बुढ्यौली साहित्यमा पात्रकै माध्यमबाट विचार तथा अनुभूतिको वर्णन र विश्लेषण गरिन्छ । पात्रको प्रस्तुतिका माध्यमबाट वैचारिक चिन्तनको प्रस्तुति यहाँ पाइन्छ । आख्यानात्मक रचनामा प्रस्तुत गरिने कार्यव्यापार सम्पन्न पार्ने चरित्र वा पात्र हुन्छन् । पात्र भनेको कुनै पनि आख्यानात्मक कृतिको पर्याधारभित्र व्यवस्थित गरिएको व्यक्ति हो । आख्यानात्मक कृतिहरूमा प्रत्येक पात्रको रूप छवि भिन्नाभिन्नै किसिमबाट कुँदिएको हुन्छ (शर्मा, २०४८:१७३) ।

पात्रको कार्यव्यापारले आख्यानात्मक वा गैरआख्यानात्मक कृतिमा जीवन्तता मात्र होइन रोचकताको पनि संपुष्टि हुन्छ । व्यक्तिका अन्तर र बाह्य दुवै संरचना चरित्रकै माध्यमबाट प्रकट हुने तत्त्व हुन् । पात्रले खेलेको भूमिकाको आयतनभित्र मानव सभ्यताको सानो आकार भएर पाठकसमक्ष सम्प्रेषित हुन्छ । साहित्यिक विद्वान्हरू के स्वीकार्छन् भने कथानक साहित्यको शरीर हो भने चरित्र त्यसको प्राण हो । समष्टिमा भन्ने हो भने साहित्यिक अर्थानुसार चरित्र कुनै विचारलाई सम्प्रेषण गर्ने तत्त्व नै मान्नुपर्छ । वर्तमानमा त मानव–चरित्र र मानव–समाजलाई बुझ्ने प्रमुख तत्त्वका रूपमा चरित्र–चित्रणले प्राथमिकता पाएको छ । प्रत्येक चरित्र अर्को चरित्रभन्दा कुन अर्थमा फरक छ र उसका चारित्रिक विशेषताहरू के के हुन् भन्ने कुरा चरित्रको वर्गीकरणद्वारा बढी स्पष्ट पार्न सकिन्छ ।

चरित्र विश्लेषणका विविध पद्धतिहरू भए पनि व्यक्ति वा पात्रको वस्तुगत वर्गीकरणका निम्ति काव्यशास्त्र र भाषाविज्ञानको समन्वयबाट केही आधारहरू निर्धारण गर्न सकिन्छ । यस्ता आधारहरूमा लिङ्ग, कार्य, प्रवृत्ति, स्वभाव, जीवनचेतना, आसन्नता र आबद्धता पर्दछन् (शर्मा, २०४८: १७४) । आख्यानको कथानकमा देखिने मानव या मानवेतर प्राणीलाई पात्र वा चरित्र भनिन्छ (बराल र एटम, २०६६:२९) । आख्यानमा व्यक्तिलाई पात्र भनिन्छ । नैतिक र अभिवृत्तीय गुणले युक्त पात्रलाई चरित्र भनिन्छ र आख्यानमा व्यक्तिलाई देखाउने ढङ्गलाई चरित्रचित्रण भनिन्छ (शर्मा, २०४८: १२४) । आधुनिक आख्यानमा चरित्रचित्रणको महत्त्वपूर्ण स्थान रहेको छ । चरित्रका माध्यमबाट नै व्यक्ति तथा बृहत् समाजको उद्घाटन गर्ने काम आख्यानले गर्दछ । पात्रका सहायताले आख्यानमा उनीहरूका जातीय विशेषताहरू, मानवीय शााश्वत, सत्यहरू र व्यक्तिका प्रवृत्तिगत वैचित्र्यहरू उद्घाटित हुन्छन् (प्रधान, २०४० :११) । आख्यानमा प्रयोग हुने व्यक्ति वा प्राणीको चरित्र बाह्य रूपमा प्रकट हुँदा सामाजिक तत्त्वका आधारमा परिवर्तित हुन्छ र व्यक्तिको अन्तरपक्षमा गुम्सिन पुग्दा मनोवैज्ञानिकतामा रूपान्तरित हुन्छ । यसरी पात्रको चरित्रमा अन्यको पनि प्रभाव परेको हुन्छ । आख्यानको आयतनभित्र सिङ्गो मानव सभ्यता चरित्रचित्रणकै आधारमा परिभाषित हुने हुँदा विगतलाई र अनागतलाई वर्तमानसम्म तानेर ल्याउने तत्त्व चरित्र हुन्छ । त्यसरी आख्यानमा तानेर ल्याएको वस्तुलाई पाठकसमक्ष सम्प्रेषण गर्ने तत्त्वका रूपमा उपन्यासभित्र चरित्र नै प्रमुख भएर रहेको हुन्छ (सुवेदी, २०५३:१७) ।

