गैरे सुरेशको संगीत र नेपालका चर्चित गायक गायिकाहरूको स्वरमा विभिन्न गजलहरूको सञ्चयन रहेको छ । विभिन्न साहित्यिक पत्रपत्रिकाहरूमा नियमित रूपमा कविता, गजल, गीत, मुक्तक, कथा, निबन्ध प्रकाशित गर्दै आएका कवि बस्ताकोटीले केही साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका छन् । बालसाहित्यतर्फ उनको फूलबारी (२०५६) नामक बालकथाहरूको सँगालो   प्रकाशित छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कविता तथा मुक्तक प्रतियोगितामा उत्कृष्ट पुरस्कार हात पारेका उनले विदेशमा रहँदा नेपाली भाषा पाठशाला पाठ्यक्रम विकास  समितिमा रहेर पनि काम गरिसकेका छन् । उनका फुटकर बालकविताहरू विभिन्न बालपत्रिका तथा अनलाइन मिडियाहरूमा प्रकाशित हुँदै आइरहेका छन् । उनको प्रस्तुत ‘आज मेरो  जन्मदिन’ कवितामा लेखकले स्वयम् बालक नै बनेर बाल्य अनुभूति पस्केका छन् । कतिपय बालबालिकालाई आफ्नो जन्मदिनमा खानेकुरा, खेलौना, गहना, कपडा आदिको आशा हुन्छ तर यस बालकवितामा कथयिता बालपात्रले उपहारका रूपमा पुस्तक प्राप्त गर्दा खुसी मानेको छ । पुस्तकमा रहेका चित्रकथा पढेर, बालगीत गाएर र कविता लेखेर स्याबासी बटुल्ने धोको उक्त बालपात्रमा रहेको देखाउँदै प्रस्तुत बालकविताले बालबालिकामा हुने सिर्जनशीलताको कदर गरेको छ ।]

**********************

३. हेरौँ हेरौँ लाग्छ  — डा.कौशिला रिसाल

डा. कौशिला रिसाल

हेरौँहेरौँ लाग्छ मलाई

नेपालको गाउँ

मेची, काली जहाँ पुगौँ

छ रमाइलो ठाउँ  ।

 

पूर्व टिष्टा सिमाना छ,

पश्चिमतिर कागडा

बहुजाति, भाषा, भेष

कहिल्यै हुन्न झगडा  ।

 

उत्तर फर्के देख्न पाइन्छ

हिमाल हाँसेको

डाँफे चरी, कोइली, मयूर

छमछमी नाचेको ।

 

स्वर्ग  खोज्न कहाँ जान्छौ

बस यहीँ आऊ

माटो खोस्री उब्जाएको

आँटोपिठो  खाऊ  ।

———————

[सिरान्चोक गाउँपालिका, वडा नं. ५ (साविक वडा नं. २, छोप्राक) गोरखामा जन्म भई हाल कामनपा वडा नं. १६, नयाँबजारमा बसोबास गर्दै आएकी कौशिला रिसाल (२०३५) ले नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेकी छन् । हाल उनी आधारशीला कलेजमा प्राध्यापन पेशामा संलग्न छिन् । उनका नयाँ वर्षको उपहार, छेपाराको उखान, कमिलाको एकता लगायतका बालकथासङ्ग्रहहरू प्रकाशित छन् भने देशको माया नामक बालकवितासङ्ग्रह पनि प्रकाशित छ । विद्यालय तहको पाठ्यपुस्तकहरूको लेखन अनुभव बटुलेकी उनका विभिन्न पत्रपत्रिका तथा जर्नलहरूमा अनुसन्धानात्मक, साहित्यिक एवम् वैचारिक लेखहरू प्रकाशित छन् भने साहित्यिक कृतिको समीक्षा/समालोचनाहरू समेत  प्रकाशित हुँदै आएका छन् । उनले विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिका तथा स्मृति ग्रन्थको सम्पादनसमेत गरिसकेकी छन् । नमूना महिला विद्यालयकी  संस्थापक प्र.अ., प्रगतिशील लेखक संघ,काठमाडौँकी अध्यक्ष,  प्रगतिशील लेखक संघ नेपालको केन्द्रीय सदस्य आदिका रूपमा उनको संस्थागत संलग्नता रहेको छ । अरनिको टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा उनले काम गर्दै आएकी छन् । उनको प्रस्तुत  हेरौँ हेरौँ लाग्छ बालकवितामा नेपाली भूमिप्रतिको अपार माया खन्याइएको छ । विगतमा नेपालको सिमाना टिष्टा र काँगडासम्म फैलिएको स्मरणा गरिएको यस बालकवितामा नेपालीहरूमा हुने उदार हृदयको परिचय दिइएको छ । नेपालको प्राकृतिक सौन्दर्यको जीवन्त र मनोहारी चित्रण प्रस्तुत बालकवितामा गरिएको छ । बालपाठकलाई सिर्जनशील बन्न उत्प्रेरित गरिएको यस बालकवितामा कवयित्रीले स्वदेशलाई स्वर्गसँग तुलना गरेकी छन् । कविता चौध अक्षरे सबाइ छन्दमा रचिएको छ ।]

********************

rcghimire47@gmail.com

लेखक परिचय

साहित्यपोस्टका नियमित स्तम्भकार घिमिरे ईशानेश्वर क्याम्पस, भोर्लेटार (लमजुङ) का प्रमुख हुन् ।

प्रतिक्रिया
Loading...