बद्रीप्रसाद ढकाल

अरिस्टोटलले चरित्रका निम्ति भद्रता, औचित्य, जीवन अनुरूपता, एकरूपता, सम्भाव्यता र अनुकृतिमूलक वैशिष्ट्य हुनुपर्ने धारणा राखेका छन् (त्रिपाठी, २०६२:६२) । हड्सनले पात्र उपन्यासबाट सिर्जित भए पनि तिनलाई स्वतन्त्र छोड्नुपर्ने धारणा औल्याउँछन । त्यसबाट नै उपन्यासको वास्तविकता ग्रहण हुन्छ र कृति जीवन अनुकूल हुन्छ (हड्सन, सन् १९५३: १५१) । पूर्वीय साहित्यअनुसार पात्रहरूमा पुरुषलाई धीरोदात्त, धीरोदत्त, धीरललित, र धीरप्रशान्त गरी चार भागमा बाँडिएको छ भने नारी पात्रलाई स्वकीया, परकीया र सामान्या गरी तीन भागमा बाँडिएको पाइन्छ (उपाध्याय, २०४०: ५०) । यस प्रकारले कथानकलाई अगाडि बढाउने विभिन्न पात्रहरूको चयन गरिएको हुन्छ ।

आख्यानात्मक रचनामा प्रयुक्त चरित्रहरू विविध प्रकारका हुन्छन् । लिङ्गको आधारमा पुरुष र स्त्री, कार्यका आधारमा प्रमुख सहायक र गौण, प्रवृत्तिका आधारमा अनुकूल र प्रतिकूल, स्वभावका आधारमा गतिशील र गतिहीन, जीवनचेतनाका आधारमा वर्गीय र वैयक्तिक, आसन्नताका आधारमा मञ्चीय र नेपथ्य, आबद्धताका आधारमा बद्ध र मुक्त गरी पात्रको वर्गीकरण गर्न सकिन्छ (शर्मा, २०४८: १२४ १२५) । उपन्यासमा विभिन्न तत्त्वहरूलाई अन्विति दिने कार्य पात्रहरूले गर्दछन् भने कथानक, संवाद, लेखकीय दृष्टिकोण पात्रका माध्यमबाट प्रस्तुत हुने र सामाजिक, आर्थिक, सांस्कृतिक, आध्यात्मिकजस्ता कुराहरूको संवाहक पनि पात्रहरू नै भएकाले पात्रलाई आख्यानात्मक संरचनाको प्रमुख आधारशिला मानिन्छ (घर्ती, २०६७ :८१) ।

चरित्रलाई आख्यानको उपकरणमध्ये प्रमुख तत्त्व मानिन्छ । चरित्रलाई कतै क्रियाकलाप र कार्यव्यापार आदिका नामबाट पनि चिनाउने प्रयास गरिएको छ । मानवजीवनको व्यापक भाष्य उतार्ने तत्त्व नै चरित्र हो । मानवको सभ्यता र समाजलाई बुझ्ने प्रमुख आधार पनि चरित्र हो । विगतलाई र अनागतलाई वर्तमानसम्म तानेर ल्याउने तत्त्व चरित्र हो (सुवेदी, २०६४:२३) । कृतिगत रचनाभित्र कुनै विशेषता बुझाउन व्यवस्थित रूपले प्रयोग गरिने मानव वा मानवेतर प्राणीलाई पात्र वा चरित्र भनिन्छ । कथानकलाई सजीव बनाएर गति दिने महत्त्वपूर्ण जिम्मेवारी पात्र वा चरित्रको हुन्छ
(बराल र एटम, २०६६:२७) । उपन्यासमा चरित्रका माध्यमबाट उपन्यासकारले भन्न चाहेको कुरा र उसको जीवनदृष्टि बुझ्न सकिन्छ । पात्रहरूको सम्बन्ध कथावस्तु र उद्देश्यसँग रहेको हुन्छ । कथानकको गति र कार्यअनुरूप चरित्रचित्रण, विकास, व्यवहार, आरोह र अवरोहका क्रियाकलापहरू चारित्रीकरण हुन् । आधुनिक साहित्यमा मानवीय पात्रलाई छाडेर मानवेतर र अतिमानवेतर पात्रहरूको प्रयोग ज्यादा पाइन्छ । पात्रलाई पनि विभिन्न किसिमले वर्गीकरण गरेको पाइन्छ ।

बुढ्यौली साहित्यमा प्रयुक्त पात्रको अमेर, अवस्था, स्थिति परिवेश र तिनले भोगेका जीवनका यावत् पक्षसँगै मनोविज्ञानलाईसमेत प्रस्तुत गरिएको हुन्छ । आमालाई छोरा र बुहारीले गर्ने व्यवहार तथा बाबुलाई छोरी र छोराबुहारीले गर्ने व्यवहारको चित्रण र सामाजिक मनोविज्ञानसमेत चित्रण गरिन्छ । वयस्कमा बलियो र शासकका रूपमा रहेका आमाबाबु तथा घरमुलीहरू वृद्धवृद्धा हुँदा उपेक्षित अवस्थामा पुग्दछन् । उमेर तथा विभिन्न रोगका कारण सक्रिय नहुँदा विभिन्न समस्याहरू भोग्न बाध्य हुन्छन् भने सामाजिक कुरीति र कुप्रथाको सिकार हुन पुग्दछन् तिनको अवस्था र मनोदशालाई बुढ्यौली साहित्यले उजागर गर्दछ ।

लिङ्गका आधारमाः

आख्यानात्मक रचनामा प्रयुक्त पात्रहरूको प्राकृतिक जात छुट्याउने आधार लिङ्ग हो । लिङ्गले पात्रको प्राकृतिक जात छुट्टाउने हुँदा यसका आधारमा पात्र पुलिङ्गी र स्त्रीलिङ्गी गरी दुई वर्गका हुन्छन् । पात्रको बाह्य वर्णन तथा शरीर, नामकरण र तिनका स्वभाव एवम् प्रयुक्त क्रियापदबाट यो कुरा छुट्टाउन सकिन्छ (बराल र एटम, २०६६:२९) ।

बुढ्यौली साहित्यमा वृद्धवृद्धाका सामाजिक अवस्था, वा लैङ्गिक समस्याका विषय, विधुर वा विधवा भएर एक्लो हुँदा भोग्नुपरेका विविध कठिनाई, शरीर सम्हाल्न नसकेको घटना र परिवेशका साथसाथै अन्तर लैङ्गिक समस्याको चित्रणका साथसाथै सामाजिक तिरस्कार र घृणाको चित्रण गरिएका हुन्छन् ।

कार्यका आधारमाः

आख्यानात्मक रचनामा आएका सबै पात्रहरूले समान उत्तिकै कार्य नगरी आ—आफ्नो क्षमताअनुसार विभिन्न कार्य गरेका पाइन्छ । यस दृष्टिले कार्यका आधारमा पात्रहरू प्रमुख, सहायक र गौण गरी तीन वर्गका हुन्छन् । रचनामा सबै पात्रले उत्तिकै कार्य गरेका हुँदैनन्, त्यसैले सबैभन्दा बढी काम गर्ने वा कार्यमूल भएको पात्र प्रमुख पात्र हुन्छ भने त्यसभन्दा घटी कार्यमूल्य भएको पात्र सहायक र त्यसभन्दा पनि ज्यादै थोरै कार्यमूल्य भएको पात्र गौण हुन्छ । सामान्यतः सबैभन्दा धेरै पटक नाम वा सर्वनाम पुनरावृत्ति हुने र आदिदेखि अन्त्यसम्म आउने पात्रलाई प्रमुख पात्र भनिन्छ । त्यसभन्दा थोरै नाम,सर्वनाम आउने सहायक र अन्यचाहिँ गौण पात्र हुन्छन् । गौण पात्रलाई हटाइदिँदा पनि साहित्यिक रचनाको कथानकमा त्यति ठुलो क्षति पुग्दैन (बराल र एटम, २०६६:२९) भनेको पाइन्छ ।

बुढ्यौली साहित्यकै परिवेश, घटना र परिस्थितिमा लेखिएका रचनामा वृद्ध वा वृद्धा नै प्रमुख पात्रका रूपमा र तिनलाई सघाउने सहायक पात्रमा पनि वृद्धवृद्धाकै कार्यव्यापार जोडेर तिनकै विषय र समस्यालाई चित्रण गरिन्छ ।

प्रवृत्तिका आधारमाः

यस आधारमा अनुकूल र प्रतिकूल गरी साहित्यिक रचनामा दुई वर्गका पात्र हुन्छन् । जुन पात्रले सकारात्मक कार्य गर्छ त्यो अनुकूल पात्र हो भने जुन पात्रले नकारात्मक कार्य गर्छ, त्यो प्रतिकूल पात्र हुनपुग्छ । साहित्यिक रचनामा पात्रहरूका लागि प्रयुक्त सकारात्मक र नकारात्मक भाषिक एकाइहरू बटुलेर पनि उनीहरूलाई प्रवृत्तिका आधारमा स्पष्ट विभाजन गर्न सकिन्छ । साहित्यिक रचनामा पात्रहरूमा देखिने प्रवृत्ति, कार्य र लिङ्गका आधारमा नायक वा नायिका, खलनायक वा खलनायिका, सहनायक वा सहनायिका आदि छुट्याउन सकिन्छ (शर्मा, २०४८:१५७) ।

बुढ्यौली साहित्यमा वृद्धवृद्धा प्रमुख पात्रका प्रवृत्ति अलि पुरानोपन, रुढविचार, दुष्ट्याँइ तथा छुच्चो भएका कारण प्रतिकूल तथा सहयोगी अलि फराकिलो स्वभाव भएका अनकूल पात्रका प्रवृत्तिगत आधारमा चित्रण गरिन्छन् ।

स्वभावका आधारमा:

यस दृष्टिले पात्र गतिशील र गतिहीन गरी दुई प्रकारका हुन्छन् । साहित्यिक रचनामा कुनै परिस्थिति अनुसार बदलिने पात्र गतिशील हुन्छ जो आफ्नो स्वभाव, सिद्धान्त र जीवनधारलाई परिवर्तन गरी समय सुहाउँदो बन्दछ । परिस्थिति बदलिदा पनि आद्यान्त उस्तै जीवन बिताउने र विचलन नआउने स्वभावको पात्र गतिहीन हुन्छ ऊ आदर्शमा दृढ हुन्छ (बराल र एटम, २०६६:३०) ।

संस्कारगत चेतनायुक्त वृद्धवृद्धामा अलि गतिशील स्वभाव र लोभी, छुच्चो स्वभावका पात्रले गतिहीन चरित्र बोकेको हुन्छ जसको चित्रण बुढ्यौली साहित्यमा गरिन्छ ।

जीवनचेतनाका आधारमा:

जीवनचेतनाका आधारमा पात्र वर्गीय र व्यक्तिगत गरी दुई प्रकारका हुन्छन् । निश्चित सामाजिक वर्गको भूमिका निर्वाह गरी त्यही वर्गको प्रतिनिधित्व गर्ने पात्र वर्गीय हुन्छ भने आफ्नो निजी स्वभाव वा वैशिष्टय तथा वैयक्तिकताको प्रतिनिधित्व गरी नवीन शैलीको सन्धान गर्ने पात्र वैयक्तिक हुन्छ (बराल र एटम,२०६६:३०) ।

बुढ्यौली साहित्यमा पनि वृद्ध वा वृद्धाले सामाजिक वर्ग वा नितान्त व्यक्तिगत वर्गको प्रतिनिधित्व गरेका हुन्छन् जसका माध्यमबाट कथानकले कार्यव्यापारलाई सहजै अगि बढाउँछ ।

आसन्नताका आधारमा:

आख्यानको कथानकमा हुने पात्रको उपस्थितिलाई आसन्नता भनिन्छ । यस आधारमा पात्रहरू मञ्चीय र नेपथ्य गरी दुई प्रकारका हुन्छन् । कथानकमा उपस्थित भई कार्यव्यापार वा संवाद प्रस्तुत गर्ने पात्र मञ्चीय हुन्छ भने कथयिताले वा अन्य पात्रले नामोच्चारण मात्र गरेको पात्र नेपथ्य हुन्छ
(बराल र एटम,२०६६:३०) ।

आबद्धताका आधारमा:

आख्यानको कथानकसँग पात्रको सम्बन्ध गँसाइलाई आबद्धता भनिन्छ । यस आधारमा पात्रहरू बद्ध र मुक्त गरी दुई प्रकारका हुन्छन् । बद्ध पात्रलाई झिक्दा कथानकको संरचना भत्किन्छ तर मुक्त पात्रलाई कथानकले त्यति स्थान नदिएको हुँदा तिनलाई झिक्दा पनि कथानकमा खासै हलचल उत्पन्न हुँदैन (बराल र एटम,२०६६:३०) । यसरी आख्यानको अभिन्न तत्त्व चरित्र वा पात्र वर्गीकरणका विभिन्न आधारहरूलाई माथि उल्लेख गरेअनुसार अध्ययन गर्न सकिन्छ ।

बुढ्यौली साहित्यमा प्रयुक्त पात्र वा चरित्र उमेरमा पाका अनुभवी, सङ्घर्षशील हुन्छन् । जीवन उपयोगी विभिन्न जीवन दर्शनका पात्रहरू बुढ्यौली साहित्यका विशिष्ट पात्रहरू यस्ता साहित्यमा समेटिएका हुन्छन् । उमेरमा वृद्ध, अनुभवी, प्रेरक पात्रहरू बुढ्यौली साहित्यमा आएका हुन्छन् ।

बुढ्यौली साहित्यमा परिवेशः (देश, काल , वातावरण)

आख्यानात्मक वा गैर आख्यानात्मक कृतिमा पात्रहरूले आ–आफ्नै हैसियतअनुसार क्रियाकलाप प्रदर्शित गर्छन् । यसरी घटित हुने क्रियाकलाप निश्चित स्थान र निश्चित समयमा आबद्ध हुन्छ, जसले गर्दा आख्यानलाई सङ्गति दिन्छ । विधागत रचनामा देशकाल तथा वातावरणमा केन्द्रित भएर लक्ष्योन्मुख हुन्छ । देशकालको तात्पर्य वातावरणको कुनै सीमा हो । विषयवस्तुको परिवेशअन्तर्गत साहित्यले आफ्नो संसार सृष्टि गर्छ । यसले देशको सामाजिक, धार्मिक र राजनीतिक परिस्थितिलाई सम्झाउँछ । आचार–विचार, रीतिस्थिति, चालचलनहरूलाई बुझाउँछ, समाजका असल खराब, व्यावहारिक र वैचारिक पक्षहरूलाई इङ्गित गर्छ (प्रधान, २०६१: १०) । उपन्यासमा दृश्यात्मक पद्धति अँगाल्दा देशकाल आएको हुन्छ ।
साहित्यिक रचनामा देश भन्नाले औपन्यासिक घटनाहरू घटेका स्थानलाई जनाउँछ भने काल भन्नाले ती घटनाहरू घटेको समयलाई बुझाउँछ । त्यस्तै वातावरण भन्नाले तत्कालीन समयका रीतिरिवाज, परम्परा, धर्म, संस्कृति, प्राकृतिक, आर्थिक, राजनीति र सामाजिक अवस्था आदिको चित्रणका साथै तिनले पात्रमा पर्न गएको प्रभावलाई समेत जनाउँछ । कोही लेखकले अतिरञ्जनामा आएर केवल कल्पनाको भरमा गरेको चित्रण कृत्रिम र अस्वाभाविक मात्र होइन, असत्य भएकोले अनर्थकारी पनि हुन्छ (उपाध्याय, २०४०: १७३–१७४) ।

साहित्यमा घटनाहरू जुन ठाउँ र जुन समयमा घटित हुन्छन् त्यसलाई देश र काल भनिन्छ । समाजको एउटा निश्चित समय र ठाउँ विशेषको चित्रण र विश्लेषण नै वातावरण हो (थापा, २०४०: १४३) उपन्यासले जीवन जगत्को यथार्थ चित्रण गर्ने भए तापनि एउटै आख्यानमा सम्पूर्ण जीवन जगत्को चित्रण हुन असम्भव हुन्छ । त्यसैले आख्यानले कुनै खास स्थान विशेष र कुनै कालखण्डको चित्रण गर्दछ (घर्ती, २०६७:२१६) । वातावरणले देशको सामाजिक, धार्मिक र राजनीतिक परिस्थितिलाई सम्झाउँछ, आचार, विचार, रीति, थिति, चालचलनहरूलाई बुझाउँछ, समाजका असल, खराब, व्यावहारिक र वैचारिक पक्षहरूलाई इङ्गित गर्छ (प्रधान, २०४०:१३) । कुनै काम हुनका लागि उपयुक्त स्थल कार्यपीठिका हो । त्यही कार्यपीठिका नै परिवेश हो (सुवेदी, २०५३:१८) । आख्यानमा पात्र वा चरित्रले कार्य व्यापार गर्ने स्थान, समय र वातावरणलाई बाह्य परिवेश भनिन्छ । पात्रका मनमा आएका उतार चढाव र प्रतिक्रियाहरू आन्तरिक वातावरणका रूपमा प्रस्तुत हुन सक्छन् । अङ्ग्रेजीमा यसलाई सेटिङ भनिन्छ, यसलाई देश, काल र वातावरण पनि भन्ने गरिएको छ (बराल र एटम, २०६६:३५) ।

आख्यानमा काम हुनका लागि उपयुक्त मानिएको स्थल नै परिवेश हो । परिवेशलाई पर्यावरण, वातावरण, परिवृत्त र परिधिजस्ता शब्दहरूले पनि जनाउने गरिन्छ । केही विद्वान्हरूले यसलाई देशकाल र वातावरण पनि भन्ने गरेका छन् जसले जसरी अर्थ लगाए पनि वास्तवमा आख्यानमा प्रस्तुत कथानकमा घटना घट्ने ठाउँ वा स्थान नै त्यसको परिवेश हो । आख्यानलाई प्रभावशाली र तीव्र बनाउनमा परिवेशको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । देशकालको वातावरणविना लेखकले कथानकलाई विश्वसनीयता, पात्रहरूलाई यथार्थता र ऐतिहासिकतालाई सङ्गति प्रदान गर्न सक्दैन (प्रधान,२०६१:११) । यही परिवेशलाई पर्यावरण पनि भन्ने गरिन्छ । आख्यानमा पात्रहरूको कार्यकलाप हुने वा घटनाहरू घट्ने स्थान, समय र त्यसको मानसिक प्रभावलाई पर्यावरण भनिन्छ । पर्यावरण एउटा परिस्थिति पनि हो जसले पाठकलाई बाँध्ने काम गर्दछ (बराल र एटम, २०६६: ३२) ।

बुढ्यौली साहित्यमा रचनामा जीवन र जगत् समेटिएर आउने सन्दर्भमा मान्छेको रहनसहन, सभ्यता, जीवनपद्धति, धार्मिक भावना, कामकाजदेखि लिएर प्राकृतिक दृश्यावलीहरूसमेत प्रस्तुत हुने गर्दछन् । कुनै काम हुनका लागि उपयुक्त स्थल उपन्यासको कार्यपीठिका हो । त्यही कार्यपीठिका नै साहित्यको परिवेश हो । यसलाई कथनान्तरमा पर्यावरण, वातावरण, परिवृत्त, परिधिजस्ता शब्दहरूले सम्बोधन गर्ने गरिन्छ । बुढ्यौली साहित्यमा प्रयुक्त देश, काल, परिवेशमा वृद्धावस्थाका स्थान, घर, वृद्धाश्रम, तीर्थस्थल नदी आदिको प्रयोग गरिएको हुन्छ ।

बुढ्यौली साहित्यमा दृष्टिविन्दु:

दृष्टिविन्दुले आख्यानका सन्दर्भमा आख्यानकारको स्थितिलाई बुझाउँछ । अर्को ढङ्गमा भन्ने हो भने कुनै आख्यान कसको कथा हो र त्यस कथालाई भन्ने समाख्याता को हो भन्ने कुरा नै दृष्टिविन्दु हो (शर्मा, २०५५: ४१४) । आख्यानभित्र आख्यानकारले पात्रका माध्यमबाट वा सोझै आफ्नै उपस्थितिमा कथा भनिरहेको हुन्छ । यसरी कथा भन्नलाई उसले रोजेको समाख्याताको स्थान नै दृष्टिविन्दु हो ।

आख्यानमा कथयिताले कथा वाचनका लागि उभिन वा बस्नलाई रोजेको ठाउँ नै दृष्टिविन्दु हो । यसबाटै कथयिताले कसरी घटना एवम् चरित्रहरूको वर्णन तथा उपस्थापन गर्छ भन्ने कुराको निर्धारण हुन्छ । दृष्टिविन्दुले आख्यानमा कसले कथा भनेको छ र कसरी कथा भनिएको छ भन्ने कुरालाई बुझाउँछ । कतै कथयिताले आफू नै कथानकमा पसेर बोल्ने अनुमति पाएको हुन्छ भने कतै सानो ढोकाबाट देखिएका कुराहरू र कतै सम्पूर्णतः ओकल्ने छुट पाएको हुन्छ (बराल र एटम, २०६६:३५) । माथि उल्लेख गरिएका आधारहरूमा दृष्टिविन्दुलाई दुई प्रकारमा विभाजन गर्न
सकिन्छ । ती हुन्:

(क) केन्द्रीय दृष्टिविन्दु
(ख) परिधीय दृष्टिविन्दु

केन्द्रीय दृष्टिविन्दुमा पात्रका रूपमा लेखक स्वयं भोक्ताका रूपमा नियोजित हुन्छ यदि प्रथम पुरुष पात्र भोक्ताका स्थानमा नियोजित छ भने प्रथम पुरुष केन्द्रीय दृष्टिविन्दु हो र लेखकबाट नियुक्त पात्र पनि प्रथम भोक्ताका रूपमा उपस्थित बन्छ भने त्यो प्रथम पुरुष परिधीय दृष्टिविन्दु हो । त्यसरी नै पछि लेखकद्वारा तृतीय पुरुष पात्र नियोजित गरिएको छ भने तृतीय पुरुष दृष्टिविन्दु हो र लेखक म को सट्टामा तृतीय पात्र उपयोग भएको छ भने तृतीय पुरुष परिधीय दृष्टिविन्दु हो । आधुनिक आख्यानहरूमा केन्द्रीय र परिधीय दुवै दृष्टिविन्दुको प्रयोग भएको पाइन्छ । नेपाली आख्यान परम्परामा केन्द्रीय वा प्रथम पुरुष दृष्टिविन्दु प्रयोग भएका उपन्यासहरूमा धु्रवचन्द्र गौतमको उपसंहार तथा चौथो अन्त्य, पारिजातको शिरीषको फूल आदि हुन् भने परिधीय दृष्टिविन्दु वा तृतीय पुरुष दृष्टिविन्दु प्रयोग भएका उपन्यासमा ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा र बेञ्जु शर्माले लेखेको देहमुक्त, दौलतविक्रम विष्टको ज्योति ज्योति महाज्योति आदि हुन् ।

बुढ्यौली साहित्यमा केन्द्रीय वा परिधीय दुवै दृष्टिविन्दुको प्रयोग भएको छ । कहिले म पात्र स्वयं कथा बनेर आफ्ना जीवनका अनुभव वा अनुभूति बताइरहेको हुन्छ भने कतै द्रष्टाका रूपमा रहेर संस्मरणका घटनाका नालीबेली प्रस्तुत गरिएको हुन्छ ।